काठमाडौँ — बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका उपाध्यक्ष दानबहादुर चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले चौधरीसहितका नवप्रवेशीहरूलाई स्वागत गरेका छन् ।
पार्टी प्रवेशपछि एमाले केन्द्रीय कार्यालयमा करिश्मा मानन्धरलगायतका नेताहरूसँग दानबहादुर चौधरी । गत साता मात्रै गठन गरिएको नेसपाले चौधरीलाई उपाध्यक्ष चयन गरेको थियो । ०६२-०६३ सालको मधेस आन्दोलनमा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीमा आबद्ध चौधरी ०६४ सालको पहिलो संविधानसभामा सोही पार्टीबाट क्षेत्र नं. २ को सभासद बनेका थिए ।
०७० सम्म आइपुग्दा चौधरी तमलोपा परित्याग गरी तत्कालीन विजयकुमार गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । २०७२ सालमा संविधान जारी भएपछि भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा चौधरी सामेल भएका थिए । ०५६ सालको आम चुनावमा एमालेबाट कपिलवस्तु क्षेत्र नं. १ बाट चुनाव जितेका थिए ।चौधरी १५ वर्षपछि पुनः एमालेमा फर्किएका हुन् ।
दुई पटक चुनाव जितेका चौधरी ०७० र ०७४ मा भने पराजित भएका थिए । भट्टराई प्रधानमन्त्री भएको बेला त्यहीँ सरकारमा उनी मन्त्री थिए । सोही कार्यक्रममा दाङको बंगलाचुली गाउँपालिकाका पूर्वउपाध्यक्ष यमुना थापा मगर पनि माओवादी त्यागेर एमालेमा प्रवेश गरेकी छन् ।
फेसबुक प्रतिक्रियाहरु