होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राजनीतिक आदर्शका वृहस्पति
समाचार

राजनीतिक आदर्शका वृहस्पति

  • नागरिक रैबार
राजनीतिक आदर्शका वृहस्पति

सपना देख्ने हो भने किसुनजीले जस्तो त्याग गर्न सिक्नुपर्छ। नेता त्यो हो, जसलाई भविष्यको मार्गचित्र थाहा हुन्छ; आफू त्यो बाटो हिँड्छ र अरूलाई पनि बाटो देखाउँछ


कुनै पनि व्यक्तिलाई पछिसम्म सम्झने उसले बाँचुन्जेल गरेका कर्मकै आधारमा हो। नेपालको राजनीतिक इतिहासमा धेरै व्यक्ति जन्मिए, कर्म गरे र मरेर गए। कोही इतिहास बनाएर गए भने कोही जसरी उदाए त्यसरी नै पतन भए। थोरै पात्रले मात्र पुस्तौंपुस्ताले सम्झने गरी इतिहासमा नाम लेखाएर गएका छन्। त्यस्तै पात्रमध्येमा पर्छन् कृष्णप्रसाद भट्टराई (किसुनजी)। एउटा व्यक्तिले जनताका लागि सबैथोक गरेर जान सक्दैन। उसले गरेका केही कर्मलाई आदर्शका रूपमा लिने हो। सदाचार, त्याग, निष्ठा र इमानदारी किसुनजीका लिगेसी हुन्। उनी बाँचुञ्जेल यी आदर्शमा निष्ठापूर्वक लागिरहे। उनको सम्पत्तिका नाममा रहेको एउटा छाता, सुराही र टिनको ट्याम्काले सदाचारको परिचय बनायो।

२०४६ को जनआन्दोलन सफल भएपछि राजा वीरेन्द्रले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरे तर गणेशमानले किसुनजीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरे। राजासँगको भेटमा गणेशमानले भनेका थिए, ‘सरकार, हाम्रो पार्टीमा एकसे एक योग्य र विद्वान् व्यक्ति हुनुहुन्छ। हाम्रा साथी किसुनजीलाई बीपी कोइराला पनि भन्नुहुन्थ्यो– भट्टराईजीभन्दा योग्य मान्छे त विरलै हुन्छन्। म पनि उहाँलाई योग्य मान्छु। त्यसकारण म प्रधानमन्त्री पदमा उहाँलाई नै नियुक्त गर्न बिन्ती चढाउँछु।’ त्यसपछि ०४७ वैशाख ६ गते राजा वीरेन्द्रले अन्तरिम प्रधानमन्त्रीमा किसुनजीलाई नियुक्त गरे। उनलाई दुइटा कार्यभार सुम्पिएको थियो— नयाँ संविधान निर्माण र आम निर्वाचन। तोकिएको समयमा उनले ती दुवै कार्यभार पूरा गरे।

विज्ञापन

विश्वनाथ उपाध्यायको अध्यक्षतामा गठित संविधान सुझाव आयोगले दिएको प्रतिवेदनमा काँटछाँट गरेर सक्रिय राजतन्त्रसहितको संविधान घोषणा गर्न राजाले दिएको दबाब किसुनजीलाई मान्य भएन। हँसिला र ठट्यौला पाराका किसुनजीले भनेको मानिहाल्छन् भन्ने राजालाई परेका रहेछ तर उनले यही भावनाअनुसार संविधान घोषणा गर्न सक्दिनँ भनेपछि राजा संशकित हुन थाले। राजालाई बल्ल थाहा भयो किसुनजीका दुइटा आँखा रहेछन् भनेर। एउटा आँखाले हाँसे झैं गर्ने अर्कोले रोए झैं। हेर्दा र बोल्दा सजिला देखिने तर बुँदामा आएपछि कठोर। अन्ततः किसुनजीले भनेअनुसार नै राजाले २०४७ कात्तिक २३ गते संविधान जारी गरे। राजनीतिक अस्थिरताका कारण लामो समय नटिके पनि त्यो संविधानलाई विश्वले मान्यो। आठ वर्ष लगाएर घोषित संविधान पनि विवादमुक्त हुन नसकेको परिस्थितिमा किसुनजीले राजासँग कठोर बनेर पनि जनताका पक्षमा संविधान जारी गर्न लगाएको सम्झना उनलाई दुईदुईपटक निर्वाचनमा हराउन प्रयोग हुनेहरूले भुले पनि राष्ट्र र इतिहासले भुल्ने छैन।

किसुनजीका नाममा राजनीतिक चरित्र निर्माणको पाठशाला खोल्न आवश्यक छ राजनीतिलाई शुद्धीकरण गरी पैसा, पद र शक्तिका पछाडि नभई समाज उन्नतिमा लगाउने बेलासम्मका लागि।

किसुनजीका लिगेसी आज टुहुरा भएका छन्। व्यावहारिक रूपमा उनको चरित्र अँगाल्ने राजनीतिक उत्तराधिकारी कोही पनि भएनन्। राजनीति आफ्ना लागि नभई समाज र राष्ट्रका लागि हो भन्ने व्यक्तिको उत्तराधिकारी बन्न झनै कोही तयार हुँदो रहेनछ। किसुनजीको अवशानसँगै त्यो मान्यता पनि आर्यघाटबाटै विलुप्त भयो। पैसा, पद र शक्तिलाई मात्र राजनीति ठान्ने प्रवृत्ति हावी बनाइएको गणतन्त्रमा त्यस्तो व्यक्तिको अपेक्षा गर्न सकिन्न पनि। आफैंले जन्माएका राजनीतिक सन्तानले समेत किसुनजीलाई असान्दर्भिक बनाए। मन पवित्र हुँदाहुँदै पनि अन्तर्घातको सिकार बन्न विवश भए। जीवनको उत्तरार्धमा आफैंले जन्माएको पार्टीसमेत छाडेर स्वतन्त्र बस्नुपर्ने अवस्था उत्पन्न भयो। कांग्रेसले स्थापनाकालदेखि अँगाल्दै आएको संवैधानिक राजतन्त्र छाडेर धर्म निरपेक्षता, संघीयता र गणतन्त्रमा जाने निधो गरेलगत्तै किसुनजीले पार्टी परित्याग गरेको घोषणा गरे। लोकतान्त्रिक धारको पहिलो पुस्ताको नेतृत्वपंक्तिको अन्तिम व्यक्ति किसुनजीको वि श्रामसँगै त्यो धारले पनि वि श्राम लियो।

कांग्रेस गणतन्त्रमा जाने निर्णय गरेकै दिन किसुनजीले बाँडेगाउँस्थित आ श्रमबाट वक्तव्य जारी गरे पार्टी सभापति र महासमितिका उपस्थित सबै साथीहरूका नाममा। किसुनजीले जारी गरेको वक्तव्यमा भनिएको थियो, ‘लामो कालदेखि विभाजित स्थितिमा रहेको हाम्रो प्यारो संस्था नेपाली कांग्रेस एक भएकोमा मलाई ठूलो खुसी लागेको थियो। जुन कारणले गर्दा हिजो एकीकरणको सम्मेलनमा आफ्नो शारीरिक आयुध्र्याजन्य अक्षमतालाई एकछिनका लागि बिर्सेर पनि म त्यहाँ लामो समयसम्म उपस्थित थिएँ र आफ्नो हार्दिक समर्थन पनि जनाएका थिएँ। यति हुँदाहुँदै पनि संघीय लोकतान्त्रिक गणतन्त्रणको लामो तर पूर्णतया निरर्थकको नाम दिएर यस ऐतिहासिक संस्थालाई हाम्रा देशका दुई सार्वकालिक स्वर्गीय नेता बीपी कोइराला र गणेशमान सिंहजीलाई चटक्कै बिर्सिंदै छ। त्यस हुनाले यस पार्टीसँग अब उपरान्त मेरो कुनै खालको पनि सम्बन्ध वा सम्पर्क रहने छैन। तपाईं सबै सहयोगी साथीहरूसँग अब म भारी मन लिएर सदैवका लागि बिदा लिँदैछु।’

लाग्थ्यो यो वक्तव्य कांग्रेसका लागि शोकमा परिणत हुनेछ तर असान्दर्भिक व्यक्ति रहनु र नरहनुको कुनै तुक नभएका टिप्पणी कांग्रेसवृत्तमा चले पनि त्यतिबेला। त्यस दिन निष्ठावान् र इमानदार कार्यकर्ताको अनुहार मलिन देखिन्थ्यो। त्यो दिनदेखि राष्ट्रियतामा आँच आउन मात्र थालेन; राजनीति पराइ संस्कृतिको सिकार बन्न थाल्यो, यद्यपि अहिले पनि त्यही विरासतमा हिँडिरहेको छ। सीमित नेताको बिर्ता बनेको छ मुलुक। वामदेव गौतमलाई संविधान संशोधन गरेरै भए पनि प्रधानमन्त्री बन्ने बाटो खुलाउन भएका हर्कतले त राजनीतिको नांगो तस्बिर उदांगो पारेको छ। किसुनजीको आदर्शलाई उनकै कांग्रेस पार्टीले त लत्यायो भने कम्युनिस्टहरूबाट त्यो अपेक्षा गर्नु निरर्थक छ।

किसुनजीको निधन भएका दिन (२०६७ फागुन २० गते ) अहिलेका प्रधानमन्त्री केपी ओलीले भनेका थिए, ‘लोकतान्त्रिक आन्दोलनको नेतृत्वकर्तामध्येका एक शिखर पुरुष भट्टराईको निधनले हामीलाई टुहुरो बनाएको छ। अहिले हामी उहाँको शोकमा डुबेका छौं। यो अवस्थामा हामीले लोकतन्त्रलाई संस्थागत गर्ने बाटोमा लाग्दा पनि उहाँको आदर्शलाई आत्मसात गर्न आवश्यक छ।’ गोकुल बाँस्कोटाजस्ता राजनीतिक सन्तान जन्माउन छाडेर पार्टीभित्रैबाट चौतर्फी आक्रमणको सिकार बनिरहेका प्रधानमन्त्री ओलीले आफैंले बोलेअनुसार किसुनजीको राष्ट्रप्रेम र आदर्शको सम्मान गर्न सिक्नुपर्छ। किनकि गोकुल मुद्दामा व्यक्तिको नभई देशकै बेइज्जत भएको छ। कामना गरौं– प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएर कार्यक्षेत्रमा फर्किएपछि किसुनजीको मार्गमा हिँड्नेछन् राजनीतिलाई शुद्धीकरण गर्न पनि।

राजनीतिक सिद्धान्त सबैको एउटै हुन सक्दैन। फरक सिद्धान्त अँगाले पनि सत्यको पक्षमा हिँड्ने व्यक्तिको चरित्र पछ्याउनु इमानदार राजनीतिज्ञको धर्म हो। किसुनजीले फरक विचार राख्नेप्रति उदार र सहनशील नभएको भए विश्वले रुचाउने खालको संविधान निर्माण सम्भव थिएन। त्यसैले त पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थभन्दा सिद्धान्तनिष्ठ राजनीति र सम्झौताहीन संघर्ष उनको जीवनकै विशिष्ट पहिचान बने।

किसुनजीकै संघर्षले बनेको कांग्रेस पार्टीका सभापति रहेका शेरबहादुर देउवाले उनको निधनका बेला भनेका थिए, ‘भट्टराईको निष्ठा, आदर्श र अहिंसात्मक विचारको राजनीतिमा खडेरी छ।’ उहाँबाट मैले राजनीतिमा धेरै सिकेको छु। उहाँमा जस्तासुकै संक्रमणमा पनि धैर्य राखी सबैलाई मिलाएर लैजाने गुण थियो।’ त्यही गुणको सिको गरेको भए गुटको सिकारका कारण पार्टी इतिहासमै कमजोर बन्ने थिएन। कांग्रेस कार्यकर्ताले माओवादीमा भोट हाल्नुपर्ने अवस्था आउने थिएन होला। सिद्धान्त सत्तासँग साटिने पनि थिएन। संसारकै एकमात्र हिन्दुराष्ट्रको पहिचान मेटिने पनि थिएन। भविष्यको पुस्तालाई कांग्रेसका नाममा राजनीति गर्न मार्गप्रशस्त गर्ने बाटो अख्तियार हुने थियो। असान्दर्भिक पुष्टि भइसक्दा पनि नेतृत्वपंक्तिले पार्टीको बागडोर छाड्न नचाहने स्थिति रहने थिएन होला।

यही प्रसंगमा २०५६ चैत ३ गते प्रधानमन्त्रीको हैसियतबाट प्रतिनिधिसभालाई विशेष सम्बोधन भाषण गरी राजासमक्ष राजीनामा चढाउन जानुअघि कृष्णप्रसाद भट्टराईले भनेका प्रसंग यतिबेला पनि उत्तिकै सान्दर्भिक छन्। अपमानजनक बहिगर्मनको बाटो रोज्न बाध्य बनाइएका किसुनजीले भनेका थिए, ‘मेरो जीवनमूल्य भनेकै आस्थाको राजनीति हो। आस्था र निष्ठाको राजनीति साँच्चिकै विसर्जित हुने हो भने भन्नुपर्छ– यो राष्ट्रको भविष्य छैन र यहाँ प्रजातन्त्रको कल्पना गर्न सकिन्न। त्यसैले म मुलुकभरका समस्त प्रजातन्त्रवादी र विशेषगरी नेपाली कांग्रेसलगायत सबै राजनीतिक दलका साथीहरूलाई सचेत गराउन चाहन्छु कि यसतर्फ ध्यान दिऊँ कि हाम्रो मिसन कतै हराउने त हैन। हाम्रो पहिचान नै विलुप्त हुने त हैन ? ’ कांग्रेसले त्यही बाटोलाई मलजल गरिरहेको छ भने सिंगो सत्ता त्यही बाटोमा लम्किरहेको छ। व्यक्तिगत उन्नति र पद–प्रतिष्ठाले मात्र प्राथमिकता पाइरहेको छ। किसुनजीको आदर्शको अपमान भइरहेको छ।

किसुनजीको निधनमा आफूलाई टुहुरो महसुस गर्ने ओली र उनका गुणको बखान गर्ने शेरबहादुर देउवा क्रमशः प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताका रूपमा स्थापित छन्। तर किसुनजीको मूल्यको राजनीतिको अवमूल्यन किन गरिरहेका छन् ? साँच्चिकै आफूलाई उनको राजनीतिक चेला बनाउन किन सकिरहेका छैनन् ?

किसुनजीको नाम बिक्दैन यहाँ। नेताका नाममा राष्ट्रिय सम्पत्तिमा लुट मच्चाउने, राष्ट्रिय बजेटबाट ट्रस्ट बनाउने, कलेज खोल्ने, अस्पताल बनाउने काम धमाधम भइरहेका छन्। तर किसुनजीको नाम राष्ट्रसँग जोड्ने काम हुन सकेको छैन। त्यसैले पनि किसुनजीका नाममा राजनीतिक चरित्र निर्माणको पाठशाला खोल्न आवश्यक छ राजनीतिलाई शुद्धीकरण गरी पैसा, पद र शक्तिका पछाडि नभई समाज उन्नतिमा लगाउने बेलासम्मका लागि। पाठशालाको कार्यभार राजनीतिक संस्कार, नैतिकता र देशप्रेमको पाठ सिकाउनु हुनेछ; जसमा समाजले मानेका विचारक हुनेछन्।

जसले राजनीतिलाई देश र जनताका पक्षमा लागिरहने प्रण गर्न मात्र सिकाउने छैन; फेरि क्रान्तिका नाममा राजनीति गरिरहेका विप्लवलाई पनि राजनीतिको मूल धारमा हिँड्न प्रेरित गर्नेछ। स्थिरताका नाममा कार्यकारी राष्ट्रपतिको असान्दर्भिक सपना बाँडिरहेका पुष्पकमल दाहाल नियतिको पनि उदांगो पार्नेछ। सपना देख्ने हो भने किसुनजीले जस्तो त्याग गर्न सिक्नुपर्छ। नेता त्यो हो, जसलाई भविष्यको मार्गचित्र थाहा हुन्छ; आफू त्यो बाटो हिँड्छ र अरूलाई पनि बाटो देखाउँछ। जतिसुकै सपना बाँडे पनि नेतृत्वको आचरण, व्यवहार र कार्यशैली नबदलिएसम्म देश बदलिँदैन। राजनीतिक स्थिरताको सपना संसद्को बहुमतबाट मात्र पूरा हुन सक्दैन; विवेकबाट खोजौं तबमात्र किसुनजी पथको मूल्य रहनेछ।

बाबुराम भट्टराईले भने झैं पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन हुनुपर्छ, ताकि किसुनजीको सम्पत्तिबारे सबै जानकार हुनेछन्। आफूलाई जनतामा समर्पित गरेका किसुनजीले दुईदुईपटक प्रधानमन्त्री हुँदा सम्पत्तिका नाममा रहेका छाता, सुराही र टिनको बाकस लिएर बालुवाटार प्रवेश गरे भने फर्कंदा पनि तिनै वस्तु लिएर फर्किए। भोलिको पुस्ताले यो कुरा विश्वास नगर्ला पनि। त्यसैले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन आवश्यक छ। त्यसका लागि आम नागरिक तहबाट साथ, सहयोग र दबाबको खाँचो छ।

सत्तासीन नेकपा र प्रतिपक्षी कांग्रेसको नियमित प्रक्रिया बनेको एकले अर्कालाई लडाउने÷भिडाउने राजनीतिलाई बिराम दिन पनि किसुनजीको आदर्शलाई पछ्याउन आवश्यक छ। पार्टीहरूमा बढ्दो वैचारिक विचलन र भ्रष्टीकरणविरुद्ध संगठित हुन पनि किसुनजी पथ एक मात्र विकल्प हुन सक्छ। उनको आदर्शमय जीवनबाट अलिकति भए पनि सिकेर आफ्नो जीवनमा लागू गर्न सके उनलाई सम्झनुको सार्थकता हुनेछ।

सायद आज किसुनजीलाई उनले नजन्माएकी सन्तान अमिता कपालीले सम्झनेछिन्, किनकि उनले पछिल्लो समय किसुनजीको सेवासु श्रुषा गरिन्। बाँडेगाउँस्थित आ श्रममा अरू दुईचारजना पुग्नेछन्। हुन त धेरै क्यामेरा गए भने उनको आदर्शलाई लत्याउनेहरू जालान् पनि किसुनजीको आत्मालाई गिज्याउन। राजनीतिभित्र मानवीय मूल्य र आदर्शको खोजीका निम्ति सधैं सक्रिय रहने किसुनजीलाई राजनीतिक चेलाहरूले सम्मान गर्न नजाने पनि उनको आत्माले शान्ति पाओस्।

विनाेद न्याैपानेबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार