काठमाडौँ — पछिल्लो समय दक्षिण भारतीय फिल्म नेपाली फिल्मका लागि मात्रै नभएर बलिउडकै लागि फलामको चिउरा साबित भइरहेको छ । अल्लु अर्जुनको पुष्पाले बक्स अफिसमा मच्चाएको तहल्का सेलाउन नपाउँदै यतिबेला एसएस राजामौली निर्देशित फिल्म आरआरआर झन् ठूलो गर्जनसहित हलमा छिरेको छ । जुनियर एनटीआर र रामचरणको अनस्क्रिन जुगलबन्दीले दर्शकलाई हलमा नचाइरहेको देखिन्छ ।
भव्य सेट, मनोरम कल्पनाशीलता, लार्जर द्यान लाइफ स्टोरी र स्टारडमसहितको राजामौलीको तीन घण्टा लामो स्वप्न उडान दर्शकलाई पट्यारलाग्दो हुने छैन । सन् १९२० को दशकको सेटअपमा ब्रिटिस साम्राज्यविरुद्ध स्वतन्त्रता संग्राममा होमिएका दुई योद्धा अल्लुरी सितारामा राजु र कोमाराम भीमलाई काल्पनिक कथामा ढालेर मित्रताको चास्नीमा बदलाको आगो दन्काएका छन्, राजामौलीले । मीठो स्वरकी गोन्ड आदिवासी बालिका मल्लीलाई ब्रिटिस गभर्नर स्कटकी पत्निले बलजफ्ती दिल्ली लगेर बन्दी बनाएपछि सुरु हुन्छ फिल्मको कथा ।
मालीलाई छुटाउन भीम (जुनियर एनटीआर) लुकिछिपी दिल्ली पुग्छ र अंग्रेजसँग भिड्ने समयको पर्खाइमा लाग्छ । यसैको सुइँको पाएपछि ब्रिटिस अधिकारीहरुले भीमलाई जिउँदो वा मुर्दा पक्रने जिम्मा वफादार प्रहरी राम (रामचरण) लाई सुम्पिन्छन् । फरक–फरक लक्ष्यसहित हिँडेका भीम र रामलाई एक घटनाले नजिक्याउँछ । पछि स्कटकी भतिजी जेनीसँग भीमको सम्बन्ध विस्तारका लागि रामले सहयोगी भूमिका निर्वाह गरेर साथीको मन जित्छ । सतहमा स्कटको बन्धकबाट मालीलाई छुटाउन गरिएको संघर्ष देखाइए पनि अन्ततः ब्रिटिस साम्राज्यको अधीनस्थ देशको स्वतन्त्रताका लागि गरिएको संग्राममा लगेर फिल्म टुंग्याइएको छ ।
फिल्मको न कथा नयाँ हो, न त यसका खलपात्र र नायक नै । तैपनि निर्देशक राजामौलीले भव्य क्यानभासमा रोचक कथा प्रस्तुतिको चित्रण गरी फिल्मलाई हेरेर मनोरञ्जन लिन सकिने स्तरको बनाइदिएका छन् । बदलाको कथामा एक्सन प्रधान त हुने नै भयो, तर फिल्मले मित्रता र प्रेमको कथालाई पनि समानान्तररुपमा अगाडि बढाएको छ । जसले दर्शकमा हास्य र संवेगको भावना पनि साथसाथै पैदा गरिदिन्छ ।
मगधीरा, मख्खी वा पछिल्लो बाहुबली फ्रेन्चाइजबाट व्यावसायिक र समीक्षात्मक वाहवाही बटुलेका निर्देशक राजामौलीको बाह्रौं फिल्म आरआरआर दशर्कका लागि बढी आशातित र प्रतिक्षित हुनु स्वाभाविक थियो । राजामौली पछिल्लो फिल्मभन्दा माथि उक्लन नसके पनि आफूलाई खस्किन पनि दिएका छैनन् । सपाट कथा, लम्बेतान पटकथामा बहकिन सक्ने जोखिमलाई निर्देशकले भिजुअल ट्रिटमेन्टले यसरी छोपिदिएका छन्, सामान्य दर्शकले कथा वा घटनामा तर्क वा अर्थ खोज्ने झन्झटै गर्दैनन् ।
राजामौलीले यति ठूलो दृश्य कल्पना पस्केका छन् कि जून तर्क संगत नलाग्दा नलाग्दै पनि भव्यताको लेपले छोपिदिन्छ । एक बालकको उद्धारमा दुई हिरो डोरीको सहायताले नदीमा फाल हाल्ने दृश्य होस् कि जंगली जनावरलाई ट्रकमा हुलेर लडाइँमा लैजाने कुरा वा हजारौंको झुन्डसँग हिरो एक्लैलाई भिडाएर जित हासिल गरी फर्काइएका दृश्य आँखाका लागि त वाह लाग्न सक्छन्, तर दिमागलाई भने कुनै खुराक छैन फिल्ममा । कम्तीमा राजामौली अब यथार्थताको सीमाबाट धेरै भड्किन पाउने छैनन् । सिनेमाटिक लिबर्टीको दोहोलो कढाई तीन/तीन नेशनल अवार्ड र पद्यश्री हत्याएका राजामौलीबाट क्षम्य हुनेछैन ।
अभिनयका हिसाबले फिल्म अब्बल बनेको छ । मल्टिस्टारर फिल्ममा खासगरी जुनियर एनटीआर सबैभन्दा हाबी छन् । त्यसो त, स्क्रिन स्पेस पनि उनैले बढी पाएका छन् । पानीको बिम्बमा शान्त र आदिवासीको भूमिकामा निडर चरित्रमा प्रस्तुत गरिएका भीममा उनी जबरजस्त लाग्छन् । आगोको रौद्ररुपमा रामचरण देखिएका छन् । उनको अभियनमा भेरियसन खासै नभए पनि भूमिकामा भने आरोहअवरोह देखिन्छ । सतहमा ब्रिटिस फौजका लागि काम गर्ने देखिँदा खलपात्रका रुपमा बुझिए पनि अन्ततः गुह्य लक्ष्यका लागि उनले बुनेको योजना खुल्दै जाँदा दर्शक रामको चरित्रलाई आत्मसात गर्न पुग्छन् । रामचरण अभिनयमा जति प्रभावी देखिन्छन्, त्यो भन्दा बढी एक्सन सिनमा फिट लाग्छन् ।
फ्ल्यासब्याकमा देखिने अजय देवगन र रामकी प्रेमिका सीताको भूमिकामा रहेकी आलिया भट् थोरै दृश्यमा देखिए पनि फिल्मका लागि चटनीझैं चोपिलो लाग्छन् । भलै अजयको भूमिकालाई त्यति धेरै नतन्काइएको भए पनि मूलकथालाई खासै फरक पर्ने भने थिएन ।
फिल्मको बलियो पक्ष यसको संगीत पनि हो । एमएम कीरवानीको पार्श्व संगीतले फिल्मको गति बढाउन उत्तोलकको काम गरेको छ । अधिकांश एक्सन सिनलाई लार्जर द्यान लाइफको चामत्कारिक प्रस्तुति दिन भीएफएक्सको उम्दा प्रयोग गरिएको छ । त्यसो त कतिपय दृश्यमा भीएफएक्स अझ फाइन हुन सक्थ्यो भन्ने लाग्छ नै ।
सिनेमाटोग्राफी आरआरआरको अर्को सबल पक्ष हो । साढे पाँच सय करोड भारु बजेटको फिल्म प्राविधिकरुपमा अब्बल छ । सेकेन्ड हाफदेखि प्री क्लाइमेक्ससम्म केही धीमा देखिएको फिल्मलाई हनुमानले लंका जलाएको घटनासँग रिलेट गरेर पस्किइएको क्लाइमेक्सले एकाएक उचाई दिन्छ । रामायणमा रावणबाट हरण भएकी सीता बचाउन हनुमान एक्लै जान्छन्, तर यहाँ गर्भनर स्कटबाट बन्धक बनाइएका रामसँगै हरणमा परेकी मल्ली दुवैलाई छुटाउन भीम हनुमान बनेर पुग्छन् र पछि राम र भीम दुवैले मिलेर धावा बोल्छन् । निर्देशकले रामचरणलाई धनुकाणसहित रामकै अवतारमा पस्केर रामायणको झल्को दिलाउँछन् ।
पटकथा लेखकसमेत रहेका निर्देशक राजामौलीले कथा, पटकथाका हिसाबले आरआरआरलाई बाहुबलीकै स्तरमा मिहिनरुपमा पस्कन त सकेका छैनन् तर भिजुअल ट्रिटमेन्टमा भने उम्दा काम गरेका छन् । तार्किक हिसाबले धेरै ठाउँमा प्रश्न चिन्ह खडा हुने आरआरआरलाई यथार्थता र वस्तुपरक भएर नहेर्ने हो भने दर्शकले पुरापुर मनोरञ्जन प्राप्त हुनेछ । आरआरआर क्लासका दर्शकका लागि नभई मासका लागि बनाइएको पूर्णतः मनोरन्जनात्मक प्याकेज हो । फिल्मको रोमान्चकतालाई अझ बढी महसुस गर्न चाहनुहुन्छ भने थ्रीडीमा हेर्नु अझ उचित हुनसक्छ ।
फेसबुक प्रतिक्रियाहरु