
नेपाली साँङ्गितिक आकाशमा उदाएका हरेक गीत केवल सुन्न र हेर्नेका लागि मात्रै बन्दैनन् । केही गीतहरू अहिलेकाे समयसँग संवाद गर्छन्, समाजलाई ऐना देखाउँछन् र राष्ट्रलाई आत्ममन्थन गर्न बाध्य बनाउँछन्।


“कलाले केवल मनोरञ्जनकाे साधन मात्र होइन, समाजलाई दिशा पनि दिन सक्छ भन्ने विश्वासलाई मेराे पनि हाेइन र याे देश ? भाग २ ‘कर्तव्य’ नामक बाेलकाे गितले पुनः स्थापित गरेको छ। त्यसैले यो गीत केवल सुन्ने मात्र नभई , मनन गर्ने र जीवनमा उतार्ने सिर्जना बनेको छ।”
हाे, फेरिपनि भन्छु । प्रकाश सपूतको मेराेपनि हैन र याे देश ? भाग २ ‘कर्तव्य’ नामक बाेलकाे गितपनि त्यस्तै एउटा प्रभावशाली सिर्जना हो।
विज्ञापन


‘मेरो पनि हैन र यो देश’ ले उठाएको प्रश्नलाई ‘कर्तव्य’ बाेलकाे गितले समय सापेक्षित ढंगले हरेकलाई कर्तव्यबोध गराउन प्रयास गरेको छ। यो गीतले केवल सरकारलाई प्रश्न गर्दैन, उसलाई र नागरिकलाई पनि आफ्नै जिम्मेवारी सम्झाउँछ। त्यसैले यसको शीर्षक ‘कर्तव्य’ आफैंमा यसको सबैभन्दा ठूलो सन्देश हो।
याे गीतले नागरिकका आधारभूत अधिकार—गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारी र न्याय—कुनै विलासिता होइन, राज्यले सुनिश्चित गर्नुपर्ने दायित्व भएको कुरा स्पष्ट रूपमा स्मरण गराउँछ।
अर्कोतर्फ, नागरिकलाई आफू बाँचिरहेकाे समय र सापेक्षित ढंगले “केही गरौँ, जे सकिन्छ त्यही गरौँ” भन्ने प्रेरणा दिएर राष्ट्र निर्माणमा सक्रिय सहभागिताको आह्वान गर्छ। आम नागरिकलाई परिवर्तनको प्रतीक्षा मात्र होइन, परिवर्तनको सहयात्री बन्न आग्रह गर्छ।
देश बनाउन उहाँ कुनै सुपरहिरो आउने होइन, हामी आफैंले आफ्नो जिम्मेवारी निभाउँदै नयाँ नेपाल निर्माण गर्नुपर्ने सन्देश गीतको आत्मा बनेर प्रस्तुत भएको छ।
यस गीतको अर्को बलियो पक्ष सामाजिक न्यायप्रतिको स्पष्ट प्रतिबद्धता हो। जातीय भेदभाव र विभेदको अन्त्य गर्दै समानता, सम्मान र सहअस्तित्वमा आधारित समाज निर्माणको सन्देश यसले दिन्छ। यो केवल एउटा समुदायको मुद्दा होइन, सभ्य, समावेशी र लोकतान्त्रिक नेपालको आधारशिला हो भन्ने भाव गीतभरि महसुस हुन्छ ।
विकासको बहसमा पनि गीत अत्यन्त सान्दर्भिक देखिन्छ। असहज जीवन जीवनशैलीमा भाँचिरहेका दुर्गम वस्तितिरका तमाम नागरिकका लागि पहिला उनीहरूका आवश्यकतालाई प्राथमिकता दिएर ” दुर्गमका भीरपाखामा हिड्न, खाेलानाला तर्न पहिला बनाउ राम्रो बाटो, पहिला बनाऔँ पुल ! , अनि बल्ल राेपाैँला नि सहरमा फूल !!” कतै छैन खाने पिठाे,कतै राताे रूमाल ! किन फरक काठमाडौं र कर्णालीकाे नेपाल!!” भन्ने गितकाे टुक्काका भावले विकासको प्राथमिकता के हुनुपर्छ भन्ने गहिरो प्रश्न उठाउँछ।
त्यस्तै विद्युत्, कृषि, पर्यटन, उद्योग र व्यापारमा नयाँ सोच र लगानी बढाउँदै उत्पादन र निर्यात विस्तार गरेर देशको आय बढाउनुपर्ने सन्देशले आत्मनिर्भर अर्थतन्त्रको मार्ग देखाउँछ। “आय नबढी ऋण कसरी तिर्ने?” भन्ने यथार्थलाई गीतले सरल तर गम्भीर ढंगले प्रस्तुत गरेको छ।
गीतले भूमिहीन सुकुम्बासीको पीडालाई मात्र चित्रण गर्दैन, उनीहरूकाे आवश्यकता र चाहनालाई सम्मानजनक समाधानको माग पनि गर्छ। भिडियोमा खेलकुद क्षेत्रप्रति राज्यको जिम्मेवारी र युवाको प्रतिभालाई अवसर दिनुपर्ने आवश्यकता पनि उत्तिकै प्रभावशाली रूपमा उठाइएको छ।
विदेशी भूमिमा रगत र पसिना बगाएर रेमिट्यान्स पठाउने लाखौँ नेपालीप्रति गीतले उच्च सम्मान व्यक्त गरेको छ। तर, त्यससँगै स्वदेशमै अवसर सिर्जना गरेर युवालाई आफ्नै माटोमा भविष्य बनाउन, गाउँका चर्किएका घरहरू फेरि लिपपोत गर्न, गाउँलाई जीवन्त बनाउन र विदेशिएका नेपालीहरू पनि एक दिन आफ्नै घर फर्कने वातावरण बनाउनुपर्ने आशावादी सन्देश दिन्छ। “जनता पनि केही गर,गाउँमै बसाइँ सर ! चर्किएका रित्ता घर लिप पाेत भर !! एउटा विदेश गयो भने परिवार सहर ! सरूवा राेग जस्तो भयाे सहर जाने रहर !! भन्ने भाव केवल बसाइँसराइको कुरा होइन, उत्पादन, आत्मनिर्भरता र गाउँको पुनर्जागरणको राष्ट्रिय अभियान हो।
अनि, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति गीतले गहिरो सम्मान व्यक्त गरेको छ। तर, त्यो सम्मान केवल श्रद्धाञ्जलीमा सीमित नरहोस्; उनीहरूले देखेको न्यायपूर्ण, समावेशी र समृद्ध नेपालको सपना व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जली हो भन्ने सन्देश पनि गीतले दिन्छ।
गीतको अन्तिम सन्देश अत्यन्त शक्तिशाली छ—आज हाम्रो कर्तव्यले नै भोलिको सुन्दर नेपाल निर्माण गर्नेछ। फेरि रगत र खरानीको होली दोहोरिन नदिन, देशको उन्नति र भावी सन्ततिको उज्ज्वल भविष्यका लागि सरकारले शासक होइन, जनताको सेवक बनेर काम गर्नुपर्छ। त्यस्तै जनताले पनि अधिकार मात्र होइन, जिम्मेवार नागरिकका रूपमा आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्नुपर्छ।
अर्कोतिर यस म्युजिक भिडियोमा तराईका थारू समुदायको मौलिकता, कर्णालीको देउडा, हिमाल–पहाड–तराईको साझा भावना, किसान, श्रमिक, युवा, खेलाडी, सुकुम्बासी र विभेदमा परेका समुदायका आवाजलाई एउटै सांगीतिक यात्रामा समेट्नु प्रकाश सपूतको सिर्जनात्मक परिपक्वताको प्रमाण हो।
‘कर्तव्य’ कुनै राजनीतिक दलको गीत होइन, कुनै वर्गको गीत पनि होइन। यो आफ्नो देशलाई माया गर्ने हरेक नेपालीको गीत हो। अधिकारसँगै कर्तव्य पनि सम्झाउने, निराशाभन्दा आशा रोज्न प्रेरित गर्ने र विभाजनभन्दा एकताको बाटो देखाउने यो सिर्जना साँच्चै नै समकालीन नेपाली संगीतको एउटा महत्त्वपूर्ण दस्तावेज बनेको छ।
अन्तमा याे गीत केवल सुन्नका लागि होइन, पुस्तौँसम्म सम्झिन र व्यवहारमा उतार्नका लागि जन्मिएकाे जस्तो छ । याे समय र सान्दर्भिकता झल्किने यस प्रभावशाली सृजनाकाे लागि यस गितमा आवद्ध सिङ्गो टिम र अत्यन्तै बहुप्रतिभाशाली, प्रभावशाली सृजक, गायक, नायक तथा लाेकप्रिय कलाकार प्रकाश सपूत जी ! तपाईंलाई हार्दिक हार्दिक बधाई तथा आगामी सिर्जनात्मक यात्रा फलिफाव रहाेस् ! फेरिपनि हार्दिक शुभकामना तपाईंलाई है त !!
लेखक- प्रेमबहादुर विक राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष हुन् ।

फेसबुक प्रतिक्रियाहरु