काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका कारण दैनिक पठनपाठनलगायत शैक्षिक गतिविधि प्रभावित नहोस् भनेर चार दिन मात्रै प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार चैत ५ मा देशभरका आंगिक, सामुदायिक र निजी क्याम्पसमा निर्वाचन हुँदै छ । स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७९, आचारसंहिता र समय तालिका जारी गर्दै त्रिविले फागुन २९ दिउँसो २ बजेदेखि चैत २ राति १२ बजेसम्म मात्र चुनाव प्रचार गर्न पाउने व्यवस्था गरेको हो । त्यसपछि ४८ घण्टे मौनअवधि सुरु हुनेछ । २९ गते उम्मेदवारको अन्तिम नामवली प्रकाशित भएपछि मात्रै प्रचारप्रसार गर्न पाइने स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए ।
फागुन २७ मा प्रत्यक्ष र सामानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्ने समयतालिका प्रकाशित गरिएको छ । त्यसअघि नै उम्मेदवारी दिन चाहने संघ, संगठन वा समूह दर्ता गर्नुपर्नेछ । फागुन १९ मा सम्बन्धित क्याम्पस निर्वाचन समितिमा दर्ता गरेपछि आधिकारिक रूपमा स्ववियु निर्वाचनको गतिविधि अघि बढ्ने अधिकारीले जनाए । ‘प्रत्यक्षतर्फ स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिन पाइन्छ, संघ/संगठनबाहेक विद्यार्थीहरूले समूह बनाएर पनि प्रत्यक्ष र समानुपातिकमा चुनाव लड्न सक्छन्,’ उनले भने ।
प्रचारका क्रममा भित्ते लेखन गर्न, तुल, फ्लेक्स, पोस्टर टाँस्न र माइकिङ गर्न भने रोक लगाइएको छ । ‘क्याम्पस कम्पाउन्डको बाहिर, भित्र र परिसरमा भित्तेलेखन गर्न पाइने छैन, निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै पनि प्रकारको पोस्टर टाँस्न पाइने छैन,’ आचारसंहितामा छ,’ त्रिवि वा क्याम्पसलाई हानि–नोक्सानी हुने कुनै प्रकारको प्रचारप्रसार र अन्य गतिविधि गर्न पाइने छैन । माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइने छैन ।’
उम्मेदवारी दिने संघ, संगठन, समूह र स्वतन्त्र उम्मेदवारले निर्वाचन घोषणापत्र, उम्मेदवार नामावलीको पर्चा ‘ए फोर’ साइजको एकै रङमा भने प्रयोग गर्न सकिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । क्याम्पस निर्वाचन समितिले उम्मेदवारलाई एउटै मञ्चमा राखेर परिचयात्मक कार्यक्रम सञ्चालन गर्न दिने भएको छ । निर्वाचन अवधिमा बन्द हडताल गर्न रोक लगाइएको छ । विद्यार्थी संगठनलगायत सरोकारवालासँग छलफल गरेर आचारसंहिता जारी गरिएको सदस्यसचिव अधिकारीले बताए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन केन्द्रीय निर्वाचन समितिले बुधबार सुरक्षा निकायका प्रतिनिधिसँग छलफलसमेत गरेको छ । नेपाल प्रहरीको केन्द्रीय प्रतिनिधि, सशस्त्र प्रहरी, काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग निर्वाचन समितिले छलफल गरेको हो । सुरक्षा अधिकारी र निर्वाचन समितिका पदाधिकारीले चुनावबारेका रायसुझाव आदानप्रदान गरेका थिए । त्रिवि पदाधिकारीले देशभरका निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि गृहसचिव विनोदप्रकाश सिंहलाई भेटेर आग्रह गरिसकेका छन् ।
स्ववियु निर्वाचनका लागि राजनीतिक दलसँग निकट २३ वटा विद्यार्थी संगठन केन्द्रीय निर्वाचन समितिको सम्पर्कमा आएका छन् । निर्वाचन लड्नका लागि सम्बन्धित क्याम्पसमा नै संगठन वा समूह दर्ता गर्नुपर्छ । प्रत्यक्षतर्फ भने स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिन पाइनेछ । काठमाडौं उपत्यकाका २२ सहित ६२ आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन गर्न त्रिविले सर्कुलर गरेको छ । क्याम्पसमा निर्वाचन गराउने जिम्मेवारी क्याम्पस प्रमुखलाई तोकिएको छ । उनले निर्वाचन अधिकृत नियुक्त गरी चुनाव सम्पन्न गराउनुपर्नेछ । कुनै कारणवंश तोकिएको मिति (चैत ५) मा निर्वाचन गराउन नसक्ने क्याम्पसले निर्वाचन अधिकृतको सिफारिसमा ३० दिनभित्र गराउनुपर्ने व्यवस्था निर्देशिका गरेको छ ।
त्रिवि कार्यकारी परिषद्बाट स्वीकृत गराएर निर्देशिका लागू गरिएको हो । ‘स्ववियु निर्वाचनलाई तकडभडक र राजनीतिक दाउपेचभन्दा पनि सामान्य प्रक्रियाको रूपमा लिन सबैलाई आग्रह गरेका छौं, क्याम्पस, विद्यार्थीले आफ्नो स्ववियु आफैं छनोट गरेर हामीलाई जानकारी दिए पनि हुन्छ,’ सदस्यसचिव अधिकारीले थपे, ‘विद्यार्थी संगठनले राजनीतिक दाउपेचभन्दा पनि स्ववियुको आवश्यकता महसुस गरेर सहयोग गरेका छन् ।’
निर्वाचनमा उम्मेदवार बन्न २८ वर्षे उमेरहद लागू गरिएको छ । क्याम्पस प्रमुखहरूले उमेर नाघेर उम्मेदवार बन्न नपाउने तर विद्यार्थी संगठनमा सक्रिय विद्यार्थीबाट असहयोग हुने हो कि भन्ने आशंका गरेका छन् । ‘एउटै विद्यार्थी वर्षौंदेखि विद्यार्थी संगठनमा लागेको छ, एउटा तह पूरा गरेर पनि फेरि भर्ना भएको छ तर स्ववियुमा चुनाव लड्न उमेरले दिँदैन, त्यस्ता विद्यार्थीले चुनाव बिथोल्ने खतरा छ,’ उपत्यकाका एक क्याम्पस प्रमुखले भने । राजनीतिक दल आवद्ध विद्यार्थी संघसंगठनले भने निर्वाचन चाहेको उनले जनाए ।
क्याम्पसमा अध्ययरत विद्यार्थी संख्याको आधारमा स्ववियु कार्यसमितिको संख्या यकिन हुने व्यवस्था छ । प्रत्येक क्याम्पसमा कम्तीमा ११ देखि २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ । त्रिविको निर्णयपछि क्याम्पसहरूले निर्वाचन तयारी अघि बढाएका छन् । दुई सयसम्म विद्यार्थी भएमा ११, एक हजार विद्यार्थी रहे १५ र तीन हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १९ र त्योभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसले २१ सदस्यीय स्ववियु चयन गर्नुपर्नेछ । २०१८ सालदेखि त्रिविमा स्ववियुको सुरुवात भएको थियो । २०३६ देखि दुई/दुई वर्षमा हुँदै आएको निर्वाचन २०७३ देखि नियमित हुन सकेको छैन । २०७३ मा केही क्याम्पसमा मात्रै स्ववियु चयन भएको थियो । फागुन २१ मा क्याम्पसहरूले मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका छ । निर्वाचन गराउन त्रिवि शिक्षाध्यक्ष (रेक्टर) को संयाजकत्वमा केन्द्रीय अनुगमन तथा समन्वय समिति र क्याम्पसपिच्छे निर्वाचन समिति बनाइएको छ । कान्तिपूरबाट
फेसबुक प्रतिक्रियाहरु