नागरिक रैबार/बाजुरा २४ असार।बाजुराको बडीमालिका नगरपालिकाले नगरभित्रका ९ वटै वडामा सोलार बत्ती जडान गरेको छ ।
नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन नियमित नहुँदा वडाका सेवाहरु प्रभावित बनेपछि नगरपालिकाले नगरका सवै वडामा बत्तिको विकल्पमा सोलार बत्ती जडान गरेको हो ।
राष्ट्रिय प्रशारण लाईन अन्तरगतको विद्युत सेवा नियमित नहुँदा नगरभित्रका वडामा विभिन्न काम गर्न समस्या हुँदै आएको थियो ।
नगरपालिकाले नगरभित्रका सवै वडा कार्यालयका कामहरुलाई सहज बनाउन सोलार बत्ति जडान गरेपछि वडामा बत्ति नभएको समयमा समेत वडाका काम गर्न सजिलो भएको बडीमालिका नगरपालिका ८ का वडा सचिव गोरख बहादुर रावलले बताएका छन् ।
नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारसंगको साझेदारीमो नवप्रर्वतन साझेदारी कार्यक्रम अन्तरगत नगरभित्रका सवै वडामा सोलार प्यानल जडान गरेको हो ।
वडाको सम्पूर्ण कामकाज कम्प्युटर प्रणालीमार्फत गर्ने योजना अनुसार नगरका ९ वटै वडामा सोलार बत्ती जडान गरिएको नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् । उनका अनुसार अव विजुली नभएको बेलासमेत नगरका प्रत्येक वडामा विद्युतीय कामहरु नियमित गर्न सकिने छ ।
आगामी आर्थिक बर्ष देखी बडीमालिका नगरपालिकाले दर्ता चलानी, सिफारीस, सुचीदर्ता, योजना, राजस्व, ब्यवसाय दर्ता लगायतका कार्यहरु अनलाईन प्रविधिबाट गर्नका लागि नगरका सवै वडामा सोलार वत्ति जडान गरिएको नगरपालिकाले जनाएको छ ।
अहिले बडीमालिका नगरपालिकाले नवप्रर्वतन कार्यक्रम मार्फत नगरपालिकालाई अनलाइन प्रणालीमा जोड्ने गरी काम अगाडी बढाई अगाडि बढेको नगरप्रमुख अमर खड्काले बताएका छन् । उनका अनुसार क्रमश सबै वडा कार्यालय र केही बिद्यालयलाई अनलाईन प्रबिधिमा जोडिने छ ।
आगामी साउन महिनाबाट संचालन हुने गरी नवप्रर्वतन साझेदारी कार्यक्रमले नगरपालिका र वडा कार्यालयबाट हुने सबै कामहरुलाई अनलाइन र डिजिटल बिधीबाट गर्ने उद्देश्यले नवप्रर्वतन साझेदारी परियोजना पालिकामा कार्यान्वयन भईरहेको छ ।
बडीमालिका नगरपालिकाको ६० लाख र सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री परिषद नवप्रवर्तन साझेदार कोषको १ करोड ४० लाखामा सो कार्यक्रम नगरपालिकाले २०७९ मंसिर महिनादेखि संचालन गरिरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु