सोमवार, अशोज ५, २०७७
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • कोरोनापछि कस्तो शिक्षा ?
विचार/ब्लग

कोरोनापछि कस्तो शिक्षा ?

प्रेमनारायण भुसाल । विचार ।

  • नागरिक रैबार
कोरोनापछि कस्तो शिक्षा ?

विद्यालयमा पढाइएका कुरा मात्र सत्य र घरका वा स्थानीय सीप र प्रविधि बेकामे हुने भन्ने भ्रम हटाएर परम्परागत ज्ञान र सीपको सम्मान हुने दिशामा अबको शिक्षालाई केन्द्रित गर्नुपर्छ ।

कोरोना महामारीका कारण पाँच महिनासम्म विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भए। विद्यार्थीहरू यति लामो समयसम्म शिक्षण सिकाइ क्रियाकलापबाट वञ्चित रहँदा आम जनमानसमा डर र चिन्ता थपियो। सरकारले स्पष्ट नीति सार्वजनिक गर्न नसक्दा र विद्यालयस्तरको शिक्षालाई सहीरूपमा परिभाषित गर्न नसक्दा अभिभावक र विद्यार्थी कोरोना कहरका बीचमा आफ्नो र सन्तानको भविष्यबारेमा अन्योलमा रहे।

संक्रमणले झन् भयावह रूप लिँदै गरेको अवस्थामा एकथरी मानिस प्रविधिको उपयोग गरेर कक्षाकोठा अभाव परिपूर्ति गर्ने दिशामा मात्र केन्द्रित रहे भने अर्काथरी अवस्था सामान्य नहुञ्जेल केही पनि गर्न नसकिने मानसिकताका कारण हात बाँधेर महामारी अन्त्यको कामना गर्दै बसे।

विज्ञापन

कोरोना महामारी हाम्रो शिक्षा क्षेत्रका लागि चुनौती र अवसर दुवै बन्न सक्नेमा सरकारी तथा गैरसरकारी कुनै पनि निकायको ध्यानाकृष्ट हुन सकेन। शिक्षा नीतिमा रहेका खराबी पहिचान गरी निमिट्यान्न पार्नेे महत्वपूर्ण अवसर र समयानुकूल परिवर्तनका लागि उपयुक्त वातावरण यही संकटको क्षण बन्न सक्नेमा शिक्षाविद्हरूको ध्यान जान नसक्नु दुःखद् हो।

मूल सफा नगरी धाराको टुटी धोएर सफा पानी पिउने सपना देखेर बस्ने परिपाटीले एकथरी मानिस सरकारी स्कुलका शिक्षकहरू निदाएर बसेको भ्रम फैलाउन सक्रिय रहे भने अर्काथरी निजी स्कुलको अस्तित्व समाप्त पार्ने सुनौलो अवसर यही भएको भनी अवास्तविकतामा रनभुल्ल परे।

के–केमा गर्नेे सुधार ?     

संवैधानिक रूपमा १२ कक्षासम्मको शिक्षा स्थानीय निकायको क्षेत्राधिकारभित्र गएको वर्तमान सन्दर्भमा आफ्नो पालिकामा रहेको विद्यालयको गुणस्तरलाई सुधार गर्नुलाई त्यस पालिकाको प्रगतिको प्रमुख मापक मानिने नयाँ प्रणालीको विकास गरी सरकारी र निजी दुवै विद्यालयको स्तरलाई समयानुकूल रूपमा स्तरोन्नति गर्दै हरेक अभिभावकलाई घरनजिकको विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्ने काम गर्नुपर्छ।

मूल्यांकन सत्रान्तमा कक्षा चढाउने वा नचढाउने विषयको निर्णायक मात्र हुन सक्दैन भन्ने विश्वव्यापी रूपमा प्रमाणित भइसकेको वर्तमान अवस्थामा परीक्षालाई उपलब्धिको सावधिक आकलन मात्र नबनाएर निरन्तर सिकाइ प्रक्रियाकै अंग बनाउन सक्नुपर्छ।

सत्रको अन्त्यमा परीक्षा दिएर वर्षभरिका क्रियाकलापमा सफल वा असफल भएको भनी प्रमाणित गर्ने कामका रूपमा परीक्षालाई प्रयोग गर्नु हुँदैन। हरेक दिनका क्रियाकलापमा विद्यार्थीले कसरी सिक्न सके भन्ने पक्षलाई महत्व दिएर सिकाइ प्रक्रियाको महत्वपूर्ण, नियमित र अनिवार्य अंगका रूपमा परीक्षालाई स्थापित गर्नुपर्छ।

आरोप–प्रत्यारोप र आग्रह–पूर्वाग्रहविना सबै क्षेत्रलाई एकै ठाउँमा जुटाएर संकट सामनाका लागि प्रयास गर्ने हो भने कोरोनाको कहर नेपाली विद्यालय शिक्षाको सुधार तथा परिवर्तनका लागि सुनौलो अवसर बन्नेछ।

धेरै किताब पाठ्यपुस्तकमा रूपमा राख्नु र लामो समयसम्म विद्यार्थीलाई विद्यालयमा कक्षाकोठाभित्र राखिरहनु विद्यालयको गुणस्तर हो भन्ने भ्रमबाट मुक्त भई छोटो समयको निर्देशन र धेरै समय विद्यार्थी संलग्न भइरहने किसिमका कार्यक्रम बनाउन ढिलाइ गर्नु हुँदैन।

शिक्षामा कस्तो परिवर्तन ?     

कक्षा कोठाको औपचारिक पठनपाठनले मात्र विद्यार्थीलाई नैतिक, चरित्रवान्, योग्य र कर्मठ बनाउने होइन, विद्यार्थीको सर्वांगीण विकासका लागि घरपरिवार, समाज र वातावरणको महत्वपूर्ण भूमिका हुन्छ। यसैले विद्यालयमा प्राप्त गरिने शिक्षा घरपरिवारसँग जोडिएको हुनुपर्छ। मूलरूपमा शिक्षा सिकारूको जीवनसँग सम्बद्ध हुनुपर्छ।

घरपरिवार, वातावरण, पेसा–व्यवसाय, संस्कार र संस्कृतिको जगेर्ना गर्ने किसिमको शिक्षा आजको आवश्यकता हो। शिक्षाले समाजलाई परिवर्तन गर्ने मात्र नभएर व्यक्तिलाई समाजीकरण गर्न सहयोग पुर्‍याउने कामसमेत गरेको हुन्छ। समाजमा बेमेल र वैमनस्य सिर्जना गर्ने किसिमको शिक्षा समाज र व्यक्तिका लागि पनि घातक हुन्छ। पश्चिमा मुलुकहरू पनि होम स्कुलिङतिर फर्केको वर्तमान अवस्थामा हामीले घरेलु शिक्षा वा घरमा बसेर सिक्ने प्रक्रियालाई प्रवद्र्धन गर्नुपर्छ। यसका लागि सिकारुका बाबुआमा नै पहिलो र प्रभावकारी शिक्षक–शिक्षिका बन्न सक्छन्।

विद्यालयमा पढाइएका कुरा मात्र सत्य हुने र घरका वा स्थानीय सीप र प्रविधि बेकामे हुने भन्ने भ्रम हटाएर परम्परागत ज्ञान, सीप र पद्धतिको सम्मान गर्दै यसमा परिमार्जन ल्याउने दिशामा अबको शिक्षालाई केन्द्रित गर्नुपर्छ। बालबालिकाले पाठ्यवस्तु घोक्ने होइन, कसरी आदर्श पिता बन्न सकिन्छ वा आदर्श माता बन्न सकिन्छ, समुदायमा कसरी मिलेर सहज–असहज परिस्थितिलाई सामान्यीकरण गर्न सकिन्छ भन्नेमा घरपरिवारबाट सिकाउन सक्नुपर्छ। अबको शिक्षाले सामाजिक प्रकार्य, स्थानीय सीप र सम्पदालाई संरक्षण र प्रवर्धन गर्नुका साथै व्यक्तिलाई आत्मानुशासित बन्न प्रेरित गर्न सक्नुपर्छ। यसका लागि होम स्कुलिङ महत्वपूर्ण विधि हुन सक्छ।

सिकाइको केन्द्र शिक्षक मात्र हुन सक्ने परम्परागत मान्यतामा परिवर्तन आइसकेको अवस्था छ। सहशिक्षा, प्रविधिमैत्री शिक्षा, प्राकृतिक शिक्षा र प्राविधिक शिक्षा हुँदै अहिले शिक्षा बहुकेन्द्रित सिकाइतिर उन्मुख हुँदै गएको छ। विभिन्न क्षेत्रबाट ज्ञान र सूचनाको विस्फोट भइरहेको वर्तमान अवस्थामा बहुआयामिक ढंगले विषयवस्तुलाई अवलोकन गर्न सक्ने सीप विकासका लागि विद्यार्थीलाई अन्य स्रोतबाट सामग्रीहरूको संकलन गरी अध्ययन, विश्लेषण र अनुसन्धान गर्ने काममा सहजीकरण गर्न विद्यालयका शिक्षकहरू तयार हुनुपर्छ। आजको अवस्थामा रित्तो मस्तिष्क लिएर विद्यार्थी ज्ञान भण्डारण गर्न विद्यालयमा आउँदैनन्, ज्ञान निष्पादन गर्ने काममा शिक्षक विद्यार्थी सहभागी हुनुपर्छ।

शिक्षा क्षेत्रको अर्को समस्या शिक्षक उत्पादन

भविष्यका कर्णधार उत्पादन गर्ने शिक्षक विषयवस्तुमा दक्ष, शिक्षण सीपयुक्त, सहयोगी, विद्यार्थीको मनोविज्ञान बुझ्न सक्ने र सहिष्णु हुनुपर्छ। विद्यालयमा पठनपाठन गर्न विश्वविद्यालयको शिक्षाशास्त्र संकायमा स्नातक वा स्नातकोत्तर तह पढेको व्यक्तिलाई योग्य मानिन्छ।

भर्खर सम्पन्न शिक्षण अनुमतिपत्रको परीक्षामा स्नातकोत्तर व्यक्तिहरू नगन्य मात्र उत्तीर्ण भए। करिब ८३ प्रतिशत शिक्षा शास्त्रीहरू शिक्षक लाइसेन्स परीक्षामा फेल हुनुले नेपाली शिक्षा क्षेत्रमा शिक्षक बन्न गरिने विश्वविद्यालयीय अध्ययनको गुणस्तरबारेमा गम्भीर प्रश्न उठेको छ।

विश्वविद्यालयका शिक्षा अधिकारीहरू पढाइमा कमजोर र अरू विषय पढ्न नसक्ने व्यक्ति मात्र शिक्षाशास्त्रको अध्ययन गर्न आउने भएकाले उत्पादन पनि गुणस्तरहीन हुनै गएको भन्ने अनुत्तरदायी उत्तर दिएर पन्छिन खोजेका छन् भने यस्ता अयोग्य व्यक्तिले कसरी भविष्यका कर्णधारलाई योग्य बनाउन सक्लान् भन्ने चिन्ता अभिभावकले गर्न थालेका छन्।

विश्वविद्यालय तहमा शिक्षाशास्त्रको अध्ययन के पढाउनेभन्दा कसरी पढाउने भन्ने विषयमा मात्र केन्द्रित हुनुको नतिजा यस्तो भएको ठान्दछन् सम्बन्धित सरोकारवालाहरू। शिक्षककै गुणस्तरमा प्रश्न उठेपछि भर्खर मात्र शिक्षामन्त्रीले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्दै प्राज्ञिक र र पेसागत डिग्री छुट्ट्याउनुपर्नेमा जोड दिएका छन्।

व्यवहारमा प्रयोग गर्न नसकिने पश्चिमाहरूले विकसित गरेका शिक्षण सिकाइ सिद्धान्तहरूको रटानबाटै स्नातकोत्तर उत्तीर्ण हुन सक्ने अवस्था तथा त्यस्तै अव्यावहारिक प्रयोगात्मक परीक्षाहरू शिक्षा शास्त्रभित्र फैलिएका विकृति हुन् भन्ने गरिन्छ।

जे पढाइन्छ त्यो लागू गरिन्न र आफ्नै गतिविधि पढाइँदै आएका सिद्धान्तविपरीत भएको अवस्थामा शिक्षाशास्त्रको अध्ययनलाई शिक्षक उत्पादन गर्ने डेट एक्स्पायर कारखानाको आरोपसमेत लाग्ने गरेको छ। यस अवस्थामा शिक्षाशास्त्रको पठनपाठन शैली र पद्धतिमा तुरुन्तै परिमार्जन ल्याउन आवश्यक छ।

अन्य राष्ट्रमा प्राज्ञिक शैक्षिक तह पूरा गरिसकेपछि मात्रै शिक्षण विशेषज्ञता हासिल गर्न शिक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन पाइन्छ। यसले शिक्षाशास्त्रको महत्व र महिमा रहेको छ तर नेपालमा कमजोर विद्यार्थी, अव्यावहारिक कुरा घोकेकै भरमा शिक्षाशास्त्री बन्ने भएकाले शिक्षकको समयसमयमा हुने परीक्षा नतिजा कहालीलाग्दो देखिँदै आएको छ। यसलाई सुधार गर्न स्नातकोत्तर तहलाई तीनबर्से गर्ने अथवा पठनपाठनको धेरैजसो समय प्राज्ञिक विषयमा लगाई अन्तिममा मात्र कसरी पढाउने भन्ने विषयमा तालिमको व्यवस्था गर्नु उपयुक्त हुन सक्छ। विश्वविद्यालय तहको पाठ्यक्रमको पुनर्संरचना गरी विद्यालय तहको शिक्षालाई व्यवस्थित गर्न योग्य व्यक्ति उत्पादन गर्ने कामको सुरुवात गर्न कत्ति ढिलाइ गर्नु हुँदैन।

निष्कर्ष

कोरोना कहरका नाममा सबै चुप लागेर बस्ने हो भने नेपालको शिक्षा क्षेत्र झनै तहसनहस बन्ने सम्भावना बढेर जान्छ। यस अवस्थामा शिक्षासँग सम्बद्ध सबै व्यक्तिले विश्वका उत्कृष्ट पद्धतिका राम्रा गुणहरू अवलम्बन गरी समय र परिवेशअनुकूल शिक्षा नीति तर्जुमा तथा शिक्षण क्रियाकलाप प्रयोग गर्न उपयुक्त वातावरण तयार पार्नुपर्छ। अवस्था सामान्य हुन्छ अनि परम्परागत रूपमै पढाउँछु भनेर बसिरहने हो भने अहिले परेको शिक्षा क्षेत्रको चोट निको हुनका लागि दशकौं पर्खिनुपर्ने अवस्था आउन सक्छ।

यसैले शिक्षा क्षेत्रको नेतृत्व तथा अभिभावकीय भूमिका निर्वाह गर्ने शिक्षा मन्त्रालयले संकटको अवस्थामा चुप लागेर बस्नुभन्दा दूरदर्शी भएर शिक्षा सुधारका लागि सक्रियतापूर्वक उपयुक्त र व्यावहारिक कार्यक्रम तय गर्नुपर्छ।

अभिभावक, शिक्षा मन्त्रालय, शिक्षाविद् तथा निजी एवं सरकारी विद्यालयका शिक्षकशिक्षिका र विद्यालय सञ्चालकका बीचमा आपसी छलफल र अन्तक्र्रिया गरेर शिक्षाका नयाँ कार्यविधि तयार गर्न तालुक मन्त्रालयले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ। आरोप–प्रत्यारोप र आग्रह–पूर्वाग्रहविना सबै क्षेत्रलाई एकै ठाउँमा जुटाएर संकट सामनाका लागि प्रयास गर्ने हो भने कोरोनाको कहर नेपाली विद्यालय शिक्षाको सुधार तथा परिवर्तनका लागि सुनौलो अवसर बन्नेछ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार