होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ११ र १२ कक्षाको पाठ्यपुस्तक अभाव
समाचार

११ र १२ कक्षाको पाठ्यपुस्तक अभाव

करिब ७ लाख विद्यार्थीका लागि कक्षा ११ र १२ को अनिवार्य सामाजिक अध्ययन, नेपाली र अंग्रेजी विषयका पुस्तक छपाइमा जनक शिक्षाको ढिलाइ

  • नागरिक रैबार
११ र १२ कक्षाको पाठ्यपुस्तक अभाव

काठमाडौँ — शैक्षिक सत्र सुरु भइसक्दा पनि कक्षा ११ र १२ का पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थी, अभिभावक र शिक्षकले गुनासो गरेका छन् । कक्षा ४–१० को पाठ्यपुस्तक समयमै छाप्न नसकेको जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ र १२ को पुस्तक छपाइमा पनि ढिलाइ गरेको हो ।

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले बजारमा कक्षा ११ र १२ को अनिवार्य विषयका पुस्तक अभाव रहेको जनाएको छ । सरकारले अनिवार्य सामाजिक अध्ययन, नेपाली, अंग्रेजी विषयका पाठ्यपुस्तक छपाइ गर्ने जिम्मेवारी जनक शिक्षालाई दिएको छ । महासंघका वाग्मती प्रदेश अध्यक्ष नारायण श्रेष्ठले सामाजिक विषयको पुस्तक एक थान पनि पाउन नसकेको बताए । ‘नेपाली र अंग्रेजी विषयको केही थान पुस्तक पायौं,’ उनले भने, ‘सामाजिक विषयको एक थान पनि पाएको छैन, नेपाली र अंग्रेजीको पनि अपुग छ ।’

कक्षा ११–१२ मा करिब ७ लाख विद्यार्थी अध्ययनरत छन् । जनक शिक्षाले छपाइ गर्ने पुस्तक महासंघ मातहतका पुस्तक बिक्रेतामार्फत देशभर ढुवानी र बिक्रीवितरण हुन्छ । महासंघले काठमाडौं, पोखरा, नेपालगन्ज, धनगढी, सुर्खेत, बुटवललगायत ठूला सहरमा पनि पाठ्यपुस्तक अभाव रहेको जनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका विद्यार्थीले पढाइ सुरु भएको दुई महिना बितिसक्दा पनि पाठ्यपुस्तक हात पार्न सकेका छैनन् । कक्षा ११–१२ का अनिवार्य विषयका पुस्तक सरकारले विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउँछ । ऐच्छिक विषयका पुस्तक भने निजी प्रकाशन गृहले छापेर बिक्रीवितरण गर्ने व्यवस्था छ । अध्यक्ष श्रेष्ठले कक्षा १–१० को पुस्तकसमेत अझै उपलब्ध हुन नसकेको जनाए । वाग्मती प्रदेशबाहेक सबै प्रदेशमा यी कक्षाको पुस्तक अभाव रहेको महासंघले जनाएको छ । ‘जेठमा कक्षा १ देखि १० सम्मको पढाइ सुरु भएको हो,’ उनले भने, ‘पहिलो त्रैमासिक परीक्षा भइसक्यो तर विद्यार्थीले पुस्तक पाएका छैनन् ।’

विज्ञापन

माध्यमिक शिक्षक युनियन नेपालका अध्यक्ष ज्ञानप्रसाद भट्टराईले कक्षा ११ र १२ मा पठनपाठन सुरु भएको डेढ महिनासम्म विद्यार्थीले पुस्तक हात पार्न नसकेको जनाए । ‘विद्यार्थीको भविष्यमाथि नै खेलवाड गर्ने काम भइरहेको छ,’ उनले भने, ‘पाठ्यपुस्तक नहुँदा शिक्षकले पाठ्यक्रमका आधारमा कक्षा चलाउनुभएको छ, परीक्षा आउने बेला भइसक्यो तर काठमाडौंमै पुस्तक छैन, झन् दूरदराजको अवस्था के होला ?’ जनक शिक्षा र पाठ्यक्रम विकास केन्द्रको लापरबाहीका कारण विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको भट्टराईले जनाए । ‘पुस्तक किन्न बजार जाँदा सामाजिक विषयको पुस्तक त एकप्रति पनि भेटिँदैन, जनक शिक्षाले छाप्ने पुस्तकको हाहाकार नै छ, जटिल समस्या भयो,’ उनले थपे ।

नयाँ पुस्तक नपाएपछि विद्यालयमा अघिल्लो वर्षका विद्यार्थीबाट मागेर पुरानै पाठ्यपुस्तकको आधारमा अध्ययन गरेको काठमाडौंका छात्र आशुय सापकोटाले बताए । पुस्तक पसलहरूमा किन्न जाँदा कक्षा ११ को पुस्तक नभेटिएको उनले सुनाए । शिक्षकहरूले भने पाठ्यपुस्तक अभावमा पाठ्यक्रमका आधारमा कक्षा सञ्चालन गरिरहेको बताएका छन् । गत जेठबाट कक्षा १–१० को शैक्षिकसत्र सुरु गर्दासमेत जनक शिक्षाले देशभरका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन सकेको थिएन ।

पाठ्यपुस्तकको अभाव भएपछि प्रतिनिधिसभामा समेत सांसदहरूले कुरा उठाएका थिए । शिक्षा तथा स्वास्थ्य समितिले पटक/पटक समयमा नै पाठ्यपुस्तक पुर्‍याउन सरकारलाई निर्देशन दिएको थियो । आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक छाप्ने बेला जनक शिक्षाले चालु शैक्षिकसत्रकै आवश्यक पुस्तक उपलब्ध गराउन नसकेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका एक उपसचिवले जनाए । उनले भने, ‘कक्षा ४–१० का पुस्तक नै सबै ठाउँमा पुगेको छैन, फेरि कक्षा ११–१२ को पुस्तक अभाव भएको गुनासो आएको छ ।’ विद्यालयको पाठ्यपुस्तक छाप्न जनक शिक्षा असक्षम भइसकेको उनले टिप्पणी गरे ।

जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले नियमित रूपमा पाठ्यपुस्तक छपाइ र बिक्रीवितरण भइरहेको दाबी गरे । सुरुदेखि नै पाठ्यपुस्तक छपाइमा समस्या नभएको र स्थानीय तह निर्वाचनको मतपत्र छाप्नुपरेकाले केही ढिला भएको जनक शिक्षाले जनाउँदै आएको छ । कहिले रुस–युक्रेन युद्धका कारण कागज अभाव भएको भन्दै जनक शिक्षा पन्छिने गरेको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले कागज अभाव हुँदा सामाजिक विषयको पाठ्यपुस्तक मात्रै अभाव भएको जनकारी पाएको बताए । ‘अंग्रेजी र नेपालीको पुस्तक पर्याप्त भएको जनक शिक्षाले बताएको छ, सामाजिकको अलिअलि समस्या रहेछ,’ उनले भने । सामाजिक अध्ययन वा गणितमध्ये विद्यार्थीले एकै विषय अध्ययन गर्ने व्यवस्था पाठ्यक्रम प्रारूपमा छ । गणितको भने पाठ्यक्रम विकास केन्द्रले रकम अभाव देखाउँदै पाठ्यपुस्तक नै डिजाइन गरेको छैन । निजी क्षेत्रले मात्रै छपाइ र बिक्रीवितरणको काम गर्दै आएका छन् ।

महानिर्देशक पौडेलले शिक्षा मन्त्रालय र केन्द्रले समयमा नै पाठ्पुस्तक छाप्न जनक शिक्षालाई धेरै पटक निर्देशन दिइसकेको जनाए । ‘पुस्तक छपाइको कार्ययोजना पेस गर्न भनेका छौं,’ उनले भने । केन्द्रले पाठ्यपुस्तकबापतको रकम विद्यालयमा पठाइसकेको उनले जनाए । जनक शिक्षाले फेरि मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपत्रलगायत सामग्री छाप्ने तयारी गरेको छ । चालु शैक्षिक सत्रकै पुस्तक छापिनसकेको र मतपत्र छपाइको कामसमेत गरेकाले आगामी वर्ष पनि पाठ्यपुस्तक अभाव हुने आशंका केन्द्रका कर्मचारीले गरेका छन् । शिक्षा मन्त्रालयले कक्षा ४–१० को सबै र कक्षा ११–१२ को अनिवार्य विषयको पुस्तक छाप्ने काम जनक शिक्षालाई दिएको छ । कक्षा १–३ का सबै र ११–१२ का ऐच्छिक विषयका पुस्तक छाप्ने जिम्मा भने निजी प्रकाशन गृहले पाएका छन् । जनक शिक्षाले पाठ्यपुस्तक नछाप्दा बजारमा निजी प्रकाशन गृहका पुस्तक बिक्रीवितरण हुन थालेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार