होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • चिसो समाज-चिसो मान्छे
मनोरञ्जन

चिसो समाज-चिसो मान्छे

  • नागरिक रैबार
चिसो समाज-चिसो मान्छे

काठमाडौँ — बन्द रातो बाकसमा एउटा शव काठमाडौं आइपुगेको छ‒ कतार मरुभूमिबाट । यो बन्द बाकसलाई काठमाडौंबाट बाजुरासम्म पुऱ्याउनु छ, कोरोना कोहोर र लकडाउनको चर्को थुनछेकमाझ । कथा यत्ति हो, शव-यात्राको कथा ।

केही वर्षअघि खाडीको कतारमा समाचारकर्मी भएर बसेको अनुभवमा ‘सुत्दा सुत्दै मरेको’ समाचार धेरै लेखेको थिएँ । एउटा स्वस्थ्य, हट्टाकट्टा र उमेरदार श्रमिक एकाएक ‘सडेन हार्ट-एट्याक’मा कसरी पर्छ ? सधैंभर अनुत्तरित हुँदै र ‘पोष्टमार्टम’ समेत नभएका यस्तै श्रमिक शवहरु वर्षमा एक सयभन्दा माथिको संख्यामा आइरहेका हुन्थे‒ पत्रिकामा समाचारको एउटा कुनो अथवा ‘मृत्यु कोलम’मा आट्ने खुराक मात्रै थिए ती शवहरु । म समाचारकर्मीका लागि पनि संवेदना रित्तिएको र मसला नभएको सनातनी खबर‒रातो बाकसमा शिलबन्दी भएर घर फर्किरहेका चिसा मान्छेहरु ।

यस्तै एउटा शव लिन मृतकका बाबु र मृतककी श्रीमती काठमाडौं एयरपोर्ट आइपुगेका छन्‒सुदूरपश्चिमको बाजुरा बजारबाट । स्वभावत: रेमिट्यान्स र सामाजिक सुरक्षा कोषको गफ गरिरहने राज्यप्रणालीका निम्ति कुनै नेपाली श्रमिकको शव आइपुग्दा घरसम्म सहजै पुऱ्याइदिने शवबाहन समेत नरहेको (अथवा उपलब्ध नगराइने) यथार्थबाट कथा अघि बढ्छ । कतारमा यसरी ह्दयघात भएर मर्ने छोरा (प्रतिकात्मक)को शव बुझ्न उनकै श्रीमती स्वस्तिमा खड्का, मृतक छोराका बाबु देशभक्त खनाल र पिक-अपका चालक अर्पण थापा एयरपोर्ट पुगेका छन् । कोरोना कहर र लकडाउनका माझ बाजुरा पुऱ्याउनुपर्ने शव यात्राको कथाभित्र संवेदना, संवेग, आवेग र करुणा छ । छ महिने छोरी छाडेर भर्खरै कोरोनाले लगेकी श्रीमतीको बिषद्पूर्ण व्यथामा पिक-अपका चालक रुमलिएका छन्, जो आफ्नी छोरी काठमाडौं सहरमा एउटा डेराघरमा बस्ने बहिनी-ज्वाईका साथमा छोडेर रोजीरोटीमा निस्केका छन् । उनको त्यही शव बोकिरहेको गाडी पनि बैंक धरौटीमा छ, जीवनजस्तै आजभोलीको हिसाब नभएको गाडी ।

विज्ञापन

आश्चर्य, श्रीमानको शव बुझ्न आएकी श्रीमती (स्वस्तिमा)मा त्यो रातो बाकसभित्रको लोग्नेप्रतिको कुनै सद्भाव छैन, संवेदना छैन । जीन्दगीमा काँधको सिरानी राखेर एक झप्को निदाउन पनि नपाइकन परदेशिएको त्यो लोग्ने न जीवनको कष्टमा साथै थियो, न प्रेम-अपनत्वमा कतै । श्रीमतीका लागि त्यो सधैंसधैं चिसो मान्छे थियो ।

काठमाडौंदेखि बाजुरासम्मको लामो शवयात्रामा मृतक छोराका बाबुको मनको बह त्यसबेला निस्कन्छ, जब उनी थोरै पिएका हुन्छन् । सन्तान हुनुको दु:ख, गरीब हुनुको दु:ख, राजनीति र परिवर्तनका नाममा आएको दु:ख । दु:खैदु:ख ।

एउटा यथार्थ के हो भने खाडीका ६ वटा मुलुक, मलेसिया, दक्षिण कोरियासहितबाट वर्षेनी १ हजार जति श्रमिक-शवहरु नेपाल आउने गरेका छन् । ती सबै चिसो मान्छेका कथा हुन्, कहींकतै नलेखिएका कथा । एउटा शवसँग जोडिएको कथामा अटाएका जम्मा ३ पात्रले सुनाउने, बेहोर्ने र अभिनयमा देखाउन खोज्ने कथानक यस्तो बलशाली छ‒ यहाँ आफ्नोपनाको, आफ्नो माटो र सुगन्धको कथा भनेर अनेक फूलबुट्टा भरिरहनेका लागि दीपेन्द्र के‍‍‌ खनालको को ‘चीसो मान्छे’ एउटा जवाफ हो । दु:ख र आँशुको संवेदनामा बुनिएको जवाफ !

‘चीसो मान्छे’मा नायिक स्वस्तिमाले बोलेको कर्णाली लवज, लगाएको कर्णाली पहिरन र बान्की धेरै अभ्यासपछि मात्रै देखिन सकिने कुरा हो । सबै आफ्नै तनाव र निराशा लिएर हिडिरहेका पात्रहरु संयोगले शव यात्राका यात्रु बनेका छन् । त्यसमा पनि सबैभन्दा बढी निराशा देखिन्छ‒ चालक बनेका अर्पण थापामा । सजिव र जीवन्त बनेका छन् यी चालक जो प्रेम, आवेग वा आक्रोसमा पनि एकदमैं ‘ओजपूर्ण’, संवेदनायुक्त ‘इनसाइड आउट’ जस्तै । फिल्ममा धेरै कुरा प्रतिकात्मक छन्‒ मृतक छोराको पर्समा अर्कै केटीको तस्वीर भेटिनू (आफ्नी बुहारीको होइन), जीवनको आरोह-अवरोह र प्रेम-संवेदनाका अगाडी आफ्नै बुहारीलाई ‘छोरी’ भनेर सम्बोधन गरेको क्षण आदिआदि ।

यस्तो शक्तिशाली शवयात्रामा कोरोना कहर र लकडाउनको ‘संवेदनाहिन’ घडीका कारण बाटोमा तगारा लगाउनेहरुसँग झगडा पर्नु र दोहोरिंदै लाठीमुङ्ग्री हुनु भने केही ‘अन्यथा’ देखिन्छ । एउटा छोराको शव लिएर आइरहेको कठोर संवेदनामाझ लाठीमुङ्ग्रीको मसलाले ‘शव संवेदना’ लाई थोरै खल्बल्याएको छ— एउटा गाडीका चालकले कथाको सुरुमैं ‘यदा यदाही धर्मस्य…’ भनेर एकदमैं मुस्किलको जीवन दर्शन सुनाएझैं ।

‘चीसो मान्छे’मा पुरापुर नेपाली माटोको गन्ध छ । फर्मुला नपछ्याउने यो फिल्मबाट निर्देशक दीपेन्द्रले के-कति कमाउलान्‒भन्न मुस्किल छ । तर, यस्तो मौलिक कथा र एकदमैं सिमित परिवेशलाई बुनेर सुनाउन खोजेको बृहत कथाको यो खाका अरुहरुले पनि सिक्नु जरुरी छ । प्रेमको भाषा बुझाउन आँखा बिझाउने रोमान्स नै चाहिन्न, अथवा नियति सम्झाउन सधैंको रोइलो पनि देखाइरहनु पर्दैन भन्ने सूक्ष्म विषय ‘चीसो मान्छे’मा लुकेको छ । प्रेम र वियोग, संवेग र संवेदनाका हकमा दीपेन्द्रको यो काम एउटा कलात्मक शिखर हो । यी सिर्जनशिल निर्देशक (र, अब कथाकार)का निम्ति ‘पशुपति प्रसाद’ एउटा खुड्किलो थियो होला, ‘चीसो मान्छे’ अर्को उचाइ हो‒ प्रयोग, शिल्पी र कलात्मक कामका अर्थमा ।

यत्ति हो दीपेन्द्र, दु:खैदु:खको यो दु:खान्त श्रृङ्खलाको अन्त्यमा स्वस्तिमाले ‘म अब चालक (अर्पण)सँगै काठमाडौं फर्कन्छु, र, नयाँ जीवन बसाल्छु’ भनिदिएको भए एउटा सामान्य दर्शक पनि स्वैरकल्पनामैं सही, थोरै आनन्दित भएर हलबाट निस्कने थियो कि ?

नेपाली समाजको आजको यथार्थ र राजनीतिदेखि राज्य पद्धतिसम्मको मिहिन दृष्य हेर्ने मन भए ‘चीसो मान्छे’ हेर्नुहोला । बधाइ दीपेन्द्र के खनाल !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै