होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्रमा सेन्टरमा सफलतापूर्वक जोडियो बालकको छिनेको हात
समाचार

ट्रमा सेन्टरमा सफलतापूर्वक जोडियो बालकको छिनेको हात

  • नागरिक रैबार
ट्रमा सेन्टरमा सफलतापूर्वक जोडियो बालकको छिनेको हात

काठमाडौँ — फागुन ९ गते साँझ करिब साढे ५ बजेतिर धनुषाको जटही गाउँका ५ वर्षीय कुलदीप मण्डल आफ्ना ३ जना साथीहरूसँग घरनजिकै खेल्दै थिए । खेल्ने क्रममा उनीहरूले घाँस काट्ने मेसिन देखे । कुलदीप त्यहि घाँस काट्ने मेसिनमा हात छिराउन पुगे । अर्का बालकले मेसिनको स्वीच अन गर्दा क्षणभरमै उनको दायाँ हातको नाडीभन्दा मुनिको भाग काटियो ।

कुलदीपका बुबा नवीन मण्डलका अनुसार बालकको हात पूरै छिनेपछि दुईपटक आफैं जोड्ने प्रयास पनि गरेका रहेछन् । ‘चुँडिएको हात जोड्न खोजेछ; नभएपछि हातको टुक्रा त्यहीँ फालेर करिब २ किमी टाढा रक्ताम्मे भएर घरतर्फ गयो । घर पुगेपछि भाइले काटिएको ठाउँमा गएर हातको टुक्रा खोजेर ल्याएछ; त्यसपछि अस्पताल लगेछन्,’ उनले भने ।

कुलदीपका काकाले हातको टुक्रासहित उनलाई जनकपुर प्रादेशिक अस्पताल लगे । अस्पतालमा चिकित्सकले हात जोडिन सक्ने बताएपछि हातको टुक्रा ‘आइस बक्स’मा हालेर त्यही दिन साँझ प्लेनमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर ल्याइयो ।

विज्ञापन

ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीले सोही दिन साढे ११ बजेतिर शल्यक्रिया सुरु भएकोमा सम्पन्न हुन १५ घण्टा लागेको बताए । ‘शल्यक्रिया आफैंमा जटिल थियो । त्यसमाथि ५ वर्षको बालकलाई १५ घण्टासम्म बेहोस बनाएर राख्नु चुनौतीपूर्ण थियो । तर टिमवर्कका कारण सफल शल्यक्रिया भयो । अहिले बालकको स्वास्थ्यमा सुधार आइसकेको छ,’ उनले भने ।

रिकन्स्ट्रक्टिभ प्लास्टिक सर्जरीबाट १ महिनाअगाडि नै शल्यक्रिया गरिएको भए पनि बालकको अवस्थाबारे अस्पतालले आइतबार मात्र सार्वजनिक गरेको हो । ‘कहिलेकाहीँ शल्यक्रिया गरेको दुई हप्तापछि जोडिएको भागले काम नगर्ने पनि हुन्छ । हातमा संक्रमण हुने, कालो हुँदै जाने, पाक्ने हुनसक्छ त्यसैले पूर्ण रुपमा सफल भएपछि मात्र सार्वजनिक गरेका हौँ,’ उनले भने ।

शल्यक्रियामा प्लास्टिक सर्जनको टोलीमा डा. पियूस दाहाल, डा. पशुपतिबाबु पोखरेल, डा. अपार लामिछाने, डा. निरन महर्जन, डा. मनिश देवकोटा, डा. अजय ढकाल, डा. अनुराग जंग थापा रहेका थिए भने एनेसथेसियामा डा. रुपेश यादव, डा. देवेन्द्र घिमिरे, डा. सुरेन्द्र महर्जन, डा. शरद खकुरेल, नर्समा सुरक्षा लावती, कविता राज्य लक्ष्मी शाह, र सुदिक्षा श्रेष्ठको टोली खटिएको थियो ।

शल्यक्रियामा संलग्न प्लास्टिक शल्यचिकित्सक डा. पशुपतिबाबु पोखरेलका अनुसार औँला, हातहरू जोडिनका लागि गरिने शल्यक्रिया भइरहे पनि बालकमा यस्तो प्रकारको शल्याक्रिया ट्रमामा गरिएको पहिलो पटक हो । ‘सानो बालकमा भएको यो नेपालमै पहिलोपटक हो । अरु उमेर समूहमा सम्पन्न भइसक्यो । अब उसले हातको औँला चलायमान गराउन फिजियोथेरापी भने गराइराख्नुपर्छ,’ उनले भने ।

डा. पोखरेलका अनुसार दुर्भाग्यवश हात तथा औँला चुँडिएमा कम्तीमा ६ घण्टाभित्र अस्पतालमा ल्याइसक्नुपर्छ । ‘हात चुँडिएको खण्डमा ६ देखि ८ घण्टा हो । नभए ६ घण्टा कट्न दिनुहुन्न । किनभने रगतको नसा खुम्चिएपछि जोड्न गाह्रो हुन्छ । चुँडिएको टुक्रालाई जोगाउन चिसो कपडाले बेरेर प्लास्टिकको झोलामा हाली बरफ भएको बक्सामा हाल्नुपर्छ,’ उनले भने ।

सोमबार ट्रमा सेन्टरको प्लास्टिक वार्डको बेड नं. ६२४ मा पुग्दा कुलदीप मोबाइलमा गीत हेर्दै थिए । उनको घाउ निको हुँदै गएको उनका बुबा नवीनले बतए । उनले आफ्नो छोरालाई चिकित्सकले सिकाएबमोजिम हातका औँलाहरु चलाउन सिकाइरहेका छन् । नवीन भारतको दिल्लीमा मजदुरी गर्दै आइरहेका छन् । घटनाको ३ दिनपछि नेपाल फर्किएका नवीन भन्छन्, ‘छोराको हात जोडियो । निको हुन लागेको देख्दा खुसी लागेको छ । अहिले धेरै राम्रो भएको छ ।’

अस्पतालले परिवारको आर्थिक अवस्था देखेर शल्यक्रिया तथा आईसीयूको खर्च निःशुल्क गरिदिने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार