काठमाडौं । गुल्मीकी एक स्वास्थ्य स्वयंसेविका कोरोना विरुद्धको खोप लगाउन एक वृद्धालाई बोकेर लैजाँदै गरेको तस्वीरका कारण चर्चामा आएकी छन् ।
गत शुक्रबार गुल्मी दरबार गाउँपालिका वडा नं ३ राजाघरकी ४२ वर्षीया लीला थापाले सोही गाउँपालिका वडा नं ३ पुर्खेकी ७८ वर्षीया देवकला टण्डनलाई बोकेर खोप लगाउन लगेपछि सामाजिक सञ्जालमा चर्चामा आएकी हुन् ।
गाउँपालिकामा बुधबारदेखि ज्येष्ठ नागरिकहरुको लागि जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यक्रम शुरु भएको थियो । बिहीबार बिहानै टण्डनको परिवारले देवकला आफ्नो स्वास्थ्य अवस्थाका कारण खोप लगाउन जान नसक्ने जानकारी दिएपछि थापाले उनलाई बोकेर खोप केन्द्रसम्म पुर्याएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायणप्रसाद अर्यालले जानकारी दिए ।
त्यसो त देवकलाको घर थापाको कार्यक्षेत्रभित्र त पर्दैन । तर ज्येष्ठ नागरिकलाई खोपबाट बञ्चित गराउनु हुँदैन भनेर आफूले देवकलालाई बोकेर खोप केन्द्र पुर्याएको थापाले अनलाइनखबरसँग भने ।
उनका अनुसार पुर्खेबाट खोप केन्द्र रहेको गौंडाकोटसम्म पुग्न ज्येष्ठ नागरिकलाई एक घण्टासम्म समय लाग्छ । तर खुट्टामा समस्या भएका कारण एक घण्टा पैदल हिँड्न नसक्ने अवस्था भएपछि देवकला खोप केन्द्रसम्म नजाने सोचमा थिइन् ।
थापाका अनुसार पुर्खेबाट गौंडाकोट पुग्ने मोटरबाटो पहिरोले भत्काएपछि अहिले वैकल्पिक रुपमा भीरको बाटो जानुपर्ने हुन्छ । सो बाटो ज्येष्ठ नागरिकको लागि जोखिमपूर्ण भएकोले देवकलाले पैदल जान आँट नगरेपछि बोकेर लैजानुपरेको थापाले जानकारी दिइन् ।
‘पहिले त म उहाँको अवस्था बुझ्न घरमा गएँ । उहाँको खुट्टामा चोट लागेकोले जान सक्ने अवस्था रहेनछ । त्यसपछि अफ्ठेरो बाटोमा बोकेर हिँडेकी हुँ’ उनी भन्छिन् ‘कसले तस्वीर खिचिदिएछ, पछि आफैँलाई अचम्म लाग्यो ।’ देवकलाकी छोरी र आफू मिलेर उनलाई खोपकेन्द्रसम्म पुर्याएको थापाले जानकारी दिइन् ।
सुरुदेखि नै फरक काम गर्दै आएकी लीला
स्वास्थ्य संयोजक अर्यालका अनुसार थापा २०७१ सालमा गाउँपालिकाको वडा नं ३ मा स्वास्थ्य स्वयंसेविकाको रुपमा नियुक्त भएकी हुन् । अहिले गाउँपालिकामा ८३ जना स्वयंसेविकाहरु छन् । तर थापाको काममा शुरुदेखि नै अलिक फरक र आफ्नो काममा सिर्जनशीलतासँगै समर्पण भाव समेत देखिन्थ्यो ।
थापा महिलाहरु गर्भवती हुँदादेखि नै उनीहरुको तथ्यांक लिएर उनीहरुले अपनाउनुपर्ने स्वास्थ्य उपचारको बारेमा सतर्कता अपनाउँदै हिँड्थिन् । साथै, गाउँमा जो सुत्केरी भएपनि अण्डा, कुखुरा र ज्वानो बोकेर पुग्छिन् । त्यसैले गाउँमा उनको छवि अरुको भन्दा फरक छ । उनी आमा समूहको बैठकमा अनिवार्य मास्क लगाएर आउनुपर्ने नियम बनाउनेदेखि आफ्नै पैसाले मास्क वितरण गर्नेसम्म काममा अग्रसर हुन्थिन् ।
त्यस्तै, कोरोना महामारीको पहिलो लहरमा पनि उनले गाउँगाउँमा गएर मास्क र साबुन आफ्नै खर्चमा वितरण गरेर उनीहरुमा सचेतना गर्दै हिँड्थिन् । अर्याल भन्छन् ‘उहाँको कार्यशैली सुरुदेखि नै फरक थियो । कोरोनाको बेलामा त झनै उहाँले आफ्नो क्षेत्रमा गरेको योगदान प्रशंसनीय नै छ ।’
उनको त्यही प्रयासले ३ नं वडामा उनको कार्यक्षेत्र भित्र एकाधबाहेक कसैमा पनि कोरोना संक्रमण देखिएन । ‘मैले कोरोनाको समयमा कसैलाई पनि कोरोना नलागोस् भनेर मास्क र साबुन बाँडेकी हुँ’ थापा भन्छिन् ‘आफ्नो क्षेत्रको जनतालाई स्वस्थ राख्न मेरो सानो पहलले पनि ठूलो भूमिका खेल्दो रहेछ भन्ने अनुभूति भएको छ ।’
फेसबुक प्रतिक्रियाहरु