धनगढी: आइतबार बिहान धनगढीको नवजीवन अस्पतालमा मत्युवरण गरेकी सुत्केरीको शव अझैसम्म उठ्न सकेको छैन। डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो। सुत्केरी व्यथा सुरु भएपछि उनलाई शनिबार बिहान १० बजे अस्पताल पुर्याइएको थियो। दिनभर सुत्केरी हुन संघर्ष गरेकी उनको गर्भमा रहेको शिशुलाई राति ११ बजेर ४४ मिनेटमा निकालिएको थियो। राति भ्याकुम प्रयोग गरेर उनको गर्भमा रहेको शिशु निकालिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको थियो।
तर आफन्तले भने आफूहरुलाई जानकारी नदिएर भ्याकुम प्रयोग गरेको बताइरहेका छन्। शिशुको निकालिएपछि मात्रै भ्याकुम प्रयोगबारे जानकारी पाएको मृतकका ससुरा नाता पर्ने शेरबहादुर मल्लले बताए। ‘हामीलाई त सोमबार बिहान सिधै रक्तस्राव भएको भन्दै ‘ए नेगिटिभ’ ग्रुपको रगत ल्याउन भनेर भनियो। बिहानसम्म हामीले ७ पिन्ट रगत जम्मा गरिसकेका थियौँ तर अस्पतालले बुहारीलाई बचाउन सकेन भनेर भन्यो’ उनले भने।
त्यसपछि मंगलबार बिहानसम्म अस्पतालमा तनाव चलिरहेको छ। आफन्तले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग राख्दै मृतकको शव नउठाउने बताइरहेका छन्। त्यसमाथि नवजीवन अस्पतालले दिउँसो ३ बजे ‘सक्दो प्रयास गर्दा पनि सुत्केरी बचाउन नसकिएको’ भन्दै विज्ञप्ति जारी गरेपछि आफन्त झनै आक्रोशित भएका छन्।
गर्भवती भएदेखि नै डा. जयराम केसीको परामर्शमा रहँदै आएको भए पनि अन्तिम समयमा आएर उपचारमा लापरबाही गरेको मृतकका देवर दीपेन्द्र मल्लले आरोप लगाएका छन्। बिरामी स्वयंले अप्रेसनका लागि अनुरोध गर्दा पनि चिकित्सकले जबरजस्ती भ्याकुम प्रयोग गरेको उनको आरोप छ।
आफन्तले दोषीलाई कारबाही नगरुञ्जेल शव नउठाउने अडान लिँदै आएपछि अहिले अस्पताललाई सुरक्षा घेरामा राखिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अस्पताललाई सुरक्षा दिइरहेको छ। शिशुलाई अस्पतालकै एनआइसियूमा राखिएको छ।
यता अस्पतालका सञ्चालक योगेन्द्र ओझाले मृतकका आफन्तले उठाएको मागमा आफूहरु सहमत भएपनि शव नउठाइएको बताएका छन्। ‘शिशुको भरणपोषण, मृतकको नाममा प्रतिष्ठान स्थापना लगायतका मागमा हामी सहमत भइसकेका छौं। तर के कति कारणले शव नउठाइएको हो जानकारी छैन, अहिले सहमतिका लागि जिल्ला प्रशासनमा छलफल भइरहेको छ,’ उनले भने। दोषीलाई कारवाहीको बुँदामा भने अस्पताल प्रशासनले मुद्दामा जान कल्पनाका आफन्तलाई आग्रह गरेको छ। दिनेश खबर बाट साभार
फेसबुक प्रतिक्रियाहरु