काठमाडौँ । अप्रत्याशित रूपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले पनि चर्चा पाएको छ । नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन । अधिवेशन र पात्रबारे अनौपचारिक परामर्श भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चलाएको छ । सभामुखबाट महराले दिएको राजीनामा बुधबार सनाखत गरी रिक्तताको सूचना टाँस भएको छ ।
संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै आएको सभामुख र उपसभामुखमध्ये एक पद त्याग्नुपर्ने अवस्था पनि आएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले बुधबार सूचना जारी गरी सभामुख पद रिक्त भएको बताएकी छन् । अहिले संघीय संसद्को अधिवेशन अन्त्य भएको छ ।
नयाँ अधिवेशनले नै सभामुख चयन गर्नुपर्नेछ । नयाँ सभामुखको निर्वाचन कहिलेसम्म गरिसक्नुपर्छ भन्ने समय संविधान र प्रतिनिधि सभाको नियमावलीमा व्यवस्था नगरिँदा सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा उपसभामुखले राजनीतिक दलसँगको छलफलबाट टुंगो लगाउने तयारी गरेकी छन् । राजीनामा दिएको अवस्थामा पुनः निर्वाचन गर्ने विषयमा कुनै व्यवस्था नभए पनि नयाँ आमनिर्वाचनपछिको अवस्थामा भने प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वा्चित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
फेसबुक प्रतिक्रियाहरु