होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • माइतीघर : एक सर्वकालीन सिनेमा
मनोरञ्जन

माइतीघर : एक सर्वकालीन सिनेमा

  • नागरिक रैबार
माइतीघर : एक सर्वकालीन सिनेमा

‘एउटा फूल फुले यहाँ, धर्ती मगमगाउँछ
एउटा बत्ती बले यहाँ, जगत जगमगाउँछ
सुख शान्ति मुस्काउँछ, यहाँ सधैंभरी
लुकामारी खेल्छ जुन यहाँ रातैभरी
यो हो मेरो प्राणभन्दा प्यारो
माइतीघर, माइतीघर, माइतीघर’

नेपाली सिनेमाको एउटा सग्लो दस्तावेज, माइतीघर । यो त्यही बिन्दु हो, जहाँबाट निजी क्षेत्रमा नेपाली सिनेमाको यात्रा आरम्भ हुन्छ । ‘माइतीघर’ सानो आँखीझ्याल पनि हो, पाँच दशकअघिको नेपाली परिवेश चिहाउने ।

चलचित्रका निर्देशक थिए, बिएस थापा । भारतको देहादुनमा जन्मिएर, बलिउडको रसरंगमा भिजेर नेपाल भित्रिएका थिए, उनी । आफ्नो पुख्र्यौली थलोमा आएर उनले बनाए, माइतीघर । यो त्यही काल हो, जतिबेला रंगीन सिनेमा बन्दैन’थे ।

विज्ञापन

बिएस थापा बलिउडमा राम्ररी भिजेका सर्जक थिए । केसम्म भनिन्छ भने, सुपरस्टार राजेश खन्नादेखि सुनिल दत्तसम्म उनको गहिरो दोस्ती थियो । ‘माइतीघर’मा उनले बलिउड अभिनेत्री माला सिन्हालाई भित्र्याए । यसैगरी सुनिल दत्त र राजेन्द्रनाथलाई अतिथि कलाकारको रूपमा प्रस्तुत गरे ।

यो चलचित्र जनरल नर शमशेर र डा. जोगेन्द्र झाले निर्माण गरेका हुन् । चलचित्रमा माला सिन्हाका साथै सिपी लोहनीले मुख्य भूमिका निर्वाह गरेका छन् ।

देशभक्ति र प्रेम-भावनाका गीतहरुले पनि यस चलचित्रलाई अजम्बरी बनाइदियो । चलचित्रमा दर्जन हाराहारी गीत समावेश छन् । अरुणा लामा, आशा भोसले, लता मंगेशकर लगायतले यसमा आवाज दिएका छन् । बलिउड संगीतकर्मी जयदेवले यसमा संगीत दिएका छन् ।

यस्तो छ कथा

यो चलचित्रको कथा सदर जेलखानाबाट सुरु हुन्छ । त्यहाँ एक मनोचिकित्सकलाई देखाइन्छ, जो जेलमा सजाय भुक्तान गरिसकेकी महिलासँग परामर्शका लागि आएका हुन्छन् ।

जेलका कर्मचारी भन्छन्, ती महिलाले कर्तव्य ज्यान मुद्दामा जेल सजाय कटाइसकेकी छन् । सजाय भुक्तान भइसकेपछि उनी घर र्फकनुपर्ने हो । तर, उनी घर जान मान्दिनन् । आखिर किन उनी जेलको पर्खालबाट बाहिर निस्कन चाहँदिनन् ?

जहाँ ती महिलालाई राखिएको छ, त्यहाँ अरु कसैले प्रवेश गरेको रुचाउँदिन् उनी । उनलाई के कुरामा डर छ भने जो कोही त्यहाँ आउने व्यक्तिले उनलाई त्यहाँ बस्न दिने छैनन् । त्यसैले नव आगन्तुक चिकित्सकसँग पनि उनी झर्किएर भन्छिन्, ‘तिमीहरु फेरि पनि यहाँ आयौ ? जाऊ । मलाई कसैसँग कुरा गर्नु छैन ।’

तर, मनोचिकित्सकले सम्झाउँदै भन्छ, ‘हामी यहाँबाट तपाईंलाई जाऊ भन्नका लागि आएका होइनौं । बरु, जति मन लाग्छ बस्नुहोस् भन्न आएका हौं ।’

यसरी मनोवैज्ञानिक रुपमा आश्वस्त तुल्याइसकेपछि मनोचिकित्सक र ती महिलाबीचको अरु कुराकानी हुन्छ । मनोचिकित्सक सोध्छन्, ‘किन तपाईं जेलबाट बाहिर निस्कन चाहनुहुन्न ?’

यसको जवाफमा ती महिलाले आफ्नो जीवन-रहस्य खोतल्छिन्, जुन अरू कसैलाई उनी भन्न चाहेकी हुँदिनन् । आफ्नो रहस्य कसैलाई पनि नखोल्ने शर्तमा मञ्जुर गराएपछि मनोचिकित्सकलाई उनले कथा भन्न सुरु गर्छिन् ।

उनको जन्म पोखरामा भएको हुन्छ । दुधे बच्चा हुँदै उनको आमाको निधन हुन्छ । उनलाई आफ्ना पिताले हुर्काए ।

अब उनलाई जवान देखाइन्छ । साथीसंगीसँग रमझम गरिरहेकी । यस्तैमा उनको भेट एक नवजवान युवकसँग हुन्छ । भेटघाट, भलाकुसारी लम्बिँदै जाँदा उनीहरुबीच मायाप्रेम बस्छ । विवाह गर्छन् । नयाँ घरजाम सुरु हुन्छ । उनीहरु एक आदर्श जोडी हुन्छन्, जसको सम्बन्धहरु झन् झन् प्रगाढ बन्दै गएको हुन्छ ।

विवाहको बर्षदिनपछि श्रीमान् अध्ययनका लागि बेलायत जान्छन् । पढाइ सकेर घर र्फकन्छन् । घरमा भव्य भोजको आयोजना हुन्छ । किनभने त्यसदिन उनको श्रीमानको जन्मदिन हो । यता श्रीमान् केही क्षणका लागि शिकारमा निस्कन्छन् । तर, उनले तीब्र गतिमा चलाएको गाडी दुर्घटना हुन्छ र उनको मृत्यु हुन्छ ।

यसरी श्रीमानबाट एक्लिएपछि उनी गाउँघरमा बस्न सक्दिनन् । किनभने गाउँका मान्छेहरु उनलाई देख्न सक्दैनन् । कुरा काट्न थाल्छन् । अन्ततः एकदिन उनी दुई वर्षको छोरो र घर छाडेर निस्कन्छिन् । तर, जाने कहाँ ? कुनै टुंगो छैन ।

भाग्दै एकलासे जंगलमा पुग्छिन् । त्यहाँ उनलाई दुई अधवैंशेले पच्छ्याउँछन् । तिनीहरु उनीमाथि नराम्रो व्यवहार गर्न थाल्छ । तब, उनी त्यहाँबाट भाग्छिन् । भाग्दै-भाग्दै एउटा बस्तीमा पुग्छिन् र एउटा झुपडी पसेर लुक्छिन् । उनलाई लाग्छ, बल्ल आफ्नो अस्मिता जोगियो ।

तर, उनी जुन झुपडीमा पुगेकी हुन्छिन् त्यो यस्तो समुदायको हुन्छ जो अरुलाई मनोरञ्जन गराएर गुजारा चलाउँछन् । यसका लागि नाचगान गर्नुपर्छ वा चाहेको अवस्थामा देह सुम्पनुपर्छ ।

त्यहाँ भेटिएकी एक महिलाले सोध्छिन्, ‘तँ कहाँबाट आएकी होस् ?’ ‘म नर्कबाट’ उनको जवाफ यस्तो हुन्छ, ‘चोला फेर्न हिँडेकी ।’
यस्तो सुनेर उक्त बुढी महिला निकै खुसी हुन्छिन् । किनभने उनलाई यस्तै सुकुमार तर बाध्यतामा फसेकी युवतीको खाँचो हुन्छ । तब उनलाई त्यही थुनेर नाचगान देखाउन बाध्य बनाइन्छ । यस्तो जीवन बाँच्नुभन्दा मर्नु निको ठान्छिन् । तर, उनी मर्न पनि सक्दिनन् । किनकि उनको गर्भमा दुई महिनाको बच्चा हुन्छ ।

आखिर नियती यो चक्रव्यूहमा उनी नराम्ररी फस्छिन् । अब उनले नाचगान देखाएर वा अरुलाई मनोरञ्जन गराएर बाँच्नुपर्नेछ ।
संयोगले त्यहाँ उनले एक जनालाई आफ्नो दाजु बनाउँछिन् । उनै दाजुमार्फत उनले आफ्नो छोरो भेट्न पाउँछिन् । तर, बालक छोरालाई आफ्नो परिचय खुलाउँदिनन् ।

समयक्रममा उनको गर्भमा रहेको बच्चाको पनि जन्म हुन्छ । यसपालि उनको छोरी जन्मिन्छिन् । छोरी हुर्किएपछि उनले काठमाडौंमा राखेर पढाउने व्यवस्था मिलाउँछिन् । छोरीको पढाइ खर्च उनले नै जुटाउँछिन् ।

यता छोरा पनि जवान हुँदै जान्छ । तर, उनको हजुरबा, हजुरआमाको मृत्यु हुन्छ । तब उनलाई पढ्नमा आर्थिक समस्या हुन थाल्छ । छोराका लागि पनि अदृश्य रुपमा उनले नै पढाई खर्च जुटाउँछिन् ।

आफू नर्कमा बसेर भएपनि छोरा र छोरीलाई राम्रो शिक्षादीक्षा दिन पाएकोमा उनलाई सन्तोष छ । उनी उसैगरी अरुलाई मनोरञ्जन गराएर जसोतसो दिनहरू कटाइरहेकी हुन्छिन् । एकदिन साहु आएर उनीसँग नराम्रो व्यवहार गर्न थाल्छन् । खासमा ती साहु उनको नाचगानबाट मात्र तृप्त छैनन् । शरीर भोग गर्ने चाह राख्छन् । तर, यो कुरा सम्भव नहुने भएपछि साहुले शहरमा हुर्कंदै गरेको छोरीको गोपनीयता खोल्ने धम्की दिन्छन् ।

आफूले यति स्नेहसाथ हुर्काइरहेकी छोरीमाथि पनि ती साहुको कुदृष्टि परेको थाहा पाएपछि उनले सहन सक्दिनन् । अन्ततः एकदिन खाना खुवाउने बहानामा विष दिएर साहुको हत्या गर्छिन् ।

यसरी प्रहरी फन्दामा पर्छिन् ।

यतिबेलासम्म उनको छोरो वकिल भइसकेका हुन्छन् । ऊ आमाकै विपक्षबाट मुद्धा लड्छ । किनकि आमाले उनको सामुन्ने आफ्नो चिनारी लुकाएकी छन् । आमामाथि उनले अपशब्द बोल्छन् । त्यो सहन नसकी आमाले छोरालाई आफ्नो नामले बोलाउँछिन् ।

आमालाई जेल सजाय सुनाइन्छ । छोरालाई बल्ल थाहा हुन्छ, ती महिला आफ्नै आमा हुन् । साथसाथै के पनि थाहा हुन्छ भने, उनले कु-नियतले कसैको हत्या गरेकी होइनन् । परिबन्धमा परेर आफ्नो रक्षाका खातिर उनी कसैलाई मार्न बाध्य भएकी हुन्छिन् ।

अब छोरो आमाको पक्षमा मुद्दा लड्न थाल्छन् र बाध्यतामा परेर आफूलाई बचाउनका लागि कसैको हत्या गरेकाले आमा दोषी नरहेको प्रमाणित गर्छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार