होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णालीका मुख्यमन्त्रीदेखि सांसदहरुको दसैँ : कार्यकर्ता भेटघाटदेखि परिवारसँग रमाउने योजना
समाचार

कर्णालीका मुख्यमन्त्रीदेखि सांसदहरुको दसैँ : कार्यकर्ता भेटघाटदेखि परिवारसँग रमाउने योजना

  • नागरिक रैबार
कर्णालीका मुख्यमन्त्रीदेखि सांसदहरुको दसैँ : कार्यकर्ता भेटघाटदेखि परिवारसँग रमाउने योजना

दसैँ भित्रिएसँगै गाउँघर रमाइलो बनेको छ । परदेशिएकाहरु दसैँ मनाउन घर फर्कने क्रम जारी छ । दसैँमा आफन्तको हातबाट टीका, जमरा ग्रहण गर्ने र आशीर्वाद लिने गरिन्छ भने दसैँलाई सामाजिक सद्भाव र मेलमिलापको पर्वका रुपमा पनि मनाइन्छ ।​ दसैँलाई लक्षित गर्दै कर्णालीका सांसदहरुले पनि राजधानी छाड्ने क्रम सुरु भएको छ । त्यसो त, कर्णालीका सांसदहरु फुर्सदिला नै थिए । कोही सांसद गृहजिल्लामै पार्टीका कार्यक्रमहरुमा सरिक हुने गरेका थिए भने प्रदेश राजधानीमा रहेका सांसदहरु पनि संसद अधिवेशन नभएका कारण फुर्सदिला नै थिए ।

प्रदेशसभा सचिवालयका अनुसार २८ जना सांसदले ४५ हजारका दरले दसैँ भत्ता बुझिसकेका छन् । यस्तै, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ६० हजार ९७० र अन्य मन्त्रीहरुले ५२ हजार रुपैयाँका दरले दसैँ भत्ता लिइसकेका छन् । अधिकांश सांसदले दसैँको समयलाई कार्यकर्ता भेटघाटदेखि परिवारहरुसँग रमाउने चाहना व्यक्त गरेका छन् । कतिपय सांसदले दसैँ मनाए पनि जमरा भने नलगाउने गरेको बताएका छन् ।

कोही सांसद गत वर्षको भन्दा यो वर्षको दसैैँ उत्साहपूर्ण रहने बताउँछन् भने केही सांसद दसैँले खासै उत्साह नथपिएको बताउँछन् । प्रदेशसभाका सभामुख राजबहादुर शाही दसैँको समयलाई लक्षित गर्दै गृहजिल्ला दैलेखमा कार्यकर्ता भेटघाट र शुभकामना आदान–प्रदान कार्यक्रममा व्यस्त छन् । केही दिनअघि दैलेख पुगेका उनी जिल्ला सदरमुकाममा व्यस्त छन् । उनी दसैँ मनाउन गृह पालिका ठाटीकाँध जाने योजनामा छन् ।

विज्ञापन

दसैँलाई उत्साह र मेलमिलापको पर्वको रुपमा मनाउनुपर्छ,’ उनी भन्छन्, ‘हाम्रो समाज अहिले परिवर्तनशील छ । विगतमा मासु खानलाई दसैँ कुर्नुपर्थ्यो । जसरी पनि दसैँमा मासु खानुपर्छ, नयाँ लुगा लगाउनुपर्छ भन्ने एउटा संस्कार जस्तै छ । त्यसो गर्नुहुन्न । आफूसँग जे छ त्यसैमा  रमाउनु पर्छ ।’

सभामुख शाहीले दसैँ सकेर कार्तिक ४ पछिमात्र प्रदेश राजधानी वीरेन्द्रनगर फर्किने बताए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो पटकको दसैँ परिवारका साथ काठमाडौंमा मनाउने भएका छन् । त्यसका लागि सोमबार नै उनी काठमाडौं गइसकेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले गृहजिल्ला डोल्पामा दसैँ मनाउने छन् । दसैँ मनाउनका लागि उनी मंगलबार डोल्पा जाँदैछन् । ‘दसैँ भनेको सबैको पर्व हो । घरमा बुबा–आमा हुनुहुन्छ । उहाँहरुबाट आशिर्वाद लिने र जमरा लगाउने छु,’ उनले भने, ‘त्यसलगत्तै जिल्लामा रहेका नेता कार्यकर्ताहरुसँग भेटघाट, छलफल लगायतका कार्यक्रमहरु पनि छन् । त्यो सकेर फर्किने सोच बनाएको छु ।’

प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ परिवारसँग सुर्खेतमा दसैँ मनाउने तयारीमा छन् । २९ गते काठमाडौँ गएर आफ्नो दाइभाउजुको हातबाट आशिर्वाद लिने उनले बताए । ‘गृह जिल्ला जुम्लाबाट केही दिन अघिमात्र सुर्खेत झरेको हो,’ उनी भन्छन्, ‘दसैँ भनेको एउटा उत्साहको पर्व हो । शुभकामनामा मात्र सीमित नराखेर हामी जनप्रतिनिधि भएको नाताले हाम्रो दायित्वबोधका लागि पनि प्रेरणा मिलोस् भन्न चाहन्छु ।’

पूर्व मन्त्रीसमेत रहेकी सांसद विमला केसी यो पटकको दसैँ काठमाडौंस्थित आफ्नै घरमा परिवारसँग मनाउँदैछिन् । ‘जनताको काममा सरिक हुँदा छोराछोरीबाट टाढा भएको अनुभुति भइरहन्थ्यो । त्यसैले पनि यो पटक छोराछोरीसँग रमाउने चाहना छ,’ उनले भनिन्, ‘अन्य, नेता कार्यकर्ताहरुसँग भेटघाट त स्वाभाविक रुपमा हुन्छ । विशेषगरी सामाजिक सद्भाव वृद्धि गर्नेमा दसैँको समय उपयोग हुनेछ ।’

सांसद देवी ओली पनि दसैँ मनाउनका लागि सोमबार गृहजिल्ला रुकुमपश्चिम गइसकेकी छन् । उनी दसैँलाई सामान्य परम्परागतशैलीमा र गाउँघरका आफन्तजनसँगै मनाउने योजनामा छिन् । सांसद पदमबहादुर रोकाया पनि दसैँ मनाउनका लागि गृहजिल्ला जुम्ला पुगेका छन् ।

पूर्व मन्त्री तथा एमाले सांसद दल रावल दसैँलाई भड्किलो नभई सामाजिक सद्भावको पर्वको रुपमा मनाउनुपर्ने धारणा राख्छन् । ‘म पनि दसैँ मनाउनका लागि नेपालगञ्ज घरमा आएको छु,’ उनले भने, ‘सामान्यतया भेटघाट, परिवारजनसँगै दसैँ मनाउने योजना छ । यो पटक गृह जिल्ला जान पाईएन ।’

दसैँमा जमरा नलगाउने सांसदहरु

दसैँमा मान्यजनबाट जमरा लगाउने र आशिर्वाद आदान–प्रदान गरिन्छ । तर, कर्णालीका केही सांसद दसैँमा जमरा लगाउँदैनन् । विशेषगरी नेकपा माओवादी केन्द्रका सांसदहरुले जमरा नलगाउने बताउँछन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा दसैँका लागि सोमबार गृहजिल्ला रुकुमपश्चिम गएका छन् । यद्यपि, उनी आफै भने टीका, जमरा लगाउने, आशिर्वाद लिने, पूजापाठ गर्नेमा विश्वास राख्दैनन् र त्यस्तो गर्दैनन् पनि ।

उनी भन्छन्, ‘म भौतिकवादी मान्छे हो । म न हिन्दु हुँ, न मुस्लिम हुँ न अर्को केही हुँ । धार्मिक हिसाबले म पूजापाठ पनि गर्दिनँ । जनताले चुनेको जनप्रतिनिधि भएको हुनाले जनताले जसरी मनाउनुहुन्छ, उहाँहरुको बीचमा सरिक हुनेछु । जनतासँगै बसेर रमाईलो गर्ने कार्यक्रमहरुमा सहभागिता जनाउने छु ।’

जमरा कसैले लगाईदिएको खण्डमा लगाउँदिनँ नभन्ने तर आफूले भने त्यसलाई ठुलो महत्व नदिने उनले बताए । कुनै अदृश्य शक्तिप्रति विश्वास नभएको उनको भनाइ छ ।

उनीमात्र होइन, उपसभामुख पुष्पा घर्ती पनि जमरा लगाउँदिनन् । ‘म मंगलबार पश्चिम सुर्खेत (गृहपालिका चौकुने गाउँपालिका) जाँदैछु । दसैँ लक्षित विभिन्न कार्यक्रम छन् । त्यहाँ जाने सबैसँग शुभकामना आदान–प्रदान गर्ने र परिवारसँगै समय बिताउँछु,’ उनले भनिन्, ‘म टीका लगाउने र आशिर्वाद लिने गरे पनि जमरा भने लगाउँदिनँ ।’

उनले आफू जान्ने भएदेखि नै जमरा नलगाउने गरेको बताउँछिन् ।

दसैँ नहुने सांसद/मन्त्रीको के छ तयारी ?

एमाले संसदीय दलका नेता यामलाल कँडेलको यो पटक दसैँ छैन । ‘आफन्त बितेकाले यो पटक दसैँ मनाइन्न, सायद दसैँको दिनमा म काठमाडौंमै रहन्छु होला,’ उनले भने, ‘दसैँले समृद्ध मुलुक बनाउने दृढ संकल्प, उत्साह थपोस् भन्ने मेरो शुभकामना छ ।’

काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही पनि यो पटक दसैँ मनाउने छैनन् । परिवारमा शुद्धि नभएकाले दसैँ नमनाउने उनले बताए । यद्यपि, उनी केही समय अघिनै गृहजिल्लामा आइसकेका छन् । दसैँको समयमा पनि गृहजिल्ला हुम्लामै नेता, कार्यकर्ताहरुसँग भेटघाट छलफल लगायतका गतिविधिमा सरिक हुने उनको योजना छ । उसो त, यतिबेला काँग्रेस अधिवेशन पनि चलिरहेको हुनाले दसैँको अवसरमा कार्यकर्ताहरुलाई आफ्नो पक्षमा पार्ने होडबाजी नै चल्छ ।

शाही विगतभन्दा अहिले दसैँ फरक बनेको बताउँछन् । ‘विगतमा दसैँ भन्ने वित्तिकै छुट्टै उत्साह, संस्कृति, रितिरिवाजसँग जोडिएको हुन्थ्यो । तर, अहिले त मेलमिलापको पर्वजस्तो लाग्छ । सबैलाई शुभकामना भन्छु,’ उनले भने । दसैँ सकिएपछि आफू प्रदेश राजधानी फर्कने उनले बताए ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मर बहादुर थापाको पनि दसैँ छैन । उनले भने, ‘दसैँ नमनाए पनि गृहजिल्ला जान्छु होला । अन्य त्यस्तो विशेष योजना पनि केही छैन । कार्यकर्ताहरुसँग भेटघाट, छलफल मै बित्छ होला !’

यस्तै सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीको पनि यो पटक दसैँ छैन । तर पनि गृहजिल्ला पुगेर कार्यकर्ताहरुलाई भेटघाट गर्ने योजना बनाएको उनले बताए ।राताेपाटिबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार