होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • चलनचल्तीका पुँजीवादी र कम्युनिष्ट पार्टीभित्र दलित समुदायको हविगत !
विचार/ब्लग

चलनचल्तीका पुँजीवादी र कम्युनिष्ट पार्टीभित्र दलित समुदायको हविगत !

  • नागरिक रैबार
चलनचल्तीका पुँजीवादी र कम्युनिष्ट पार्टीभित्र दलित समुदायको हविगत !

जातवार्ता पढ्दा र पुँजीवादी चुनावमा गुमनाम तरिकाले होमिएको मेरो समाज अध्ययन गर्दै गर्दा – लोकतान्त्रिक भनिने पार्टी र प्रचलित कम्युनिष्ट पार्टीमा दलितको हैसियत यति किन कम्जोर छ र यो हविगत हुँदैछ ? र, आज दलित समुदायबाट प्रतिनिधित्व गर्ने गोरख शार्कीले हिमाली गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्र उमेदवारीको प्रचारमुलक ग्राफिक्स फोटो सामाजिक सञ्जालमा पोष्ट गरिरहँदा लेखेको देउडा गित “स्वामीकार्तिक जुकोट्याको, हिमाली फैतीको,” “बुढिनन्दा कोल्ट्यालको, काहीँ न काहीँ रैतीको,” माथिको प्रश्न र यस देउडा गीतका विषयमा अलि अलि सतही रूपमा घोत्लिनु आवश्यक पर्छ कि भन्ने लाग्यो ।

कुराको प्रारम्भ जातवार्ता १८४ पेजबाट गर्छु ।

यहाँ कुनै पार्टीभित्र वा कुनै राजनीतिक व्यवस्था अन्तरगत कुनै वर्ग र समुदायको कस्तो हैसियत हुन्छ भन्ने कुरा पार्टी वा राज्यले कस्तो विचार र कस्तो नीति अख्तियार गरेको हुन्छ भन्ने कुरामा भर पर्छ । नेपालमा चल्दैै आएका कम्युनिष्ट वा लोकतान्त्रिक धारका पार्टीहरुले नेपाली समाजको वनावटलाई जात व्यवस्थामा आधारित भएको रुपमा विश्लेषण गर्न नसक्दा दलित समुदाय समाज र क्रान्तिका निम्ति कस्तो समुदाय हो भनि किटान गर्नमै गल्ती गरेका छन् ।

विज्ञापन

आम रुपमा पार्टीहरुले पार्टीभित्र निरपेक्ष समानताको नीति अख्तियार गर्नु मुल समस्या हो । किनभने पार्टीमा संगठित सदस्यहरु असमान आर्थिक र साँस्कृतिक धरातलबाट आएका हुन्छन् । उनीहरुको हैसियत निर्माणको विधि चाहिँ निरपेक्ष समानतामा आधारित हुने वित्तिकै त्यो यर्थाथमा असमानतामा आधारित नीति हुन पुग्छ । जस्तो कि, पार्टीमा आउने एउटा गैरदलित सदस्य आर्थिक र साँस्कृतिक रुपमा दलित सदस्य भन्दा सम्पन्न एवम् स्वतन्त्र हुन्छ । त्यो गैरदलित सदस्य समाजका प्रत्येक जातका मानिसको घरघरमा अकण्टक रुपमा पुग्न सक्छ ।

दलित समुदायबाट आएको सदस्य भने समाजको सबै स्थानमा त्यसरी नै पुग्न सक्दैन् । किनकि, उसले भेदभावजन्य थुप्रै बाधको सामना गर्नुपर्ने हुन्छ । त्यस्तै, परम्परागत रुपमा आर्थिक हैसियत कम्जोर हुँदा दलित सदस्य अन्य समुदायको सदस्यसरह सक्रिय हुनपनि समस्या उत्पन्न हुन्छ । अन्य बाधालाई पन्छाएर अगाडि बढ्ने दलित समुदायबाट विकसित भएको सदस्यलाई समाजको अन्य समुदायको सदस्य भन्दा कम स्वीकार्य हुन्छ ।

किनभने समाजको चेतना त जात व्यवस्थामा आधारित नै छ । यी सबै कारणले गर्दा एकै समयमा उति नै योगदानसहित राजनीतिक यात्रा सुरु गरेको दलित सदस्य क्रमशः पछाडि पर्दै जान्छ र अर्को गैरदलित सदस्य चाहिँ निरन्तर अघि बढ्दै जाने बातावरण बन्न पुग्छ । त्यसकारण मख्य समस्या पार्टीहरुले लिने निरपेक्ष समानताको सिद्धान्तमा छ ।

अर्को कुरा, जात व्यवस्थामा आधारित समाजको यर्थाथद्धारा प्रशिक्षित नगरिएका नेता, कार्यकर्ता स्वतः नै कम वा वेसी जात व्यवस्थाजन्य मनोविज्ञानसहित पार्टीमा क्रियाशील हुन्छन् । उनीहरुको नियत ठीक भएको अवस्थामा पनि दलित वा महिलाजस्ता समुदायबाट विकसित हुने नेता-कार्यकर्ताको नेतृत्वमा, क्षमतामा उनीहरुलाई विश्वास हुँदैन् । औपचारिक कुराकानीमा त्यो अविश्वास व्यक्त त हुँदैन । तर, व्यवहारको लामो शृङ्गखलामा त्यो प्रकट भईहाल्छ । अझ नियतमै धेरै वा थोरै समस्या भएका नेता-कार्यकर्ताबाट त त्यस्तो वातावरण सुनियोजित रुपमा बन्न पुग्छ ।

पार्टीको निरपेक्ष समानताको सिद्धान्त गैरदलित समुदायबाट विकसित सहकर्मी नेता-कार्यकर्तामा रहेको जात व्यवस्थामा आधारित चेतना र समाजको अस्वीकृतिका कारण परिणाममा दलित समुदायबाट विकसित नेता-कार्यकर्ता पार्टीभित्र उपेक्षित र उत्पीडत हुन बाध्य हुन्छन् ।

पार्टीभित्र र समाजमा आफ्नो योगदान अनुसारको स्वभाविक हैसियत निर्माण हुने प्रक्रिया अवरुद्ध भएपछि पार्टीमा लागेको समय त लम्बीदै जान्छ । तर, अपेक्षाकृत व्यक्तिगत वा सामाजिक उपलब्धी चाहिँ हुन सक्दैन् ।
त्यस्तो विब्ल्याँटो सिलसिलाले या त दलितलगाएत उत्पीडित समुदायबाट आएका नेता-कार्यकर्तामा निराश र निष्क्रियताको विकृत देखिन थाल्छ, या त पार्टीभित्रको कुनै गैह्रदलित नेताको निरह पिछलग्गु बनेर राजनीतिक जीवन विताउन बाध्य हुन्छ । सारमा भन्दा आफ्नो सत्व र स्वतन्त्र विचारसहित पार्टी राजनीतिमा हस्तक्षेप गर्ने, जुन पार्टी जीवनको सबैभन्दा महत्वपूणर् काम हो, तर त्यहाँ क्षमता र हैसियत गुमाएको अस्तित्व बाँच्न बाध्य हुन्छ ।

जबसम्म हाम्रो नेपाली समाजलाई जात व्यवस्थामा आधारित समाजका रुपमा आत्मसाथ गर्दैन र त्यस्तो समाजको पिँधको दलित समुदायलाई प्रगतिशिल परिवर्तनको अग्रदस्ताका रुपमा संगठीत गर्नैपर्ने समुदायका रुपमा स्वीकार गर्दैन, तवसम्म दलित समुदायबाट आउने नेता-कार्यकर्ताको क्षमता र स्वीकार्यता अभिवृद्धिका निम्ति व्यवस्थीत वैचारिकीको सुरुवात नै हुन सक्दैन ।

त्यसै गरी संगठनात्मक क्षेत्रमा निरपेक्ष समानताको सिद्धान्तको सट्टा दलितलगाएत उत्पीडित समुदायबाट विकसित हुने नेता-कार्यकर्ताको नेतृत्व क्षमता र हैसियत विकासका निम्ति अतिरिक्त नीति लागु गर्न पार्टीहरु जबसम्म तयार हुँदैनन् तबसम्म पार्टीभित्र उनीहरुको विकास अरुसरह हुनै सक्दैन् । दलित समुदायको नेता-कार्यकर्तालाई अघिसार्दा आम समामाजमा पार्टीलाई कहिलेकाँही थोरै समय घाटा पनि हुनसक्छ । तर, दीर्घकालिन रुपमा त्यो नै समाज परिवर्तनको अनिवार्य कदम हो भन्ने आधारमा पार्टीहरुले जबसम्म आफ्नो संस्कृतिमा फेरवदल गर्दैनन्, तबसम्म दलित समुदायबाट विकसित हुने नेता-कार्यकताको सामाजिक स्वीकृति पनि बन्न सक्दैन ।

यो प्रसंगमै मेरो अध्ययनको ध्यान यता मोडियो । माथिको कुरा ठिक हो कि होईन् तिर भनी सोच्दै गर्दा गणतन्त्र नेपाल जो आज हामी भोगिरहेका छौ । त्यसमा एमाले र माओवादी पार्टीले गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका उम्मेदवार दुईजना दलित समुदायका व्यक्ति उठाए जसो गरे, पहिलोपटक । अन्ततोगत्वा लोकतान्त्रिक भनिने पार्टीले सारेका उम्मेदवार रामवरण यादवलाई नै राष्ट्रपति बनाउन लम्पसार भए । हुँदाहुँदै आजभोलि केपी ओलीको हातमा आएको एमाले पार्टीमा यो ईतिहासभरि दलित र महिला पार्टी प्रमुख पदमा कहिल्यै नपुग्ने गरि पार्टी बन्न पुग्यो । नेकपा माओवादी पार्टीले दशवर्षे जनयुद्ध दलित समुदायको ढाडमा टेकेर जुन उचाई लियो । अन्तिममा दलित समुदायका कारणले रूकुम हत्याकाण्ड भएको भनी जनार्दन शर्मा मार्फत उल्टै संसदमा कुर्लिने अवस्थामा आईपुग्यो,त्यो पार्टी ।

सशस्त्र विद्रोह भईरहँदा क्रान्तिकारी भनेका दलित समुदायका नेता कार्यकर्ता हुन भनिन्थ्यो । तर, तीनै वर्गका मान्छे नेतृत्व तहमा पुगी बोल्न सक्ने भएपछि यो दलित हो । यसले केही सक्दैनन् भन्ने पारियो, भनियो । कस्तो कम्युनिस्ट आन्दोलन भएको रहेछ, त्यस्तै लोकतान्त्रिक भनाउँदा पार्टी भएछन् ? यसलेपनि पुष्टि हुँदै गएको भान पर्दै जान थाल्यो जातवार्ताभित्रका तथ्यगत वाक्यांशहरू पढ्दा । अँझ त्यतातिर धेरै न भनिकन सोही कुरालाई दाँझ्न मेरै बाजुरा जिल्लाकै कुरा गरौँ न भन्नेतिर पुगे ।

यतातिर छयालीस साल पछितिर चलनचल्तीमा आएको नेकपा एमाले पार्टीको पाँचाैँ जिल्ला अधिवेशनसम्म पुग्दा संगठीत भएका दलित समुदायका नेता कार्यकर्ता एकदम ठीक थिए, मानिए । साह्रै क्रान्तिकारी सर्वहारा वर्गका नेता-कार्यकर्ता कहलिय । जब छैटौं जिल्ला अधिवेशनसम्म आईपुग्दा त्यो पार्टीको उपाध्यक्ष पदमा दलित समुदायको त्यो बेलाका चल्दाफुर्दा नेता किट्टो लवार उठ्दा वेठीक, उही क्याटागोरीका तर, ठकुरी खलकका रंगमान शाही हुँदा वेल्कुल ठीक । त्यहीँ पार्टीको उपसचिवमा दलित समुदायको प्रखर होनाहार योद्वा काँसी विक उठ्दा वेठीक । हुने खाने तथा पञ्चप्रधानका छोरा गगन रावल हुँदा बेल्कुल ठीक भनी नारा लगाईयो ।

उसै काँग्रेसमा पनि छ । दिल्लीमा चौकिदारी गरि दुःखदायी पीडाबाट वर्गीय मुक्तिका लागि लड्न दलित नेटवर्कका बाजुरा जिल्ला अध्यक्ष हुँदादेखि  समानुपातिक साँसद हुँदासम्म नेपाली काँग्रेसमा महाँ नेपाली वा ! वाही भए । जब नेपाली काँग्रेसको सातौँ जिल्ला अधिवेशनबाट प्रत्येक्ष सभापति हुने उहाँको ईच्छामा कोही कसैले चुईक्क कुरै गरेनन्, सुनेनन् पनि । यतिसम्म कि चौधौँ राष्ट्रिय महाधिवेशनका लागि भोटर प्रतिनिधि हुँन खोज्दापनि एकाएककी नेतृ रिता शाहीको हैसियतमा पनि उहाँको गणना हुन पाएनन् । वाफ् रे ! हम्मेहम्मेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि चुनिए, नेपाली । अँझै अर्को विडम्बना ! हेर्नुस् न । उहीँ पार्टीमा पुरै अल्लारे बैँस ढल्काएका वीर बहादुर विक बडीमालिका नगरपालिकाको मेयर हुने कुरा त छोडौँ, वडाध्यक्षको टिकट पाउने हैसियत सम्मपनि पुगेनन्, त्यो पार्टीमा । विचरा ! जस विक पञ्चायती व्यवस्थाका विरूद्द लड्दा लड्दै बहुदलीय व्यवस्था आएपछि कम्युनिस्टको सदस्यता लिएका रहेछन् । कर्ण थापा, लाल थापा र हिक्मत शाहीको विभेदकारी नीतिले थला परि उहीँ बेलै काँग्रेस बनेका मान्छे अहिले वडा सदस्यसम्म पनि हुन पाएनन् ।

निकै क्रान्तिकारी भनिएको अर्को पार्टीतिर पनि फर्केर हेर्‍यौँ भने झन हरी विजोक देखिन्छ । बाजुरा जिल्लाका पहिलो माओवादी कमाण्डर नेता माओवादी पार्टीले उठाएको दश वर्षे सशस्त्र द्वन्द्वले ल्याएको आमुल परिवर्तनपछि यहाँको भुमिकाको कदर गर्दै समानुपातिकबाट माननीय राज्यमन्त्री हुँदै अहिलेका केन्द्रीय सदस्यसम्म बनायो दलित समुदायका कर्ण विकलाई त्यो पार्टीले । उहाँको यहाँसम्मको यात्राप्रति सलाम छ । सहानुभूति नै छ, बाजुराबासीको उहाँप्रति । तर, पछिल्लो समय जिल्लामा आफुले प्रत्येक्षको टिकट लिने पाउने त परकै कुरा छ, भयो । अहिलेको स्थानीय तहको निर्वाचनमा आफ्ना नेता-कार्यकर्तालाई टिकट बाँड्नपनि नसक्ने हालतमा पुगे, सकेनन् । या, पुर्‍याईयो थाहै भएन नेकपा माओवादी केन्द्रमा ।

किन कि त्याे पार्टीकाे बाजुरा जिल्ला ईन्चार्ज उहाँ नै हाे भन्ने छ । तर, रजगज अर्कैको देखिन्छ जिल्लामा । उस्तै नेकपा माओवादीका प्रदेश समिति सदस्यमा समान हैसियतका मानबहादुर विक र दविचन्द बुढा हुन् । तर, बुढा जिल्लाभर टिकट बाँडफाँडमा हैकम जमाएर बसेका छन् । बडीमालिका नगरपालिकाको यस अघिका मेयर पदका उम्मेदवार दलित समुदायका विक आफ्नै पालिकामा स्थानीय तहको टिकट बाँडफाँडमा सरिक हुनसमेत पाएनन् । तिनले पनि निकै पार्टीभित्रको पेलानमा परेको महशुस गरिरहेका छन्, यतिबेला । उता बुढीनन्दा नगरपालिकामा मेयर पदमा नेकपा माओवादी केन्द्रबाट उठेका दलित समुदायका भरपर्दा नेता भरत विक त्यहाँका खानदानी पुँजीपतिहरूका पार्टी र उम्मेदवारहरुसित वर्गसंघर्षरत छन् । साहेद ! उनकै पार्टीभित्र निकै उत्पीडनमा परेरै हो कि आजभोलि उपल्लो वर्गका नेताहरूका पछिपछि लागेका फोटा सार्वजनिक भईरहेका देखिन्छन्, सामाजिक सञ्जालमा । तर, खास उहाँमा विचलन आएको हो कि ? पार्टीको असहयोगमा परेका हुन्, यो उहाँको कुरा बुझ्दै गरौँला । तपाईपनि बुझ्दै गर्नु होला है त !

बरू, हिमाली गाउँपालिकामा एकदम उत्पीडनमा परेको दलित समुदायका गोरख शार्की भने यो दलाल संसदीय पुँजीवादी शासन व्यवस्था यो यो कारणले खराब हो भनी यो पङ्क्तिकारले भन्दाभन्दै पनि नमानी यहीँ दलाल पुँजीवादी संसदीय व्यवस्था भित्रबाट उत्पीडित वर्गको मुक्ति हुन्छ भनी एक खालको मुख्र्याइँ गरि जानअन्जानमै तीनकै मतियारहरूसँग लड्न माओवादी पार्टीले टिकट नदिँदा नदिँदैपनि सिँगाउरी खेल्न स्वतन्त्र तरिकाले लडिरहेका छन् । “स्वामीकार्तिक जुकोट्याको, हिमाली फैतीको,” “कोल्ट्यालको बुढीनन्दा, काँही न काँही रैतीको” । यही यसो देउडा गीतसहित उहाँले उमेदवारीको प्रचारमुलक ग्राफिक्स फोटो पोष्ट गरिरहँदा लाग्छ उहाँको सपना पनि त्यहीँ कर्णालीका माछाको चारो बन्नेवाला छ । किन भन्दा याे गीतले सबै क्षेत्रमा गैर दलितकै हैकम छ । जिल्लामा कहिपनि दलित समुदायलाइ सहजवातावरण  छैन् भन्न खाेजेकाे देखिन्छ ।  कुरा अलि फरक ढंगबाट हेर्दामात्र ठीक कहाँनेर हो भन्न खोजे भने जात व्यवस्थाले सदियौँदेखि त्यो ठाउँमा ठकुरी मल्ल राजाहरूको राजकाजी सिँहासनबाट चल्ने शासन व्यवस्थाभित्र उनीहरूकै रजगज भएको ठाउँमा उनकै भाषामा (भियाल कमारा) भनिने रैती शार्कीको सन्तान त्यहीँका बाबुशाही भनिएकाहरूसँग चुनाव लड्ने कुरा त्यति सजिलो हँसी मजाकको कुराचाँही होईन् भन्ने लाग्छ । एमालेबाट त्यहीँका रैथाने ठकुरी मल्ल राजा अजबहादुर मल्ल र काँग्रेसबाट यानिकि हिमाली गाउँपालिकाका वर्तमान पालिका अध्यक्ष गोविन्द्र मल्ल दुईजना प्रभावशाली प्रतिद्वन्द्वी छन् । त्यहीँकि उहीँ ठकुरीकै भाषा शैलीको राईदाईमा पिल्सीएकी दलित समुदायबाट राजकला शार्कीले एमालेबाट उपाध्यक्ष पदमा राज गर्ने कुरापनि केपी ओलीको वाईयात बकबास युक्त भाषण भन्दा फरक जसो लाग्दैन् ।

अँझ हेर्नुन । एमालेमा केन्द्रीय अध्यक्ष केपी ओली, सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र जिल्ला ईन्चार्ज लालबहादुर थापाको छत्रछायामा ओतिएको हुँदा हुँदै पनि उहाँहरूले भन्दामात्रैको होनार दलित समुदायको प्रखरवक्ता काँशी विकलाई राष्ट्रिय सभाको सुचिको ललिपपसम्म बाहेक अरु केही दिएनन्, पाएनन्, विकले केही । हिजो एमालेमा एक पद उपसचिव हुँदापनि भएनन् । आज दुई उपसचिव पद हुँदापनि जनक बोहरा र हरि रोकायाले पाए, तिनले पाएनन् । बरू पालिकै पिच्छे नौ उपसचिव बनाए के पो ? नत्र अहिले एमाले जिल्लाको राजनीतिक निणार्यक भुमिकामा कँहि छैनन्, उनी । नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्यसमेत भएकाले अहिलेको स्थानीय तहमा दलित समुदायको कोही मान्छे प्रमुख कार्यकारी पदको उम्मेदवार बनाउनै सकेनन् । यसले पनि उहाँ पार्टीको शक्तिमा छैनन् भन्ने प्रष्टै हुन्छ । अहिले सिरफ गैरदलित नेताका पिछलग्गु हुन बाध्य भई उनकै प्रचारप्रसार विभागमा हाेमिएका छन् ।

वाफ् रे ! वाफ ! नेकपा एमालेले बडीमालिका नगरपालिका वडा नं. ७ को निर्विरोध वडाध्यक्ष पदका उम्मेदवार भनेर व्यापक सामाजिक सञ्जालमा प्रचारप्रसार गर्नुदेखि सदरमुकाममा वडाध्यक्ष पदको उम्मेदवारी दर्ता गर्न जिल्ली तलमाथि गाउँबाट बाजागाजा तामझाम सहित मार्तडी बजार आएका दलित समुदायका पछिल्लो पुस्ताका चल्तीका युवा नेता जंग विक वडाध्यक्ष पदमा मनोनयन दर्ताका लागि मार्तडीको राजकटेजबाट हिड्न लागेको एक मिनेटमै वडाध्यक्ष पाएको टिकट खोसिएर धर्म राज पाध्यायको हातमा टिकट पुगेको पत्तै पाएनन् । विचरा ! अहिले सिरफ प्रकाश शाहका निजी पिएनमा सिमित रहे, या पारिए । यो पंङ्तिकारलाई बडा सोच मग्न बनाएको छ ।

अब नेकपा (ऐकिकृत समाजवादी)का कुरापनि त्यसै छन् । अहिलेको प्रचलित कम्युनिस्ट पार्टीका पुराना अलि प्रचलित युवा तथा दलित समुदायका चल्तिकै नेता थिए, काँशी नेपाली । त्यो बेलाका एमाले नेता काँशी नेपालीलाई एमालेले उभो कहिल्यै हुन दिएनन् । बरु, एसवालाले प्रदेश कमिटी सदस्य बनाए । अहिले नगरप्रमुखका लागि टिकट दिए लिएको जनतालाई थाहै दिनन्, खै कहाँ उडाए उहाँलाई उपल्ला थरीका नेताहरूले ।

बडीमालिका नगरपालिका वडा नंं. नौ मा एमालेले बहुत रस्साकस्सीका वीचमा दलित समुदायको ईमानदारी छलकपट रहित पार्टीको अनुशासित सोझो व्यक्ति सुर्य किरण विकलाई वडाध्यक्षको टिकट त जेनतेन दिए । तर, एमालेका केही बुद्धिजीवी भनाउँदाहरुले भने उनैकै विरूद्व एक जनालाई बागी उमेदवारी दिन लगाए । त्यतिमात्र कहाँ हो र ? अहो ! हुँदाहुँदै एसका द्विर्घराज पाध्यायलाई वडाको मैदानमा सहयोग गर्ने गोप्य सर सल्लाहमा छोडे, जो हिडिरहेका छन्, वडाध्यक्ष पद प्राप्तीका लागि । फेरि पाध्याय निकै गए गुर्जेका हुन भन्न खोजिएको चाहीँ कदापि हुँदै होईन् । समाजसेवी अहिँसाप्रेमी नै हुन । नेता हुने सबै प्रक्रियामा फिटछन्, उहाँ । कुरा यस आलेखमा फरक प्रशंगको हो । दलित समुदायलाई अहिलेका पार्टीका नजरअन्दाजमा छेडछाड गर्न खोजिएको न हो । अन्यथा नजावस् ।

नेकपा माओवादी केन्द्रका बडीमालिका नगरपालिकाका नगर कमिटी सचिव प्रेमबहादुर विक ७ नं वडा यानिकी त्यहाँका रैथाने ठालु मोखिया बाहुनका छोराहरू सीत वडाध्यक्षमा आफ्नै बलबुतामा पौँठे जोरी खेलिरहेका छन् । मैले उनलाई सफलताको शुभकामना भनेपनि हुनेवाला त केही पनि छैन । तर, उनलाई हिम्मत नहार्नुस् चाहिँ खुलेरै बन्न सक्छु । उता वडा नं. ५ मनामा भने नेकपा माओवादी केन्द्रका बाजुरा प्रदेश ख का सहसचिवसमेत रहेका राजेन्द्र विकको सर्वसम्मतिले पाएको वडाध्यक्ष पदको टिकट खोसेर त्यहीँका दल साउँदलाई थम्याउँदा विक विचलित अवस्थामा छन,भन्ने खबर छ ।

यहाँ हिजो दलित समुदायका मान्छे पार्टीका लागि ज्यानको बाजी लगाएर लोकतान्त्रिक चोकमा आगो खेल्ने महिला र राजनीतिमा हाडछाला घोटेका दलित र गैरदलित महिलाहरू हिरा कार्की, विस्ना रावल, तुला पाध्याय, सीता थापा बराल, सीता थापा, गिता रावल, कल्पना महत, सिमा विक, सिता वि.क, माया खड्का लगाएतका महिला हेरेका हेरेई । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको निर्वाचनमा दलित समुदायबाट अघि आएका कलमजीवी प्रेस संगठनका उम्मेदवारलाई हराउन निकै जाेडबलका साथ हाेमिएकी प्रेस चौतारी बाजुराकी अध्यक्ष नन्दा थापा त्याे बेला  नेपाली काँग्रेस निकट प्रेस युनियनका उमेदवारलाइ भाेट हाल्ने  अहिलेकी संचारकर्मी एमालेबाट उपमेयरको टिकट लिएर चुनावी मैदानमा छन । आफै मुल्यांकन गर्नु होला । यी कुन वर्गको लागि कलम चलाउँदै थिईन ? कुन स्पिकरबाट माईक फुक्दै थिईन ? यसमा धेरै भन्नू केही छैन् ? जानकार आफै हुनुहुन्छ ।

जिवनभर राजनीति गरेका दलित समुदायका नेता तथा गैरदलित समुदायका पनि होनाहार नेता काँशी विक, काँशी नेपाली, किट्टो लवार, गगन थापा र रावललाई ट्वाँ पारेर पिसविन नामक एन्जीयो काठमाडौंको सम्पर्क व्यक्ति बडीमालिका नगरपालिकाका नगर प्रमुख पदको फेहरिस्त गाइरहेका छन् । एमालेको जित सुनिश्चित भन्दै गीत गाउने दलित समुदायभित्र निकै उत्पीडनमा परेका संगितकर्मी बिनाेद बाजुराली नेकपा एमालेकाे दशाैँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि तथा आजसम्म कुनै राजकीय पद नदिएकाे झोकमा एमालेको संगठित सदस्यता त्यागी बस्न बाध्य पारिएको छ । यो के हो ? के भई रहेको छ ? किन कम्युनिष्ट पार्टीको दृष्टिकोण यति नित्कृष्ट हुन कसरी पुग्यो त भन्नेमा हो, केही कुरा ।

उता बडीमालिका नगरपालिकामा काँग्रेसबाट मेयरमा उठाइएका उम्मेदवार देशभरि चर्कीएकाे ६२ त्रीसट्टीकाे लोकतान्त्रिक जनआन्दोलनका बेला बाजुरामा महत्वपूर्ण भूमिका खेलेका सशक्त कमान्डर चाहिँ हुन है । तर, राजनीति पदकाे उत्पीडनमा परेका हुँदैहोईनन् । उत्पीडित वर्ग त झन होईनन, धनराज पण्डित साहेद ! बरू यसअघि राजकीय पदमा थिईन भन्न सम्म ठिकै होला । उपप्रमुखका लागि उठेकी राधिका सिँह त राजखलकी ठकुरानी नै हुँन । उत्पीडित वर्गीय नागरिक चाहिँ होईनन्, भन्न मजाले सकिन्छ । तर, यतिमात्र नभई काँग्रेसकि अब्बल महिला नेतृ भने पक्कै हुन, उनी । यसमा अब उहाँहरू हार्ने कुरै छैन ।

यता बडीमालिका नगरपालिकामा एमालेबाट उठाइएका मेयरका उमेदवार अमर खड्का र उपमेयरमा उठेकी नन्दा थापापनि उत्पीडित वर्गका सन्तान हुँदै होईनन् । यसमा प्रष्ट हुँदा हुन्छ । गाउँका ठालु मोखिया हुँने खाने, घरघरेडी जग्गा जमिन यसो हलिया खलिया चलाईरहेका यी जीवनभर हार्न नजाने उच्च मध्ययम वर्गका सन्तान भएपनि थाेर बहुत राजनीतिक तथा सामाजिक व्यक्तित्व चाहिँ हुन् है । यहाँ मेयर उपमेयर हारेपनि जितेपनि कोही उत्पीडित वर्गको चाहिँ हारजित हुने होईन । यहाँ ठुल्ठुला साँडेको लडाईका वीचमा पाठो कसरी बचाउने हो भन्ने कुरा चिन्ताको विषय बन्नु यो पङ्त्तीकारका लागि स्वभाविक हुन सक्छ कि ? अनिर्णायकै भुमिकामा भएपनि नेपालको संविधानले बल्लतल्ल चिन्ह खोजेको स्थानीय तहको सदस्य पदमा दलित महिलाहरुलाई हो । उनीहरु पनि यही पुँजीवादी दलाल संसदीय व्यवस्थाको घिनलाग्दा आहालमा कहिँ कतै डुबाईहाल्छन् कि ? अर्को चिन्ता यो पनि हो । बस ! यो व्यवस्थामा यहाँभन्दा अरू केही हुनेवाला पनि छैन्। बढो आपत विपत निकै सर्वश्व हरण हुन्छ भनी दलित समुदायका भोटरले नसोचे हुन्छ । किन कि न यीनीहरूले हामीलाई न जिजो हुन दिए न आज हुन दिनेवाला छन । कुरा यति हो । हिजो राजाले राजा छान्थ्ये । आज नेताले छानेका नेतालाई रैतीले भोट हाले जसो गर्ने हुन । त्योपनि भोट हाल्न पाएका ठाउँमा, नत्र उहिले राजाले राजा छान्ने र अहिले नेताले नेता छान्ने कुरा उस्तै हाे  । यानिकी दुईचार जना बाहुबली एजेन्टको भरमा हुने चुनाबी प्रक्रिया न हो ।

हेर्नुस् त । गणतन्त्र नेपाल यस्तो अवस्थामा आई पुग्यो कि जो हिजोको श्रमजीवी श्रमिक तथा उत्पीडित वर्ग आजपनि सिरफ निरही भोटर हुनुसिवाहेक अरू केही भएनन् । स्थानीय तहमा कार्यकारी वडाध्यक्ष नेता हुन एक आधा ठाउँमा खोजेका मात्र के थिए । सारा तामझाम सहित दलित समुदायका मान्छेलाई नेता कसरी मान्न सकिन्छ भनी जो बडा अपवित्र ढंगले साँटगाँठ भईरहेको छ नि यसले यती भन्न बाध्य तुल्यायो हो । यसो किन भयो भन्दा नेपाली कम्युनिस्ट आन्दोलनले भन्नुस् या लोकतान्त्रिक भनिने पार्टीले भन्नुस जात व्यवस्थालाई ठिक ढंगले व्याख्या विश्लेषण गरेनन् । त्यता पट्टी जानै चाहेनन् । बरू लगातार उचनिजमय ढंगले मलजल हुने गरी राजनीतिका पार्टी निर्माण गरे । फलतः व्यवस्थामै यसो भयो । जो भोगिरहेका छौँ । तसर्थ ः समयमै श्रमजीवी श्रमिक उत्पीडित वर्ग व्युँझिनुपर्ने हुन्छ । यहीँ दलाल संसदीय व्यवस्थाको भोटरमात्र बन्ने कि ? सहि सिद्धान्त पक्रि, नेतृत्व लिई आफ्नो व्यवस्था आफै निर्माण गर्न पट्टी लाग्ने ? कुरा पुरा तपाईंको हातमा छ ।

अब कुरा तपाईंको यसो होला !
अनि दलित नेता-कार्यकर्ताको ठूलो पड्क्ति तिनै पार्टीहरूमा किन छ त, भन्ने हुनसक्छ ?

हेर्नुस्-जुन-जुन पार्टीमा अहिलेका लागि सबैबन्दा बढी दलित कार्यकर्ता संगठीत देखिन्छन, ती पार्टीले एउटा खास समयमा सामाजिक परिवर्तनका मुद्धा सबै भन्दा बढी उठाएका थिए र व्यवहारमा पनि धेरथोर उतार्ने चेष्टा पनि गरेको थिए । त्यतिबेला त्योभन्दा प्रगतिशिल वैकल्पीक शक्ति नदेखिएको अवस्थामा त्यस्ता पार्टीमा दलितहरु संगठीत भएर क्रियाशील हुनु बेठिक कदापि थिएन ।

समस्या त्यस विषयमा होईन । बरु, समस्या कहाँनेर हो भने एक समयमा क्रान्तिकारी भुमिका खेलेका पार्टीहरु अर्को समयमा जनविरोधी भुमिकामा पुगिसक्दापनि त्यसलाई ठीक ढंगले चिन्ह सकिरहेका छैनन् । यसो हुनुको पछाडि आवश्यकताअनुसार वैचारिक स्तर विकास गर्नमा ध्यान केन्द्रित गर्न नसक्नुले भुुमिका खेलेको छ । तर, यो अस्थायी परिघटना मात्रै हो । जुन पड्क्ति आज खराब पार्टीहरुको यथार्थ र क्रान्ति एवम् प्रतिक्रान्तिलाई बुझ्न सक्ने चेतनामा पुगेको छ, त्यस पड्क्तिले निरन्तर वैचारिक र व्यवहारिक हस्तक्षेप बढाउँदै लैजाँदा जुनसुकै पार्टीमा रहेको दलित पनि अन्ततः सत्य र क्रान्तिकारी आन्दोलनका पक्षमा उभिन आईपुग्ने हुन्छन नै । आवश्यकता ठीक पहलको हो, अहिले तत्काल कहाँ कति धेरै मानिस छन् भन्ने होईन् । बरू हाम्रो समाजको समग्र प्रगति रोक्ने जात व्यवस्थाको जरो उखेल्ने कसरी ध्यान त्यतातिर दिने कि ?

प्रेमबहादुर विक
लेखक: जात व्यवस्था उन्मुलन मोर्चा नेपालका केन्द्रीय सदस्य हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै