एजेन्सी : सयौँ नेपाली तथा हिन्दी चलचित्रका पाश्र्व गायक उदितनारायण झाले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।
अपरिचित नम्बरबाट ज्यान मार्ने धम्की आएको उनले खुलासा गरेका छन् । प्रहरीले उक्त फोन बिहारबाट आएको पत्ता लगाएको छ । यस्तै उनलाई फोन गर्ने नम्बर चोरीको रहेको पनि पत्ता लगाएको छ ।
अम्बोली प्रहरी चौकीका वरिष्ठ प्रहरी निरीक्षक भरत गायकवाडका अनुसार उदितलाई पटक–पटक ज्यान मार्ने धम्की आइरहेको छ । ‘नारायणका अनुसार फोनकर्ताले उनलाई धम्की दिइरहेको छ’, निरीक्षक गायकवाडले भने ।
यस्तो घटनासँगै प्रहरीले उदित नारायणको निवासमा सुरक्षा निगरानी बढाएको छ । सादा पोसाकमा खटिएका प्रहरी अधिकारीहरूले निरन्तर शंकास्पद व्यक्तिमाथि निगरानी गरिरहेका छन् ।’
फोनकर्ताले लगभग एक महिनाअघि पहिलो पटक उदितलाई फोन गरेका थिए । दोस्रोपटक १७ जुलाई र तेस्रो पटक २३ जुलाईमा फोन आएको निरीक्षक गायकवाडले बताए ।
प्रहरीको सोधपुछका क्रममा धम्की आउने नम्बर उदित बस्ने भवनमै रहेका सुरक्षा गार्डको रहेको पत्ता लागेको छ । उनको मोबाइल तीन महिना पहिले बिहार जाँदा रेलमा हराएको प्रहरी सोधपुछमा बताएका छन् । तर उनले फोन हराएको खबर प्रहरीलाई गरेका थिएनन् । प्रहरीले ती गार्डको मोबाइल फोन चोरी वा भेटिएको भए पनि त्यहाँ उदितको नम्बर सेभ रहेको बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु