राजनीति देशको मुल नीति हो यसै नीतिका आधारमा राज्य संचालन हुने गर्दछ त्यसैले मुल नीति नै ठिक भएन भने तल ठिक हुँदैन भन्ने कुरा हामी सवैले पढ्दै, सुन्दै र भोग्दै आएको हो । त्यो मुल नीति वनाउने र नीतिलाई लागु गराउने महत्वपुणर् भूमिका राजनीतिक दल र जनताका प्रतिनिधिको रुपमा चुनिएका राजनीतिकर्मिको हो ।
कर्मचारीतन्त्र भनेको राजनीतिकर्मिहरुलाई नीति निर्माणमा आवश्यक सहयोग गर्न र उक्त नीतिलाई कार्यान्वयन गर्न प्रतिस्पर्धाका माध्यवाट छनौट भई राज्यका संयन्त्रमा वसेर नागरीकलाई सेवा प्रवाह गर्ने राज्यको स्थाई संयन्त्र हो । यस अर्थमा राजनीति र कर्मचारीतन्त्र दुवै मुख्यरुपमा जिम्मेवार हुन् समग्र देश विकास र राज्य संचालनका लागि ।
एउटा निश्चित संगठन संरचनामा आवद्ध भई ऐन नियम कानुनको निष्पक्ष कार्यान्वयन गरी देश र जनताको निरन्तर सेवा गर्ने कर्मचारीको पेशागत समुहलाई कर्मचारीतन्त्र भनिन्छ । कर्मचारीतन्त्र संगठानात्मक स्वरुप हो‚ जसले वैधानिक अधिकारको विवेकपूणर् प्रयोग गरी कार्य सम्पादन गर्दछ ।पदसोपानमा रहनु, लिखित निणर्य गर्नु, योग्यता प्रणालीका आधारमा कर्मचारीको छनौट हुनु, राजनीति प्रति तटस्थ रहनु, सरकारका नीति तथा कार्यक्रम प्रति प्रतिवद्ध रहनु कर्मचारीतन्त्रका विशेषता हुन् ।
सरकार सामान्यतया पाँच वर्षमा परिवर्तन हुने भए पनि कर्मचारीतन्त्र लमो समय सम्म सेवामा निरनतर रहने हुँदा यसलाई स्थाई सरकार पनि भनिन्छ । देशको स्थाई सरकार जति चुस्त र प्रभावकारी भयो उतिनै सरकारका नीति तथा कार्यक्रमको पनि प्रभावकारी ढङ्गले कार्यान्वयन हुने र त्यसको प्रभाव सिङ्गो प्रशासनिक क्षेत्रमा पर्ने हुँदा यसको आफ्नै वेग्लै आवश्यकता र महत्व रहेको छ । एक हिसावले भन्दा कहिल्यै विस्थापित नहुने यो सरकारी संयन्त्रको सवैलाई समान व्यवहार गर्नुपर्ने सरकारी दायीत्व र जिम्मेवारी हो भने ईमान्दारीताका साथ राजनीतिवाट तटस्थ रहि आफ्नो जिम्मेवारी अनुसारको कार्यसम्पादन गर्नु आजको आवश्यकता हो ।
त्यसै गरी विशुद्ध सामाजिक सेवाको भावले समाजमा व्याप्त विभिन्न किसिमका विकृति, विसङ्गगती र समस्याहरुसँग जुध्दै समग्र राष्ट्रको हित हुने ऐन कानुनहरुको निर्माण गर्नुका साथै उपयुक्त नीति तथा कार्यक्रमको तर्जुमा गरी कार्यान्वयनका माध्यमवाट समुन्नत र सुसंस्कृत समाजको निर्माण गर्नु राजनीतिको प्रमुख उदेश्य हो । त्यही उदेश्य प्राप्तीका लागि जनताको तर्फवाट नेत्तृत्व गर्ने गरी राजनीतिमा होमिएका सक्षम, सवल र वौद्धिक वर्गलाई राजनीतिकर्मि अर्थात नेता भन्ने गरिन्छ ।
यस अर्थमा आफ्नो लक्ष र उदेश्यमा केन्द्रित भएर आ आफ्नो जिम्मेवारी ईमान्दारीताका साथ पुरा गर्ने हो भने न त कर्मचारीतन्त्र नै दोषि हुनुपर्नेछ न त राजनीतिक नेत्तृत्व नै ।त्यसैले राजनितिक नेत्तृत्व र कर्मचारीतन्त्र दुवैले आफ्नो उदेश्य र जिम्मेवारी अनुरुप ईमान्दारीताका साथ देश र जनताको पक्षमा प्रतिवद्ध भएर लाग्नुका साथै भनाई र गराईमा आमुल परिवर्नत गरी परिणाम देखिने गरी काम गर्न आवश्यक छ ।
हाम्रो कर्मचारी प्रशासनलाई नेपालमा पहिलो जनआन्दोलन पछि सरकारमा गएका राजनीतिक दलहरुले आवश्यकता अनुसार दृष्टि पुर्याउन सकेनन् । कर्मचारीहरु नै हानथाप र तानातान, तेरो र मेरोको शिकार बनाइए । योग्यता र क्षमताका बाबजुद आस्थाका आधारमा तिनलाई काखा र पाखा लगाइयो । परिणामस्वरुप यो वा त्यो ढङ्गले कर्मचारी प्रशासनको मनोबल गिराउने काम भयो ।
कर्मचारी प्रशासनलाई तटस्थ राख्नुका सट्टा आफु र आफ्नो राजनीतिक दल प्रति समर्पित र वचनबद्ध गराउने कोसिस समेत भयो जुन आज सम्म पनि निरन्तर चलिरहेको छ जसका कारण नेपालको सार्वजनिक प्रशासन कमजोर हुनुका साथै पुणर्तया कुनै न कुनैरुपमा राजनीतिकरणको सिकार भएको छ ।
अव लगौं जिल्ला तर्फ , बाजुरा जिल्ला अहिले पनि मानव विकास सुचकाङ्कका आधारमा पुछारको जिल्ला हो । यसो हुनुमा कुनै एक कारण वा एक पक्ष मात्रै दोषि छैन यसका लागि सिङ्गो वाजुराको राजनीति र राजनीतिक नेत्तृत्व, राज्यले गरेको विभेद, कर्मचारीतन्त्रको काम गर्ने शैली, नागरीकको भूमिका र हामी सवैले जिल्लाको समग्र विकासमा देखाएको ईमान्दारीता जस्ता थुप्रै कारणहरु हुन सक्लान ।
यी मध्ये धेरैले महशुस गरेको प्रमुख कारण भनेको यहाँको राजनीति र कर्मचारीतन्त्र नै हो । बाजुरामा निजामती सेवामा आफ्नै जिल्लाको जनशक्ति एकदमै न्युन छ र भएकाहरुपनि जिल्लामा आएर सेवा गर्ने विषयमा यो वा त्यो कारण देखाएर नाक खुम्च्याउनुहुन्छ र सके सम्म वाहिर वसेरै आफ्नो भविष्य खोजिरहनुभएको छ ।
यो जिल्ला स्थानिय वा वाह्य कुनै पनि कर्मचारीको पहिलो रोजाईमा पर्दैन त्यस अर्थमा पनि यहाँ कर्मचारी आउने भनेको लोक सेवा आयोगको सिफारिस मान्नै पर्ने वाध्यात्मक अवस्था, माथिल्लो पदमा वढुवा हुनका लागि आवश्यक पर्ने दुर्गमको नम्वर र विभिन्न प्रभाव र दवावमा हुने वाध्यात्मक सरुवालाई ईन्कार गर्न नसकेर मात्रै हो ।
अर्को अर्थमा भन्दा वाजुरा जिल्ला कर्मचारीका लागि केटा मन नपरेको तर माईतीको करकापमा स्वीकार्नुपरेको पोईलीघर जस्तै हो । केटा मन नपरेको पोईलीघरमा एउटी नवदुलहीका हरेक क्रियाकलापहरु औपचारिकतामा सिमित हुन्छन् । यहि क्रममा केटा मन नपरे पनी घरमा शासुशसुरा लगायत परिवारको राम्रो व्यवहार, पोईलीघरको सुख सुविधा, भौतिक सम्पन्नता लगायत चालचलन, रहनसहन र परिवेष राम्रो भएको खण्डमा मन नपरेको केटा नै भएपनि विस्तारै मन पर्न थाल्छ, त्यसै अनुरुपको व्यवाहर र काम गराई देखिन्छ जसका कारण विस्तारै घरजम चल्छ ।
यदि यसो हुन सकेन र केटा मन नपरेको कारणलाई लिएर दुलहीका अनेकन वहानाबाजीहरुको थुप्रो लाग्दै जाने क्रममा कैलै तेरा आँखा पाक्दा कैलै तँ छाउ हुँदी भन्ने जस्तो व्यवाहार देखिदै गयो भने पारिवारिकरुपमा नै अफ्ट्यारो परिस्थिति सृजना हुन जान्छ र अन्त्वगत्वा त्यो घरवारको अन्तिम दिन गन्ति शुरु हुन थाल्छ । यो हामी सवैले देखेको, भोगेको र महशुस गरेको कुरा हो । त्यही कुरा कुनै न कुनै रुपमा यस जिल्लामा पनि कर्मचारी र राजनीतिक दलका सन्दर्भमा प्रतिविम्वित भएको पाईन्छ ।
यहाँ हामी सवै जना एक हिसावले फुर्सदिला छौं । स्वभावैले पनि मान्छे फुर्सदिलो भयो भने आफ्नो भन्दा वढी अरुको चिन्ता, चाँसो र चियोचर्चोमा रमाउन थाल्छ । यसले गर्दा जिल्लामा कुनै नयाँ कर्मचारी आयो भने सवै भन्दा पहिले सोधखोज गरिने कुरा भनेको उ कुन पार्टिको समर्थक हो ।
यसरी पार्टिको समर्थकका आधारमा उसको परिचय हुन्छ त्यसपछी एकपट्टीकाले चिया पसल र चोकहरुमा आफ्नो पार्टिको समर्थक भएको हल्ला र चर्चापरिचर्चा गर्न शुरु गर्नुहुन्छ भने अर्को पट्टिकाले त्यो कर्मचारीले कुन सावुनले हात धोयो भन्ने देखि भान्सामा आज कुन तरकारी पाक्यो भन्ने कुराको पनि चियोचर्चो शुरु गर्नुहुन्छ ।
यसरी एउटा कर्मचारी विस्तारै दोहोरो फन्दामा पर्न थाल्छ । कर्मचारी पनि हाम्रै समाजको एउटा प्रतिनिधि मानिस हो , कहिले काँहि काम गर्ने शिलशिलामा केही मानविय कमजोरीहरु हुन सक्लान त्यो स्वभाविक कुरा पनि हो तर त्यस्ता कमि कमजोरीहरु कहि कतै देखियो भने व्यक्तिगतरुपमा उसलाई सचेत र सजग गराउँदै उत्प्रेरित हुने किसिमले काम गर्नका लागि वातावरण वनाउनुको सट्टा नभएका र नगरेका गल्तिहरुको भ्रामक पहाड वनाई मिडियावाजी गरिन्छ र राजनीतिक वृत्तवाट चालिने कदमहरुले कर्मचारीको मनोवल गिराउने काम गरिन्छ ।
जसको फलस्वरुप कर्मचारी उत्प्रेरित भएर काम गर्दैन, उ जोखिम लिन चाँहादैन औपचारिकतामा सिमित रहेर यहाँ वसुन्जेल आफ्नो जागिरको सुरक्षित अवतरण गर्न पट्टि लाग्छ र अन्तिमा धेरै भयो भने ७७ औं जिल्लाबाट उसको सरुवा ७६औ जिल्लामा हुन्छ अझ रमाईलो त त्यस सरुवामा पनि विभिन्न पक्षले आफुले सरुवा गरेको भनेर जस लिने प्रवृत्तिका कारण छाति फुलाउँदै गर्दा त्यो सरुवा हुने कर्मचारी भने ७६ औं जिल्लामा सरुवा हुन पाएकोमा आनन्दको सास फेरिरहेको हुन्छ ।
त्यसको प्रतिफल भनेको कार्यालयमा कर्मचारी नहुँदा जिल्लाको विकासका लागि विनियोजित वजेट खर्च हुन सक्दैन विगतका बर्षहरुको वजेट खर्चको हिसाव गर्दा करिव ७० प्रतिशतको हाराहारीमा मात्रै विकास वजेट खर्च हुन्छ भने खर्च भएको रकमको उपलव्धि र गुणस्तरीयताका सम्वन्धमा त धेरै भनिराख्नु नै पर्दैन हामी सवैलाई थाहा भएकै कुरा हो ।
यसरी दरवन्दि अनुसार कर्मचारी नुहँदा सेवा प्रवाहमा ढिलासुस्ति हुन जान्छ भने विकास वजेट खर्च हुन सक्दैन जसका कारण वाजुरा जिल्लाको समग्र विकासमा प्रत्यक्ष प्रभाव पर्ने गर्दछ । त्यसै गरी नयाँ आउने कर्मचारीले पनि पुरानो कर्मचारीलाई जिल्लाका वारेमा जानकारी लिन खोज्दा खत्तम छ बाजुरामा त जे मा पनि राजनीति हुन्छ भन्ने सुचना हस्तान्तरण गरिन्छ ।समग्र जिल्लाको अवस्थालाई नकारात्मक चित्रण गर्ने गरिन्छ जसका कारण उत्साह र उच्च मनोवलका साथ जिल्ला प्रवेस गर्नुपर्ने कर्मचारी अर्को व्यवस्था नभए सम्म जसोतसो जागीर खाने, अर्को व्यवस्था भएपछी टाप कस्ने मनसायका साथ आउने परिपाटी देखिएको छ । यो जसोतसो जागिर खाने मनोवृत्तिले हाम्रो जस्तो दुर्गम जिल्लाको समस्यामा केन्द्रित भएर अवसर र सम्भावनाको खोजीगर्न लाग्नु भन्दा पनी सरकारी एक कप चिया सँगै १०-५ बजाउने काम मात्रै गर्छ भने कसरी परिणाम सकारात्मक हुन सक्छ ?
यसरी सरसरती हेर्दा कर्मचारीतन्त्र पनि कहिलेकाँहि चुकेको पाईन्छ । भान्सामा कुन तरकारी पाक्यो भन्ने सुचना पनि वजारमा आउने यो सानो जिल्लामा कर्मचारीको कुनै सानो कमजोरी वा राजनीतिक आस्थाका आधारमा गरिने मसिना क्रियाकलाप देखि अदृश्य संलग्नता सम्मका कुराहरु पनि वजारमा आइपुग्छन र ति सुचनाहरु राजनीतिक दल र तिनका नेत्तृत्व र भातृसंगठन सम्म पुग्छन ।
त्यसैले कर्मचारीतन्त्रले यो जिल्लाको परिवेशलाई आत्मसाथ गरि आफ्नो पदिय जिम्मेवारी अनुसार कार्यसम्पादन गर्दै गर्दा निश्पक्ष, तटस्थ र पारदर्शि हिसावले ऐन नियमको पिरिधि भित्र रहेर जिल्लाको हितलाई अधिकतम ध्यान दिदै ईमान्दारीताका साथ नागरीकको सेवालाई शिरोपर गरी अगाडी वढ्नुपर्ने देखिन्छ ।
कर्मचारी वा विशेष गरी कार्यालय प्रमुखहरु आफुले काम गर्दा कहि न कहि चुकि रहने अनि अन्तिममा आफ्नो गल्ति तथा कमिकमजोरी लुकाउन सवै दोष यो जिल्ला र यहाँको राजनीति माथि थुपारेर आफु पानीमाथिको ओभानो वन्ने र यहाँका राजनीतिक नेत्तृत्वलाई अपजसको भारी वोकाउने जुन प्रवृत्ति छ यसलाई सुधार गर्न आवश्यक छ ।
त्यसैगरी राजनीतिको प्रमुख समस्या भनेको कर्मचारीहरुको राजनीतिक आस्थाका विषयमा वढि नै चियोचर्चो गर्ने र आफु निकट रहेछ भने देखेर पनि नदेख्या जस्तो गर्ने र आफु निकट नभएकै कारण विना तथ्य र प्रमाण विभिन्न आरोपहरु लगाउने गरेको पाईन्छ।हामी यति सम्म पुर्वाग्राही भयौं कि, उदाहरणका रुपमा निजामती प्रशासनमा स्वच्छ छवि, तथस्त र ईमान्दार कर्मचारीकारुपमा आफ्नो छुट्टै पहिचान वनाउनु भएका तत्कालिन जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा रामकृष्ण श्रेष्ठ र भर्खरै सरुवा भएर जानुभएका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने लाई पनि हामीले राजनीतिको रङ मिसायर आरोप लगाउन वाँकि राखेनौं ।
यस्ता घटनाले गर्दा सरकारी सेवा अवधिभर निश्पक्ष, तटस्थ, ईमान्दार र कर्तव्यनिष्ठ भनिएको कर्मचारी पनि वाजुरामा आउँदा विवादित हुनुपर्ने अवस्था कसरी सृजना हुन्छ ? यसको मुल कारण कर्मचारी दोषि हो वा जिल्लाको राजनीतिक अवस्था नै यस्तो हो भन्नेकुराको गहिरो विश्लेषण कर्मचारीवृत्तमा पनि हुने गरेको छ, जसको प्रत्यक्ष वा अप्रत्यक्ष असर सिङ्गो जिल्लाको विकासमा परेको कुरा हामी सवैले महशुस गर्न जरुरी छ ।
यसरी सत्य तथ्य प्रमाण वा कुनै पनि आधार विना कागले कान लग्यो भनेका भरमा आफ्नो कान छाम्न छोडेर कौवाका पछी दगुर्ने हाम्रो राजनीतिक प्रवृत्ति र सहिलाई सहि र गलत लाई गलत भन्दै सहि काम गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई दण्डित गर्ने संस्कार जव सम्म विकास गर्न सकिदैन तवसम्म यस जिल्लामा राजनीति देखि कर्मचारी प्रशासन सधै आतंकित भईरहने निश्चित छ भने यहि कारणले जिल्लाको विकास पनि प्रभावित भईरहनेछ ।
राजनीतिक दलसँग जोडिएका भातृसंगठनहरुमा पनि व्यापक सुधार आउनुपर्ने देखिन्छ । खोलाको मुहान सफा हुनु एकदमै राम्रो हो कहिले काँहि मुहान सफा भएन भने तल तल अन्य विभिन्न तरीकाहरु अपनाएर पनि खोलालाई सफा वनाउन सकिन्छ तर यहाँ मुल जति सफा भए पनि तल फोहर वनाउन कम्मर कस्ने र मुल फोहोर नै छ भने त झन फोहोर थप्दै जाने जुन प्रवृति राजनीतिक दलका भातृसंगठनमा देखियो त्यसले समस्या माथि समस्या थप्ने काम मात्रै गरेको छ ।
हामी सवै सचेत र सजग भएर हाम्रा क्रियाकलापहरु खोलामा फोहोर थप्ने नभई मुल सम्मनै सफा गर्ने दिशातिर केन्द्रित हुनुपर्दछ ता कि भातृसंगठनले गरेका क्रियाकलापहरुका कारण राजनीतिक दललाई फोहोरको भारी वोकाउने काम नगरौं ।आफुलाई शिक्षित, युवा पुस्ता र जिल्लाको विकासका लागि समर्पित भन्ने विद्यार्थी संगठनहरुले आफ्नो विवेकको प्रयोग नगरी ठिक र वेठिक सम्म छुट्याउन नसकि राजनीतिक प्रतिसोधका आधारमा कर्मचारीमाथि आक्रमण गर्ने हो भने ति संगठनहरु संगठन नभई खराव नियत भएका व्यक्तिहरुको झुण्ड वा भिडहरुको समुह वाहेक केही पनि हुन सक्दैनन् । त्यसैले भिडहरुको समुह वन्ने वा देशको असल संगठन वन्ने रोजाई वाजुराका युवा तथा विद्यार्थी भातृसंगठनहरुको हातमा छ ।
यतिवेला सवै नागरीकले राज्य र तिनका संयन्त्रवाट प्राभावकारी सेवा र विकासको अपेक्षा गरेका छन् । बाजुरा जिल्ला सुखी र समृद्ध भएको हेर्ने रहर हामी सवैलाई छ । विगत लमो समय देखि गरिवि र अभाववाट हामी सवैले मुक्ति खोजिरहेकै छौं । पन्च्याईत देखि वहुदल हुँदै गणतन्त्र सम्म आईपुग्दाका हाम्रा सवैका गतिविधि र क्रियाकलापहरुको लामो फेहरिस्त पनि हामी सँग छँदैछ ।
हाम्रा क्रियाकलापले हामीलाई नै कहि न कहि वारम्वार प्रश्न गरिरहेकै छ कि, के हामी सवैले आज सम्म गरेका क्रियाकलापहरु बाजुराको विकास र समृद्धिका पक्षमा थिए वा व्यक्तिगत स्वार्थ र पार्टीको हितका लागि थिए ? आम नागरिकलाई धेरै कुरा थाहा छैन र थाहा पाउँदैनन् पनि त्यसैले त वेला वेलामा भेडाको जस्तो सोझोपनको चरित्र प्रदर्शन गरिरहन्छन् विचरा बाजुरावासी नागरीकहरु ।
ति सोझा नागरिकलाई भेडा सम्झिएर तिनको ईमान्दारीता र सोझोपनलाई आफ्नो स्वार्थ पुरा गर्नका लागि प्रयोग गरिरहने वा आम सर्वसाधारणलाई सचेत नागरीक वनाएर आत्मसम्मानका साथ बाजुरावासी भएकोमा गर्व गर्न सक्ने हैसियतको निर्माण गर्ने भन्ने प्रमुख जिम्मेवारी राजनीतिक दल, तिनका भातृसंगठन र नेत्तृत्वकर्ताको हो । कुनै पनि कसुर वाँकि नराखी जति दिन बाजुरामा वसिन्छ त्यति दिन आफ्नो पदिय जिम्मेवारी अनुरुप निष्पक्ष, तटस्थ र राजनीतिक आस्था भन्दा पर रहेर नागरिकको सेवालाई अधिकतम ध्यान दिदै कार्यसम्पादन गर्नु हरेक राष्ट्रसेवक कर्मचारीको प्रमुख जिम्मेवारी हो ।
अन्तमा कर्मचारीमाथि गरिने राजनीतिलाई अधिक महत्व दिदै यो वा त्यो वहानामा कर्मचारीलाई हातपात गर्ने देखि लिएर कालो मुसो लगाउने, धम्क्याउने, काममा असहयोग गर्ने र उनिहरुका विरुद्ध चर्को मिडियावाजी गर्दै ज्ञापन पत्र वुझाउने सम्मका गतिविधिहरु विगत देखि जारी राख्यौं ।
बिस्तारै कर्मचारी माथि गरिने यस्ता नकारात्मक क्रियाकलापले राजनीतिक वृत्तमा एकखालको दम्भ वढ्दै गयो भने कर्मचारीतन्त्र कुनै न कुनै रुपमा त्रसित हुँदै गयो जसले गर्दा राजनीति र कर्मचारीतन्त्रका विचमा विश्वासको वातावरण नहुँदा कैयौं विकासका कामहरु पछाडि धकेलिए भने नागरिकलाई गरिने सेवा प्रवाह पनि औपचारिकतामा सिमित भयो जसले गर्दा हामीले सोचेअनुरुपको प्रभावकारी नतिजा हाँसिल गर्न सकेनौं ।
त्यसैले सवैलाई मेरो एउटा आग्रह छ कि जिल्लामा राजनीतिका रुपमा नकारात्मक अभ्यास धेरै गर्यौं तर पनि समस्या जहिले जिउँका तिउँ रह्यो अव सकारात्मक अभ्यासको शुरुवात गरौं र कर्मचारीतन्त्रलाई काम प्रति उत्प्रेरित गर्दै उत्साहित वनाउँ उच्च मनोवलका साथ काम गर्नका लागि हौसला वढाउँ र कर्मचारीलाई जिल्लामा वसौं वसौं लाग्ने वातावरणको सृजना गरौं ।
आफ्नो जिम्मेवारी अनुरुप काम नगर्ने, आर्थिक अनियमिततासँग जोडिने, राजनीति गर्ने र खुरापात गर्ने कर्मचारीलाई एकैपटक मिडियावाजी गर्नुभन्दा वरु उसकै कार्यकक्षमा गएर सत्य तथ्य वुझेर कट्टुमा मुत्ने गरेर खवरदारी गरौं र सुध्रिने मौका प्रदान गरौं भने राम्रो काम गर्ने र ईमान्दार कर्मचारीलाई वढीमा सय रुपैया खर्च गरेरै भए पनि अविर, खादा र प्रशंसा पत्र मार्फत सम्मान गरौं ।
त्यो एक सय रुपैयाँको सम्मान गर्ने संस्कारले समग्र कर्मचारीको मनोवल उच्च हुने, देशैभरीका कर्मचारीमा राम्रो सन्देस जाने र त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर जिल्लाको विकासमा पर्ने हुँदा सय रुपैयाको सम्मानको प्रतिफल करोड भन्दा पनि वढी हुने कुरा निश्चित छ । वाजुरामा राजनीतिक दल र तिनका भातृ संगठनले यस किसिमको संस्कार शुरुवात गर्न सकेमा देशकै नमुना, स्वागतयोग्य र अरुका लागि समेत अनुकरणीय काम हुनेछ भने यस्ता सकारात्मक प्रयासहरुले राजनीति र कर्मचारीतन्त्र विच नङ र मासुको सम्वन्ध स्थापित हुन गई लामो समय देखि लाग्दै आएको वाजुराको गरिबी, अभाव र पछौटेपनको ट्यागलाई छिट्टै वदल्न सक्षम हुनुका साथै तमाम अवसर र सम्भावना वोकेको समृद्ध बाजुरा भएको हेर्न र देख्न चाहने हामी सवै वाजुरावासीको सपना पुरा हुन धेरै समय कुर्नुपर्ने छैन ।जननी जन्म भूमिश्चः स्वर्गादपी गरियसी ।
( लेखकः नेपाल निजामती कर्मचारी संगठन बजुराको अध्यक्ष एवम कृषि ज्ञान केन्द्र बाजुरामा कृषि अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ )
फेसबुक प्रतिक्रियाहरु