नागरिक रैबार/बाजुरा २८ माघ। बझाङ जिल्लाका प्रतिनिधि सभा सदस्य माननीय आशा विकले खाद्यान्न संकट भएको बझाङको साईपाल गाउँपालिकामा तुरुन्त खाद्यान्नको व्यवस्था गर्न माग गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै माननीय सदस्य विकले साइपाल गाउँपालिकामा मंसिर २८ गतेदेखि अहिलेसम्म ६ पटक बढी भारी हिमपात भएकाले हेलिकोप्टर मार्फत खाद्यान्न ढुुवानी गरिदिन आग्रह गरेकी हुन् ।
बाटोमा ६ फिट बाक्लो हिउँ जमेकाले हेलिकप्टर बाहेक अन्य विकल्प नरहकाले त्यहाँका जनता हेलिकप्टरको आशमा आकाश हेर्दैछन् भनेर सांसद बिकले संसदलाई जानकारी दिएकी हुन् ।
साईपाल गाउँपालिकाको वडा नम्बर १ र २ मा एक हजार क्वीन्टल चामल केही दिन अगाडी ढुवानी गरिएपनि ३, ४ र ५ नम्बर वडामा ढुवानी गर्न समस्या देखिएको छ । यी वडामा जाने बाटोको मध्य भागमा रहेको नाघ्ना डाँडामा अझैं पनि ६ फिट हिउँ जमेकाले स्थानीय ढुवानीका माध्यम खच्चर, भेडाबाख्रा हिँड्न नसकिने अवस्था रहेको माननीय विकले बताईन् ।
फेसबुक प्रतिक्रियाहरु