होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र ५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संयुक्त आन्दोलनमा जान तीन दलबीच एकअर्कालाई ‘कन्भिन्स’ गर्ने प्रयास
समाचार

संयुक्त आन्दोलनमा जान तीन दलबीच एकअर्कालाई ‘कन्भिन्स’ गर्ने प्रयास

  • नागरिक रैबार
संयुक्त आन्दोलनमा जान तीन दलबीच एकअर्कालाई ‘कन्भिन्स’ गर्ने प्रयास

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको चरणवद्ध आन्दोलन सकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले छुट्टाछुट्टै गरेको चरणवद्ध आन्दोलन सम्पन्न भएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध आगामी कदम कस्तो हुने भन्नेबारे ती दलहरु आन्तरिक छलफलमा जुटेका छन् । यस क्रममा आगामी आन्दोलन संयुक्तरुपमा गर्ने प्रयासस्वरुप दलहरु आन्तरिक छलफल गरिरहेका छन् । यस्तै त्यसका लागि दलका नेताहरु एकअर्कालाई ‘कन्भिन्स’ गर्ने प्रयासमा समेत लागेका छन् । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको विषयमा तीनवटै दलभित्र फरक धारणा देखिएका कारण संयुक्त आन्दोलन हुने सम्भावना निकै कम रहेको धेरैको बुझाइ छ ।

तीन दलबीच मतभिन्नता
प्रतिनिधिसभा पुनःस्थापना कि निर्वाचन भन्ने विषयमा जनता समाजवादी पार्टी नेपाल र नेपाली काँग्रेसबीच फरक धारणा छ भने नेकपा (प्रचण्ड–माधव समूह) प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा दृढ छ । जसपा नेपालमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरु प्रतिनिधिसभा पुनःस्थापनामा विशेष जोड दिइरहेका छन् भने सोही पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर नेताहरु सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै अघि बढ्नुपर्ने पक्षमा छन् ।

विज्ञापन

त्यस्तै, नेपाली काँग्रेसमा पनि पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरु चुनावको तयारीमा लाग्नुपर्ने भन्दै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले प्रतिनिधिसभा पुनःस्थापनामात्र एक विकल्प रहेको भन्दै आएका छन् ।

बाबुरामको प्रयास
यसरी तीन दलमै फरक फरक धारणा आएको हुनाले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलन हुने सम्भावना निकै कम देखिएको छ । यद्यपि जसपा नेपालको तर्फबाट संघीय परिषदका अध्यक्ष भट्टराई र नेकपा अध्यक्ष प्रचण्डले संयुक्त आन्दोलन (जनआन्दोलन) का लागि प्रयास गरिरहेका छन् । बिहीबार अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष भट्टराईबीच यसै विषयमा केन्द्रित रहेर छलफल भएको छ ।

 

परिषद्का अध्यक्ष भट्टराईले भने, ‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ । यसैक्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप पूर्व प्रम र दलका नेताहरू शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हुँ । गर्दै रहनेछु ।’

प्रधानमन्त्री ओलीको कदमविरुद्ध काँग्रेस, प्रचण्ड–माधव समूहको नेकपा र जसपाको एक्ला एक्लै जनप्रदर्शन राम्रै देखिएको उल्लेख गर्दै उनले तर आ–आफ्ना ऐनामा मक्ख नपर्न आग्रह गरेका छन् । उनले आफ्नो ट्वीटरमा भनेका छन्, ‘आम जनताको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्री–बाहिरी सेटिङलाई कम नआँकौं, एक्ला एक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चढ्ने ? सोचौं ।’

बाबुरामकै पार्टीमा फरकमत
यसरी संयुक्त संघर्षको प्रयासमा लागेका भट्टराईकै पार्टीमा यस विषयमा फरक धारणा आइरहेका छन् । अध्यक्ष महन्थ ठाकुर पक्षले मधेश, आदिवासी, जनजातिका लागि ओली र प्रचण्ड उस्तै उस्तै रहेको निष्कर्ष निकालेको छ । मधेश, आदिवासी जनजातिका लागि उनीहरु कहिल्यै सकारात्मक नरहेको हुनाले संयुृक्त संघर्षमा जानुभन्दा पहिले धेरै कुरामा स्पष्ट हुन आवश्यक रहेको सो पक्षको भनाइ छ ।

 

जसपा नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले संयुक्त संघर्षमा जानुभन्दा पहिले संविधान संशोधनको विषयमा सामूहिक प्रतिवद्धता आउनुपर्ने बताए । काँग्रेस र कम्युनिस्ट कहिल्यै पनि मधेशीका लागि संविधान संशोधन गर्न सकारात्मक नभएको उनको भनाइ छ । ‘हाम्रोलागि दुवै दल उस्तै हो, त्यसैले संयुक्त संघर्षमा जानुभन्दा पहिले यी कुराहरुमा क्लियर हुनुपर्छ,’ उनले भने, ‘प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ, त्यसले गर्ने निर्णयको बारेमा पनि ती दलहरु स्पष्ट हुनुपर्छ । सर्वोच्च अदालतको निर्णय न्यायसम्मत आउने कुरामा विश्वस्त छौं तर यदि सोचेकोभन्दा फरक निर्णय आयो भने के गर्ने भन्ने विषयमा पनि स्पष्ट हुनुपर्छ ।’

नेकपा छैन विश्वस्त
यता, प्रचण्ड–माधव समूहको नेकपा पनि संयुक्त आन्दोलन हुनेमा स्पष्ट छैन । जसपा र नेपाली काँग्रेसको कुरा फरक फरक आइरहेको कारण त्यति सजिलो संयुक्त आन्दोलन हुनेमा सो पार्टी विश्वस्त नरहेको हो । प्रचण्ड–माधव समूहको नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले संयुक्त आन्दोलन आवश्यक भए पनि छिट्टै भइहाल्ने अवस्था नरहेको बताए ।

उनले भने, ‘संयुक्त आन्दोलन हुनुपर्छ तर एकैपटक हुँदैन, त्यो विस्तारै उठ्ने चिज हो, दलहरुको बीचमा कुरा गर्दै गर्नुपर्छ, आन्दोलनहरु गरिरहनु पर्छ, विभिन्न असहमतिका विषयमा कुरालाई अगाडि बढाउँदै लग्नुपर्छ । जुनदिन कुरा मिल्छ, त्यो दिन कसैले भन्नै पर्दैन, जनआन्दोलन आफै सुरु हुन्छ ।’

 

संयुक्त आन्दोलन गर्ने कुरामा जसपा नेपालसँग करिब करिब कुरा मिलेको बताउँदै उनले काँग्रेससँग यस विषयमा आन्तरिक रुपमा कुराकानी भइरहेको जानकारी दिए । काँग्रेसमा प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा फरक फरक धारणा आइरहेको भन्दै उनले त्यो कुरामा स्पष्ट हुनका लागि विभिन्न तहमा कुराकानी भइरहेको बताए । तीनवटै दल एक हुनुको विकल्प नरहेको बताउँदै नेता भुसालले ढिलोचाँडो संयुक्त आन्दोलन नै हुने र प्रधानमन्त्री ओलीको प्रतिगामी कदमलाई सच्याइने बताए ।

काँग्रेस बैठकको प्रतीक्षा

यता, आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे काँग्रेसले केन्द्रीय समितिको बैठकबाट निर्णय गर्ने भएको छ । माघ १३ गते काँग्रेस पार्टीको केन्द्रीय समितिको बैठक बस्दैछ । सो बैठकले मात्र आगामी रणनीति तय गर्ने सो पार्टीका नेता आनन्द ढुंगानाले बताए ।

काँग्रेसले विभिन्न चरणको आन्दोलन सम्पन्न गरेको छ । प्रधानमन्त्री ओलीको कदमको विरोधका लागि चलाएको आन्दोलन माघ ८ गते सकिएको छ । आगामी दिनको आन्दोलन कस्तो हुने, संयुक्त गर्ने कि एक्लाएक्लै गर्ने या चुनावमै जाने लगायतको विषयमा विस्तृत छलफल हुने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार