संसारका केही देशमा कोरोना रोकथामका लागि खोप कार्यक्रम चलिरहेको छ । यसैबीच विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले आफ्नो साप्ताहिक रिपोर्ट सार्वजनिक गरेको छ, जसअनुसार विश्वका १३ देश र आइल्यान्ड (टापू) अहिले कोरोनामुक्त भइसकेका छन् । यहाँ अहिले कोरोनाको कुनै पनि केस छैन ।
यद्यपी, विश्वका १ सय ३१ देशहरुमा कोरोनाको संक्रमण स्थानीय स्तरमा फैलिसकेको छ । यो चिन्ताको विषय हो । अमेरिका, पाकिस्तान, ब्राजिल, बेलायत, फ्रान्सलगायतका धेरै देशमा स्थानीयस्तरमा कोरोनाको संक्रमण फैलिरहेको छ ।
जनवरीमा सबैभन्दा धेरै संक्रमित
संसारमा खोप लगाउने कार्य सुरु भएपनि कोरोनाको खतरा समाप्त भइसककेो छैन । कम्तिमा अहिलेको आँकडाले यही देखाउँछ । जनवरीका १८ दिनमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् र मृत्युसंख्या पनि बढेको छ । ८ जनवरीमा संसारमा सबैभन्दा धेरै ८ लाखभन्दा धेरै संक्रमित भेटिए । यसअघि एकैदिन यति धेरै बिरामी कहिल्यै देखिएका थिएनन् । त्यस्तै १३ जनवरीमा एकैदिन सबैभन्दा धेरै १६ हजार ५ सय ३७ जनाको मृत्यु भयो ।
अहिलेसम्म ९ करोड ६० लाखमा संक्रमण
संसारभर अहिलेसम्म ९ करोड ६० लाखभन्दा धेरै जनसंख्या संक्रमित भइसकेको छ । यसमध्ये ६ करोड ८६ लाखजना निको भइसकेका छन् । संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिले २० लाख ४९ हजारभन्दा धेरै पुगिसकेको छ । २ करोड ५३ लाख बिरामी यस्ता छन्, जसको उपचार चलिरहेको छ । वल्र्डोमिटरका अनुसार यसमध्ये ११ लाख २० हजारको अवस्था गम्भिर छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा छन् । यहाँ २ करोड ४६ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । ४ लाख ८ हजार ६ सय २० जनाले ज्यान गुमाइसकेका छन् । दोस्रो नम्बरमा भारत आउँछ ।
यहाँ, १ करोड ५ लाखभन्दा धेरै जनसंख्यामा संक्रमण छ । १ लाख ५२ हजार ५ सय ९३ जनाले ज्यान गुमाइसकेका छन् । ब्राजिलमा ८५ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २ लाख १० हजार ३ सय २८ जनाले ज्यान गुमाइसकेका छन् । रुसमा ३५ लाखभन्दा धेरै, बेलायतमा ३४ लाखभन्दा धेरै, फ्रान्समा २८ लाखभन्दा धेरै, टर्कीमा २३ लाखभन्दा धेरै, इटलीमा २३ लाखभन्दा धेरै, स्पेनमा २२ लाखभन्दा धेरै र जर्मनीमा २० लाखभन्दा धेरैमा कोरोना संक्रमण देखिइसकेको छ ।
फेसबुक प्रतिक्रियाहरु