सर्वप्रथम केपी ‘बा’ सादर नमस्कार !
धेरै लामो समयपछि फेरि आज हजुरसँग मनका कुरा गर्दैछु। बालुवाटार आउने हजुरको निम्तो थियो, मेरो मनले त्यो निम्तो स्वीकार गर्न पटक्कै मानेन। दुखका साथ भन्नैपर्छ, यतिबेला मेरो यो मन उकुसमुकुस छ। मैले सोंचेको थिएँ, “तपाई एमाले र माओवादी केन्द्र एकीकृत भई बनेको नेकपाको नेतृत्व मात्र होइन सिंगो मुलुकको शक्तिशाली प्रधानमन्त्री पनि हो।
प्रधानमन्त्री बनेपछि हजुरले नै परिकल्पना गरेअनुसार ‘सुखी नेपाली समृद्ध नेपाल’को तस्वीर ५ वर्षे यात्रामा एउटा फरक मोडमा प्रवेश गर्नेछ भन्ने लागेको थियो। वर्षौदेखिको सामन्तवादीसत्ता, राजतन्त्र र अस्थीर सरकारको शिलशिलाको अन्त्य गर्दै हजुरले नयाँ नेपालको महान जिम्वेवारी बहन गर्ने अवसर पाउनुभएको थियो। यसका लागि जनताले पूर्ण बहुमत दिए। २ तिहाई नजिकको नेकपा सरकारका प्रगतिबारे रंगीचंंगी बनाएर लेख्ने मन थियो। क्या बात ! कम्युनिस्ट सरकार भनेर फेरि अबको चुनावमा ३ तिहाईको कम्युनिष्ट सरकार बन्ने वातावरण तयार गर्ने युगीन अवसर थियो। अनि हजुरले बोलेका ती ग्यासलाइन, पाइपलाइन र रेललाइन जस्ता कुराले भित्रैदेखि मन छोएको थियो।
अफसोच ! आज ३ वर्षमा तपाईको समृद्धिको पर्खाइ गर्दैगर्दा म उकुसमुमुस भएको छुँ। मेरा मात्र होइन आम नेपालीको आशा निराशामा परिणत भएको छ। उसरी नै यो गरीवको सरकार भनिए पनि जनता आकुलब्याकुल छन्। हुन त हरेक नेतृत्वको जाँच्ने कडी भनेको ‘समय आउछ पर्खनुपर्छ’। हजुरले राजनीतिक आन्दोलनमा ठूलो त्याग गर्नुभएको, १४ वर्ष जेलजीवनसमेत भोग्नुभयो अरे, तर तपाई अहिले आफ्ना सहकर्मी मित्रहरुसँगको सैद्धान्तिक मतभेद हो कि कुनै बेलाको ब्यक्तिगत रिसराग हो, अहिले तपाईका निर्लज्ज गालीगलोज र बोलीको स्तरले तपाई नेपालमा कस्तो राजनीतिक संस्कार सिकाउँदै हुनुहुन्छ। हुन सक्छ अब हेर्दाहेर्दै तपाईहरु दासढुंगा हत्याकाण्डका विषयमा पनि आरोप प्रत्यारोप गर्नु अस्वाभाविक हुनेछैन। यसरी तपाईले भावी पिढीलाई कुन दिशामा मोड्दै हुनुहुन्छ। यो राजनीतिक सभ्यता र संस्कारले अबको पुस्ताले नेतृत्व गर्ने बेला कस्तो रुप लेला ? यो आफैमा समीक्षाको बिषय छ।
हजुर मुलुकको सम्माननीय प्रधानमन्त्री पनि हो, तपाईको यो धनवादी सरकारलाई अलि आलोचना मात्र गर्यो नभन्नु होला, यो आलोचना मात्र होइन, सामान्य नागरिकको मनमा उठ्ने जिज्ञासा पनि हो। हजुरले ३ वर्ष अगाडि बोलेको कुरा भर्खरैजस्तो लाग्छ। एउटा पार्टीमा २ पाइलटमध्ये तपाई सरकार प्रमुख भएर यति ठूलो अवसर प्राप्त गर्ने कम्युनिस्ट पार्टीको पहिलो ब्यक्ति हुनुहुन्छ। मैले अगाडि नै भनिहाले कि ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा घोषणा गर्ने पनि तपाई नै हो। तर तपाईले घोषणा गर्नुभएको यी नारा र कुराहरु फगत जनतालाई उल्लु बनाउने कमेडी रहेछन् भनेर बुझ्न अब लामो समय पर्खनु परेन।
हुन त बा, अस्ति भर्खरै एउटा कार्यक्रममा हजुरले नांगो गोरु देख्दा मलाई लाज लाग्दैन भन्नुभएको थियो। हो बा, अहिलेसम्मका तपाईका बोली काम र ब्यवहारले सर्वाङ्ग नांगिन थालेको तपाईको राजनीतिक जीवन हेर्दा ‘भीरबाट पल्टने गोरुलाई राम राम भन्न सकिएला तर काँध थाप्न सकिन्न’। कम्युनिस्टप्रति आस्था र बिश्वास राख्ने आम नेपालीको शिर झुकाउने काम तपाईले गरिसक्नुभएको छ। हजुरका कुरा यस्तै हुन् केपी बा, हजुरले गाडीमा २ वटा बिग्रेको नटबोल्ट फेरेपछि गाडी ७ नम्वर गियरमा कुद्छ रे। अहिलेसम्म ७ नम्वरसम्मको गियर भएको गाडी कुन रहेछ, म त्यो हेर्न आतुर छुँ।
नांगो गोरु देख्दा लाज नलाग्ने तपाईका यस्ता फुस्केट कुराले २ तिहाई सरकारको हैसियत दलाल पुँजीवादसँग झुक्दै समृद्धिका हावा गफमा बिताउनुभयो। जनताको मनमस्तिष्कमा बस्ने कम्युनिस्ट सरकार बनाउन सक्नुभएन। वर्गीय धरातल छोडेर सत्ताउन्मादले वर्ग परिवर्तन गरेको कम्युनिस्ट प्रधानमन्त्री तपाई बन्नु त धिक्कार रहेछ। ठूलो त्याग र संघर्षबाट उठेको कम्यनिष्ट भन्ने तपाईले नै कम्युनिष्ट दर्शनको गला रेट्नुले अब केको अनि के पो आश रह्यो र ? हुन त कम्युनिस्टको लकेट भिर्दैमा कोही कम्युनिष्ट हुँदैन। नेपाली जनताको मनबाट कम्युनिस्टप्रतिको आस्थालाई सर्वनाश गर्न खोज्नेहरु आज तपाईको सत्तामा छन्। दुखका साथ भन्नैपर्छ हजुरको भूमिका खिर्राको बोटबाट सुन्तलाको अपेक्षा गर्नुजस्तै भएको छ।
बा, एउटा भनाइ छ, “रक्त बिषाक्त भएर केही हुँदैन, किन्तु सिद्धान्त विषाक्त भए सर्वनाश हुन्छ।” हुन त कुरा गरे कुरैका दुख भन्छन्, हजुरसँग गर्ने कुरा धेरै छन्। शोषण अन्याय अत्याचारको कारखाना बालुवाटार, परम्पराकालमा देश भुट्ने, जनता लुट्ने राजाहरुलाई जनताले भगवान मान्न परेजस्तै मुलुकमा विधिको शासनको खिल्ली उडाउन उद्धत तपाई जस्तालाई मान सम्मान गर्नुपरेको छ। टवाइलेट उद्घाटनदेखि घर उद्घाटनसम्म पुग्ने हाम्रो देशका तपाई जस्ता सरकार प्रमुखहरुलाई श्रमिकहरु बेरोजगार बनेर गास, बास र कपास गुमाउँदासम्म कुनै चिन्ता छैन। नेपालमै रोजगारीको वातावरण बनाउनुभन्दा पनि हरियो पासपोर्ट बोकाएर युवाशक्तिलाई मुगलान पठाउने काममा ब्यस्त देखिने तपाई जस्ता ‘बा’हरुको चिन्तन, चिन्ता र गन्तब्य जबज, समाजवाद, समृद्धि जे भनिएको भए पनि भ्रष्टाचार र कमिशनका खेलमा हिजोको राजा कांग्रेसभन्दा धेरै अगाडि बढिसक्नुभएको छ।
यो बेला देश कोरोनाले सिकिस्त छ, एउटा सिटामोल र जीवनजलको पुरियासमेत खान नपाएर अकालमा ज्यान गुमाउनेहरुको पीडा तपाईको कानमा पुग्दैन। तपाई सम्माननीय प्रधानमन्त्री आफ्नै सहयात्रीप्रति कटाक्ष गर्नुहुन्छ। रत्नपार्कमा ओखती बेच्ने स–साना खुद्रा ब्यापारीको श्रमप्रति ब्यंग्य गर्नुहुन्छ। बुझ्नेलाई इशारा काफी छ। सत्तामा बसेका हाम्रा बाहरु कुन दिशामा जाँदै हुनुहुन्छ ? यता तपाई भने मलाई काम गर्न दिएनन् भनेर कोकोहोलो गर्नुहुन्छ ? बा, सामान्य जनताले समेत सोध्ने प्रश्न तपाईका कुन–कुन योजना सफल गर्न दिएनन्, तपाइका सहयात्रीहरुले ? के–के मा अवरोध पुर्याए ? मुलुकको जिम्वेवार व्यक्ति भएर कमेडी कुरा होइन तथ्यमा जानु उचित होला।
अरु त परै जाओस्, लगभग २ तिहाईको सरकार भएको बेलामा समेत मदन आश्रितको हत्यारा पत्ता लगाउन एउटा आयोगसमेत गठन गर्न नसक्ने तपाईको नियतप्रति धेरै प्रश्न सोझिएका छन्। ‘नाँच्न नजान्ने आंगन टेडाे’ भनेझै तपाइको यो पाराले नेपाली जनता शिक्षामा साक्षर होलान्। तर राजनीतिमा तपाईजस्ता नेता पहिचान गर्न विद्यावारिधि गरे सरह छन् भन्ने बुझ्नु जरुरी छ।”
जननिर्वाचित संसदलाई बिघटन गर्दा तपाईमा कुनै पश्चाताप र ग्लानी छैन। बरु हर्ष र जीतको जस्तो उन्माद छ। नेपालले पाएको यो दुर्लभ अवसरलाई एउटा भीरको डिलमा पुर्याउने हर्कत किन गर्नुभएको हो ? संविधानमाथि बलात् हत्या गरेर लोकतन्त्र धरापमा पार्ने तपाइले २ तिहाइको सरकार गिराएर ‘हातको माछो उम्काएर दुलाभित्र हात’ भनेझैं फेरि २ तिहाई मत ल्याउने किन मूर्ख सपना देख्दै हुनुहुन्छ ? आरोप प्रत्यारोपको राजनीतिक खेतीको बिजारोपण किन यसरी नांगो तरीकाले गर्दै हुनुहुन्छ ? बिकास र समृद्धिको आशामा रहेका जनतालाई अरबौं ऋणको भारी बोकाएर फेरि किन जर्वजस्त चुनावमा होम्ने दुस्साहस गर्दै हुनुहुन्छ ? यो केवल सनक, अहंकार मात्र हो या कुनै डिजाइन ? तपाइको नेतृत्वमै भएका बिकसित घटनाक्रमले गम्भीर संशय उत्पन्न गरेको छ।
सत्य कम बोल्ने, भ्रम धेरै दिन सक्ने क्षमता भएका तपाई र तपाईका प्रभावशाली टीमले आफूबाहेक समाज र देश नै नदेख्ने, अरुलाई मान्छे नै नगन्ने जुन प्रवृत्ति छ त्यसले तपाईलाई दुर्घटनातिर पुर्याएरै छाड्नेछ। इतिहास सधै एउटै तरीकाले बनेका छैनन् र बन्दैनन् पनि। मुलुकमा राजनीतिक ब्यापारी त प्रशस्तै छन्। तर राजनेताको अभाव खड्किएको छ, यतिबेला। यस्तो बेला चुनाव मात्र लोकतन्त्रको गुण होइन। राजनीतिक संस्कारको विकास नहुने हो भने चुनावले मात्र लोकतन्त्र बलियो हुँदैन भन्ने तर्फपनि सोंच्न जरुरी छ।
जनताले सरकार चलाउनका लागि ५ बर्षको म्याण्डेट दिएका थिए। ५ बर्षको म्याण्डेट पूरा नहुँदै मध्यावधि घोषणा गर्नु जनताप्रतिको अविश्वास हो। यसरी जनताको टाउकोमा रुखान ठोक्न उपयुक्त नहोला भन्ने सुझाव दिन चाहन्छु, के.पी. बा, हजुर ! अनि पार्टी फुटाएर, संविधान कुल्चिएकाे कलंक बाेकेर चुनावमा जाँदा तपाईहरुकाे हालत के हाेला ?
अन्त्यमा, केपी बा, आत्मालोचना गरेरै आफ्ना कमी कमजोरी सच्याउनुस्, बिग्रेको केही छैन। कहिलेकाँही नकारात्मकबाट सकारात्मक पक्षको उदय पनि हुने गर्दछ। त्यसैले जनताको भावनामाथि कुठाराघात हुन नदिनुस्। अन्यथा कालो टीका लगाइएको तपाइको राजनीतिक जीवनको धब्बा युगयुगसम्म मेटिने छैन।
पोखरेल नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका पूर्वअध्यक्ष तथा हाम्रो एकता साप्ताहिकका सम्पादक हुन्।)
lokpatibata
फेसबुक प्रतिक्रियाहरु