धनगढीः सुदूरपश्चिममा अन्धविश्वासको जालो अझै जेलिएकै छ। विरामी परे धामीझाक्रीको भर पर्ने मान्यता कायमै रहेको छ। यही मान्यताले कञ्चनपुरमा एक महिलाको ज्यानै लिएको छ।
शनिबार दिउँसोको कुरा हो। कञ्चनपुरको वेदकोट नगरपालिका–६ की कमला साउदको घर आँगनभरि चामल र अक्षता, किनारमा आगोको धुनी, छेउमै आगोमा तताईएका फलामका डन्डी र बीचमा महिलाको शव थियो। शव वरिपरि तीन जना धामीझाँक्री कामिरहेका थिए। उनीहरु काम्दै भन्दै थिए, ‘यो हामीले गरेको, हामी नै ठीक पार्छौं।’ महिलाको शव गन्हाइसकेको थियो। तर, पनि उनीहरुको रटान थियो, ‘हामी होसमा ल्याउछौ।’ त्यो शव थियो वेदकोट नगरपालिका–६ मुसेपानीकी ४२ वर्षीया रञ्चुला साउदको।
साउदको धामीझाँक्रीको कुटपिटबाट बिहीबार नै मृत्यु भइसकेको थियो। केहीबेरमै उनको मृत्युको खबर फैलियो। त्यहाँका स्थानीय र जनप्रतिनिधिहरुले पनि त्यो खबर सुने। खबर सुने लगत्तै सोही वडाका वडा सदस्य धनसिंह पुजारा त्यहाँ पुगे। उनले त्यहाँ पुग्दा पनि शव गन्हाएको अवस्थामा आँगनमै थियो। शरीरभरि घाउ र फलामको डन्डीले पोलेका डामैडाम थिए । ‘‘शव गन्हाउन थालेको थियो। शरीरभरि घावैघाउ थिए। म त्यहाँ जाँदा त धामीहरू झन मैमाथि खनिए,’ उनले भने, ‘त्यसपछि प्रशासनमा फोन गरेर प्रहरी बोलाए।’
दुई छोरी पालिरहेकी रञ्चुला एकल महिला थिइन्। उनी ज्याला–मजदुरी गरेर आफ्नो गुजारा चलाइरहेकी थिइन् । उनका पतिको ७ वर्षअघि भारतमा मृत्यु भएको बताइएको छ। मंगलबार मात्रै टाउको दुखेपछि उनी छिमेकी कमला साउदको घरमा गएकी थिइन्, जहाँ एक महिनादेखि भीमदत्त नगरपालिकाको हल्दुखाल र बाराकुण्डाका दुई जना धामीझाँक्री आएर बसिरहेका थिए। रञ्चुलाले पनि धामीझाँक्रीलाई देखाइन्। उनलाई ‘भूत’ लागेको भन्दै थारू समुदायका भर्रा (झारफुक गर्ने) कहाँ जान भनियो। त्यो दिनसम्म उनमा सामान्य टाउको दुख्नेबाहेक अरू समस्या थिएन। राति थप असजिलो भएपछि उनी फेरि धामीझाँक्री पाहुना बसेको घरमा पुगिन्, जहाँ फेरि झारफुक गरियो।
धामीहरू धर्मानन्द भट्ट र नारायणदत्त भट्टले मन्त्र सुनाउने भन्दै पटक–पटक कोठामा लैजान्थे, फेरि बाहिर ल्याउँथे। उनीहरूले झारफुक गर्दागर्दै अर्को दिन साँझपख उनको जिब्रो लरबरिन थाल्यो। झारफुकका नाममा उनीमाथि धामीहरूले अत्याचार गरे। रञ्चुलाकी छोरी सरिताका अनुसार आगोमा तताएका फलामका डन्डीले मुख र शरीरमा डामेका कारण रञ्चुलाको मृत्यु भयो तर झाँक्रीहरूले भने आफूहरूले नै ‘बेहोस’ बनाएकाले फर्काउने दाबी गरिरहेका थिए। ‘यसले हाम्रो बारेमा गाउँलेसँग अनेक कुरा गरेकी छ, हामीले नै यसलाई बेहोस बनाएका हौं, यो कुरा बाहिर भन्यौ भने तिमीहरूलाई पनि यस्तै बनाइदिन्छु,’ धामीले धम्क्याएको सरिताले सुनाइन्।
सरिताका अनुसार रञ्चुलाको बिहीबार दिउँसो मृत्यु भएको हो। त्यही दिन साँझ रञ्चुलाका देवर पदमलाई पनि कमलाले नै फोन गरेर बोलाएकी थिइन्। उनी बैतडीको शिवनाथ गाउँपालिकास्थित घरमा थिए। ‘तिम्रो भाउजूको शरीरमा तिम्री आमाको आत्मा आएको छ, यसको झारफुक गर्नुपर्छ भन्दै मलाई बोलाए,’ पदमले भने, ‘म आउँदा त लास मात्रै देखें।’रञ्चुलाका दाइ करनसिंह घटाल बुधबार नै आएका थिए। ‘धामीझाँक्रीले नै मेरी बहिनी मारेका हुन्,’ उनको दाबी छ। उनका अनुसार कमला पनि धामीझाँक्री नै हुन्। उनका दुई छोरी मात्रै छन्। छोरा नपाएपछि उनले भट्ट धामीझाँक्रीहरूलाई बेला–बेलामा घरमा ल्याउने गर्थिन्। वडा सदस्य पुजाराका अनुसार कमलाले छोरा पाउने आसमा धामीझाँक्रीमा विश्वास गर्थिन्। पुजाराले खबर गरेपछि प्रशासनले घटनास्थलमा हस्तक्षेप गरेको थियो।
प्रहरीले धामीझाँक्री दुवै भट्टसहित कमलालगायत सात जनालाई पक्राउ गरेको छ। घटनास्थलबाट फलामका डन्डीहरूसमेत बरामद भएका छन्। ‘घटना शंकास्पद छ तर अहिले नै केही भन्न सकिँदैन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले भने। शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको उनले बताए। यस्तै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। दिनेश खबरबाट
फेसबुक प्रतिक्रियाहरु