भरत केसी ।
विचार ।
महेन्द्र कपुरको एउटा हिन्दी गीत छ, ‘राम ना करे मेरे देशको कभी भी ऐसा नेता नामिले, जो आप ही डुबे, देश भी डुबे, जनताको भी ले डुबे… ।’
गायक यस गीतमार्फत भगवान् रामलाई पुकार गर्दै भन्छन्, ‘मेरो देशलाई यस्तो नेता नमिलोस्, जो आफैँ डुबोस्, देशलाई डुबाओस् र जनतालाई पनि डुबाओस् ।‘
यो गीतकाे शब्द नेपाली राजनीतिमा सान्दर्भिक लाग्छ । नेपालका राजनीतिक दलहरू धारावाहिकजस्ता भएका छन् । शृंखलावद्ध रूपमा हप्तैपिच्छे भइरहेका अप्रत्याशित घटनाले प्रस्ट देखाउँछ । जनताको पीडामा मल्हमपट्टी गर्न नसकेका दलहरूले मनोरञ्जन बाट भए पनि राहत दिइरहेका छन् ।
विश्व कोभिड-१९ सँग लडिरहेको छ । हाम्रो देश राजनीतिको खिचातानीको घर्षणमा छ । कोभिडभन्दा ठूलो डर अब राजनीतिक खिचातानीको भयो बाबै ! अब त भोलि के होला, पर्सि के होला, कौतुहलता पो हुन थाल्यो त जनतालाई । लकडाउनमा यिनीरूकै ताण्डव हेरेर दिन बित्दै छ । धन्न सामाजिक सञ्जाल छ र नेताहरूको चर्तिकला हेर्न र देख्न पाइएको छ ।
सबै दलको हविगत अनि आचरण उस्तै, आफैँले गरेका काम नै स्वर्णिम ठान्ने । मेराे गोरुको बाह्रै टक्का भनेजस्तै । जंगे बानी ।
२ दशकअघि राजनीति जुन मोडमा थियो, आज फेरि त्यही परिस्थितिमा गएर अड्किएको छ । पञ्चायतमा शोषण गर्ने निश्चित वर्ग थियो, जसले मण्डलेको उपमा पाएका थिए । अचेल दलहरू नै अघोषित मण्डले हुन पुगे, नवधनाढ्य उदाए । नेपालको राजनीति दिन प्रतिदिन निर्लज्ज बन्दै छ । नेपाली समाजले पनि यी विकृति पचाउन सक्ने स्थिति बनाइसक्यो । भ्रष्टाचार, अपहरणजस्ता घटना पनि समाजका लागि सामान्य बन्दै गएका छन् ।
पूरै राजनीतिक पुस्ताको जहाज नै सांस्कृतिक पतनमा डुबेको छ, टाइटानिक जस्तै । र, भनिएका बाैद्धिक वर्ग र नागरिक पनि भुत्ते बनेका छन् ।
पार्टीले गरेका हरेक निर्णयमाथि हामीले होमा हो थप्नुपरेको छ, गलत होस् वा सही । कार्यकर्ताको चेतनशील स्तर नेताबाट सञ्चालित छ । यस्तो लाग्दै छ, रिमोट कन्ट्रोल कार्यकर्ता को उर्वर भूमि हो नेपाल ।
राजनीति आफैँ स्खलित मात्र भएको छैन, यसले सकल समाज र युवालाई समेत क्षयीकरण गरिदिएको छ ।
यिनले बारम्बार राज्यका निकाय वा राज्यमाथि दोहन गरेर नैतिक वैधता गुमाइसके । जनताले अनुमोदन गरेको लोकतन्त्रमा राजनीतिक पार्टी निर्वस्त्र भएका छन् । सत्ता खेलका अनेक बदनामी तिकडम त छँदै छन्, त्यसमाथि नस्लीय चिन्ताले गाँजेको छ ।
सत्ता पक्षलाई आफ्नै चिन्ता छ, प्रतिपक्षकाे आफ्नै बेचैनी । सत्ताबाहिर बस्नुपरेकाे उकुसमुकुस छन् । सबै आफ्नै अभियान सफल पार्ने कसरतमा छन् । चाहे त्यो गलत नै किन नहोस्, सबैले सही हाे भनिदिनुपर्ने । शासकीय अकर्मण्यता र राजनीतिक दलका प्रहसनले जग हँसाएको छ ।
शासकीय अनुशासन र अभिभावकीय जिम्मेवारीबाट सम्पूर्ण राजनीतिक पार्टी चुकेका छन् । देशका लागि माखो नमार्ने तर तलब पचाउनेलाई देशले थेगिरहेको छ ।
शीर्ष कहलिएका मुखिया नेताको छेपारे प्रवृत्तिले पार्टी र देशलाई नै उथलपुथल पारेको छ । हैकमवादको चेपुवाबाट निस्केका बाछिटाले नेपाली जनताका मुहार पोतिएका छन् । कुशासनका लागि भएको रस्साकस्सीले समाज नै पेलानमा परेको छ । बरु कसाहीले मासुका टुक्रा कम पार्छ होला, यिनले देशलाई कुविचारले टुक्राटुक्रा पारिसके ।
राजनीतिमा बहस, मतमतान्तर हुनु स्वाभाविक हो तर कार्यकर्ता नै पौँठेजोरीमा उत्रनु दुःखद हो । प्रतिपक्षको काम सत्तापक्षलाई गाली गर्ने, सत्तापक्षको काम विरोधीको उछितो काड्नमै सीमित छ । मानौँ, सामाजिक सञ्जालमा १ प्रकारको युद्ध नै चलेका छ । एकले अर्कोलाई पछार्नमै ब्यस्त छन् धेरै ।
पार्टीका झोला बोक्नेहरूबीचको यो युद्धले सामाजिक सञ्जाल पनि आफैँ लज्जित भइसक्यो होला ! हतियारले लड्नुभन्दा बढी खतरनाक हुन्छ कुविचारले लड्नु । आफ्नो पार्टी र गुटको बचाउमा स्पष्टीकरण दिँदैमा दिन बिताइरहेका छन् नेता-कार्यकर्ता ।
आफ्ना पार्टीले गरेका बेइमानी, व्यभिचार र गलत प्रवृत्तिप्रति हामी स्वयम् जानकार छौँ । सारा जनतालाई जगजाहेर छ । तर पनि कार्यकर्ताले भन्नैपर्छ- सोह्रै आना सही हो ।
राजनीतिक कार्यकर्ता यतिबेला सप्तर्षिका शंखध्वजजस्ता भएका छन् । पार्टीले दिएका गलत आज्ञा पनि अविलम्ब पालना गर्ने । यिनका मुखियाले गरेका निर्णय गीताका श्लोक हुन् क्यारे ! दत्तचित्त भएर पालना गर्नुपर्छ, नभए पाप लाग्न सक्छ ।
यिनका पार्टीका नेताहरू कहिल्यै गलत गर्दैनन् । खालि अरुकाे गल्ती मात्र देख्छन् ।
एउटा रेलमा ३ जना मान्छे यात्रा गरिरहेका थिए– जोगी, किसान र पहलमान । तीनै जना आपसमा कुरा गर्दै अगाडि बढिरहेका थिए ।
त्यतिकैमा जोगीले भन्याे, मैले त रेलको आवाजमा पनि भगवानको प्रतिध्वनि सुनिरहेकाे छु ।
किसान सोध्छ, कसरी ?
जोगी भन्छ, मैले त हरे कृष्ण हरे राम हरे कृष्ण हरे राम प्रतिध्वनि सुनिरहेको छु ।
किसान एकछिन ध्यानमग्न हुन्छ र भन्छ, होइन होइन, मैले त हो हो माले हो हो, हो हो तारे हो हो सुनिरा छु त !
फेरि पहलमानले कान ठाडो पारेर सुनेझैँ गर्छ र भन्छ, होइन होइन, मैले त कसरत गर ज्यान बनाओ, कसरत गर ज्यान बनाओ भनेकाे सुनिराछु ।
रेल पनि उही, रेलको आवाज पनि उही तर एउटालाई अर्को र अर्कोलाई झन् अर्को सुनिन्छ । किनकि, ती तीनै जनाको रिसिभिङ सेन्टर नै फरकफरक छ । अहिले हाम्रो राजनीतिमा पनि नेता र पार्टीअनुसारका रिसिभिङ सेन्टर छन् । अक्सर झोले कार्यकर्ताले त्यति मात्र सुन्छन्, जति तिनका ठेकेदारले सुन्ने बनाएका छन् । यिनलाई आफ्ना ठेकेदारकाे गलत कामको पनि सही सुन्ने आदत बसिसकेको छ ।
पहिलेपहिले रतन्धोले मान्छेलाई दृष्टिविहीन पनि बनाउँथ्यो । हिजाेआज राजनीतिले दृष्टिविहीनजस्तै बनाउन थाल्यो । सबैभन्दा बढी राजनीतिक दृष्टिविहीन भएको देश । सविस्तारमा अन्धभक्त ।
पार्टीभित्र अब केवल कार्यकर्ता छन्, सदस्य छैनन् । सदस्य हुन्थे भने नेतृत्वको सामूहिक सांस्कृतिक पतनमाथि औँला उठाउन सक्थे । पार्टीमा केवल झोले र एस म्यान हरू मात्र छन् । यिनकाे कामै पार्टीमा सतर्क-गोडाफाट गर्ने मात्र हो । स्वविवेक भनेकाे त यिनलाई थाहै हुँदैन, प्रयोग नै गर्न पाएका हुँदैनन् । यिनले गर्न सक्ने भनेको आदेशको पालना हो । गला फाट्ने गरी चिच्याउँछन्– एस सर !
आफ्ना नेता र पार्टीले गलत गरे भनेर त भन्नै मिल्दैन, पाप लाग्छ । अहिले पार्टीको विरोध गर्याे भने त वैकुण्ठै तरिँदैन । यिनकाे श्वास पनि नेताको आज्ञाविना चल्दैन । आफ्ना नेता जति सब राम, विपक्षी जति सबै दशगजे रावण । पूरै देशको चिरहरण गर्ने जति सब अर्को पार्टीका हुन् । यिनले आफू सिबाय सबैलाई दलाल, बेइमान, देशद्रोही देख्छन् । खुम्चिएको छाती २ इन्च तन्काउँदै गर्वका साथ भन्छन्, हाम्रो पार्टी गौरवशाली- देशभक्त !
फेरि झोले कार्यकर्ताको पार्टीमा आ-आफ्नै आकार हुँदो रहेछ । स्मल, लार्ज, एक्स एल, माथिमाथि बस्ने त डब्बल र त्रिपल एक्सएलका पनि हुने रहेछन् । आकारको मूल्यांकन कसरी हुने रहेछ, त्यो त भन्नै परेन ।
गुलामी गर्दागर्दै विचारले कुच्चिएको हाँडीजस्तो रूप लिइसक्यो तर यिनको हनुमानगिरी तैपनि पाक्दै छ ।
झोले कार्यकर्तालाई त हनुमानसँग दाँज्नै मिल्दैन । ती हनुमान सत्यको पक्ष लिन्थे । गलत भएको ठाउँमा खबरदारी गर्थे । यी हनुमानले आँखा चिम्लेर हातमा तेल दलेर आफ्ना नेताको चाकडी मात्र गर्छन् ।
ती हनुमानले रावणकै अगाडि उसको विद्वताको प्रशंसा गर्छन् । रावणको शक्तिको मुक्तकण्ठले प्रशंसा गर्छन् । आफ्ना विपक्षीमा भएको शक्तिको प्रशंसा गर्नु हनुमानले धर्म ठाने । तर, यी पार्टीका हनुमानले एकअर्कामा खोटैखोट मात्र देख्छन् । विपक्षीजति सबै अराष्ट्रिय देख्छन् ।
यी हनुमान अलि फरक छन् । उनीहरू एकअर्काका नेता/कार्यकर्तालाई कमिलोजति पनि मान्दैनन् । ती युगका हनुमानजी खुबै जिम्मेवार र जवाफदेही थिए । यी हनुमान गैरजिम्मेवार र लम्पसारवादी छन् ।
यिनका नेताले गलत गरेको बरु तेस्रो आँखाले देख्ला तर यिनले देख्नेवाला छैनन् । यसैलाई भनिन्छ– हनुमानगिरीको अन्ध पराकाष्ठा ।
हरेक पार्टीले यस्ता झोले समूह निर्माण गरेर राखेका हुन्छन् । विद्यार्थी, मिडिया, कर्मचारी र अरु थुप्रै रूपमा । यिनको काम भनेको पार्टीले जस्ताेसुकै काम गरोस्, तिनकाे सही थाप्ने हाे । र, अप्रत्यक्ष प्रतिकार गर्ने निन्जा स्टाइलमा ।
जसरी रुख काटेर कागज बनाउँछन् र त्यही कागजमा लेख्छन, रुख बचाऔँ । ठीक त्यसैगरी, हिजाेआज राजनीतिक दलका नेताहरू पहिले देश लुट्छन्, अनि देश बनाउने अभियान चलाउँछन् । यिनकाे पार्टीको भन्दा राम्रो व्यवस्था त बाँदरको समुदायमा हुने रहेछ । यिनले सारा समय हामी राम्रा हौँ भन्नमा खर्चिन्छन तर राम्रो गर्नमा कहिल्यै खर्चिदैनन् ।
अब स्वतन्त्र जनता भन्ने शब्द नै डाइनाेसर बन्लाझैँ भइसक्यो । सबले कुनै न कुनै दलका नेताको झोला बोक्दै छन् । यस्तो लाग्छ, उमेर पुगेपछि पहिलो काम नागरिकता बनाउने र दोस्रो काम पार्टीमा भर्ती हुने हाे ।
भन्दा अप्ठेरो सुनिन्छ, तर चलनचल्तीमा कसैले भनेका थिए रे, हामी नेपाली भेडा हौँ, सदियौंदेखि हामी कुनै न कुनै पार्टीका गोटी बन्दै आइरहेका छौँ । हाम्रा बाजे, बुबा र हाम्रो सारा पुस्ताले गोटी बनेरै जीवन बिताए । यही अवस्था रहिरहे आगामी कति पुस्ताले गोटी बनेर बाँच्नुपर्ने हो, अनिश्चित छ ।
गब्बरहरूको जन्म आफैँ हुँदैन । गब्बर आफैँ मात्र त्यति वितण्डाकारी बन्न सक्दैन, जबसम्म ऊसँग कालियाहरू हुँदैनन् । तमाम कालियाहरूको समागम रूप नै गब्बर हो । कालियाहरूको समर्थनले नै गब्बरजस्ता मान्छे समाजका लागि खिल बन्न पुग्छन् । गब्बरलाई खुंखार डाकु बनाउने कालियाहरू नै हुन् ।
पहिलेपहिले गब्बरले आदेश दिन्थ्यो र कालियाहरू गाउँ-गाउँ छिरेर लुट मच्चाउँथे । अहिले पनि गब्बरकै आदेशले कालियाहरूले लुट मच्चाउँछन । फरक यति हो कि पहिलेका कालियाहरू गैरकानुनी ढङ्गले लुट्थे, अहिलेका कालियाहरू कानुनी ढङ्गले लुट्छन् ।
पहिलेपहिलेका कालिया र गब्बरहरूले आफ्ना विरुद्धमा उत्रनेको हत्या गरिदिन्थे । अहिलेका गब्बर र कालियाहरूले पनि आफ्ना विरोधीको हत्या नै गर्छन् तर फरक यति हो, खुन बग्दैन । यिनले बस चरित्रहत्या गर्छन् ।
पहिले शायद गाउँठाउँ परिवेश सानो थियो, र त एउटा गब्बर र सीमित कालियाहरू हुन्थे । तर, अहिले गब्बरहरू गाउँदेखि शहरसम्म फ्रेन्चाइजी लिएर फैलिएका छन् ।
हिटलरका हरेक काममा जयजयकार गर्नेहरूले नै हिटलरलाई क्रुर शासक बन्नमा मलजल गरे । समाजमा आज पनि हिटलरहरूको नै बिगबिगी छ । बस्, पात्र, समय र परिवेश मात्र फरक छ । हिजाेआज हिटलरहरू नयाँ भर्सन मा आएका छन् । तर, यिनका चरित्र र व्यवहार दुरुस्तै मेल खान्छन्, उही क्रुर शासक हिटलरजस्तै । हामीकहाँ पनि हिटलरलाई जन्माउने र मलजल गर्नेहरूको कम ठूलाे जमात छैन ।
लेखक विजय कुमारले त्यसै भनेका होइनन्, कुनै पनि देशले आफ्नो स्तर अनुसारकाे नेता पाउँछ ।
हामी जनताको स्तर यति मात्रै हो त ? साँच्चिकै जनताले आफ्नाे स्तरअनुसारका नेता पाउने भए अब आफ्नो स्तर फेर्ने बेला आएको हाेइन र ?
२/४ जनाको निहित स्वार्थले मात्र देशले त्यसको भार बोक्दछ । रावण सिर्फ एक व्यक्तिको स्त्रीमोहले गर्दा त्यो पापको परिणाम पूरै लंकावासीले व्यहोर्नु पर्याे । एक जना पनि गलत गर्ने मान्छे राज्यको अख्तियारीमा पुग्यो भने त्यसले सिङ्गो मुलुक नै ध्वस्त हुने रहेछ । हामीकहाँ त झन् यस्ता व्यक्ति जत्था नै बनाएर खाँदिएर बसेका छन् ।
नातावाद र नश्लीय चिन्तनले पूरै समाज उजाडिन्छ । पुत्रमोहको चुरमा परेका धृतराष्ट्रले आफ्ना छोराले गरेको अन्याय टुलुटुलु हेरेर मात्र बस्दा सुन्दर हस्तिनापुरमा नरसंहार निम्त्यायो । गलत र गलत प्रवृत्तिमाथि औँला न उठाउँदा त्यसले गलत गर्नेलाई मात्र होइन, पूरै देशलाई नै भूमरीमा जाक्दछ ।
हामीलाई प्रधानमन्त्री युवा चाहिएको छ, मन्त्री युवा चाहिएको छ, राज्यको पक्षमा काम गर्ने मान्छे चाहिएको छ । तर, हामीले चुन्ने भनेको असक्त, वृद्ध र कामै गर्न नसक्ने नै हुन्छन् ।
हामीलाई कस्तो भविष्य र देश चाहिएको छ ? त्यो हामीलाई थाहा हुनुपर्छ । हामीले जस्ता राजनीतिक खेलाडी छान्छौँ, त्यही स्तरको खेल हेर्न पाउँछौँ । मेस्सीको खेल हेर्न उनैलाई छान्नुपर्छ ।
राम राज्यको कल्पना गर्ने जनताले भोट पनि रामलाई नै हाल्नुपर्छ । नभए दुशासन जन्मिन्छन् । र, देशको चिरहरण गरिरहन्छन् । विषवृक्ष रोपेर रुद्राक्ष पाइँदैन । हामी पार्टीमा यति धेरै आशक्त र गैरजिम्मेवार हुन थाल्यौँ कि पार्टीले चोरलाई उम्मेद्वार उठाए पनि हाम्रो भोट दायाँबायाँ जाँदैन । त्यसैको परिणाम हो, गलत र अक्षम मान्छे सांसद बनेर आउने र सही तथा योग्यहरूले काँसी जानुपर्ने ।
कुनै पनि देशको सबैभन्दा ठूलो शिक्षाको मानक भनेको त्यो देशको राजनीति नै हुन्छ । तपाईं गीता मान्नुस् या नमान्नुस्, त्रिपिटक मान्नुस् या नमान्नुस् तर त्यो देशका हरेक नागरिकले राजनीतिक पुस्तक संविधान मान्नैपर्छ । देशको राजनीति सही छ भने सबै थोक सही छ र राजनीति गलत छ भने त्यो देशमा केही कुरा पनि सही हुन सक्दैन । राजनीति देशको मेरुदण्ड हो । सारा कुरा राजनीतिकै बाइ प्रोडक्ट हुन् ।
दृश्य र अदृश्य सबै थोक राजनीति नै हो । देशको भाग्य र भविष्य पनि राजनीतिले नै लेख्ने हो । देशका हरेक तत्त्वको संरक्षक नै राजनीति हो । कुनै देशको विकास, राजनीति कस्तो छ, त्यसले निर्धारण गर्दछ ।
संसारका जति पनि विकसित देश छन्, ती त्यत्तिकै समृद्ध र कुशल भएका होइनन् । त्यहाँ प्रथमतः राजनीतिक चेतनाको विकास भएको हुन्छ । त्यहाँ हरेक जनतामा जागरुकता हुन्छ । खबरदारी गर्न सक्ने स्वन्तन्त्र चेत छ । पार्टी र नेताले गलत गरे भने हामीले जसरी थपडी ठोकेर बस्दैनन् । जबसम्म हामी भोट हाल्नेमा नैतिकता आउँदैन, तबसम्म भाेट माग्नेमा पनि नैतिकता पलाउँदैन ।
बोतलसँग भोट साट्ने जनताले यही स्तरका नेता पाउँछन् । यही स्तरको विकास पाउँछन् र यही स्तरको राजनीति पनि पाउँछन् । अहिलेको राजनीतिक असफलता झोले र हनुमानगिरी प्रवृत्तिकै उपज हो । हाम्रै भोटले जन्माएकाे हाे, राज्यसत्तामा जुवा खेल्नेहरू । अहिले आफू अछुतो बन्ने काम नगरौँ । यसबाट बच्ने छुट हामीलाई छैन । अरुलाई बदलेर मात्र देश बन्दैन, आफू बदलिएपछि मात्र देश बदलिने हो । त्यही भएर आफ्नो स्तर बदलौँ, अनि मात्र देश बदलिन्छ ।
यी हाम्रै नेता हु, यी हाम्रै पार्टी हुन् र यlनलाई खबरदारी गरेर सच्याउने जिम्मेवारी पनि हाम्रै हो । अत: राजनीति सिङ्गो देश र नागरिकसँग जोडिएको सेतु हो । त्यसैले राजनेता मान्दा दूरदर्शी, योग्य र इमानदारलाई मानौँ । हनुमानगिरी बन्द गरौँ र देशलाई जोगाऔँ ।
फेसबुक प्रतिक्रियाहरु