होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • लैङ्गिक विभेदको अर्को रूप !
शिक्षा

लैङ्गिक विभेदको अर्को रूप !

छोरा र छोरीलाई प्रदान गर्ने शिक्षा र लगानीमा नै विभेद

  • नागरिक रैबार
लैङ्गिक विभेदको अर्को रूप !

सन् १९९१ देखि हरेक वर्ष २५ नोभेम्बरदेखि डिसेम्बर १० सम्म ६००० भन्दा बढी संघसंस्था र १८७ भन्दा बढी देशमा एकसाथ मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष पनि मुलुकभर निकै तामझामका साथ मनाइरहेका छन् । “समानताको पुस्ता: बलात्कार विरुद्धको ऐक्यवद्धता” नारा रहेको यस वर्षको लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान विशेषत छोरीचेलीमाथि हुने वलात्कार विरुद्व केन्द्रित हुने देखिन्छ ।

हरेक वर्ष आकर्षक नारा सिर्जना गरी मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले सामाजिक समानता कायम गर्न किन सकेको छैन ? छोरा र छोरीमा हुने विभेदको रूप फेरिए संगै समानताका पक्षधरको ध्यान पुग्न नसकेको तथ्य शिक्षामा भएको विभेदले देखाउछ ।

समाजलाई सभ्य,समृद्व तथा प्रगतिशील बनाउन समाजका हरेक वर्ग, समुदाय तथा सम्प्रदायका बालबालिकालाई शिक्षाको समान अवसर दिनु आवश्यक हुन्छ । शिक्षाविद् मेरिया मण्टेश्वरीले “बालबालिकाहरूलाई शिक्षा दिनु नै असल समाज निर्माण गर्नु हो” भनेकी छन् भने प्रख्यात व्यक्तित्व अव्राहम लिंकनले “बालबालिकाहरूलाई शिक्षा देउ ताकि वयस्क र प्रौढहरूलाई शिक्षा दिनु पर्दैन ।” आजका बालिका भोलिका आमा, सासू, बुहारी हुन् । त्यसैले बालिका शिक्षा नै सामाजिक विकासको वलियो पूर्वाधार मानिन्छ ।

विज्ञापन

शिक्षामा समान अवसर विश्वव्यापी मान्यता हो । विश्व समुदायमा दोस्रो विश्वयुद्धपछि स्थापित संयुक्त राष्ट्रसंघको घोषणापत्रमा जाति, लिङ्ग, भाषा वा धर्मको आधारमा भेदभाव नराखी सबै नागरिकलाई शिक्षा दिनुपर्ने कुरा उल्लेख छ । संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र, नेपालको संविधानको भाग–३ मा मौलिक हक र कर्तव्य अन्तर्गत धारा (१८) मा समानताको हकको व्यवस्था गरेको छ ।

धारा (१८) को उपधारा (४) मा समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन भन्ने प्रावधान छ भने सोही धाराको उपधारा (५) मा पैतृक सम्पत्तिमा लैङ्गिग भेदभाव विना सबै सन्तानको समान हक हुनेछ  भनी कानूनले छोरा र छोरीको सामाजिक सुरक्षा तथा लगानीमा समानता हुनुपर्ने स्पष्ट व्यवस्था गरेको भए तापनि यथार्थ भने फरक नै छ । छोरा र छोरीलाई समान खालको शिक्षादिक्षा, खानपान, पोषण लगायतका क्षेत्रमा समान व्यवहार गर्नुपर्ने कानूनी मान्यताभन्दा फरक खालले समाजमा छोरालाई महंगो विद्यालयमा र छोरीलाई विद्यालय पठाउने बाहानामा सरकारी विद्यालयमा पठाउने गरेको देखिन्छ ।

बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा शिक्षा विकास तथा समन्वय इकाई बाजुराले प्रकाशन गरेको एकीकृत विद्यालय सूचना व्यवस्थापन प्रणाली अनुसार छात्रा र छात्र पढ्ने विद्यालयको विद्यालयको तथ्याङ्क भने फरक नै देखिन्छ ।

सरकारले आफ्ना नागरिकलाई समनताका आँखाले हेरे पनि जन्म दिने आमाबुवाले भने छोरा र छोरीलाई समान दृष्टिकोणले हेर्ने सकिरहेका छैनन् । संस्थागत विद्यालयलाई व्यापारिक बनाउनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अभिभावकको नै दोष देखिन्छ । यस्तो खालको असमानता देशभरि नै व्याप्त छ । बाजुरा जिल्ला कै तथ्याङ्क हेर्ने हो भने असमानताको खाल्डो स्पष्ट देखिन्छ ।

जिल्ला सदरमुकाम मार्तडीमा रहेको कन्भर्स एकेडेमीमा बालकक्षादेखि कक्षा ५ सम्म ३१४ जना विद्यार्थी रहेकोमा २९.३० प्रतिशत अर्थात ९२ जना छात्रा र बाँकी ७०.७० प्रतिशत अर्थात २२२ छात्र (छोरा) हरू अध्ययनरत छन् । त्यस्तै बडीमालिका इङ्लिस बोर्डिङ स्कुलमा कुल ३८७ विद्यार्थीमा ३०.४९ प्रतिशत, क्रियटर जोन एकेडेमीमा कुल ६४१ जना विद्यार्थीमध्ये ३१.६७ प्रतिशत छात्रा अध्ययनरत रहेको देखिन्छ ।

जिल्ला सदरमुकाम मार्तडीमा अवस्थित यी विद्यालयमा अध्ययन गर्न जिल्ला भरका विद्यार्थी आउछन् । बडीमालिका नगरपालिकामा ०–५ सम्म कुल ३९७५ जना विद्याथी रहेकोमा संस्थागत तर्फ १३४२ जना विद्यार्थी अध्ययनरत छन् । जिल्ला अन्य स्थानीय तहमा रहेका संस्थागत विद्यालयमा पनि छोरा र छोरीको अनुपातमा आकाश पातालको फरक रहेको देखिन्छ । अन्य स्थानीय तहभन्दा शिक्षित र विभिन्न क्षेत्रमा अगुवाई गर्ने बुढीगङ्गा नगरपालिकामा रहेका संस्थागत विद्यालयहरूमा पनि निकै अन्तर देखिन्छ ।

बुढीगङ्गा नगरपालिकामा रहेका चाइल्ड हेभन एकेडेमीमा कुल १०९ विद्यार्थीमा २०.१८ प्रतिशत मात्रै छोरी रहेकाछन् भने मालिका पीस जोनमा कुल ७० जना विद्यार्थीमा २० मात्र छोरी छन् । रेन्वो इङ्लिस बोर्डिङ्गमा ९४ जना विद्यार्थीमा २३ जना अर्थात २४.४७ प्रतिशत छोरी छन् । फारवेष्टमा ६७ जनामध्ये ३१.३४ प्रतिशत, मिनरेवा इङ्लिस बोर्डिङ्गमा २६८ मध्ये ६२ जना अर्थात २३.१३ प्रतिशत छोरी रहेकाछन् ।

बुढीनन्दा नगरपालिकामा रहेका २ विद्यालयमा पनि निकै फरक तथ्याङ्क छ । सुजन इङ्लिस बोर्डिङ्गमा कुल ५१५ विद्यार्थीमा १८५ अर्थात ३५.९२ प्रतिशत छोरी रहेकाछन् भने हातेमालो इङ्लिस बोर्डिङ्गमा ३०५ मध्ये ३१.१९ प्रतिशत छोरी छन् । त्रिवेणी नगरपालिकामा रहेका बाजुरा मोडेलमा कुल ८४ मध्ये २२ जना अर्थात २६.१९ प्रतिशत छात्रा र एम.आर. इङ्लिस बोर्डिङ्गमा ९२ जनामध्ये २२ जना अर्थात २३.९१ प्रतिशत छात्रा अध्ययनरत छन् ।

जिल्लागत तथ्याङ्क हेर्दा सबै भन्दा बढी सुजनमा ३५.९३ प्रतिशत छात्रा देखिन्छन भने सबै भन्दा कम मालिका पीसजोनमा २० प्रतिशत छात्रा अध्ययनरत रहेका छन् ।समान खालको शिक्षा पाउने कानूनी व्यवस्था रहे पनि छोरीभन्दा छोरामा नै लगानी गरेको तथ्य देखिन्छ । तुलनात्मक रूपमा जिल्ला भरिका ७ स्थानीय तहमा रहेका सामुदायिक विद्यालयहरुमध्येबाट नमुनाका रुपमा ७ पालिकाका एक–एक विद्यालयलाई छनौट गर्दा छोरा र छोरीको तथ्याङ्क निकै फरक देखियो ।

जिल्ला प्रशासन कार्यालय बाजुरा, शिक्षा विकास तथा समन्वय इकाई, बडीमालिका नगरपालिका लगायतका सरकारी निकायको आँगनमा रहेको बालमन्दिर आधारभूत विद्यालयको तथ्याङ्क हेर्दा बालकक्षादेखि कक्षा ५ सम्मका २०२ जना विद्यार्थीमा ५७.९२ प्रतिशत छोरी रहेको देखिन्छ ।

बालकक्षमा जम्मा २८ जनामध्ये २१ जना अर्थात ७५ प्रतिशत छात्रा अध्ययनरत देखिन्छन् । बुढीगङ्गा नगरपालिकाको नमुना प्रा.वि.मा कुल १२९ विद्यार्थीमा ६७.४४ छात्रा, बुढीनन्दा नगरपालिकाको देवडाँडामा १०८ जना विद्यार्थीमा ६१.११ प्रतिशत छात्रा, खप्तड छेडेदह गाउँपालिकाको ब्रह्मदेव प्रा.वि.मा १६६ जना विद्यार्थीमा ५३.६१ प्रतिशत, हिमाली गाउँपालिकाको भागेश्वरी विद्यालयमा जम्मा २९७ जनामा ५५.८९ प्रतिशत छात्रा अध्ययनरत देखिन्छन् । सरकारद्वारा पूर्वाधार तथा जनशक्ति व्यवस्था गरिएका सामुदायिक विद्यालयको गुणस्तर खस्किएको अवस्थामा छोरीलाई पढाउने नाममा सरकारी विद्यालयमा पठाउने गरेको तथ्याङ्कले देखाउछ ।

सबैलाई बुहारी पढेलेखेकी चाहिने । कामकाजी चाहिने । कमाउने चाहिने । यी सबै मान्यता विकास भइरहँदा संस्थागत र सामुदायिक विद्यालयमा छोरा र छोरीको अनुपात हेर्दा के अव शिक्षित बुहारी पाइन्छन त ? छोराप्रतिको आकर्षण र छोरीमा कम लगानी गर्ने गलत मानसिकताको अगाढी बडीमालिका नगरपालिका वडा नं. ६ निवासी उमेश बडुवालको मान्यता भने फरक छ । उनका २ छोरी र १ छोरामध्ये सबैलाई संस्थागत विद्यालयमा पढाएका छन् ।

मेरा लागी छोरा र छोरी समान हुन् । “ म जती छोरालाई लगानी गर्छु त्यती नै छोरीलाई लगानी गर्नेछु ।” छोरीमा जति लगानी गरेपनि अर्काको घर जाने भएकाले छोरीमा लगानी गर्नु बालुवामा पानी हाल्नु हो भन्ने मान्यताका कारण छोरा र छोरीमा शैक्षिक विभेद गरिएको देखिन्छ । छोरी आफैमा कमजोर नभई आमाबुवाको विभेदकारी व्यवहार र सामाजिक मान्यताले छोरीलाई कमजोर बनाउने गरेको देखिन्छ ।

कानून व्यावसायी तथा राजनीतिकर्मी गगन रावलका अनुसार हाम्रो सामाजिक मान्यता अझै पृतिसत्तात्मक नै छ । सकी नसकी लगानी गर्दा छोरामा नै लगानी गर्ने परम्पराको उपज हो छोरी र छोरावीचको संख्यात्मक भिन्नता । हिजो छोरीहरूलाई पढाउनु हुदैन भन्ने मान्यता थियो आज छोरीहरू विद्यालयसम्म पुगेका छन् यो खुसीको कुरा हो तर लगानीका हिसावले छोरी भन्दा अझ बढी लगानी छोरामा गर्ने परिपाटीको विकास भएको देखिन्छ ।

कानूनी रूपमा छोरा र छोरी बरावरी भनिए पनि सामाजिक मान्यता विकास हुन नसक्दा लगानी विभेद भएको देखिन्छ । हामी छोरीलाई पनि संस्थागत विद्यालय पठाउनु पर्दछ भन्दैनौं तर जो जहाँ पढे पनि बालबालिकाले गुणस्तरिय शिक्षा पाउनुपर्ने अधिकार सुनिश्चित गरिनु पर्दछ । यसको अर्थ सरकारी विद्यालयको गुणस्तर छैन भन्ने चाहँी हैन । यसको प्रमुख जिम्मेवार अभिभावक र सरकार रहन्छ ।

स्थानीय सरकारले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन ठोस कदम चाल्नुपर्ने उनको तर्क छ । दाउराका भारी बोकेर खाइ नखाई महंगो विद्यालयमा छोराछोरी पढाउनु अभिभावकको रहर हैन बाध्यता हो । यसका लागि सरकारले देखिने ढंगबाट प्रस्तुत हुन सक्नुपर्दछ ।

छोरालाई र छोरीलाई पढ्न दिने समयमा समेत विभेद रहेको पाइन्छ ।बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको धारणमा सामुदायिक विद्यालयमा जवसम्म राजनीतिकर्मी, सरकारका कर्मचारी र जनप्रतिनिधीले पढाउनुपर्ने बाध्यकारी नियम लागुपर्ने हुन्छ । हामीले नै आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाएनौ भने समान्य नागरिकले सकी नसकी महंगो विद्यालयमा पढाउनु पर्ने बाध्यता सिर्जना हुन्छ । छोरा र छोरी दुवैलाई एकै खालको शिक्षा प्रदान गर्न सामाजिक क्रान्ति गर्नुपर्ने देखिन्छ ।

संस्थागत विद्यालयमा दशकौंँ विताएका क्रियटर जोन एकेडेमीका सञ्चालक एवं प्रिन्सिपल मीनबहादुर कार्कीको मत पनि समाजिक मान्यताका कारण नै छोरालाई संस्थागत र छोरीलाई सामुदायिक विद्यालयमा पढाउनेको संख्या बृद्धि भएको हुनसक्ने मान्यता छन् । हामी संस्थागत विद्यालय सञ्चालकलाई विश्वास गरेर नै अभिभावकले आफ्ना छोराछोरीलाई संस्थागत विद्यालयमा पढाउँछन् ।

सरकारको लगानीमा सञ्चालित समाुदायिक विद्यालयभन्दा हाम्रो सानो लगानीबाट सञ्चालित विद्यालयबाट गुणस्तरीय शिक्षा प्राप्त गर्ने लालसा अभिाभावकमा छ । छोरीभन्दा छोरामा गरिएको लगानी स्थायी रहने विश्वास भएका कारण नै सामुदायिक र संस्थागत विद्यालयमा छोरा र छोरीकोे अन्तर बढ्न गएको हुनसक्ने उनको विचार छ ।

नेपाल सरकारको लगानीमा हरेक टोल टोलमा बाल विकास केन्द्र स्थापना गरिएका भएता पनि संस्थागत विद्यालयमा बालबालिकाको संख्या बढ्नुलाई सरकारी बालविकास केन्द्रले अभिभावकमा विश्वासको वातावरण सिर्जना गर्न नसकेको मान्यता छ सेतो गुराँस बालविकास केन्द्र बाजुराका कार्यक्रम संयोजक देवु खातीको ।

बालविकास केन्द्रको स्थापना कोटा पु¥याउने र राजनैतिक दलका कार्यकर्तालाई जागिर खुवाउने माध्यमका रूपमा रहेकोले बालविकास केन्द्र प्रति अभिभावकको विश्वास बढ्न नसकेको उनको विचार छ । बालविकास केन्द्रमा मन्टेश्वरी तालिम लिइएका, बाल मनोविज्ञान बुझ्न सक्ने शिक्षक शिक्षिकाको व्यवस्था गर्नुपर्नेमा ८ पासलाई राखिएकाले गुणस्तर कायम गर्न नसकिएको देखिन्छ ।
हिजो छोरीलाई बनपाखा पठाउने परम्परा बदलिए पनि छोरी र छोराको शिक्षामा लगानीमा असमानता रहनाले सामाजिक असमानता सिर्जना हुने निश्चित छ । एक छोरी शिक्षित हुँदा सिङ्गो समाजलाई शिक्षित बनाउन सक्ने समाथ्र्य राख्ने भए पनि अर्काको घरमा जाने भएकाले कम लगानी गर्ने मानसिक देखिन्छ ।

जति पढाए पनि अर्काको घरमा जाने हुँदा किन पढाउने भन्ने मान्यता रहेसम्म शिक्षामा समान लगानीको वातावरण बन्न नसक्ने देखिन्छ । सबैले छोरीमा कम लगानी गर्ने हो भने दूधपोखरी बनाउने उद्देश्य पानी पोखरी बन्ने निश्चित छ । शिक्षित बुहारी खोज्ने समाजले छोरीमा लगानी गर्ने खालको वातावरण सिर्जना गर्नु सरोकारवाला सबैको दायित्व हुन आउँछ ।

विभेदका क्षेत्र केलाउँदै जाँदा पाठ्यक्रम निर्माण गर्ने विज्ञले समेत घरको काम गरेको तस्विरमा आमाको चित्र राखेको देखिन्छ भने बुवाको तस्विर कुर्सीमा बसेर चिया पिउँदै गरेको देखाउदै बाल मनोविज्ञानमा समेत घरको काम गर्ने भनेकै छोरीले रहेछ भन्ने मान्यता स्थापित हुने देखिन्छ । अहिलेको असमान सामाजिक मानसिकताले आधा भन्दा बढी जनसङ्ंख्या ओगटेको महिला वर्गको उत्थान हुन निकै समय लाग्ने देखिन्छ ।

हरेक व्यक्तिले म छोरा र छोरीलाई समान व्यवहार गर्दछु भन्ने मौखिक प्रतिवद्धता भन्दा व्यवहारिक रूपान्तरण ल्याउन सके मात्र वर्षौदेखि मनाउदै आएको १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सफल भएको मानिनेछ । बेर्नामा जुन खालको लागनी गरिन्छ सोही अनुसारको फल लाग्ने भएकाले बालबालिकादेखि नै शिक्षा, पोषण र मायाममतामा समानता देखाउनु सक्नु आजको प्रमुख आवश्यकता हो । छोरा र छोरीलाई समान अवसर प्रदान गरी सामाजिक रूपान्तरणमा एकसाथ अग्रसर बनाउन सक्नुपर्दछ । (लेख विष्टका नीजि विचार हुन)

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार