रियो दी जेनेरियो : अर्जेन्टिना ब्राजिलमा जारी कोपा अकेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार बिहान भएको क्वाटर फाइनलको खेलमा भेनेजुएलालाई २–० ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।
खेलको १०औं मिनेटमा लौतारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ७४औँ मिनेटमा जिओभानी लो केल्सोले गोल गरी अग्रता दोब्बर बनाए । दुवै गोलका लागि सर्जियो अग्युरोले पास उपलब्ध गराएका थिए । समूह चरणको खेलमा बलियो ब्राजिललाई बराबरीमा रोकेको भेनेजुएलाले अर्जेन्टिनालेभन्दा बढी समय बल आफ्नो पक्षमा पारेको थियो । गोलका घेरै मौका भने बनाउन सकेन । अघिल्ला खेलमा डिफेन्डिङमा कमजोर देखिएको अर्जेन्टिनाले भेनेजुएलाविरुद्ध राम्रो प्रदर्शन गरेको थियो ।
सेमिफाइनलमा अर्जेन्टिनाले ल्याटिन अमेरिकी चीर प्रतिद्वन्द्वी ब्राजिलसँग प्रतिस्पर्धा गर्ने भएको छ । क्वाटर फाइनलको अर्को खेलमा अहिले चिली र कोलम्बिया भिडिरहेका छन् । उरुग्वे र पेरुबीच भोली बिहान प्रतिस्पर्धा हुँदैछ ।
फेसबुक प्रतिक्रियाहरु