काठमाडौं । गायिका शान्तिश्री परियारले राष्ट्रिय लोकदोहोरी अवार्ड–२०७८ मा सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी छन् ।
यही विधामा गायकतर्फको ट्रफी चाहिं कुशल बेल्बासेले उचाले । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र उपत्यका समन्वय समितिले आयोजना गरेको अवार्डमा दीर्घसाधना सम्मान गायक बमबहादुर कार्कीलाई प्रदान गरियो ।
दशकको स्रष्टा सम्मान रामजी खाँणलाई प्रदान गरियो भने ‘कलकत्ते काइँयो’ले सदावहार लोकगीतको सम्मान ग्रहण गर्यो । संस्थागत स्रष्टा सम्मान उपत्यका समन्वय समितिका संस्थापक दुर्गा रायमाझीलाई प्रदान गरियो । पत्रकारिता सम्मान नरेश फुँयालले प्राप्त गरे ।
राष्ट्रिय भावको गीततर्फ मनोजसिंह धामी, दोहोरी साँझ वाद्यवाधनतर्फ रत्न विक, रेकर्डिङतर्फ सुमन राना र ध्वनि मिश्रण विधामा कुमार सानु पुनले अवार्ड जिते ।
संगीत संयोजकतर्फ डोलराज बाह्रघरे, म्युजिक भिडियो सम्पादनतर्फ नवीन घर्ती मगरले अवार्ड प्राप्त गरे । म्युजिक भिडियो छायांकन अवार्ड दुर्गा पौडेल, सर्वोत्कृष्ट दोहोरी साँझ गायक सादुराम रोका, सर्वोत्कृष्ट दोहोरी साँझ गायिका शर्मिला कँडेल, सर्वोत्कृष्ट लोक दोहोरी प्रतियोगी गायक प्रकाश पराजुली, सर्वोत्कृष्ट लोक दोहोरी प्रतियोगी गायिका मीना बुढाथोकीले हात पारे ।
परम्परागत गीत गायनतर्फ तेजिन्द्र गुरुङ, सर्वोत्कृष्ट लोकगीत शंकर पन्त, सर्वोत्कृष्ट लोक दोहोरी गीततर्फको अवार्ड प्रकाश सपूतलाई प्रदान गरियो । सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन अभिनय अवार्ड विनोद भण्डारीले हात पारे भने सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियोतर्फको अवार्ड स्मृति तिमिल्सिनाले प्राप्त गरिन् ।
सर्वोत्कृष्ट लोकदोहोरी शब्दतर्फको अवार्ड विजय चन्द दर्पण, सर्वोत्कृष्ट लोकदोहोरी लयतर्फ गोविन्द पंगेनी, सर्वोत्कृष्ट लोकदोहोरी मोडल नृत्यतर्फ सागर लम्साल (बले), सर्वोत्कृष्ट लोकदोहोरी मोडल नृत्यतर्फ रीना थापा मगरले अवार्ड हात पारे ।
जुरी अवार्डमा महिलातर्फ सम्झना भण्डारी, सर्वोत्कृष्ट जुरी अवार्ड पुरुषतर्फ युवराज मगर, सर्वोत्कृष्ट एसएमएस च्वाईस अवार्ड सुरेन्द्र लामिछानेलाई प्रदान गरियो ।
सर्वोत्कृष्ट क्रियटिभ अवार्ड काजिश श्रेष्ठ, सर्वोत्कृष्ट मल्टिट्यालेन्ट अवार्ड खेम सेञ्चुरी, सर्वोत्कृष्ट लोकदोहोरी नायक अभिनयतर्फ शिशिर पौडेल, सर्वोत्कृष्ट लोकदोहोरी नायिका अभिनयतर्फको अवार्ड साया भण्डारीलाई प्रदान गरियो ।
यसैगरी सर्वोत्कृष्ट लोकदोहोरी नवगायकतर्फको अवार्ड प्रकाश दूतराजले हात पार्दा सर्वोत्कृष्ट लोकदोहोरी नवगायिकाको अवार्ड सुमन थापा मगरले जिते ।
विजेतालाई उपराष्ट्रपति नन्दबहादुर पुनले अवार्ड प्रदान गरे । अवार्ड हस्तान्तरण गर्दै उपराष्ट्रपति पुनले संगीत, कथा, कलाकार र कलाकारिता क्षेत्रलाई राज्यले अपेक्षित सहयोग नगरेको बताए । राजनीतिक परिवर्तनमा संगीतको उल्लेख्य भूमिका रहेको भन्दै उनले राज्यको ध्यान यसतर्फ जानुपर्नेमा जोड दिए ।
फेसबुक प्रतिक्रियाहरु