होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • कमजोरी
  • नेकपाभित्र तत्कालका लागि टर्‍यो भनिएको संकट फेरि सतहमा
कमजोरी

नेकपाभित्र तत्कालका लागि टर्‍यो भनिएको संकट फेरि सतहमा

सुरुमै करिब १५ मिनेट बोलिसकेपछि प्रधानमन्त्री ओली आफू थाकेको भन्दै सचिवालय बैठकबाट उठेर हिँडे ।

  • नागरिक रैबार
नेकपाभित्र तत्कालका लागि टर्‍यो भनिएको संकट फेरि सतहमा

काठमाडौँ २५ बैशाख ।  पार्टी एकीकरणका लागि सबैले आत्मालोचना गरेर अघि बढ्ने र एक व्यक्ति एक मुख्य जिम्मेवारीको पुरानो समझदारीलाई ब्युँताउने सहमतिको बुझाइमै नेताहरूबीच तालमेल नभएपछि नेकपाको विवाद फेरि लम्बिएको छ । नेकपा सचिवालयको गत शनिबार बसेको बैठकमा पार्टीलाई विधि र पद्धतिबाट अघि बढाउने सहमति गर्दै बिहीबारका लागि स्थायी कमिटी बैठक डाक्ने निर्णय भएको थियो । तर यी चार दिनमा विषय समाधानतिर जानुको साटो झन् विवादोन्मुख भएको छ ।

सचिवालयको बुधबारको बैठकको सुरुमा भनाइ राखेका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अहिले कुनै एजेन्डा पनि नभएकाले स्थायी कमिटी बैठक बोलाइरहन आवश्यक नभएको बताएका थिए । जबकि बुधबार बिहानै दुई अध्यक्षबीच बैठकका एजेन्डा साँझ बस्ने सचिवालय बैठकले नै तय गर्ने सहमति भएसँगै बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने सूचना पठाइएको थियो । नेकपाको विधानअनुसार एक चौथाइ सदस्यले लिखित माग गरे १५ दिनभित्र बैठक बोलाउनुपर्ने प्रावधान छ । पार्टीका २० जना स्थायी कमिटी सदस्यले बैठक माग गर्दै अध्यक्षद्वयलाई पत्र पठाएको बिहीबार १५ दिन पुग्छ ।

विज्ञापन

बुधबार साँझ बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री ओलीले बिनाकारण पार्टी एकता नगरिएको भन्दै एकता कायम राख्न सबै पक्ष सोचविचार गरेर अघि बढ्नुपर्ने बताएका थिए । उनले अहिले मुलुक कोभिड–१९ को महामारीमा रुमल्लिरहेको र सरकारको नीति तथा कार्यक्रम ल्याउने बेला भएको उल्लेख गर्दै सबैको ध्यान त्यतातिर केन्द्रित गर्नुपर्ने बताए । तर शनिबार आफैंले बोलाउने निर्णय गरेको स्थायी कमिटी बैठकको भने औचित्य नरहेको उनको भनाइ थियो । ‘हामीले स्थायी कमिटी बैठकमा पेस गर्ने भनिएको राजनीतिक प्रतिवेदन पनि तयार भइसकेको छैन, बैठकमा के एजेन्डा लाने हो भन्ने पनि थाहा छैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘अहिले स्थायी कमिटी बैठक बस्नुको कुनै अर्थ छैन ।’

करिब १५ मिनेट बोलिसकेपछि प्रधानमन्त्री ओली आफू थाकेको भन्दै बैठकबाट उठेका थिए । ‘उहाँ म आज अस्वस्थ छु, थाकेको छु, अहिले जान्छु, सकें भने आउँछु भनेर जानुभयो,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘हामी बसेर छलफल गर्‍यौं, उहाँलाई धेरै बेर कुर्‍यौं तर आउनुभएन ।’ प्रधानमन्त्री नै बैठकमा नआइसकेपछि बिहीबारका लागि डाकिएको स्थायी कमिटी बैठकका एजेन्डा र बैठक नै बस्ने या नबस्ने भन्नेबारे निर्णय दुई अध्यक्षले कुरा गरेर गर्नुस् भनेर बैठकबाट आफूहरू उठेको खनालले बताए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केही व्यस्तता र केही शारीरिक कारणले बैठकबाट बाहिरिएको जानकारी दिए । ‘बैठकमा सके सबै जना बस्ने हो, कहिलेकाँही सकिएन भने विभिन्न कारणले बैठकलाई जानकारी गराएर निस्कने प्रचलन छ,’ उनले भने, ‘आज प्रधानमन्त्री केही व्यस्तता र केही शारीरिक कारणले समेत जानकारी गराएर बैठकबाट निस्किनुभएको हो ।’

प्रधानमन्त्री निकट स्रोतले बताएअनुसार ओली दिउँसोदेखि नै बैठकमा लामो समय नबस्ने मुडमा थिए । ‘म केहीबेर बसेर निस्किन्छु, बाँकी बैठक उहाँहरूले नै चलाउनुहोला,’ ओलीले केही निकटस्थसँग भनेका थिए । आफू अस्वस्थ र थकित भएको भन्दै बैठकको सुरुवात गरेर उठेका ओलीले त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग करिब ३० मिनेट कुराकानी गरेका थिए । त्यसपछि उनले बुद्धजयन्तीका अवसरमा देशवासीका लागि दिने शुभकामना सन्देश रेकर्ड गराए ।

दाहालसँगको एक्लाएक्लैको भेटमा पनि ओलीले अहिले स्थायी कमिटी बैठक जरुरी नभएको भन्दै त्यसलाई बजेटपछि धकेल्नुपर्ने बताएका थिए । दाहालले भने उठेका सबै विषयमा सामूहिक छलफल गर्नुपर्ने तल्लो कमिटीको माग रहेकाले बैठक बोलाउनैपर्ने बताएका थिए । ‘तपाईंहरू सहमतितिर जानुभएन, मेराविरुद्ध अनेक षड्यन्त्र र ग्रुपिजम गर्नुभयो,’ प्रधानमन्त्री ओलीले दाहालसँग भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरूले जुन गतिविधि गर्नुभएको छ, मलाई चित्त बुझिरहेको छैन, अहिले बैठक नै नगरौं ।’

जवाफमा दाहालले स्थायी कमिटी सदस्यहरूको लिखित माग सम्बोधन गर्नका लागि भए पनि बैठक बोलाउनैपर्छ भनेर अडान राखेपछि ओलीले सक्ने भए दुईरचार दिनपछि सार्नुस्, नत्र जे मन लाग्छ त्यही गर्नुस् भन्ने जवाफ दिएका थिए ।

बैठक बिहीबार नै बोलाउनुपर्ने या बजेट आइसकेपछि बोलाए पनि हुने भन्नेबारेमा कुरा नमिलेपछि दुई अध्यक्षको थप सल्लाहमा एकदुई दिनमा स्थायी कमिटी बैठक बोलाउने सहमतिमा पुगेर उनीहरू छुट्टिए ।

प्रधानमन्त्री ओलीले शनिबार अध्यादेश ल्याइनु गलत भएको र सरकार र पार्टीको काम पनि अबदेखि समझदारीमै गर्ने भन्दै आत्मालोचना गरेपछि स्थायी कमिटी बैठकको मिति तोकिएको थियो । त्यो बेला सचिवालय बैठकअघि दुई अध्यक्षबीच करिब १५ मिनेट चलेको छलफलमा पार्टी र सरकारमा जिम्मेवारी बाँडफाँट, मन्त्रिपरिषद् हेरफेर, एक व्यक्ति एक जिम्मेवारी लगायत विषयमा सहमति जुटेको थियो । ओलीले अब मिलेरै अघि बढ्नुपर्ने भन्दै पार्टी दाहालले चलाउने र पार्टीले सरकार चलाउने गरी सहमति गर्न प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावअनुसार नै बैठकमा अब एकताबद्ध भएर अघि बढ्ने र पार्टी र सरकारको कार्यशैली कस्तो हुने भनेर गाइडलाइन तयार पार्ने जिम्मा अध्यक्ष दाहाललाई दिइएको थियो । तर भोलिपल्टैदेखि दाहाल र नेपालपक्षीय नेताहरूको गुटको भेला झाँगिन थालेपछि ओली सशंकित बनेका थिए । उनले पार्टीभित्र एउटा सहमति गरेर बाहिर आफू निकट नेताहरूबीच भेला गर्दै हिँडेको र आफूलाई हटाउन षड्यन्त्र गरेको भन्दै दाहाल र नेता खनालसँग भेटेरै गुनासो गरेका थिए । पार्टी र सरकार सञ्चालनको गाइडलाइनसहितको प्रतिवेदन तयारी ओली र दाहालबीच कुरा नमिलेपछि अघि बढ्न सकेको थिएन ।

सहमतिकै उपाय खोज्न ओली र दाहालबीच तीन दिनसम्म दुईदुई घण्टाका दरले छलफल भए पनि गत शनिबारको सहमतिलाई लिपिबद्ध गरेर अघि बढ्ने या मौखिक बुझाइका रूपमा मात्रै लिने भन्नेमा कुरा नमिलेपछि दाहालले प्रस्ताव तयार सकेका थिएनन् । उनको २० गते यता नै वरिष्ठ नेता माधवकुमार नेपाल र आफू निकटका स्थायी कमिटी सदस्यहरूसँग छलफल चलिरहेको थियो । ओलीले दाहालको समानान्तर दौडधुप रुचाएका थिएनन्, जसका कारण नेकपाभित्र तत्कालका लागि टर्‍यो भनिएको संकट फेरि सतहमा आएको छ ।

म पनि गुट बनाउँछु : गौतम

सचिवालय बैठकमा बुधबार उपाध्यक्ष वामदेव गौतमले गुट नभएसम्म बलियो नभइँदो रहेछ भन्ने सन्देश मिलेको बताएका थिए । उनले गुट भएपछि मात्रै नेता पनि बलियो हुँदा रहेछन् भनेर कटाक्ष गरेका थिए । ‘तपाईंहरू सबैको आआफ्नो गुट छ, बलियो हुनुहुन्छ,’ गौतमको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘म पनि अब एउटा छुट्टै गुट बनाउँछु ।’ बैठकमा गौतमले छुट्टाछुट्टै गुटबन्दी गरेर नेताहरूले ठीक नगरेको प्रतिक्रिया दिएका थिए । गौतम पछिल्लो समय नेकपा सचिवालयमा कहिले ओली र कहिले दाहाल गुटमा यता र उता गरिरहेका छन् । गत शनिबारको सचिवालय बैठकपछि ओली गुटमा मिसिएका गौतमले बिहीबार आफूलाई तटस्थ नेताका रूपमा व्याख्या गरेका थिए ।

‘बैठक नबोलाउनु बचपन’

नेकपाका स्थायी कमिटी सदस्यहरूले भने बैठक बोलाएर स्थगित गर्नु नेतृत्वको बचपन भएको टिप्पणी गरेका छन् । उनीहरूले माग गरिसकेको बैठक छोटो समयका लागि भए पनि बोलाउनुको साटो बैठक डाक्ने या नडाक्ने विषयमा अध्यक्षहरूबीच कुरा नमिल्नु दुस्खद भएको बताए ।

स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले परिस्थितिको मूल्यांकन नै नगरी बैठक बोलाउनु गलत भए पनि अहिले बोलाइसकेपछि रोक्नु झन् गलत भएको टिप्पणी गरे । अर्का स्थायी कमिटी सदस्य वेदुराम भुसालले बैठक नडाक्ने कुराले सबैभन्दा नराम्रो प्रधानमन्त्रीलाई नै हुने बताए । ‘बैठक टार्ने विषयले राम्रो गर्दैन र सबैभन्दा नराम्रो जसले बैठक नगर्ने भन्यो त्यसैलाई पर्छ,’ उनले भने, ‘उहाँले जति छल्न खोज्नुहुन्छ, जति भाग्नुहुन्छ त्यति नै आरोप उहाँमाथि थुप्रिन्छ, अयोग्यता प्रकट हुन्छ ।’ उनले दुईरचार दिनभित्रै स्थायी कमिटी बैठक नबोलाइए आफूहरू थप सल्लाहसहित रणनीति बनाएर अघि बढ्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार