नागरिक रैबार/बाजुरा १५ पुस।जिल्लाको सदरमुकाम मार्तडीमा सुविधा सम्पन्न खेलमैदान निर्माणका लागि बडीमालिका नगरपालिकाले जग्गा छनोट गर्न लागिरहेको छ ।
जिल्लाका खेलाडीहरुलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले सदरमुकाम मार्तडीमा खेलमैदान निर्माणका लागि २ करोड रकम विनियोजन गरेको छ ।
सदरमुकाम मार्तडीमा खेलमैदान निर्माण गर्न बडीमालिका नगरपालिकाले उपयुक्त ठाउँमा मैदान बनाउने गरी जग्गाको सम्भावित अध्ययन गरिरहेको छ ।
खेलमैदानका लागि जग्गा नगरपालिकाले उपलव्ध गराउनु पर्ने भएकाले नगरपालिकाले बडीमालिका ८ को बाउली र ९ को गणखेतमा रहेको जग्गा मध्ये एक ठाउँमा मैदान बनाउने गरी लागिरहेको बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताएका छन् ।
बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा उपयुक्त जग्गा उपलव्ध गराएपछि खेलमैदान निर्माण कार्य अगाडि बढाईने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापाले बताएका छन् ।
सदरमुकाम मार्तडीमा प्रयाप्त खेलमैदान नहुँदा खेलाडीहरुलाई आफ्नो खेल प्रतिभा देखाउन समस्या हुने गरेको छ । खेलमैदान अभावकै कारण यहाँका खेलाडीहरुले सदरमुकाममा आयोजना गर्ने खेलकुदका कार्यक्रमहरु बाजुरा क्याम्पस र मालिका माविको मैदान प्रयोग गरी संचालन गर्नुपर्ने बाध्यता रहँदै आएको थियो ।
फेसबुक प्रतिक्रियाहरु