गाउँमा
रामेछाप लिखु-तामाकोसी गाउँपालिका-७ मा जन्मिएँ । तर, मेरो बाल्यकाल रामेछापकै नागदहस्थित धोबी भन्ने ठाउँमा बित्यो । जहाँ मेरो बुबाममी डेरामा बस्नुहुन्थ्यो । मेरो बुबा सुनको गहना बनाउने सुनारे । अरूको घरघरमै गएर सुनको गहना बनाइदिनुहुन्थ्यो । म ७-८ वर्षको हुँदा कहिलेकाहीँ म पनि बुबासँगै जान्थेँ । गहना बनाएर नसक्दासम्म हामी त्यही घरमा बस्नुपर्थ्याे । गर्मी होस् वा जाडो, बुबा बाहिरै बसेर सुन बनाइरहनुहुन्थ्यो ।
गाउँबाट सदरमुकाम पुगेँ, सदरमुकामबाट राजधानी पसेँ, जहाँ पुगे पनि मलाई विभेदले पछ्याउन छाडेन । पाइला-पाइलामा अपमान भोग्न बाध्य हुनुपर्यो।
बुबाको पसिनाले भिजेको सुनचाहिँ राति घरबेटीले भित्र लगेर राख्थ्यो । बुबा दलानमै सुत्नुहुन्थ्यो, बाहिरै खाना दिइन्थ्यो । खाएको थाल आफैँ धुनुपर्ने, घाममा सुकाएपछि मात्रै उनीहरूले फेरि पखालेर भित्र लैजान्थे । कति घरमा त बुबाले खाएको थाली सुनपानीले छर्केपछि मात्रै भित्र लैजान्थे । यो सबै देख्दा म छक्क पर्थेँ । अनौठो मान्दै बुबालाई सोध्थेँ, ‘हामीलाई किन यसो गरेको बुबा ?’ बुबा भन्नुहुन्थ्यो, ‘हामी भित्र जाँदा देउता रिसाउँछन् रे छोरी !’ कस्तो अचम्म ! बुबाको हातको पसिना लागेको गहना लगाउँदा उनीहरूको देवता नरिसाउने ! त्यही हातको पसिना लागेको सुनपानी चोखो हुने । तर, मेरो बुबाले छोए अशुद्ध हुने ?
हामी धोबीमा हुँदा नै दरबार हत्याकाण्ड भयो । हाम्रो डेरानजिकै नेवारको घरमा टिभी थियो । टिभी हेर्न गाउँभरिका मानिस भेला भए । बुबा पनि जानुभयो । मेरी साथी भंगेरी परियार र म पनि बुबाकै पछिपछि गयौँ । सबैजना भित्र बसेर टिभी हेर्द थाले । बुबाले बाँसको भर्याङ झ्यालमा ठड्याउनुभयो । हामीलाई चढाउनुभयो र आफू पनि चढ्नुभयो । नेपाल टेलिभिजनमा घरि शोक धुन बज्थ्यो, घरि राजपरिवारको शव देखाउँथ्यो । झ्यालमा झुन्डिएर पहिलोपटक टेलिभिजन हेरेको त्यो क्षण कहिल्यै बिर्सन सक्दिनँ ।
केही वर्षपछि हामी धोबीबाट आफ्नो घर तिल्पुङ फर्कियौँ । गहना बनाउनेहरू घरमै आउन थाले । २-३ दिन बसेर गहना बनाएर जान्थे, तर बसुन्जेल उनीहरूले हामीले पकाएको कहिल्यै खाएनन् । ममीले नुन, तेल, मसला, चामल तरकारी सबै ठिक्क बनाएर दिएपछि आफैँ पकाएर खान्थे । हामीलाई छेउछाउ जानसम्म दिइँदैनथ्यो ।
मेरो गाउँमा विश्वकर्मासहित तामाङ, नेवार, मगर, क्षेत्री र ब्राह्मण समुदायको बसोवास छ । अझै पनि विश्वकर्मालाई अन्य समुदायको घरभित्र पस्नु त परकै कुरा मेला, अर्मपर्म जाँदा खाजासमेत छुट्टै राखेर दिइन्छ । उनीहरूलाई बोलाउनुपर्दा अघिल्लो दिन नै खाजा र खानाका लागि चामल, पिठोलगायत अन्न उनीहरूको घरमा पुर्याइदिनुपर्छ । दलितको घर मेलोमा आउनुपरे आफैँ खानेकुरा लिएर आउँछन् ।
विवाह, ब्रतबन्ध, भोजभतेरमा अन्य जातिलाई निम्तो गर्दा उनीहरूका लागि भान्से र भान्सा अलग्गै बनाइनुपर्छ । दलित समुदायकाहरू निम्तो मान्न जाँदा पनि अलग्गै राखिन्छ । विवाहमा दुलाहा-दुलहीलाई टीका लगाइदिनुपर्दा हाम्रा लागि दुनामा छुट्टै अक्षता ल्याइन्छ । मैले विद्यालयमा हरेक वर्ष सरस्वती पूजामा चढाउने प्रसाद कहिल्यै बनाउन पाइनँ, न बाँड्न नै दिइन्थ्यो । पकाउने ठाउँबाट पनि अलग्गै बसालिन्थ्यो ।
सदरमुकाममा
तिल्पुङ मावि, कटहरे–५ बाट एसएलसी दिएपछि उच्च शिक्षाका लागि सदरमुकाम जानुपर्यो । सोेचेँ, सदरमुकाममा त गाउँमा जस्तो भेदभाव हुँदैन होला । ०६३ मा १७ किलोमिटर टाढा सदरमुकाम भाइ र बहिनीसहित मन्थली पुगेँ ।
मन्थलीमा डेरा लिएर बस्न थालेँ । करिब ६ महिनापछि हामी बसेको घरबाट अर्को घरमा डेरा सर्नुपर्ने भयो । तत्कालीन निर्वाचन कार्यालय रामेछापका प्रमुख डम्बर प्रधानको घरमा डेरा सर्यौँ । घरबेटी र हामीले पानी थाप्ने धारा एउटै थियो । तर, उनीहरूले पानी थाप्ने वेला हामीलाई सँगै थाप्न दिइँदैनथ्यो ।
डेरा सरेको एक महिना नहुँदै एक दिन घरबेटीले भन्नुभयो, ‘तिमीहरू अन्तै कोठा खोज कमला !’ छक्क पर्दै भनेँ, ‘हामी आएको त एक महिना पनि भएको छैन । किन र आन्टी ?’ भन्नुभयो, ‘तिम्रा भाइबहिनी साह्रै चकचके रहेछन् । आज मैले पूजा गर्न पानी भरेर राखेको थिएँ, छोइदिए । कहिले कौसीमा आएर पानीको ट्यांकी छोइदिन्छन् । हेर नानी, हामीलाई त यहाँ चोखोनितो गर्नुपर्छ । तिमीलाई नराम्रो भन्न खोजेकी हैन । एक महिना बस । तर बसुन्जेल भाइबहिनीलाई सम्झाऊ है ! त्यसपछि अन्तै सर ।’ केही नबोली कोठामा गएर एक्लै रोएँ । पहिलोपटक म आफ्नो जातका कारण सदरमुकाम आएर रोएकी थिएँ । त्यो घटनाले सदरमुकाममा शिक्षित मानिसहरू बस्छन्, त्यहाँ भेदभाव हुँदैन भन्ने मेरो सोच भत्कियो ।
नजिकैको ‘विनिता होटल एन्ड लज’ भएको घरमा सरेँ । होटल भएको घर भएकाले त्यहाँ जातको समस्या भएन । म १२ कक्षामा पढ्दै थिएँ । रामेछापमा पहिलोपटक रेडियो खोल्ने तयारी भयो । रेडियोको नाम थियो, ‘हजुरको रेडियो’ । आधारभूत पत्रकारिता तालिमपछि उत्कृष्ट प्रस्तोतालाई रोजगारी पक्का भन्ने थियो । म भाइबहिनीले पढ्ने स्कुलमा पढाउँथेँ । पढाउने जागिर छाडेर तालिम लिएँ । १५ दिनको तालिमपछि मसहित ७ जना छानियौँ ।
रेडियोमा काम गर्न सुरु गरेपछि पत्रकारिता नै पढ्न मन लाग्यो । रामेछापमा पत्रकारिता पढ्ने क्याम्पस थिएन । दोलखाको कालिञ्चोक उमाविमा पत्रकारिता विषयमा भर्ना भएँ । मन्थलीमै सेल्फ स्टडी गरेँ । परीक्षा दिन जानुपर्ने भयो । त्यहाँ बस्दा दोलखाकै चिनजानको साथीकोमा बस्ने पक्का भयो । म साथीलाई भेट्न गएँ । उनको कोठा जाँदै गर्दा साथीले रसाइली थरबारे सोधीन् । म विश्वकर्मा हुँ भनेँ । मेरो कुरा सुनेर साथी अलमल परिन् । ‘हेर न मेरो घरबेटीले तिमी विश्वकर्मा भन्ने थाहा पाए भने नराम्रो हुन्छ । बरु म होटल खोजिदिन्छु । होटलमा बस ल !’ उनले भनिन् । उनको कुरा सुनेर म छाँगाबाट खसेजस्तै भएँ । त्यसपछि रेडियोकै माध्यमबाट चिनजान भएकी ‘रेडियो सैलुङ’मा कार्यरत साथी सृष्टि सुनुवारसँग एक हप्ता बसेर परीक्षा दिएर फर्किएँ ।
राजधानीमा
०६९ मा मन्थलीबाट काठमाडौं आएँ । ‘जागरण मिडिया सेन्टर’बाट काठमाडौंको संघर्षका दिनहरू सुरु गरेँ । जागरण मिडिया सेन्टरमा एक वर्षको नियुक्ति सकिएसँगै नयाँ कामको खोजीमा गोरखाको ‘दिगो सामुदायिक विकास केन्द्र’ नामक संस्थामा जोडिएँ । गोरखाको सिमजुंग र गाँखु कार्यक्षेत्र रहेकाले म फिल्ड गएँ । सिमजुंगमा स्थानीय सामाजिक परिचालकको रूपमा मिना अधिकारी हुनुहुन्थ्यो । उहाँसँगै गाउँमा कार्यक्रम गर्ने अवसर पाएँ । कार्यक्रमका लागि उहाँकै घरमा बस्नुपर्ने भयो ।
विडम्बना ! त्यहाँ पनि मलाई पछ्याउँदै पुग्यो, विभेद । बेलुका बार्दलीमा बसिरहेकी थिएँ । खाना पाकेपछि मिनाजीले बोलाउनुभयो । जब म बार्दलीबाट ओर्लिएँ, दलानमा खाना पस्किएर राखिएको थियो, उहाँ र म दुवैका लागि । उहाँले भन्नुभयो, ‘अप्ठ्यारो नमान्नुस् है मिस ! हामी प्रायः बाहिरै बसेर खाना खान्छौँ, आज गर्मी पनि छ । बाहिरै बसेर खाऊँ भनेर नि ।’ म छक्क परेँ । म केही नबोली खाना खाएँ । बाहिर बार्दलीमा बिस्तरा लगाइएको थियो । त्यहीँ सुतेँ । रातभरि सोचेँ, पढेलेखेकाहरू र शिक्षित भनिएकाहरू नै परिवर्तन हुन चाहँदैनन् भने हाम्रो समाज कहिले परिवर्तन होला ?
०७१ सालको कुरा हो । रेडियो नेपालमा काम गर्न थालेको एक वर्ष भइसकेको थियो । म ललितपुरको कुम्भेश्वरमा बस्थेँ । भाइको स्कुल पुरानो बानेश्वर भएकाले त्यहाँ नजिक हुने गरी अर्को कोठा सर्नुपर्ने भयो । करिब १०-१५ दिन लगाएर कोठा मिल्यो । मध्यबानेश्वरस्थित कृष्ण थापाको घरमा ।
साथीहरू रोमा रायमाझी, प्रविशा खतिवडा र म नयाँ कोठाको भाडा बैना गरी सामान सार्ने पक्का गर्न गयौँ । कोठा हेरेर घरबेटी आन्टीलाई पैसा दिएँ । उहाँले रजिस्टरमा लेख्नू भन्नुभयो । मैले आफ्नो नाम कमला रसाइली लेखी भदौ महिनाको भाडा ३ हजार दिएको उल्लेख गरेँ । हामी तीनैजना त्यहाँबाट हिँड्यौँ ।
बेलुका करिब ८ बजे । खाना खाएर सामान प्याकिङमा व्यस्त थियौँ, दिदीभाइ । फोन बज्यो । उताबाट भनियो, ‘बहिनी, हामीले दलितलाई कोठा दिने गरेका छैनौँ । घरमा पूजापाठ गर्नुपर्छ । छोइछिटो हुन्छ । दुःख नमान्नुस् । भोलि आएर तपाईंको पैसा लिएर जानुस् ।’ म नाजवाफ भएँ ।
भोलिपल्ट बिहानै तत्काल नसर्ने कुरा आफू बस्दै गरेको घरबेटीलाई जानकारी गरायौँ । हाम्रो जातसँग उहाँहरूलाई कुनै आपत्ति थिएन । किनकि उहाँहरू डेउला समुदायको हुनुहुन्थ्यो । अरूको भन्दा काठमाडौंका सडक गल्ली सफा गर्दै हिँड्ने घरबेटीको मन धेरै सफा थियो ।
भोलिपल्ट पैसा फिर्ता गर्न गइनँ । जातकै कारण कोठा नदिने घरबेटीविरुद्ध प्रहरीमा उजुरी गर्ने निधो गरियो । महानगरीय प्रहरी वृत्त तीनकुनेमा उजुरीपछि प्रहरीले कारबाही प्रक्रिया अघि बढायो । त्यो समाचार विभिन्न सञ्चारमाध्यममा फैलियो । त्यसपछि झन् बढी पीडा थपियो । समाचारमा कमेन्ट गर्नेहरूले गरेको गालीगलोज र तिरष्कारले झन् विक्षिप्त भएँ । त्यहाँ प्रयोग गरिएका शिक्षित भनिएकाहरूको अपशब्दहरू नै काफी थिए, नेपाली समाज कहाँ छ भन्ने बुझ्न ।
कसैलाई लाग्न सक्छ, आफ्नो कुरा बताएर सहानुभूति लिन खोज्दै छ । तर, बिल्कुलै होइन । मैले त जातीय विभेद छैन, भन्नेहरूसामु उदाहरण मात्रै पेस गरेकी हुँ । देश छुवाछुतमुक्त राष्ट्र घोषणा भइसकेको छ । विभेदविरुद्ध कानुन छ । तर, सबै कागजमै सीमित छ ।
फेसबुक प्रतिक्रियाहरु