होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा सडक : पहिरोमै बग्छ बर्सेनि करोडौं
समाचार

बाजुरा सडक : पहिरोमै बग्छ बर्सेनि करोडौं

करिब २० किमि सडक दर्जनौं ठाउँमा अवरूद्ध पहिरोको विपद्बाट जोगिन भएन कुनै पूर्वतयारी

  • नागरिक रैबार
बाजुरा सडक : पहिरोमै बग्छ बर्सेनि करोडौं

बाजुरा । बाढी र पहिरोका कारण असार अन्तिम सातादेखि साँफे–मार्तडी सडक खण्डको बार्जुगाढदेखि जडांगासम्मको करिब २० किलोमिटर सडक दर्जनौं ठाउँमा अवरुद्ध छ । बाजुराको लाइफलाइनको रुपमा रहेको यो सडक वर्षादको समयमा पूर्ण रुपमा अवरुद्ध हुन थालेको चार वर्ष भइसक्यो ।

बर्खा नसकिदासम्म यो सडक सुचारु हुने अवस्था हुँदैन । नियन्त्रण गर्न असम्भव भइसकेको पहिरोमा सडक डिभिजन कार्यालय साँफेबगरले प्रत्येक वर्ष मर्मतको नाममा ठूलो रकम खर्च गर्दै आएको छ । सडक मर्मतका नाममा खर्चिने रकम पहिरोमै बगिरहेको छ ।

अम्कोट क्षेत्रमा त पैदल हिड्न पनि कठिन छ । यात्रुहरूलाई कुन बेला माथिबाट ढुंगा खसेर दुर्घटना हुने हो भन्ने डरले हैरान भइरहेको छ । एक दशकअघि द्वारीको पहिरोमा परेर चार जनाको ज्यानसमेत गएको थियो । ‘सदरमुकाम मार्तडी जानका लागि यही पहिरो छिचोल्दै हिड्नुको विकल्प छैन । बग्दै पहिरोमा हिड्नु पर्छ । माथिबाट खसेको ढुङ्गा लाग्ने हो कि भन्ने डरैडरले हिँड्नुपर्ने बाध्यता छ,’ बुढीगंगाका चन्द्र रावतले भने ‘वैकल्पिक ठाउँबाट सडक नबनाउँदासम्म यही ठाउँमा मर्मत गर्नु खाली पैसा बगाउनुमात्रै हो ।’

विज्ञापन

हाल सडक रहेको वारितर्फ बुढीगंगा नगरपालिकाको अम्कोट क्षेत्र र पारि त्रिवेणी नगरपालिकाको पैमा क्षेत्रबाट ठूलो पहिरो खसेको छ । दुबैतर्फको पहिरोले बुढीगंगा नदी साँघुरो गल्छीमा बगिरहेको छ । पैमामा त पूरै डाँडो भासिएर पहिरो खसिरहेको वर्षौ भयो । सडक रहेको अम्कोट क्षेत्रमा पनि उस्तै पहिरो छ । तल बुढीगंगा नदीदेखि माथि अम्कोटको गाउँसम्म करिब दुई किलोमिटर पहाड भासिसकेको छ । पहिरोकै पारि पैमा र वारि अम्कोट गाउँका करिब तीन सय परिवार विस्थापित हुने अवस्था आउन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

वर्षेनी सडक अवरुद्ध भइरहँदा सडक विभागले यो सडक पुनर्निमाणको लागि सुरक्षित विकल्प खोज्नुको साटो नियन्त्रण गर्न असम्भव जस्तै भइकेको पहिरोमै बर्षेनी करोडका दरले रकम बगाइरहेकोमा पनि बाजुराका बासिन्दाको असन्तुष्टी छ । ‘यो पहिरो रोक्न असम्भव छ भन्ने थाहा हुँदाहुँदै पनि सडकको विकल्प खोज्नुको सट्टा सालसालै यही सडक मर्मतको लागि भनेर पैसा खन्याउने गरिएको छ,’ स्थानिय मालिका माध्यमिक विद्यालयका शिक्षक आशानन्द जैशीले भने ‘यहाँ बगे जति पैसा अर्को सडकमा लगानी गरेको भए राज्यको स्रोत पनि जोगिन्थ्यो । सुरक्षित सडक पनि बनि सक्थ्यो ।’

अम्कोट र द्वारी क्षेत्रमा माथिबाट निरन्तर पहिरो खस्ने र तलबाट बुढीगंगा नदीको कटानले पैदल आवागमन पनि जोखिमपूर्ण बन्दै गएकोले सडकको विकल्प खोज्न नसके राज्यको लगानी खेर जाने मात्रै नभई मानविय दुर्घटना पनि हुन सक्ने उनको चिन्ता छ । सडक डिभिजन कार्यालय साँफेबगरका लेखा फाँटका नारायणप्रसाद जोशीले त्यस ठाउँमा मर्मतका लागि गत बर्ष र त्यो भन्दा अघिल्लो बर्षको खर्च डेढ करोड भएको बताए । ‘यो वर्ष अलि माथिबाट करिब चार किलोमिटर अस्थायी सडक खोल्ने काम भइरहेको छ । कति खर्च आउछ यकिन भएको छैन,’ जोशीले भने ।

बुढीगंगा नगरपालिकाको अम्कोट क्षेत्रको पहिरो करिब एक दशकअघि २०७० तिर सडक बनाउने बेला नै थियो । तर अहिलेजस्तो भीमकाय पहिरो भने थिएन । कच्ची ट्रयाक खुलेपछि ०७३ असोजमा पहिलो पटक सदरमुकामा मार्तडीमा बस पुगेको थियो । ०७५ मा कालोपत्रे भयो तर कालोपत्रे एक वर्ष पनि राम्ररी चल्न पाएन । पहिरोकै कारण बार्जुगाढदेखि जडांगासम्मको दर्जनौ ठाउँमा तलमाथिबाट खसेको पहिरोले सडक भासिन सुरु भएको थियो । ०७६ को वर्षाद यताका वर्षामा त पैदलसमेत हिँड्न नसकिने गरि अवरुद्ध हुँदै आएको स्थानीयले बताए ।

१३ जनाले ज्यान गुमाइसके

बाजुरा सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडक खण्ड बल्दे–अम्कोट–द्वारीको करिब दुई किलोमिटर खण्डमा निर्माण सुरु भएदेखि पहिरो खसेर मानवीय क्षति सुरु भएको हो । अम्कोटका स्थानीय नन्दराम पाध्याका अनुसार १० वर्षअघि द्वारीको पहिरोमा अम्कोट गाउँका ९ जनाको मृत्यु भएको थियो । पहिरोमा पुरिएर बुढीगंगा नदीमा पुगेका उनीहरूमध्ये ३ जनाको त शव नै भेटिएन । त्यसअघि बल्दे क्षेत्रमा खडक खन्ने बेला माथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्युभएको थियो भने दुई जना घाइते भएका थिए । त्यस पछिका हरेक वर्षमा पनि मानवीय क्षति निरन्तर भइरहेकै छ । परार साल एक एक युवाको द्धारीमा मृत्यु भयो । त्यही ठाउँमा पोहोर साल अर्का युवाको मृत्यु भयो भने सडक खन्ने बेला नै कैलालीका एक अर्का कामदारको मृत्यु भएको थियो । बुढीगंगा नदीको वारिपारि दुबैतिर भीमकाय पहिरो गएर सडक मर्मत तथा पुनर्निमाण हुन सक्ने सम्भावना नै नभए पनि सडक विभागले त्यही ठाउँमा मर्मतका नाममा वर्षेनी करोडौं रकम खर्च गर्नुलाई भने बाजुराका बासिन्दाले अचम्म मानेका छन् ।

बुढीगंगा थुनिने खतरा, पूर्वतयारी छैन

पहिरोका कारण बाजुरा र अछामको मध्य भाग भएर बग्ने बुढीगंगा नदीको ठिक वारीपारीबाट सुरु भएको विनासकारी पहिरोले बुढीगंगा नदी थुनिने खतरा पनि उच्च छ । पहिरोकै कारण त्रिवेणी नगरपालिकातर्फको पैमा र बुढीगंगा नगरपालिकातर्फ अम्कोट गाउँका बासिन्दाहरू विस्थापित हुने अवस्थामा छन् । बुढीगंगा थुनियो र बाढी आयो भने बाजुरा र अछाममा मात्रै नभएर कर्णाली तटिय क्षेत्रमा पनि क्षति हुनसक्ने प्राकृतिक प्रकोप विज्ञहरूको अनुमान छ । बुढीगंगा नदी थुनियो भने बाजुरा मात्रै नभएर तटीय क्षेत्रमा रहेका बाजुराकै ताप्रिसेरा, सेराबगर, बार्जुगाडका बस्तीहरू नामेट हुने जोखिम छ ।

यस्तै, अछामका बुढाबगर र ठाँटी बजार, बुढीगंगा जलविद्युत परियोजनाका पूर्वाधारहरूमा पनि क्षती पुग्ने देखिन्छ । त्यतिमात्रै नभएर सबैभन्दा ठूलो क्षति त अछामको साँफेबगर, बैद्यनाथधाम, कालीमाटीको ठूलो वस्ती, चौरपाटी गाउँपालिका र मंलगसेन नगरपालिकाको चित्रे बजारका स्थानीयले पनि ठूलै संकट ब्यहोर्नुपर्ने अवस्था छ । अहिले पनि वर्षादको समयमा यी वस्तीका बासिन्दाहरू भयभित हुने गरेका छन् । बुढीगंगा नदी डोटी र अछामको सिमामापर्ने लोडे भन्ने ठाउँमा मिसिन्छ । लोडे नदी सेती नदीमा मिसिन्छ । सेती नदी अछाम, कैलाली र सुर्खेतको सीमामा नजिक कर्णाली नदीमा समाहित हुन्छ ।

०७७ साउन २५ गते बुढीगंगा नदीमा बाढीले अम्कोट क्षेत्रमा पहिरो भासिने क्रम बढाएको थियो भने सेराबगर खण्डको करिब आधा किलोमिटर सडक नदीमा परिणत भएको थियो । भौनेरा, घाँघर क्षेत्रकाका ४० बढि घरहरू बगाएको थियो । जडांडास्थित बुढीगंगा नदीमा रहेको बेलिब्रिज, ताप्रीसेराको झोलुगे पुल बगाएको थियो । त्यसबेलाको बाढी पहिरोले घर बगाउदा आमा गुमाएका बडिमालिका नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डम्मर महतले भने ‘त्यस बेला थुप्रै परिवारले खेती गर्ने जमिन गुमाए । थुप्रै बस्तीहरू पहिरोको जोखिममा परे । सडक त झन् चिराचिरा पर्यो ।’

बाढी र पहिरोका कारण बाजुरामा सडक सञ्चालसहित जनधनको ठूलो क्षति भएपछि तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादल, सुदुरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत बाजुराका नेताहरूसम्मिलित टोलीले हेलिकोप्टरबाट यस क्षेत्रको अनुगमन निरीक्षण समेत गरेको थियो । गृहमन्त्रीको स्थलगत अनुगमनपछि पहिरो र बाढी नियन्त्रणको लागि जोखिम टार्न केही प्रयास होला भनेर उत्साहित भएका यहाँका स्थानीयहरू हालसम्म पनि कसैले चासो नदिदा निरास भएका छन् । साँफेका अगुवा प्रकाश शाहले भने, ‘घटना भएपछि मात्रै तात्ने प्रवृति भयो । समयमै पूर्व सतर्कता भएन भने ठुलो धनजनको क्षती हुनेवाला छ । विपत आइसकेपछि मात्रै मुख देखाउने सरकारले प्रकोपबाट जनतालाई बचाउन पूर्व तयारी पनि गर्नु जरुरी छ ।’

बस्तीबाटै नयाँ ट्रयाक खोल्दा झन् जोखिम

दुई सातअघिसम्म पुरानै ठाउँमा मर्मतको पहल गरेको सडक डिभिजन कार्यालयले यतिबेला केही माथिबाट ट्रयाक खोल्न सुरु गरेको छ । वर्षेनी लामो समयसम्म सदरमुकाम मार्तडी सडक सञ्जालबाट बिच्चेद भइरहने अवस्था भएपछि दुई साताअघिदेखि पुरानो सडकभन्दा करिब पाँच सय मिटरमाथि अम्कोटको गाउँबाटै करिब चार किलोमिटर अस्थायी ट्रयाक खोलेर काम भइरहेको सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख राजेशकुमार यादवले बताए । ‘बुढीगंगा नगरपालिकाका जनप्रतिनिधिको पहल तथा अम्कोट गाउँका स्थानीयकै सहमतिमा हामीले काम सुरु गरेका छौं । तलको पहिरोले त्यहाँसम्म जोखिम नगर्ला कि भन्ने हाम्रो अनुमान छ,’ यादवले भने ‘पुरानो ठाउँमा त सडक बनाउने अवस्था नै भएन अब ।’ उनले नयाँ ट्रयाक बनाउन लाग्ने खर्च यकिन नभएको बताए ।

गाउँ मून्तिर रहेको सडक खण्ड भाँसिएसँगै बुढीगंगा नगरपालिका वडा नम्बर १ मा पर्ने अम्कोट गाउँसम्म चिरा परेर ११३ परिवार पहिरोको जोखिममा छन् । ती मध्ये पाँच परिवार उच्च जोखिममा रहेको र उनीहरूलाई तत्काल स्थानान्तरण गर्नु पर्ने अवस्था रहेको स्थानीय नन्दराम पाध्याले बताए । गाउँभन्दा करिब ५ सय मिटर तल सडक छ । बुढीगंगा नदीबाट पहिरो सूरु भएर गाउँसम्मै पुग्न थालेको छ ।

स्थानीय पारु नेपाली, हिरा नेपाली र पारु पाध्यायको घर चिरा परिसकेको पाध्याले बताए । ‘हाम्रो आँगनसम्मै पहिरो छुन थालिसक्यो,’ उनले भने, ‘खेतीपाती गर्ने खेत जमीन पहिरोमा पहिल्यै बगिसक्यो । गाउँबाटै सडक खुल्ने भएपछि केही सजिलो हुने भएपनि तलजस्तै पहिरोले क्षति गर्यो भने चौपट हुनेमा उनको चिन्ता छ । सरकारले अन्तरजिल्ला जोड्ने सडक संघ सरकार अन्तर्गत, पालिका जोड्ने सडक प्रदेश र वडा जोड्ने सडक पालिका अन्तर्गत राखेको छ । हाल अवरुद्ध रहेको बाजुरा सडक जिल्ला जोड्ने सडक भएकाले संघ सरकार अन्तर्गत छ । सडक डिभिजन कार्यालय साँफेबगरस्थित कार्यालयले यो सडकको रेखदेख गर्छ ।  कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार