काठमाडौँ — स्थानीय स्वादमा मित्रता र प्रेमको कथा ‘कबड्डी’ श्रृंखला समात्दै आएको प्रमुख सूत्र हो । त्यही मित्रताका भावनामा आउने उतारचढाव अनि प्रेमको कबड्डी अर्थात सोल्टिनी पाउने उत्कट चाहना कबड्डीको तेस्रो श्रृंखलासम्म दोहोरियो ।
‘कबड्डी’मा मैयालाई काजीको आँखै अगाडिबाट विवेकले सहर भगाउँछ । दोस्रोमा सोल्टिनी बमकाजीसँग भाग्छिन् । तेस्रोमा कासी सोल्टिनी आफ्नो प्रेमीसँगै भाग्छिन् ।
अब चौथोमा के काजीले आफ्नो सोल्टिनी पाउँछन् त ? यही प्रश्नले दर्शकसमक्ष ‘कबड्डी ४ : द फाइनल म्याच’ प्रतिक्षित बन्यो । तर, कथामा केही नयाँपन नभेट्दा ‘कटप्पा ने बाहुबलीको क्यों मारा था ?’ भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ पाइसकेका दर्शकका लागि कबड्डीको फाइनल म्याच ‘फ्रेन्ड्सिप म्याच’ भइदियो । फ्रेन्डसिप म्याचमा त्यति मज्जा हुँदैन जति वास्तविक खेलमा हुनेगर्छ । कथामा न त दर्शकलाई उत्सुक बनाउने ट्विस्ट एन्ड टर्न नै छन् न नयाँ विषय नै ।
पहिलो श्रृंखलामा वैदेशिक रोजगारीमा हुने ठगी, दोस्रोमा राजनीति, तेस्रोमा केही हदसम्म अन्तरजातीय विवाहलाई छोएको श्रृंखलाको ‘फाइनल म्याच’मा व्यवसायलाई नै महत्त्वमा राखेको देखिन्छ । ‘फोन पे’ र ‘रोयल स्ट्याग’को विज्ञापन जसरी कथाभित्र घुसाइएको प्रस्टै हुन्छ, त्यसले निर्देशक रामबाबु गुरुङले कबड्डीको ब्रान्डलाई व्यवसायकै लागि चौथो भागसम्म तन्काइएकोमा दुई मत रहँदैन ।
सजिलै अनुमान गर्न सक्ने क्लाइमेक्स, उस्तै लाग्ने पटकथा अनि पुरानै कथालाई तोडमोड गरेर कबड्डी श्रृंखला सक्ने निर्देशकीय चलाखीले निर्देशक गुरुङको सिर्जनशीलतामाथि पनि प्रश्न उठाउने ठाउँ रहन्छ । चुस्त संवाद, पात्रहरूको सफल अवतरण अनि कलाकारहरुको अभिनयले ‘कबड्डी ४’लाई हेरुन्जेलको रमाइलोमा सीमित गराइदिएको छ । तर, के कबड्डीजस्तो नौलो स्वाद अनि स्थानीय परिवेशको कथा पस्किसकेका निर्देशक गुरुङबाट दर्शकले ‘कब्बड्डी ४’जस्तो फिल्ममा चित्त बुझाउने ? ‘बमकाजी भेन्चर’मा गुरुङका यी कमजोरी नदोहोरियोस् भन्ने अपेक्षा गरौं ।
अब ‘कबड्डी ४’को कथातिर प्रवेश गरौं । फिल्मको कथा ‘कबड्डी कबड्डी’को कथाबाट अगाडि बढाइएको छ । वीरकाजी शेरचन(दयाहाङ राई) गाउँकै एक विद्यालयको अध्यक्ष बनेका छन् । प्रेममा सोल्टिनीहरूसँग तीन पटक धोका पाइसकेपछि उनी विवाह र प्रेमदेखि विरक्तिएका छन् । साथीहरू बिके(विजय बराल) र छन्त्याल(बुद्धि तामाङ) अझै काजीको बिहे होस् भन्ने चाहन्छन् । त्यसैबीच गाउँमा शान्ति(मिरुना गुरुङ)को प्रवेश हुन्छ ।
शान्ति वीरकाजी अध्यक्ष भएकै विद्यालयमा शिक्षक बन्न आइपुग्छिन् । मास्टर्स डिग्री सकेर गाउँ फर्केका बमकाजी(सौगात मल्ल)को नजर नयाँ सोल्टिनीमा पर्छ । सोल्टिनीलाई आफ्नो बनाउने दौडधूपमै कथाको विकासक्रम, केन्द्रीय द्वन्द्व र क्लाइमेक्स लेखिएको छ । ‘कबड्डी ४’मा नयाँ छिन् त केवल सोल्टिनी । हरेक श्रृंखलामा परिवर्तन हुँदै आएको सोल्टिनीको नयाँ अनुहार दर्शकका लागि ‘सरप्राइज’ बन्दैन । त्यसैले ‘कबड्डी ४’निर्देशक गुरुङको सबैभन्दा कमजोर श्रृंखलामा हो भन्दा फरक नपर्ला ।
औसत पटकथामा तयार भएको कथाको विकासक्रममा नौलोपन भेटिँदैन । मुखियाले वंश जोगाउनकै लागि सौतेनी खोज्दै हिँडेको विषय त्यति विश्वासिलो पनि लाग्दैन । थकाली संस्कृतिको ‘छोप्पा’ हान्ने प्रचलन र सोल्टीप्रेमले खासै केन्द्रीय द्वन्द्वमा दर्शकलाई बाध्न सक्दैन ।
पुरानै कथामा नयाँ सोल्टिनी थपेर भनिएको कथाले दर्शकलाई क्लाइमेक्ससम्म बाँधेर राख्न हम्मेहम्मे बनाउँछ । तर, पात्रहरुको कुशल अवतरणमा भने निर्देशक गुरुङले ध्यान दिएका छन् । झाँक्री र छन्त्यालको द्वन्द्वलाई केही दृश्यमै मिलेको देखाइएको छ । दु:खान्त प्रेमसँगै बिके चरित्रको अवतरण भएको छ । दर्शकले खुबै मन पराएको काजी पात्रलाई पनि अन्तिमसम्म न्याय दिइएको छ ।
फिल्मको सबैभन्दा बलियो पक्ष भनेको संवाद हो । चोटिला संवादले कथामा प्राण भरिदिएको छ । फिल्मको पार्श्व ध्वनिमा पनि रोहितले उतिकै मिहेनत गरेको देखिन्छ । ‘केशरी’बोलको गीत फिल्ममा जबर्जस्त सुनिन्छ । अभिनयका हिसाबले भने ‘कबड्डी ४’ कमजोर लाग्दैन । अभिनेता विजय बरालले पहिलो श्रंखलादेखि नै अभिनयमा आफूलाई जसरी पस्केका छन् उनी ‘कबड्डी ४’मा झनै उम्दा लाग्छन् । विजय बरालले ‘बिके’ चरित्रलाई आन्तरिक र बाह्य द्वन्द्वलाई ‘कबड्डी’ देखि कबड्डी-४ सम्मै उत्तिकै निभाउनुले उनको अभिनय निखारिँदै गएको आभास हुन्छ ।
‘हैट’ संवादले निकै ख्याति कमाएका बुद्धि तामाङको त्यही संवाद अन्तिम श्रृंखलामा आइपुग्दा उति वजनदार लाग्दैन । तर, छन्त्यालको भूमिकामा उनी पनि बलियो नै लाग्छन् । दयाहाङ राईले काजीको भूमिकालाई झट्ट रिसाइहाल्नेदेखि शान्त स्वभावसम्मको यात्रालाई पर्दामा प्रस्तुत गरेका छन् । अभिनेता सौगात मल्लले बमकाजीको भूमिकालाई जीवन्त बनाइदिएका छन् । बमकाजीले मास्टर्स डिग्रीको शानलाई अभिनेता मल्लले निकै चलाखीसहित अभिनयमा प्रस्तुत गरिदिएका छन् । शान्त स्वभावमा शान्तिको भूमिकामा देखिएकी मिरुना मगरको अभिनय तारिफयोग्य नै छ ।
‘साइनो’ देखि ‘कबड्डी ४’सम्म आइपुग्दा अभिनयमा उनको निकै मिहेनत देखिन्छ । तर छोप्पा हान्दा आँसु झार्दै लाचार बन्ने कमजोर पात्रको लेखनले अन्य श्रृंखलामा भन्दा फाइनल म्याचमा महिला चरित्र चित्रण निकै सतही लाग्छ । गौमायाले थोरै भूमिकामा पनि आफ्नो अभिनयको उपस्थिति देखाइदिएकी छन् ।
फिल्म अभिनय र संवादको तादम्यले मात्र होइन कथा र पटकथाले जिउँदो बन्ने हो । पुरानो पटकथा र कथाको प्रयोगले ‘कबड्डी-४’ मा रामबाबु गुरुङको स्थानीय स्वादको अभाव खड्किन्छ । यस अर्थमा यो फिल्म व्यावसायिक मारमा सिर्जनामा पर्ने मारको श्रृंखलाको ज्वलन्त उदाहरण बनेको छ ।
फेसबुक प्रतिक्रियाहरु