काठमाडौँ — संघीय राजधानी काठमाडौंसहित वाग्मती, प्रदेश १ र लुम्बिनी प्रदेशका मध्यपहाडी जिल्लासम्मै प्रि–मनसुनी गतिविधि देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले स्थानीयस्तरमा विकसित भएको मौसमी गतिविधिका कारण देशका धेरै स्थानमा सामान्य वर्षा भएको बताइन् ।
‘यो प्रि मनसुनको सिजन हो, अब छिनछिनमा बादल बन्ने र हल्का वर्षा हुने गतिविधि सुरु भयो भन्दा हुन्छ,’ मानन्धरले बुधबार कान्तिपुरसित भनिन्, ‘मे महिनासम्म यस्तो गतिविधि भइरहन्छ ।’ मार्च, अप्रिल र मे महिनामा बदली हुने, चट्याङ र हावाहुरीसहितको वर्षा हुने गतिविधि बढी हुन्छ ।
उनका अनुसार प्रदेश १, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो पहाडी जिल्लामा हल्कासम्मको वर्षा भइरहेको छ । गर्मी बढेसँगै प्रदूषणसमेत बढेको र वायुको चाप बढेका कारण वायुमण्डलमा तुवाँलो लागेको उनको भनाइ छ । ‘राम्ररी वर्षा नभएसम्म यस्तो तुवाँलो रहिरहन्छ,’ उनले भनिन् ।
मधेस, कर्णाली र सुदूर पश्चिम प्रदेशका जिल्लाहरुको मौसममा भने कुनै बदलाब आएको छैन । ‘बिहीबार र शुक्रबारदेखि मौसममा सुधार आउनेछ,’ उनले भनिन् । त्रिविको केन्द्रीय जल तथा मौसम विज्ञान विभागका प्राध्यापक विनोद पोखरेलले स्थानीयस्तरमा बदलाब देखिए पनि आफूले वर्षाको नै आकलन नगरेको बताए ।
‘जमिन तातियो र संवहनले केही बादलहरू सिर्जना गर्यो’, पोखरेलले भने, ‘तर, मैले वर्षाको आशा गरेको थिइनँ, यो भयो । यस प्रकारको कन्भेक्टिभ वर्षाको पूर्वानुमान गर्न धेरै गाह्रो छ ।’
फेसबुक प्रतिक्रियाहरु