होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • बाजुराका सुरक्षाधिकारीहरुलाई सुझाव
विचार/ब्लग

बाजुराका सुरक्षाधिकारीहरुलाई सुझाव

  • नागरिक रैबार
बाजुराका सुरक्षाधिकारीहरुलाई सुझाव

देशब्यापी रुपमा बाजुरा यतिबेला अभूतपूर्व चर्चाको शिखरमा छ । मानव विकास सूचांकमा सबैभन्दा पुछारमा रहेको बाजुराका अनेक सन्दर्भहरु यसअघि पनि बेलाबेला राष्ट्रिय चर्चाका विषय हुने नगरेका त हैनन्, तर यतिबेलाको सन्दर्भ भने नितान्त पृथक ।
अरु बेला भइरहने अक्सर चर्चाका सन्दर्भहरु यहाँका निमुखाहरुको भोक, रोग, गरिबी, विपन्नता, प्राकृतिक प्रकोपको वितण्डा या विकास सम्बन्धि घटनामा केन्द्रित हुन्थे । यति बेलाको सन्दर्भ हो, बाजुरामा स्थानीय तह निर्वाचनको हो । बाजुरामा पनि बुढीगंगा नगरपालिकाको चुनावको सन्दर्भ ।

बैशाख ३० गते देशब्यापी एकसाथ सम्पन्न भएको निर्वाचन बुढीगंगाबाहेक सबै स्थानीय तहमा सम्पन्न भई नवनिर्वाचित सबै पदाधिकारीहरुले कार्यारम्भ पनि गरिसके । त्यतिमात्रै हैन, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य चयन गर्ने निर्वाचनको मितिका बारेमा पनि चर्चा र तयारी पनि चलिसक्यो । बुढीगंगामा भने अन्यौल अझै हटेको छैन ।

No description available.

विज्ञापन

बुढीगंगा साच्चै लज्जाजनक गोलचक्करमा फसेको छ । जनप्रतिनिधिविहीनताको अवस्थामा एकातिर उत्पन्न छ भने त्यो भन्दा पनि ठूलो त बुढीगंगाको पहिचान बिग्रेको छ । बुढीगंगावासी अराजक र उदण्डहरु बसोवास गर्ने ठाउँ हो भन्ने परेको छ धेरैतिर । हुन त यस परिणतिमा बुढीगंगाका सबै अर्थात आमसर्वसाधारणको त के दोष भन्ने तर्कहरु आफ्ना ठाउँमा होलान् । तर घानमा त सबै बुढीगंगावासी परिगयौं । उम्कने ठाउँ छैन ।

हुन पनि सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी बुढीगंगाकै, पूर्व मन्त्री एवं एमाले स्थायी कमिटि सदस्य रहेका बरिष्ट नेता कर्ण थापा बुढीगंगाकै, बाजुराबाट प्रतिनिधिसभा सदस्य एवं एमालेका केन्द्रीय सदस्य लालबहादुर थापा बुढीगंगाकै, एमालेका केन्द्रिीय सदस्य एवं प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री प्रकाश शाह बुढीगंगाकै । त्यति मात्रै हैन, अहिलेका महान्याधिवक्ता खम्मबहादुर खाती पनि बुढीगंगाकै । यतिबेला अक्सरले गर्ने एउटै टिप्पणी हो – कस्ता नेता रैछन् । बुढीगंगाको पहिचान बिग्रदा सबैभन्दा त उहाँहरुलाई घोच्नु पर्ने हो ।

अझ आममतदाताहरुलाई मताधिकारबाट बञ्चित गर्नु गराउनु एक प्रकारको अपराध हो भन्ने प्रशिक्षण सिनियर नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई कहिले दिनु होला <, मन जितेर भन्दा पनि अर्काको भोट खोसेर हाल्ने प्रवृति भएकाहरुबाट धेरै कुरा के अपेक्षा राख्नु सर्वसाधारणले <, यस्तै हो भने अबका चुनावमा उहाँहरुले घरदैलो गर्दै भोट माग्ने नाटक नगरे नगराएकै राम्रो । त्यसैमा राष्ट्रसेवक कर्मचारी मित्रहरुलाई दलका नेताहरुभन्दा पनि उधुम दलिय आग्रह राख्ने र तदनुरुप परिचालित हुने रहर किन जाग्दो हो < सर्वसाधारणका यी र यस्तै अनेक जिज्ञासाहरु सम्झेर मनमनै ताज्जुब लाग्छ ।

अब म मुल विषयमा केन्द्रित हुन्छु र सुरुमा ३० गतेको चुनावको दिनका केही देखाई भोगाइहरु प्रतिनिधिमूलक घटनाहरुबारे अतिसंक्षिप्त रुपमा चर्चा गर्छु ।
चुनावको दिन जिल्लाभरको अवस्थाबारे अपडेट तथा रिपोर्टिङमा बस्नुपर्ने कार्यतालिका भएकाले चाँडै मतदान गरेर घर फर्किने र अन्य मतदानस्थलमा पनि अवलोकनमा जाने मेरो योजना थियो । त्यही भएर म विहानै ६ बजेर २० मिनेटमा आफुले भोट खसाल्ने मतदानस्थलमा पुगेँ । मत मतदानकेन्द्रमा पुग्दा मतदाताहरु लाइन बसिसक्नु भएको थियो । म आफ्नो केन्द्रको लाइनमा उभिएँ । म भन्दा अगाडी १२ जना हुनुहुन्थ्यो ।

म मतदानस्थलमा पुग्दा नै त्यहाँ अस्वभाविक वातावरण थियो । राजनीतिक दलका कार्यकर्ताहरु चाउचाउ र बिस्कुटका पेटीहरु बोकेर लाइनमा बसेकाहरुलाई बाढ्दै थिए । म पालो कुर्दै चुचाप लाइनमा बसिरहेँ ।
तर, घडीको सूई विहानीको ७ नजिकिदैँ गर्दा केही युवाहरुको हुल बेहिसाव म बसेको लाइनमा अगाडी गयो । निष्फिक्रि उनीहरु पालो मिच्दै ओहोरदोहोर गर्न थालेपछि भने अलि हजम भएन । मैले ‘के तरिका हो यो’ भनेँ ।

सहनै नसकेछि मेरो पालो मिचेका उनीहरुलाई उछिनेर आफू अगाडी लागेँ । मतदान गरेँ । भोट खसालीसकेपछि एक मिनेटपनि मतदानस्थलमा नबसेर सिधै घर फर्केँ र आफ्नो काममा लागेँ ।
घर फर्किएको करिब एक डेढ घण्टाजति समय बितेको हुँदो हो । मतदानस्थलमा एकाएक कोलाहल र चिच्याहटको आवाज आयो । सुरुमा चै सधै त्यसै त हो, अलिअलि भएको होला भन्ठानेर वास्ता गरिँन । तर हेर्दा त भोट हाल्न गएकाहरुको भागदौड र रुवावासी भइरहेको थियो । ठीक त्यसैबेला मतदान अधिकृतको पनि फोन आयो ।

‘कहाँ हुनुहुन्छ, एक पटक यहाँ आएर सहजीकरणमा हेल्प गर्दिनु पर्यो’ भन्नु भयो ।
वातावरण पनि अस्वभाविक देखेपछि मतदानस्थल जान हिँडे । भागदौडमा परेका महिलाहरुको रुवावासी दर्दनाक थियो । भोट हाल्न छाडेर दौगुर्दै घर फर्किरहेकाबेला बाटोमा भेटिएका उनीहरुलाई मैले ‘केही हुदैन नडराउनुस्’ भनेर सान्त्वना दिने प्रयास गरेँ तर धन्न बाँच्यौं भन्ने उनीहरुलाई मेरो भनाइले आश्वस्त तुल्याउने कुरै भएन ।

म बुथ नजिकै माथिको बाटोमा पुगेँ । बुथ छाडेर आएका अन्य महिला, पुरुष र बृद्धवृद्धाहरु चौबाटोमा भेला भएर रुदै कराउँदै थिए । एमालेका वडाध्यक्षका उम्मेदवार पनि त्यहीँ भेटिए । मैले उहाँलाई के भएको, किन बुथ छाडेर आएको त, भनेर सोधेँ । अरु मतदातासँग पनि घटना बुँझे । अवस्था त असामान्य भइसकेको रहेछ । बुथमै कुटपीटमा परेपछि उम्मेदवार भागेर बाहिरिनु भएको रहेछ त्यसैले उहाँ फर्किन तयार हुनु भएन । जीवनभन्दा ठूलो मेरो उम्मेदवारी हैन भन्नु भयो उहाँले । उहाँका समर्थकहरुले पनि के मर्न जानु छ र, हरेकका कम्मरमा खुकुरी छन्, बुथ वरिपरि बोराका बोरामा तरवारहरु देखाएर राखेका छन्, भन्न थालेपछि म नाजवाफ भएँ ।
त्यै पनि एकछिन बुथसम्म पुगेर त आउनु पर्यो भनेर म गएँ । त्यहाँ त वितण्डा थियो । तोडफोड र अस्तब्यस्तता । मतदानअधिकृतहरुलाई सुरक्षाकर्मीले कोठाभित्र राख्नु भएको थियो । उहाँसँग भेट हुन पाएन । वातावरण अनुचित देखेपछि म त्यहाँ केही मिनेट मात्र बसेर फर्किएँ । प्रमुख जिल्ला अधिकारीलाई फोन गरेँ । उहाँले त्यहाँ त शान्तिपूर्ण मतदान भइरहेको खबर छ, त्यैँ पनि त्यसो हो भने म सुरक्षाकर्मीलाई भन्छु भन्नु भयो । म घर फर्किएँ ।
त्यतिञ्जेल अन्य केही मतदानस्थलमा रहेका मेरा साथीहरुले पनि मेरो म्यासेन्जरमा धमाधम त्यहाँ भइरहेका वितण्डाका फोटो र भिडियोहरु पठाउनु भयो । बुढीगंगाका ६ वटा वडाहरुमा मतदानको सामान्य अवस्था नरहेको प्रष्टै भयो । जसको बल जहाँ भयो उसले त्यहाँ आफू अनुकुल गरिरहे । आममतदाताहरुलाई मताधिकारबाट बञ्चित गर्नु एक प्रकारको अपराध हो भन्ने चेत र ब्यवहार पार्टीका नेताहरुमा भएन । भयो त केवल ‘जसरी पनि जित्ने’ हो भन्ने मानसिकता ।

सुरक्षाधिकारी ज्युहरुलाई मेरो सानो अनुरोध

सुनेर हैन, मतदानमा भाग लिन लाइनमा बसेकाहरुले पनि भोट खसाल्न नपाएर भागदैड गर्नु परेके आफ्नै आँखाले देखेकाले होला म बुढीगंगामा प्रमुख राजनीतिक दलका नेता कार्यकर्ताहरु (जुन दलको जहाँ बल चल्यो) ले आममतदाताको मताधिकारको हरण गरेर ‘ज्यादती’ गरेकै हुन् भन्नेमा एकदमै प्रष्ट छु । त्यसैले त बुढीगंगा विशिष्ट मोडमा प्रवेश गर्यो । र निर्वाचन आयोगले पनि दुबैतर्फका अनेक खिचातानी र असाधाहरण दवावहरुको सामना गर्दै पुनः निर्वाचन गर्ने गराउने निर्णय गरिसकेको छ ।
तर यो लेख लेख्दासम्म पुनः मतदान हुने मिति निक्र्यौल भइसकेको छैन । तथापी आयोगले गरेको निर्णय कार्यान्वयन गर्ने हो भने ढिलोचाँडो पुनः मतदान गर्नै पर्ने अनिवार्यता होला नै । पुनः मतदानको विपक्षमा अर्थात मतगणनाका पक्षधरहरुले पनि यतिबेलासम्म कानुनी उपचारका माध्ययमद्धारा केही न केही निक्र्यौल निकाल्न नसकेकाले अब लामोसमय बुढीगंगा जनप्रतिनिधिविहीन रहन सक्दैन । रहनु पनि हुन्न ।
यतिबेला प्रमुख जिल्ला अधिकारी, सशस्त्र र जनपथ दुबै निकायमा प्रमुखज्युहरु फेरबदल भएर यहाँहरु बाजुरा आउनु भएको छ । असाधाहरण परिवेशलाई लयमा ल्याउन यहाँहरुलाई पठाइएको प्रष्टै छ । पहिलो कुरा त यो यहाँहरु स्वमंका लागि विशिष्ट अवसर हो भन्ने लाग्छ ।

यहाँहरु जुन पृष्ठभूमिमा अर्थात विषम मानिएको परिस्थिति सुल्झाउने जुन हिम्मतसहितको मुख्य अभिभारा (किन कि मैले ‘बरु जागिर छोड्छु, बाजुरा जान्न’ भन्ने कतिपय अफिसरका भावनाहरु थाहा पाएको छु) लिएर आउनु भएकाले यहाँहरुलाई थप चुनौति छ । आशा छ, यहाँहरुबाट निर्वाह हुने तटस्थता र निष्पक्षताले त्यो चुनौति फिक्का सावित होस् ।

यसअघिका प्रमुखज्युहरु घानमा परेको हामीले देखिसकेका छौं । म त उहाँहरुलाई मात्र ‘बलिको बोको’ झै बनाउनु गलत हो भन्ने बुझाई राख्ने मान्छे हुँ । किन कि मतपेटिका छाडेर प्रहरी फिर्ता गर्न आदेश दिने गलत हर्कत गर्ने गराउने गृहका उच्चाधिकारीको केही दोष नहुने अनि जिल्लाका प्रमुख मात्र दोषी हुने कुरा न्यायिक होइन भन्ने हो । तथापी, माथिबाट आदेश आयो भन्दैमा प्रमुख जिल्ला अधिकारीले आफ्नो अधिकार र कर्तब्यबाट च्यूत हुने कुरा भने जिल्लाका प्रमुखहरुको गम्भिर भुल हो नै । त्यस ब्यवहारले उहाँहरु स्वमंमाथि अनेक आशंका गर्ने ठाउँ भएको हो । कानुनी अधिकारको प्रयोग गर्न उहाँहरु चुक्नु हुन्थेन भन्ने लाग्छ ।

अब अरु धेरै कुरा पछि हुँदै गर्ला, अहिलेलाई यहाँहरुको प्रधान जिम्मेवारी शान्तिपुर्ण रुपमा बुढीगंगामा पुनः मतदान गराउने हो । त्यसका लागि यहाँहरुले केही तयारीमा भने अवस्यै पनि सतर्कता अपनाउनै पर्नेछ । यहाँहरुले निर्वहन गर्ने तटस्थताको दृढताले यहाँहरुलाई सफलताको विन्दुमा पुर्याउनेछ ।

सुरक्षा ब्यवस्था कसिलो पार्ने र सबै मतदातालाई निर्भिक ढंगले मतदान गर्ने वातावरण मिलाउने यहाँहरुको अहिलेको प्रमुख अभिभारा हो । यतिबेला सबैले स्वतन्त्र रुपमा मतदान गर्न पाउने वातावरण भयो भने सदाका लागि बुढीगंगाका चुनाव शान्तिपूर्ण हुने नजिर बस्ने छ । त्यसैले को जित्छ, को हार्छ के मतलव, राम्रो गर्ने, मतदाताको मन जित्ने उम्मेदवारले नै विजय प्राप्त गर्नेछन् र थिति पनि बस्ने छ । र यसको श्रेय यहाँहरुलाई जानेछ । राजनीतिक दलहरुले पनि यही शर्तमा सुरक्षा संयन्त्रलाई सघाउनुका विकल्प छैन ।

यहाँहरु स्वमं कसैको प्रभावमा नपरी मतदान केन्द्रमा खटिने कर्मचारीहरुको पृष्ठभूमि केलाएर छनोट गर्नु उचित हुनेछ । यसपाली भएको मुख्य त्रुटी भनेको स्थानीय ब्यक्तिलाई स्थानीय मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मेवारीमा खटाउँदा कतिपय ठाउँमा गडबड भएको छ । त्यहाँ खटिने सुरक्षा अधिकृत र जवानहरुबारे पनि ख्याल गर्नु उत्तिकै जरुरी छ । मैले त कतिपसम्म देखेको छु भने कसले कुन चिन्ह्रमा भोट हाल्यो भनेर संकेत गर्ने कतिपय प्रहरी र कर्मचारीकै कारण पनि लफडा उत्पन्न हुने गर्छ ।

बन्दुकको त्रास हैन, विश्वसनीय वातावरण बनाएर सबैलाई भरोसा दिलाउनुस् । मिल्छ भने चुनाव अगाडी नै सार्वजनिक सूचना प्रवाह गरेर प्रभावकारी सुरक्षा ब्यवस्था गरिने आश्वस्तता जगाएर आममतदातालाई मतदानका लागि आव्ह्रान गर्नुहोस् । हरेक मतदानस्थल बाहिर पनि कम्तीमा दुइवटा सुरक्षा घेरा बनाउन जरुरी छ र पाँच सय मिटरभित्र भीड जम्मा हुन नपाइने ब्यवस्था गर्नुपर्छ । बाह्रय घेराबाट सिमित मतदातालाई मात्र पठाउने गर्नुपर्छ होला । ता कि मतदातालाई गौडामै छेक्न वा कहिँकतै अवरोध गर्न कसैले नपाओस्, नसकोस् । मतदानस्थलभित्र टाइट सुरक्षा ब्यवस्था हुनुपर्छ । सबै मतदातालाई गर्ने ब्यवहार समान र सम्मानपूर्ण हुन सके सुरक्षाकर्मीप्रति आमनागरिकको भरोसा बढ्छ । पूर्वनिर्धारित ब्यक्ति (प्रतिनिधि) बाहेक कसैलाई मतदान गरिसकेपछि मतदानस्थलको घेराभित्र बस्न नदिनुस् । फर्जी मत हाल्ने परम्परा यहाँको भयानक समस्या हो । फर्जी मत कसैले खसाल्न नपाओस् भन्नेमा राजनीतिक दलहरुले इमान्दारीपूर्ण जुक्ति निकालौं । केही उपयूक्त नियम बनाऔं ।
सबैको भलो होस् ।
(शाह कान्तिपुर दैनिकका उप–सम्पादक तथा पत्रकार महासंघका निवर्तमान प्रदेश अध्यक्ष हुन् )

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै