होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ११, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाज
  • राज्यसँग चामल माग्न हुम्लाबाट काठमाडौंतिर
समाज

राज्यसँग चामल माग्न हुम्लाबाट काठमाडौंतिर

  • नागरिक रैबार
राज्यसँग चामल माग्न हुम्लाबाट काठमाडौंतिर

तस्बिरमा देखिएको लस्कर हिमाल आरोहीहरूको होइन, गाउँमा भोकमरी हुने भएपछि राज्यसँग चामल माग्न हिँडेका हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दाको हो । आलु र उवा मात्रै उत्पादन हुने चीनसँग जोडिएको यो गाउँका बासिन्दा पाँच हजार मिटर अग्लो न्यालुलेक पहाडमा तीन फिट जमेको हिउँमा पाँच दिन हिँडेर शनिबार सदरमुकाम सिमकोट पुगेका छन् । ‘जिल्लामै चामल छैन’ भन्ने हुम्लाका सिडिओको जवाफले थप निराश बनेका उनीहरू सिंहदरबारलाई गुहार्न सोमबार काठमाडौं आउँदै छन् ।

लिमीका तीन गाउँ तिल, जाङ र हल्जीमा गत वर्षदेखि राज्यले चामल पठाएको छैन । स्थानीय उत्पादन आलु र उवाले दुई–तीन महिना मात्र धान्छ । चीनबाट हिल्सा नाका हुँदै मैदा ल्याएर पनि स्थानीयले जीवन चलाउँथे । तर, कोरोना महामारीका कारण नाका बन्द गरिएपछि गाउँमा खाद्यान्नको थप संकट भयो । अहिले भोकमरी नै हुने भएपछि तीन गाउँका बासिन्दाको बैठकले सदरमुकाम र सिंहदरबारको सरकारलाई गुहार्न वडाध्यक्षको नेतृत्वमा टोली नै पठाएको छ ।

‘खाद्यबाट पोहोर लिएको अलिकति चामल र उवाको सातु खाएर गाउँलेले केही समय गुजारा गरे । तर, त्यसपछि धान्न गाह्रो भयो । अहिले त भोकमरी नै हुने अवस्था आयो,’ शनिबार सदरमुकाम सिमकोट पुगेका नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङले नयाँ पत्रिकासँग भने, ‘आफ्ना नागरिकलाई खान नदिएर भोकै मार्छौ कि चामलको व्यवस्था गर्छौ भनेर सरकारलाई सोध्छौँ ।’

विज्ञापन

गाउँबाट सदरमुकाम पुग्न पनि उनीहरूले कम्ती सास्ती बेहोरेनन् । तीन फिट हिउँ जमेको न्यालुलेक पार गर्न कठिनाइ भएपछि टोलीका केही सदस्य दुई फिट हिउँ जमेको छेउको नारालेक हुँदै सदरमुकाम पुगेका छन् । ‘भोकभन्दा ठूलो केही नहुने रहेछ, हिउँले सेताम्मे पहाडमा बाटो कता हो भन्नेसमेत थाहा पाइँदैनथ्यो । ज्यान जोखिममा राखेर बाटो बनाउँदै पाँच दिन हिँडेर बल्लतल्ल सदरमुकाम आइपुग्यौँ,’ जाङका नुर्बु तामाङले भने ।

टोलीमा तीनै गाउँका ३० जना छन् । वडाध्यक्ष तामाङसहित तीन–चारजना हुम्लाका सांसद छक्कबहादुर लामासँगै सिंहदरबारलाई पीडा सुनाउन काठमाडौं जाँदै छन् । सिमकोट पुगेका स्थानीय सिडिओ गणेश आचार्यको जवाफबाट थप निरास बनेका छन् । ‘सिडिओलाई भेटेर समस्या सुनायौँ । तर, उहाँ उल्टै दुःख सुनाउनुभयो,’ वडाध्यक्ष तामाङले भने, ‘गाउँमा खाद्यान्नको समस्या रहेको थाहा पाएको छु, तर सदरमुकामस्थित डिपोमै चामल छैन, कहाँबाट पठाऊँ भनेर सुनाउनुभयो ।’ सिमकोटस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाम रित्तै रहेको जवाफ पाएको उनले बताए ।

डेढ सय घरधुरी रहेका यी तीन गाउँमा विगतमा खाद्य कम्पनीले हिल्सा नाका हुँदै चीनतर्फबाट खाद्यान्न ढुवानी गथ्र्यो । चीनबाट मैदा पनि आउँथ्यो । तर, कोरोना महामारीका कारण बन्द गरिएको हिल्सा नाका दुई वर्षसम्म खुलेको छैन । ‘पहिले चीनबाट मैदा पनि आउँथ्यो । अहिले बाटो बन्द भएकाले आएको छैन । आफ्नो खेतबारीमा उत्पादन हुने आलु र उवाले तीन महिनाजति मात्रै पुग्छ । अहिले अन्न सकिएर ठूलो समस्या पर्‍यो,’ सिमकोट आएकी तिल गाउँकी छोइपुटी तामाङले भनिन् ।

चीनतर्फबाट खाद्यान्न आउन ठप्प भएपछि गत वर्ष सिमकोट खाद्य डिपोले गाउँपालिकाको याल्बाङ बिक्री केन्द्रमा तीन सय क्विन्टल चामल दिएको थियो । उक्त चामल गाउँपालिकाले १३ लाख खर्च गरेर ढुवानी गरेको थियो । उक्त चामल सकिएपछि संकट निम्तिएको वडाध्यक्ष तामाङले बताए ।उनका अनुसार करिब एक महिनाअघि चीनले हिल्सा र नाम्खा गाउँपालिकाका लागि चार हजार ६ सय ८० बोरा मैदा र आठ सय बोरा चामल सहयोग गरेको थियो । त्यसमध्ये एक हजार आठ सय ४६ बोरा मैदा र २० बोरा चामल तिल, जाङ र हल्जी गाउँमा पठाउने निर्णय नाम्खा गाउँपालिकाले गरेको थियो । तर, हिल्सा नाका पारिपट्टि आइपुगेको मैदा र चामल हिमपातका कारण नेपाल ल्याउन नसकिएको उनले बताए ।

‘हल्दीमा ९६, जाङमा ३० र तिलमा २५ गरी डेढ सय घरधुरी छन् । गत वर्ष खाद्य संकट भएको समाचार नयाँ पत्रिकामै आएपछि खाद्यले तीन सय क्विन्टल दिएको थियो । उक्त चामल सकियो । उच्च हिमाली क्षेत्र भएकाले गाउँमा आलु र उवाबाहेक उत्पादन हुँदैन । त्यसले तीन महिना पनि पुग्दैन,’ उनले भने, ‘चीनले दिएको सहयोगको मैदा र चामल पनि हिमपातका कारण ल्याउन सकिएको छैन ।’

सदरमुकाममा चामल पाइएन भनेर रित्तै गाउँ फर्किन सक्ने अवस्थामा उनीहरू छैनन् । किनभने गाउँलेले जसरी पनि चामल ल्याउन भनेका छन् । त्यसैले चामलको पहलका लागि संघीय राजधानी काठमाडौं नै जाने निश्चित गरेका छन् । ‘जिल्लामा चामल छैन भनेपछि मैले प्रतिनिधिसभा सांसद छक्कबहादुर लामालाई फोन गरेँ । उहाँले भनिदिएपछि प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले गृह मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनीलगायतको नाममा सिफारिस बनाइदिनुभएको छ,’ वडाध्यक्ष तामाङले भने, ‘तर, हामी मात्रै काठमाडौं गएर मन्त्री भेट्न के पाइएला र ? त्यहाँ कसले चिन्ला, कसले वास्ता गर्ला र ? त्यसैले माननीय (छक्कबहादुर)लाई नै अनुरोध गरेपछि सँगै जाने भन्नुभएको छ । भोलि (सोमबार) जाने कुरा भएको छ ।’ टोलीबाट को–को काठमाडौं जाने भनेर सल्लाह भइरहेको उनले बताए ।

लिमीमा खाद्यान्न पुर्‍याउन हेलिकोप्टरको विकल्प छैन
अहिले लिमीमा खाद्यान्न पुर्‍याउन हेलिकोप्टरको विकल्प छैन । सडक तथा गोरेटो मार्गमा हिउँ जमेकाले ट्र्याक्टर र खच्चडबाट लैजान असम्भव रहेको स्थानीय बताउँछन् । वडाध्यक्ष तामाङले भने, ‘न्यालुलेक र नारालेकमा बाक्लो हिउँ जमेको छ । अहिले खाद्यान्न ढुवानी गर्न हेलिकोप्टरको विकल्प छैन ।’ जिल्ला प्रशासनले मन्त्रालय र खाद्य कम्पनीलाई गरिदिएको सिफारिसमा पनि यस विषयमा खुलाइदिएको उनले बताए ।

ठेक्कामा आर्थिक चलखेलले रित्तो बन्यो सिमकोटको गोदाम
जिल्लाका गाउँ–गाउँमा खाद्यान्न वितरण गर्ने सदरमुकाम सिमकोटकै गोदाम अहिले रित्तो छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ठेक्कामा चलखेल गर्दा १० हजार क्विन्टल चामल नेपालगन्ज र सुर्खेतमै रोकिएको छ । केही समयअघि खाद्य कम्पनीले सबैभन्दा धेरै ठेक्का कबुल गर्ने सिम्रिका एयर कार्गो सर्भिसलाई हवाई ढुवानीको जिम्मा दिएपछि समिट एयरले उच्च अदालत काठमाडौंमा मुद्दा हालेको थियो । अदालतले ठेक्का निर्णय कार्यान्वयन नगर्न आदेश गरेपछि ढुवानी रोकिएको छ । अदालतको आदेशअघि सिम्रिकाले सिमकोट पु¥याएको ३६ क्विन्टल चामल सदरमुकाममा अलपत्र छ ।

१० हजार क्विन्टल चामल ढुवानीका लागि तारा एयर, समिट एयर, सीता एयर र सिम्रिका एयर कार्गो सर्भिसले ठेक्का आवेदन दिएका थिए । सिम्रिकाले सबैभन्दा धेरै नेपालगन्ज–सिमकोट भ्याटबाहेक प्रतिकिलो एक सय १२ रुपैयाँ र सुर्खेत–सिमकोट एक सय पाँच रुपैयाँ कबुल गरेको थियो । जब कि सीताले नेपालगन्ज–सिमकोट भ्याटबाहेक ७८ र सुर्खेत–सिमकोट ६३ रुपैयाँ कबुल गरेको थियो । त्यस्तै, समिटले नेपालगन्ज–सिमकोट भ्याटबाहेक ८९ र सुर्खेत–सिमकोट ९७ रुपैयाँ तथा ताराले नेपालगन्ज–सिमकोट भ्याटबाहेक एक सय १० रुपैयाँ र सुर्खेत–सिमकोट ७८.९० रुपैयाँ कबुल गरेका थिए । कम्पनीले सुर्खेतबाट ६ हजार क्विन्टल र नेपालगन्जबाट चार हजार क्विन्टल ढुवानीका लागि ठेक्का खुलाएको थियो ।

नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङ भन्छन्–जनतालाई भोकै मार्ने कि खाद्यान्न पठाउने भनेर सरकारलाई सोध्छौँ

चीनसँग जोडिएको हुम्लाको अत्यन्तै विकट गाउँपालिका हो नाम्खा । नाम्खाको पनि अति विकट गाउँ हुन्– तिल, जाङ र हल्जी । हल्जीमा ९६, जाङमा ३० र तिल गाउँमा २५ घरधुरी गरेर करिब पाँच सय जनसंख्या छ । यहाँ उत्पादन हुने भनेको आलु र उवा मात्रै हो । त्यसबाट मुस्किलले दुई–तीन महिना खान पुग्छ । कोरोना महामारीअघिसम्म चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै मैदा ल्याएर पनि छाक टार्ने गथ्र्यौँ । यहाँका लागि याल्बाङस्थित बिक्री केन्द्रमा पठाउने चामल पनि सरकारले चिनियाँ बाटो हुँदै पठाउने गरेको थियो । रसुवाको केरुङबाट ताक्लाकोट हुँदै हिल्सा नाकाबाट चामल भित्रिन्थ्यो । तर, कोरोना महामारीपछि बन्द गरेको नाका चीनले अहिलेसम्म खोलेको छैन । राज्यले पनि हाम्रोबारेमा कुनै चासो देखाएको देखिएन । त्यसैले ‘हामीहरूलाई बाँच्ने व्यवस्था गर’ भनेर स्थानीयदेखि केन्द्र सरकारसम्मलाई आग्रह गर्न हामीहरू गाउँबाट हिँडेका हौँ ।

याल्बाङमा खाद्यको बिक्री केन्द्र छ । गत वर्ष तीन सय क्विन्टल चामल आएको थियो । त्यो अलिअलि सबै गाउँलेले लगेका थिए । त्यसयता चामल आएको छैन । पोहोर लिएको अलिकति चामल र गाउँमै उत्पादन हुने उवाको सातु खाएर गाउँलेले केही समय गुजारा गरे । तर, त्यसपछि धान्न गाह्रो भयो । भोकमरी नै हुने अवस्था आयो । करिब एक महिनाअघि चीनले हिल्सा र नाम्खा गाउँपालिकाका लागि चार हजार ६ सय ८० बोरा मैदा र आठ सय बोरा चामल सहयोग गरेको थियो । त्यसमध्ये एक हजार आठ सय ४६ बोरा मैदा र २० बोरा चामल तिल, जाङ र हल्जी गाउँमा पठाउने निर्णय नाम्खा गाउँपालिकाले गरेको थियो । तर, हिल्सा नाका पारिपट्टि आइपुगेको मैदा र चामल हिमपातका कारण नेपाल ल्याउन सकिएको छैन ।

भोकमरी हुने भएपछि तीन गाउँका स्थानीयको बैठक बसेर मेरो नेतृत्वमा सदरमुकाम र काठमाडौंसम्म गएर सरकारलाई आग्रह गर्ने निर्णय भएको हो । करिब ३० जनाको हाम्रो टोली पाँच दिन हिउँमा हिँडेर सदरमुकाम आइपुगेको हो । यहाँ सिडिओलाई भेटेर समस्या सुनायौँ । तर, उहाँ उल्टै दुःख सुनाउनुहुन्छ । ‘गाउँमा खाद्यान्नको समस्या रहेको थाहा पाएको छु, तर सदरमुकामस्थित डिपोमा पनि चामल छैन, कहाँबाट पठाऊँ’ भनेर सुनाउनुभयो । अब हामी एक–दुई दिनभित्रै काठमाडौं पुगेर सम्बन्धित मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई पीडा सुनाउँछौँ । ‘राज्यले आफ्ना नागरिकलाई भोकै राखेर मार्छ कि समस्या समाधान गर्छ’ भनेर सोध्छौँ ।

हुम्लाको नाम्खा गाउँपालिका– ६ का तिल, जाङ र हल्जी गाउँका करिब डेढ सय घरपरिवारको प्रतिनिधित्व गरेर वडाध्यक्ष पाल्जोर तामाङसहित ३० जनाको टोली चामलको खोजीमा सदरमुकाम सिमकोटतर्फ आउँदै । ज्यान जोखिममा राखेर तीन फिटसम्म जमेको न्यालुलेकको हिउँ छिचोलेर उनीहरू पाँच दिनमा शनिबार साँझ सिमकोट पुगेका छन् । चामल जोहो गरेर मात्रै फर्किने वाचासहित गाउँ छाडेका उनीहरू अब सिंहदरबारको ढोका ढकढक्याउन काठमाडौं जाँदै छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै