होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • सास फेरिरहेका चिसा मान्छेहरुको फिल्म चिसो मान्छे
मनोरञ्जन

सास फेरिरहेका चिसा मान्छेहरुको फिल्म चिसो मान्छे

  • नागरिक रैबार
सास फेरिरहेका चिसा मान्छेहरुको फिल्म चिसो मान्छे

समाज चिसो बन्दैछ । सास फेरिरहेका जिउँदो लासहरुले देश भरिने क्रम जारी छ । मानिसबाट माया, प्रेम, सद्भाव, करुणा जस्ता शब्द हराउँदै गइरहेको छ । मानवियताको नामोनिसान अब लगभग सकिन लाग्यो । कोभिड १९ को समयमा त झनै आफ्नै परिवारका सदस्य समेत टाढा भए । पानी दिने मानिस समेत नभएर छटपटाउँदै प्राण त्याग्नुपर्ने अवस्था आयो । मानिसदेखि मानिस डराए ।

यहि मानवियता हराएका बिषय देखाउन कफिनबाट आएको लासलाई बिम्बात्मक प्रयोग गरिएको फिल्म हो चिसो मान्छे । फिल्मको कथा बैदेशिक रोजगारीमा गएको एक युवा कफिनमा आएबाट सुरु हुन्छ । काठमाडौंदेखि बाजुरासम्म शव लैजादाको कथा हो यो । तर यो त्यो बाकसको चिसो मान्छेको कथा भने पटक्कै हैन ।

यो कथा हो, स्वतन्त्रता चाहने एक बाजुरेली चेली पुष्पा (स्वस्तिमा खड्का) को । यो कथा हो ब्यवसाय डुवेर मर्नु न बाँच्नुको अवस्थामा पुगेको युवा अशोक थापा (अर्पण थापा) को । यो कथा हो छोराले आफ्नो चिता जलाउला भन्ने अवस्थामा आफै काँधमा चिसो छोरा बोकेर हिड्न बाध्य बाबु (देशभक्त खनाल) को । मानवियता हराएको चिसो समाजमा आ-आफ्नो कथा बोकेका पात्रहरुको कथा हो यो । फिल्मको बिषय कफिनलाई केन्द्रमा राखेर यिनै तीन पात्रले गरेको संघर्ष वरपर घुमेको छ ।

विज्ञापन

चपली हाइट जस्ता ब्यवसायीक फिल्म निर्देशन गरेका निर्देशक दिपेन्द्र के खनालले यत्तिको बिषयबस्तुमा फिल्म बनाउने आँट गर्नु चानचुने कुरा हैन । उनलाई थाहा छ, नेपालमा यस्ता फिचर लेन्थका फिल्म चल्ने बजार हैन भन्ने । तरपनि उनको यो प्रयासलाई सलाम गर्नैपर्छ । लागनीको चिन्ता नगरेरै यत्तिको फिल्म बनाउनु भनेको हार स्विकार गर्नु हो । त्यसैले बक्स अफिसमा हारेपनि फिल्मले उनको जित भएको छ ।

नेपालमा नारीलाई मुख्य केन्द्रबिन्दुमा राखेर फिल्म कम बन्नेगरेका छन् । उनिहरु कि नायककी श्रीमती, कि प्रेमिका बन्ने चलन छ । तर दिपेन्द्र त्यस्ता निर्देशक हुन्, जो नारीलाई केन्द्रमा राखेर फिल्म बनाउँछन् । फिल्म चिसो मान्छेको केन्द्रिय पात्र पनि नारी हुन् ।
सुदुरपश्चिममा रहेको बाजुरा जिल्लामा जन्मेकी चेली पुष्पा । उनको पनि सपना छ, इच्छा छ । तर सानैमा बाल बिबाह अनि बैबाहिक बलात्कार । छाउगोठमा रगतमा लतपतिएको दिनदेखि जवानीमा बिधवा हुँदासम्मको यात्रा । जिन्दगीदेखि भाग्न खोजिरहन्छिन् तर उनि अल्झिरहन्छिन् ।

फिल्ममा पुष्पा निकै बिद्रोही पात्र हुन् । श्रीमानको शव बाकसमा छ, तर उनमा समवेदना हराएको छ। उनि गीत गाउँछिन्, नाच्छिन् । सागपात खाँदाखाँदा वाक्क छिन्, मासुभात खान चाहन्छिन् । श्रीमानको शव बाकसमा छ, उनि परपुरुषको काँधमा निदाउँछिन् ।
नेपाली समाजमा पुरुषले मात्रै प्रेमप्रस्ताव राख्नुपर्छ, महिलाले राखे उत्ताउली भन्छन् भन्ने डर छ । तर उनि समाजलाई अटेर गरेर आफै प्रस्ताव राख्छिन्, काँधमा निदाउँदा किन क्यै भनेनौं ? पुरुष पात्र लजाउँछ मात्र । पाउँ किन किनिदियौ? उ लजाउँदै भन्छ, मेरो बुढीलाई मनपर्छ भनेर । यहिँबाट थाहा हुन्छ, पुष्पा कति बिद्रोही पात्र हुन् भनेर । समवेदना हराएको चिसो समाजमा पुष्पा जस्ता बिद्रोही पात्रले गरेको संर्घष फिल्ममा सफलतापुर्व देखाइएको छ । उनि छाता बोकेर चिसा मान्छेहरुसँग लडाईँ लड्छिन् ।

त्यस्तै लगानी डुवाएका अशोक, सम्पतीसँगै परिवार गुमाएको पात्र हो । मनभरी पिडा भएको उसँग रुनुको बिकल्प छैन । त्यसैले उ निकै नमिठोसँग रुन्छ । नारी पात्र बिद्रोही देखाउँदा पुरुष पात्र लाचार छ । उ आफ्नो पिडा गाडीको स्टेरिङमा पोख्छ । भुतभुताउँछ । समाजमा चिसा मान्छेसँग हात हालाहाल गर्छ । अन्त्यमा गल्छ र गाडीको चक्काजस्तै छ जिन्दगी भनेर चित्त बुझाउँछ । टालटुल गरेर चलाउँदा चलाउँदै ड्म्म्म पड्किने दिनको प्रतिक्षामा छ उ ।

अर्को भने टालटुल गरेर भएपनि जिन्दगी चलाउन पाएको भए हुने भन्ने सोचका पात्र छन्, शव डम्बरका बाबु । किनभने उनको जिन्दगीको गाडीका सबै टायर टालटुल गर्न नपाई सिधै पड्किएका छन् । उनि न यात्रा अगाडी बढाउन सक्छन्, न रोक्न नै । टायर फेर्ने स्थितीमा उनि छैनन् ।

बुढेशकालमा छोराको शव काँधमा बोक्न बाध्य उनि नेपालका आम पात्र हुन् । उनलाई कठोर हुनुपर्ने बाध्यता छ, तर भावनात्मक रुपमा कमजोर भइदिन्छन् । रक्सीको साहाराले जिन्दगी धकेलिरहेका यि पात्रलाई समाजका चिसा मान्छेको ब्यवहारले झनै घायल बनाएको छ ।

यी सबै पात्रलाई प्रतिकात्मक शवसँग जोडेर फिल्म अगाडी बढेको छ । जताततै चिसा मान्छेसँग भेट हुन्छ यी पात्रहरुको ।
फिल्मको बिषयबस्तु उत्कृष्ट छ । तर मेकिङमा भने केहि चुक्न पुगेका छन्, निर्देशक । फिल्ममा जति समवेदना देखाउनुपर्ने हो त्यति देखाउन सकेका छैनन् उनले ।

यो फिल्ममा खलपात्र समाजका चिसा मान्छेहरु हुन् । तर ति खलपात्र बलियो नहुँदा फिल्ममा सोचेजति मज्जा लिन सकिँदैन ।
फिल्मका सटहरुमा नयाँ प्रयोग गरेका छन् । तर त्यसलाई गतिलो ढंगले काम गर्न नसक्दा क्लिसे बनेका छन् । दर्शकको ध्यानलाई तानिरहन नसक्नु यो फिल्मको सबैभन्दा ठुलो कमजोरी हो ।

समग्रमा, फिल्मले नयाँ प्रयोग थालेको छ । निर्देशक खनालको यो प्रयासलाई सिनेमा कर्मी तथा समीक्षकहरूले रुचाएका छन् भने दर्शकबाट मिस्कट प्रतिकिया आईरहेका छन् । यो नयाँ प्रयोगका लागि फिल्मका छायांकन, लेखन र निर्देशन तिनओटै क्षेत्र सम्हालेका दिपेन्द्र के खनाल धन्यवादका पात्र अवस्य बनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै