बिहिबार, साउन २१, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाज
  • खोटाङका स्थानीय किसान सिन्कौली बेचेरै लखपति !
समाज

खोटाङका स्थानीय किसान सिन्कौली बेचेरै लखपति !

  • नागरिक रैबार
खोटाङका स्थानीय किसान सिन्कौली बेचेरै लखपति !
फाेटाे पालिका खबरबाट

साउन ६ खोटाङ- खोटाङका स्थानीय किसान सिन्कौली (तेजपात) को खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँघरमा सुगन्धित मसलाका रूपमा प्रयोग हुने सिन्कौली (तेजपात) को पात तथा बोक्रा राम्रो मूल्यामा बिक्री हुने हुँदा किसान यो खेतीमा आकर्षित भएका हुन् ।

सिन्कौलीको बजारभाउबारे जाने-बुझेका किसानले हाल डिभिजन वन कार्यालय, सामुदायीक वन उपभोक्ता महासंघ एवं विभिन्न कृषि फार्मसँगको सहकार्यमा सिन्कौलीको बेर्ना लगेर खाली जग्गामा रोप्न थालेका छन् ।

उदयपुरको बेलटार, गाईघाटलगायतका बजारमा पुर्‍याउँदा पात प्रतिकिलो ६० र बोक्रा प्रतिकिलो डेढ सय रुपैयाँका दरले बिक्री हुने भएकाले स्थानीय सिन्कौली खेतीतर्फ आकर्षित हुन थालेको सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए ।

विज्ञापन

कम लगानीमै आयआर्जनको माध्यमका रूपमा उपयोग गर्न सकिने भएकाले किसान सिन्कौली खेतीतर्फ आकर्षित हुन थालेका हुन् । सदावहार हरियाली रहने सिन्कौली खेती वातावरणीय हिसाबले पनि उत्तिकै फाइदाजनक मानिन्छ ।

‘जिल्लामा सिन्कौलीको राम्रो सम्भावना छ । सिन्कौलीको बजार पनि राम्रो छ । यो खेतीतर्फ प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन जरुरी छ,’ अध्यक्ष राईले भने, ‘सिन्कौली खेतीबाट आयआर्जन पनि हुन्छ । पर्यावरणका हिसाबले पनि उत्तिकै फाइदाजनक छ ।’ जिल्लामा सामुदायिक वन र व्यक्तिगत जग्गामा सिन्कौली खेती लगाएर आयआर्जन गर्न सकिने सम्भावना छ ।

खोटाङका अधिकांश स्थान सिन्कौली खेतीका लागि उपयुक्त भए पनि हालसम्म व्यावसायिक खेती हुन सकेको छैन । गाउँघरमा फाट्टफुट्ट मात्रामा लगाइएका सिन्कौलीको पात चिया, पुलाउ, मासुको परिकारलाई सुगन्धित र स्वादिष्ट बनाउन मसलाका रूपमा उपयोग गर्ने गरिएको छ ।

वासनादार मसलाका रूपमा प्रयोग गरिने सिन्कौलीको पालुवा गाईवस्तुलाई घाँस तथा रुखलाई दाउरा र काठका रूपमा प्रयोग गरिन्छ । बढी मात्रामा सिन्कौली हुर्काएका किसानले भने पात टिपेर सुकाएर उदयपुरको बेलटारसम्म पुर्‍याएर बिक्री गर्दै आएका छन् । रोपेको ५-६ वर्षदेखि सिन्कोलीको पात टिप्न सकिन्छ ।

सिन्कौलीको पात र बोक्राबाट मसला, औषधीजन्य तेलसमेत उत्पादन हुने बताइन्छ । सिन्कौलीको पात र बोक्राबाट निकालिएको तेल पाचन शक्ति बढाउन, रोकिएको पिसाब खुलाउनदेखि मुटुसम्बन्धी रोगको उपचारमा समेत उपयोग हुने अध्ययनमा भेटिएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष राईले बताए । सिन्कौलीको बासनादार तेल ससेज, अचार, केकलगायत परिकारमा समेत प्रयोग गरिन्छ ।

सडक बनेपछि सिन्कौली निकासी बढ्यो 

सडक विस्तार भएपछि खोटाङको बराहपोखरी गाउँपालिकामा उत्पादित सिन्कौलीले बजार पाउन थालेको छ । छिमेकी उदयपुर जोड्ने धाप्लाङ-धर्तुङ सडक बनेपछि बराहपोखरी गाउँपालिकाको मौवाबोटे, सुन्तले, फाक्टाङ, पोवासेरालगायत वडामा उत्पादित सिन्कौलीले बजार पाउन थालेको हो ।

खेर गइरहेका सिन्कौली अहिले गाडीमार्फत बाहिरिने गरेको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए । ‘पहिला धेरैजसो सिन्कौली घाँसका रूपमा प्रयोग हुन्थ्यो । थोरै मात्रामा सहर लगेर बिक्री गरिन्थ्यो,’ अध्यक्ष बञ्जराले भने, ‘सडक बनेपछि अधिकांश सिन्कौली सहर पुग्न थालेको छ ।’

मौवाबोटेका कतिपय ठाउँमा सिन्कौलीको जंगल नै देख्न सकिन्छ । गाईभैंसी र बाख्रालाई घाँस खुवाउन प्रयोग हुँदै आएको सिन्कौलीको सुकेको पात हाल गाउँमै प्रतिकेजी ३५-४० रुपैयाँमा बिक्री हुने गरेको छ । सुन्तले र फाक्टाङबाट बोरामा प्याक गरिएका सिन्कौली पात उदयपुरको गाईघाट हुँदै निकासी हुने गरेको छ । फाक्टाङ, सुन्तलेमा प्याक गरिएको सिन्कौलीलाई खोटाङ र उदयपुरको सुनकोसीस्थित धाप्लाङघाट पुर्‍याइन्छ । धाप्लाङबाट भरियामार्फत नदी तारिएको सिन्कौलीलाई पुनः ट्रयाक्टरमार्फत अन्यत्र लगिने गरेको छ । भरपर्दो सडक अभावमा कतिपय किसानले अहिले पनि पिठ्युँमा बोकेर सिन्कौलीलाई उदयपुरको बेलटार पुर्‍याउने गरेका छन् । उदयपुरको गाईघाट, बेलटार, मुर्कुची पु¥याएपछि सिन्कौली प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीय बताउँछन् ।

गाउँघरमा सिन्कौलीले मूल्या पाउन थालेपछि किसानको आम्दानीको स्रोत बन्न थालेको छ । सुन्तले र फाक्टाङका सडक आसपासमा हाल बोराका बोरा सिन्कौली निर्यातका लागि तयारी अवस्थामा राखिएको छ । सडक विस्तारअघि मोवाबोटे, सुन्तले, फाक्टाङ, पौवासेरामा उत्पादित सिन्कौली डोकोमै बोकेर २ दिन हिँडेर सहर पु¥याउने गरिन्थ्यो । पिठ्युँमा बोकेर सहर पु¥याइएको सिन्कौली नुन र मट्टीतेल साट्न उपयोग गरिन्थ्यो ।

तर, गाउँसम्म सडक खुलेपछि खेर गइरहेको सिन्कौली ठेकेदारमार्फत नगदमै बिक्री हुन थालेको किसान बताउँछन् । सो क्षेत्रमा सिनामोल अमला र सिनामोल टोलमाला प्रजातिका सिन्कौलीको बगान छ । सिनामोल अमला जातको तेजपातलाई विश्वकै उत्कृष्ट तेजपात मानिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार