बिहिबार, फाल्गुन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • स्त्रीत्व र पुरुषत्व
स्वास्थ्य-जीवनशैली

स्त्रीत्व र पुरुषत्व

  • नागरिक रैबार
स्त्रीत्व र पुरुषत्व

आजकल ‘आइमाई’ भन्ने शब्द त्यति कर्णप्रिय नमान्नेहरू पनि छन् । तर, ‘आर्यमाता’ शब्दबाट अपभ्रंश भएर उत्पत्ति भएको यो शब्दको अर्थ त्यस्तो नराम्रो छैन । आजकल यो शब्दको सट्टा ‘नारी’ अथवा ‘महिला’जस्ता शब्दको प्रयोग हुन थालेको छ । वास्तवमा आर्यको अर्थ श्रेष्ठता हो । माता झन् यो धर्ती हुन् । अर्थात् आर्यमाताको अर्थ धर्तीमाता हो ।

जतिवेला तिमीलाई म यो पत्र लेख्दैछु, त्यतिवेला हामी एउटा गम्भीर बहसमा छौँ । लगातार रूपमा आएका एसिडकाण्ड र बलात्कारजस्ता घटना घटेपछि छोरीको सुरक्षाको बहस सुरु भएको छ । यो नयाँ हिंसा होइन, केवल यतिवेला पुनः यसको स्वरूप नयाँ भएको छ ।

हामीले पौराणिक कथामा सुनेका देवीहरू यतिवेला अमुक पात्र भएका छन् । त्यति वेलाको मातृसत्ता किन यसरी पुरुषसत्तामा परिवर्तन भयो, यसभित्र थुप्रै तह र विषयवस्तु छन् । म यसको गहिराइमा पुगेको छैन । मलाई लाग्छ, सुरुमा लिङ्गका आधारमा मानिसलाई पुरुष र महिला भनियो,तर बिस्तारै यो एउटा सोचको रूपमा विकसित भएर गयो । समाजभित्र आएका विभिन्न शक्ति–सङ्घर्ष, विभेद, यसको विकासक्रममा भएका सामाजिक सोच निर्माणले नै ‘पुरुष’र ‘महिला’लाई एउटा सोचको रूपमा विकसित ग¥यो ।पुरुष सोच आफैँमा नराम्रो होइन । तर, यो सोचले जब गलत शक्तिको रूपमा आफूलाई प्रयोग गर्छ, तब यो सोचभित्रको सुन्दरता हराएर जान्छ ।

विज्ञापन

अमोहा,

जगत् सञ्चालनका लागि लोकमा महिलाको स्थान सधैँं निर्विकल्प र विशिष्ट छ । प्रजनन प्रक्रियाभित्र महिलाले पाएको गर्भधारण क्षमता र स्तनपान गराउने क्षमता नै विशिष्ट क्षमता हुन् । स्पष्ट रूपमा भन्नुपर्दा योनी र स्तनका कारण महिला आर्यमाताको स्थानमा छिन् । योनी यस्तो द्वार हो, जहाँबाट प्रत्येक व्यक्तिका लागि यो जगतको द्वार खुल्छ । अनि स्तनपान यस्तो व्यवस्था हो, जहाँबाट प्रत्येक व्यक्तिले आफूलाई यो जगतका लागि तयार गर्छ । यो सत्य आकाशका सूर्य–ताराभन्दा ठूलो सत्य हो । तर, हामीले यो सत्यको लडाइँ निरन्तर लड्नुपरेको छ । त्यही योनी र स्तनको कारण आज महिला कमजोर हुन् भन्ने मानसिकता विकसित भएको छ । जुन योनी र स्तनकै कारण मानव यो घर्तीमा उभिनलायक हुन्छ, त्यही विषय कसरी कमजोरी बन्छ ? यो प्रश्न प्रश्नभित्रकै जटिल गुजुल्टो हो ।

लैङ्गिक लडाइँ महिला र पुरुषबीचको लडाइँ होइन, यो त आइमाईको आत्मसम्मान फर्काउन पुरुष सोचसित गरिएको लडाइँ हो । योनी र स्तनको विशिष्टता फर्काउन आर्यमाताको तर्फबाट तिमी–हामीले लड्ने लडाइँ हो ।

यतिवेला सडकमा देखिएको जुलुस न्याय र कानुनको लडाइँ हो । यसले आत्मसम्मानको छत निर्माण गर्ला । तर, जग निर्माणको सुरुवात त घरबाटै हुनुपर्छ ।

डा. विजय ज्ञवाली

स्त्रीत्व र पुरुषत्व आफैँमा सुन्दर विषयवस्तु हुन् । प्रत्येक पुरुषमा केही अंश स्त्रीत्व हुन्छ । त्यसैगरी प्रत्येक महिलामा केही अंश पुरुषत्व हुन्छ । पुरुष र महिला लिङ्गको वर्गीकरण हो । तर, पुरुषत्व र स्त्रीत्व सोचको वर्गीकरण हो । तिमी महिलामा पुरुषत्व र पुरुषमा स्त्रीत्व सजिलै भेट्न सक्छ्यौ । यो संयोजनले नै मानव जीवनभित्रको सुन्दरता बोकेको छ ।

जब पुरुषले आफूभित्रको नारीत्व लुकाउने प्रयास गर्छ, तब ऊ कुरूप बन्न थाल्छ । पुरुषत्व आफैँमा कुरूप छैन । तर, लुकाउने प्रयासले उसलाई कुरूप बनाइदिन्छ । जब पुरुष आफूलाई पुरुषबाट बहादुर, मर्द र निडर साबित गर्न लालायित हुन्छ, तब ऊ कुरूप देखिन थाल्छ । उसका विचारका नङ्ग्रा लामो र तिखो हुन थाल्छन् । ऊ पुरुषलाई विशिष्ट ठान्न थाल्छ । उसको कर्तव्य र कर्मलाई ऊ त्यही विशिष्टताको कारण सम्भव भएको ठान्न थाल्छ । अनि ऊ विभिन्न रूपमा हिंसा गर्न थाल्छ ।

कहिलेकाहीँ महिलामा पनि पुरुषत्व हाबी बनिदिन्छ ।पुरुषत्वको निर्माण समाजको सोचले गर्छ र यसप्रतिको अपेक्षा पनि समाजले नै निर्माण गर्छ । यी दुवै तङ्खव आफैँमा कमजोर छैनन् । तर, यसप्रतिका अपेक्षा तिमी बस्ने समाजले यसरी निर्माण गरिदिन्छ कि कुनैवेला स्त्रीत्व पुरुषत्वभन्दा कमजोर भएको भ्रम पर्छ । यो भ्रमको आधारमा समाजले कर्म विभाजन गरिदिन्छ । हाम्रा काम र कर्तव्यलाई समाजले लैङ्गिक विभाजन गरिदिन्छ । जुन कुराले समाजभित्रको लैङ्गिक विभेद अझ बढी भएर जान्छ ।

तिमी मलाई सोध, सुन्दरता के हो ? मलाई लाग्छ– महिलामा हुने पुरुषत्व र पुरुषमा हुने स्त्रीत्व नै सुन्दरता हो, जसले यो सृष्टिको निर्माण ग¥यो । सृष्टिको सर्जकलाई मान्छेहरू ढुङ्गाजस्तो लाग्यो होला । एकदम निर्जीव बाँसका जरैजराजस्तो देख्यो होला । त्यसैले उसले पुरुषत्व र स्त्रीत्वको निर्माण ग¥यो होला । यसको निर्माणसँगै मान्छेहरू सुन्दर देखिन थाले । पछि लिङ्गको आधारमा पुरुष र स्त्रीको रूपमा हामीलाई विभाजन गरियो । कर्म, कर्तव्य, संस्कार र धर्म वा अरू विभिन्न नाममा पछि समाजले पुरुष र स्त्रीलाई अझ विभाजन गर्दै आयो । कति विभाजन न्यायसङ्गत थिए होलान्, कति अन्यायपूर्ण । यो सुन्दर रचनामा थुप्रै न्याय र अन्यायका बहस भएका छन् । किनकि मान्छेहरूले एउटा मात्र गुण बोकेर हिँड्न खोजे । अर्को गुण लुकाउने प्रयासमा उनीहरू बाँसका ठुटाजस्ता लाग्न थाले ।

तिमी जैविक लिङ्गले स्त्री हौ । यसको अर्थ यो होइन कि तिमीमा स्त्रीत्व मात्र छ । तिमीभित्र पुरुषत्व पनि छ । यी दुवै गुणले तिमी सुन्दर भएकी छ्यौ । सुन्दरता यही हो । यी दुवै गुण बोकेका मान्छेहरूभन्दा सुन्दर अरू केही हुन्छ जस्तो मलाई लाग्दैन । यी दुवै गुण बोकेर बाँच, तिमीभन्दा सुन्दर अरू को देखिएला र ?

अमोहा,

म बाबु हुँ । तर, पुरुष पनि हुँ भनिरहनु पर्दैन होला । मलाई यो भनिरहँदा दुःख लाग्छ, शायद तिम्रो पहिलो लडाइँ मेरो सोचसित हुनेछ । जुन सोचका साथ म यहाँसम्म आएको छु, शायद त्यहाँभित्र पनि थुप्रै खोट छन् । ती खोटसित मलाई परिचित गराउनु तिम्रो जित हुनेछ ।

– बुवा

 

मजस्तो नबन्नू

प्रिय अमोहा,

मलाई आज एकजना बुवाले आफ्नो छोराको बारेमा सुनाए । आफ्नो छोरा अलि गलत बाटोमा गएको र उसको सङ्गत राम्रो नभएकोमा चिन्ता व्यक्त गरे । उनको चिन्ता अब छोरालाई कसरी राम्रो बाटोमा लग्ने भन्ने थियो ।

मैले सोधेँ– तपाईं छोरालाई कस्तो बनाउन चाहनुहुन्छ ? उनले केही आशा गरिएको व्यवहार र छोराप्रतिको आफ्नो आकाङ्क्षाको बारेमा भने । उनका कुरा सुनिसकेपछि मैले फेरि सोधँे, तपाईंले भनेको जस्तो तपाईं हुनुहुन्छ ? मेरो प्रश्न सुनेर केही पल उनी अनुत्तरित भए ।

हो, उनी आफ्नो छोरामा ती गुण खोज्थे, जुन गुण उनीमा पनि थिएन । मेरो प्रश्नपछि उनी केही भावुक र मौन भए । म उनलाई अप्ठ्यारो पार्न चाहन्नथिएँ । म केवल यत्ति भन्न चाहन्थेँ– यदि हामी अरूलाई परिवर्तन गर्न चाहन्छौँ भने ती गुण आफूमा पनि परिवर्तन गर्न जरुरी छ । किनकि यदि त्यो आफ्ना लागि असम्भव छ भने अरूबाट पनि त्यो सम्भव हुने आशा गर्नु बेकार हो ।

ती बावुले छोराप्रति गरेको आशा, आकाङ्क्षा शायद छोराको रुचिभन्दा परका विषयवस्तु थिए । र, कतिपय छोराको क्षमताभन्दा ठूला कुरा पनि हुन सक्थे । कुराकानीकै उनले यो पनि बताए, छोरा हुर्काउने क्रममा आफूले प्रशस्त समय नदिएको । जसको कारण छोरासित बढी नजिक हुन नसकेको उनले स्वीकार गरे । यसलाई उनले आफ्नो गल्तीको रूपमा स्वीकार गरे । उनमा केही पश्चात्ताप पनि थियो । उनले छोरा गलत बाटोमा जानुमा आफूलाई पनि दोषी माने । तर, मेरो उद्देश्य उनलाई पश्चात्तापमा पार्नु थिएन ।

छोराछोरी हुर्काउनु सजिलो विषयवस्तु होइन । राम्रो अभिभावक कसरी बन्ने भन्ने विषयभित्र थुप्रै अप्ठ्याराहरू छन् । ती बुवासँगको यो चर्चा मेरा लागि पनि सिकाइ थियो ।

अभिभावकले सन्तानसँग अपेक्षा राख्नु र सन्तानले पनि अभिभावकसँग अपेक्षा गर्नु कुनै अपराध होइन । तर, यो प्रष्ट हुनुपर्छ कि अपेक्षा र दबाव फरक विषयवस्तु हुन् । अपेक्षा राख्नु भनेको त्यसका निम्ति वातावरण बनाउनु हो ।

कुनै पनि बाबुआमाले ‘मेरो सन्तान यस्तो हुनुपर्छ’ भन्ने सोचाइ राख्नुलाई नकारात्मक मान्न सकिँदैन । तर, बाबुआमाले त्यसका निम्ति छोराछोरीको इच्छा र क्षमताको बारेमा जानकारी राख्नु राम्रो हुन्छ । सन्तानमा परिवर्तन देख्नुपहिला त्यसको सुरुवात आफैँबाट गर्नुपर्छ । ती बाबुले अपेक्षा गरे तर त्यसको सुरुवात आफूबाटै गरेनन् ।

अमोहा,

मलाई लाग्छ,म आफैँमा पूर्ण व्यक्ति होइन । मेरो जीवन सफल जीवनजस्तो पनि लाग्दैन । वास्तवमा सफलता र असफलता मापन गर्नेसम्मको पनि म भइसकेको छैन । फेरि सफलता र असफलताको मापनको आधार के हो ? यो प्रश्न मेरा लागि अझै पनि अनुत्तरित छ ।

सफलता आँखाले देखिने कुरा हो या केवल अनुभूति गर्न मिल्ने कुरा हो ? यसको मापनकर्ता व्यक्ति स्वयं हो कि अरू कोही अथवा समाज हो ? कुन उमेर पुगेपछि अथवा कुन लक्ष्यमा पुगेपछि यसको मापन गर्न सकिन्छ ?यस्ता प्रश्न मेरो मनमा पटक–पटक आउछन् । अहिले यतिवेला जीवनसम्बन्धी मेरो एउटै स्थिर बुझाइ के छ भने यहाँ जन्म र मृत्युबाहेक अरू सबै अस्थायी छ । जीवनमाजन्म र मृत्युबाहेकका जे जति नियम हामी बनाउछौँ,तीएक पलमा भत्किन सक्छन् । जीवन भोगाइ हो, तसर्थ यसको भोगाइ जसरी पनि गर्नुपर्छ । यो यात्रा हो । आखिरमा सबैको गन्तव्य यही माटो हो ।

यो जीवन–यात्रामा तिमीसँग कोही न कोही रहन्छ । आज हामी छौँ भोलि अरू कोही हुनेछ । तर यो यात्रा सामुहिकभन्दा पनि तिम्रो व्यक्तिगत यात्रा हो । बीचमा भेटिएका सहयात्री कहिलेसम्म सँगै हुन्छन्, त्यो सधैँ अनुत्तरित प्रश्न हो । तिमी सधैँ समर्थक र आलोचकको भीडमा भएको अनुभूति गर्नेछौ तर यो केवल तिम्रो एकल यात्रा हो । जन्म र मृत्युको बीचमा भेटिने सबै सहयात्री तिम्रा अस्थायी सहयात्री हुन् । एक दिन उनीहरूले तिमीलाई छोड्नेछन् अथवा तिमीले उनीहरूलाई छोड्नेछ्यौ । हेर्दा यो सामुहिक लागे तापनि सत्यता यही हो कि यो तिम्रो एकल यात्रा हो ।

जीवनमा प्रत्येक पल हाम्रा लागि ताली बजाउने मान्छेहरू हुँदैनन् । किनकि हाम्रा सबै काम तालीका लागि योग्य हुँदैनन् । जीवनमा थोरै मात्रै यस्ता पल र कार्य हुन्छन्, जसका लागि हामी ताली पाउछौँ । बस्, ती पलहरू सम्झनामा राख्नुपर्छ किनकि ती अद्भुत शक्तिको रूपमा पटक–पटक काम लाग्छन् ।

तिम्रा लागि बजेका तालीको ध्वनि तिमी ध्यान दिएर सुन । त्यो तालीभित्रको सङ्गीतलाई महसुस गर । त्यो तिम्रा लागि बजेको सङ्गीत हो । किनकि बजाउनेले त्यो केही दिनमा बिर्सिन्छ । यदि तिमीले पनि बिर्सेमा त्यो यही वायुमण्डलमा विलीन भएर जान्छ । यदि तिमीले त्यो तालीभित्रको सङ्गीतलाई बचाइराख्यौ भने जब तिम्रा लगातार असफल प्रयासमा मान्छेहरू ताली बजाउन छाड्छन्, ती पल त्यो सङ्गीतले तिम्रो ओठमा मुस्कानलाई जीवित राख्नेछन् । त्यो सङ्गीतको तालमा तिम्रो हातखुट्टा सल्बलाउने छन् ।

हामी जीवनमा सधैँ प्रशंसकहरूको भीडमा हुन्छौ भन्ने हुँदैन । जीवनका धेरै सत्यमध्ये एउटा सत्य के हो भने प्रशंसकभन्दा आलोचकहरू धेरै रचनात्मक हुन्छन् । उनीहरू यति शिल्पी हुन्छन् कि परिआयो भने उनीहरू तोरीको गेडामा समेत प्वाल पार्न सक्छन् । प्रशंसा गर्न खासै मिहिनेत गर्नु पर्दैन । आलोचना गर्न मिहिनेत गर्नुपर्छ । उनीहरू माइक्रोस्कोपिक हुन्छन् ।लेख्छन्, मेट्छन् अनि फेरि लेख्छन् । उनीहरू धैर्यवान् पनि हुन्छन् किनकि उनीहरू आफ्नो आलोचनाको प्रतिक्रिया के आउछ भनी कुरेर पनि बस्छन् । यो निरन्तर चल्न थाल्छ । यो बानी बन्न थाल्छ । प्रतिक्रियाको आशमा जब उनीहरू बेचैन हुन थाल्छन्,अनि अगाडि बढ्न सक्दैनन् । त्यसपछि त्यो रोग बन्छ । यस्ता शिल्पी आलोचकको बीचमा हिँड्न तिमीले तिम्रा राम्राकाम र उद्देश्यमा बजेका ताली सधैँ सम्झिनुपर्छ ।

आलोचकको  भीडमा तिमी अल्झियौ भने तिम्रो यात्रा बिथोलिनेछ । तिमी यात्रामा अल्मलिनेछौ । आलोचना र प्रशंसा दुवैको आयु छोटो हुन्छ । तसर्थ यिनलाई नकारात्मक वा सकारात्मक रूपमा भन्दा पनि अनुभवको रूपमा लिन जरुरी छ ।

मलाई आज लाग्छ– यो वायुमण्डलमा हावा मात्र छैन, यसमा हाम्रो सोच, भावना, बुझाइपनि तैरिरहेको छ । मैले मेरो घरको वायुमण्डलमा राम्रा कुरा राखे तिमीले राम्रा कुरा पाउँछ्यौ र नराम्रा कुरा राखे नराम्रा कुरानै पाउँछ्यौ होला । यो घरको वायुमण्डल धुमिल पारेर मैले तिमीबाट सफा कुरा खोजेँ भने म कसरी पाउँला र ? मैले तिमीसित अपेक्षा राख्नुअघि म ती अपेक्षाको नजिक पुग्नुपर्छ । तिम्रो रुचि, इच्छा र क्षमतासित मेरा अपेक्षा मेल खानुपर्छ । नत्र ती अपेक्षाले मलाई निराशा मात्र दिन्छन् । अनि तिमीलाई पनि निरस बनाउँछ । हामी बीचको दूरी बढेर जान्छ । तसर्थ मेरा अपेक्षा केवल तिम्रो सोच, भावना र क्षमताको समानान्तर हुनुपर्छ ।

म अल्छी छु भने अब तिमीबाट मैले जाँगरको अपेक्षा किन गर्नु ? सन्तान भनेका अभिभावकका सपना पूरा गर्ने माध्यम होइनन् । हामीले तिमीलाई त्यहीँसम्म डो¥याउने हो, जहाँसम्म हामी सक्छौँ र तिमी चाहन्छ्यौ । त्यसपछिको बाटो तिमी आफैँले तय गर्ने हो । यो यात्रा तिम्रो हो ।

म कहिल्यै पनि भन्न सक्दिनँ, तिमी मजस्तो बन्नू भनेर । तर, तिमी मजस्तो नबन्नू । मेरा सपना मेरा हुन् र तिम्रा सपना तिम्रा हुनेछन् । म मेरा सपना तिमीले बोक्नुपर्छ भन्ने रत्तिभर सोच्दिनँ । सपनाको भागबण्डा पनि मलाई मञ्जुर छैन । तिमी नयाँ सपना देख र मलाई ती सपनाको बारेमा बुझाऊ । तिमीलाई लाग्ला, म तिमीलाई स्वतन्त्रता दिँदैछु । तर, त्यस्तो होइन ।

अमोहा,

वास्तवमा म मेरो स्वतन्त्रताको रक्षा गर्दैछु । तर, तिम्रा लागि उचित वातावरण दिनुमा मेरो प्रयास सदैव हुनेछ । मलाई स्मरण हुनेछ कि अहिलेलाई घरको वायुमण्डल सफा राख्ने जिम्मा मेरो हो ।

– बुवा

 

मस्तिष्क

प्रिय अमोहा,

हिजो मैले तिम्रा लागि केही लेखिनँ । वास्तवमा मसित लेख्ने विषयवस्तु नै भएन । मस्तिष्कमा शून्यता छाएजस्तो भयो ।

शून्यता कहिलेकाहीँ अनौठो हुन्छ । हिजो मैले आफूलाई आफैँभित्र हराएजस्तो महसुस गरेँ । मेरो बुझाइमा मस्तिष्कका तीनवटा महङ्खवपूर्ण काम हुन्छन् । पहिलो, यसले विभिन्न स्रोतबाट लिने काम गर्छ । दोस्रो, यसले स्टोर अथवा भण्डारण गर्ने काम गर्छ । र, तेस्रोमा यसले आवश्यकता अनुसार दिने वा फाल्ने काम गर्छ । यी तीन गतिविधिमध्ये कुनै पनि भएन भने मस्तिष्कमा शून्यता छाउँछ । शून्यतासित सम्बन्धित मेरो मान्यता यही हो । हाम्रा ज्ञानेन्द्रीयहरूले मस्तिष्कलाई सधैँ सक्रिय राख्छन् । ज्ञानेन्द्रीय र मस्तिष्कको तालमेल नमिल्दा शून्यता छाएको अनुभूति हुन्छ ।

यी मस्तिष्कका तीन प्रक्रिया लिने, राख्ने र दिनेलाई तिमीले गहिरिएर सोच्ने प्रयास ग¥यौ भने एउटा महङ्खवपूर्ण कुरा प्रष्ट हुनेछ । त्यो के भने यी तीनवटैप्रक्रिया तिम्रो आफ्नो नियन्त्रणमा हुन्छन् । अर्थात् के लिने के नलिने त्यो तिम्रो इच्छा, के राख्ने के नराख्ने त्यो तिम्रो इच्छा र के दिने के नदिने त्यो पनि तिम्रो इच्छामा निर्भर हुन्छ । तिमी मस्तिष्कको नियन्त्रणमा होइन, मस्तिष्क तिम्रो नियन्त्रणमा छ । तर, पक्कै पनि यी तीनवटा प्रक्रियामा अभ्यास जरुरी छ । निरन्तर अभ्यासले बल्ल यी कुरामा हाम्रो नियन्त्रण हुन्छ ।

मानव शरीर आफैँमा बडो जटिल विषयवस्तु हो । विभिन्न प्रणालीको समुचित सञ्चालनले यो अनवरत रूपमा चल्छ । यसमध्ये एउटा महङ्खवपूर्ण अङ्ग हाम्रो मस्तिष्क पनि हो । मैले पटक–पटक व्यक्तिहरूले राम्रो मस्तिष्क र नराम्रो मस्तिष्क भनेर वर्गीकरण गरेको पनि सुनेको छु । यो वर्गीकरणको आधार के हो, म बुझ्न सक्दिनँ ! तर म यो कुरामा सहमत छैन । मलाई लाग्छ, स्मरणशक्ति वा मस्तिष्क राम्रो र नराम्रो भन्ने हुँदैन । यो केवल तालिम प्राप्त (प्रशिक्षित) र तालिम अप्राप्त (अप्रशिक्षित) भन्ने मात्र हुन्छ । यसका कतिपय कार्यसम्पादन स्वचालित हुन्छन् । जुन तिम्रो नियन्त्रणमा नहोलान् तर तिम्रो अभ्यासले यसमाथि धेरै हदसम्म तिम्रो नियन्त्रण सम्भव छ ।

मस्तिष्कको प्रयोग यसको प्रशिक्षणमा भर पर्छ । तिमीले भोलि-पर्सि सुरु गर्ने स्कुल त्यही एउटा प्रशिक्षणको एउटा पाटो हो । तर, सबै कुरा स्कुलमा सम्भव छैन । तिम्रो परिवार, समाज, साथीभाइ सबै तिम्रो मस्तिष्कका प्रशिक्षक हुन् ।

तिमीले हेरेर, पढेर, महसुस गरेर र अनुभव लिएर विभिन्न माध्यममार्फत् प्रशिक्षण लिनेछ्यौ । केही सिक्न प्रत्येक दिन ठूलो झोला बोकेर तिमी स्कूल जानेछ्यौ । मलाई यो एकदम ‘बोरिङ’ लाग्छ तर शायद तिमीलाई यो रमाइलो लाग्ला । म केही भन्न सक्दिनँ । यो सबै हामीले मस्तिष्कको प्रशिक्षणका लागि गर्नुपर्छ ।

मस्तिष्कको परिधि कहाँसम्म हुन्छ, मलाई थाहा छैन । तर, मलाई लाग्छ, यो अनन्त छ । तिमी जति तालिम लिन्छ्यौ, त्यति यसको क्षमता बढेर जान्छ । जब यो थाक्छ, तिमीले यसलाई विश्राम दिनुपर्छ ।

तिम्रो मस्तिष्कको अर्को प्रशिक्षक समय पनि हो । समयसँग तिमीले धेरै सिक्नेछ्यौ । यो समयमध्ये केही समय म तिमीसँग हुनेछु । बाँकी समय तिमी एक्लै हुनेछ्यौ । केही कुरा तिमीले हामीबाट पनि सिक्नेछ्यौ । बस्, तिमीले बुझ्नुपर्ने अहिले यत्ति छ– मस्तिष्क राम्रो र नराम्रो भन्ने हुँदैन ।

आज म तिमीलाई मेरो एउटा रमाइलो अनुभव सुनाउँछु । म केटाकेटी हुँदा हाम्रो घर नजिकको जङ्गलमा एउटा चरो कराउँथ्यो– काफल पाक्यो, काफल पाक्यो भनेर । काफल नहुने त्यो तराईको जङ्गलमा त्यो चरो किन काफल पाक्यो भन्थ्यो ? म आजकल बुझ्दै छु– वास्तवमा त्यो चरो काफल पाक्यो नभनेर निश्चित स्वरमा कराउँथ्यो । हामीले केटाकेटीदेखि ‘त्यो काफल पाक्यो भन्छ’ भनेर हाम्रो मस्तिष्कलाई तालिम दिएका थियौँ वा त्यो विश्वासमा थियौँ । जसको कारण हामी त्यो आवाज काफल पाक्यो, काफल पाक्यो भनेर सुन्ने गथ्र्यौं । मनमा दोहो¥याउने शब्द नै ध्वनिमार्फत् मस्तिष्कसम्म पुग्ने गथ्र्यो ।

अमोहा, 

मानिस जे सुन्न चाहन्छ र जे बुझ्न चाहन्छ त्यही मात्र सुन्ने र बुझ्ने खुबी राख्छ । यो गुण मलाई रोचक लाग्छ । त्यही गुणका कारण हामी उक्त चरोले काफल पाक्यो भनेर भन्यो भन्ने विश्वास गथ्र्यौं र त्यही सुन्ने गथ्र्यौं । वास्तवमा काफल जङ्गलमा होइन, हाम्रो मस्तिष्कमा पाकेको रहेछ ।

यो कुराले म अझ प्रष्ट भएँ । मस्तिष्क अलौकिक विषयवस्तु होइन, यो प्रशस्त अभ्यास चाहिने अङ्ग हो । जसको रोचकता तिमीले पनि पछि महसुस गर्नेछ्यौ ।

– बुवा

बाल मनोविज्ञ डा. विजय ज्ञवालीद्वारा लिखित ‘अमोहा’को पुस्तक अंश । बुवा र छोरीको सम्बन्धबारे लेखिएको यो पुस्तक हालै प्रकासित भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार