काठमाडौं । अष्ट्रेलियाले झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि सीमा खुला गरेको छ । योसँगै पूर्ण कोभिड खोप लगाएका अन्तर्राष्ट्रिय यात्रु अष्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन् ।
अष्ट्रेलियाले कोभिड-१९ का कारण २०२० को मार्चदेखि अन्तर्राष्ट्रिय यात्रामाथि विश्वकै कडा प्रतिबन्ध लगाएको थियो । तर सीमा पुन: खुल्ने भएपछि पारिवारिक पुनर्मिलन हुने र पर्यटनलाई बल पुग्ने बीबीसीले जनाएको छ ।
सीमा खुला भएसँगै अष्ट्रेलियाको एक राज्यबाहेक सबै राज्यमा अबदेखि अन्तर्राष्ट्रिय यात्रु प्रवेश गर्न पाउने छन् । पश्चिमी अष्ट्रेलियामा भने ३ मार्चपछि मात्रै प्रवेश गर्न पाउने र प्रवेश गर्नेले कोभिड खोपको तेस्रो मात्रा लगाएको हुनुपर्ने छ ।
पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुले क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ । तर खोप नलगाएका यात्रुले भने आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा क्वारेन्टाइनमा बस्नु पर्ने सरकारले प्रस्ट पारेको छ ।
सोमबार अष्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ । सिड्नी विमानस्थलमा उडानमार्फत् सैयौं मानिस आएपछि भावुक पुनर्मिलनको दृश्य देखिएको समाचारमा उल्लेख छ । त्यहाँ गत वर्षदेखि नै नागरिक, विदेशी विद्यार्थी र कामदारलाई प्रवेश गर्न दिइएको छ ।
फेसबुक प्रतिक्रियाहरु