धनगढीः नेपालीहरुको महान पर्व बडा दसै सुरु भएसँगै सुदूरका गाउँमा रौनकता छाएको छ। पढाई तथा रोजगारीको लागि घरबाहिर रहेकाहरु पनि गाउँ फर्किएपछि बडा दसैको रौनकता झनै बढेको हो।
गत वर्ष कोरोना कहरका कारण दसैमा मान्यजनबाट टिका र जमरा थाप्न नपाएकाहरु यस वर्ष भने सहर नै सुनसान हुने गरी गाउँ पुगेका छन्। उनीहरु पहाड पुगेर आफ्ना कुल देवताको पुजासँगै एकआपसमा खुसी साटासाटमा व्यस्त देखिएका छन्। दसै सुरु भएदेखि नै गाउँमा खुसीयाली छाएको नवदुर्गा गाउँपालिका डडेल्धुराका स्थानीय एवं शिक्षक राजेन्द्र भुल बताउँछन्। ‘गत वर्ष कोरोना कहरका कारण दसैका बेला सुनसान देखिएका ग्रामीण क्षेत्रमा यो वर्ष चहलपहल बढेको छ,’ भुलले भने।
विभिन्न कामको शिलशिलामा देश तथा विदेशमा रहेका नेपाली आफ्नो घर फर्किएपछि घरपरिवार तथा गाउँघर नै भरिभराउ देखिएको हो। दसैमा आफन्त, साथीभाई जम्मा भएर रमाइलोका लागि तास खेल्ने, पिङ खेल्ने, घुमफिर गर्नेको गाउँघरमा निकै उमङ्ग देखिएको दसै मनाउन पुख्र्यौली थलो पुगेकी उत्तरा रोश्यारा बताउँछिन्। उनले भने, ‘धनगढी तथा महेन्द्रनगरबाट मात्र नभएर तराईका विभिन्न क्षेत्रबाट ठुलो संख्यामा यसपालिको दसै मान्न पुख्र्यौली थलो पुगेकाले गाउँ नै उज्यालो देखिएको छ।’
घटस्थापनादेखि नै पहाडी जिल्लाका शक्तीपिठहरुमा पनि भक्तजनहरुको भिड लागेको छ। बली चढाउने तथा पुजापाठ गर्नेको भीडले दर्शनार्थीलाई पुजा गर्न निकै सास्ती समेत हुने गरेको छ। दसैका बेला शक्तिपीठमा राँगा, बोका, परेवा, हाँस, कुखुरालगायतका विभिन्न पशुप बली दिनेको ठूलो तामझाम देखिन्छ। सहरी क्षेत्रमा सधैजसो देखिने चहलपहल दसै सुरु भएपछि भने सुनसान देखिन्छ। सहर नै रित्तो हुने गरी बडा दसै बनाउन अधिकांश नागरिक गाउँ फर्किपछि मनमा गाउँको मायाले अत्याउन थालेको धनगढीका स्थानीय हेमराज अवस्थी बताउँछन्। उनले थपे, ‘चाडपर्वमा सहरमा बस्दा र गाउँ पुग्दाको दुबै अनुभव भएकाले यो समयमा गाउँमा उमङ्ग हुने गरेको छ।’ दिनेशखबरबाट
फेसबुक प्रतिक्रियाहरु