जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो
दुई आँखामा एकमा हाँसो, अर्कोमा रुवाइ छ …।
लोकप्रिय गायक कर्णदासको यो गीत ल्यापटपमा लगातार बजिरहेको छ । गीत जस्तै छ जिन्दगीको परिभाषा पनि । सरल भाषामा भन्नुपर्दा वा ठ्याक्कै भन्नुपर्दा जिन्दगीको यकिन छैन, कहाँ, कहिले के हुने हो भरोसा छैन ।
‘के हो जिन्दगीको परिभाषा ? जिन्दगी बाँचुन्जेल पनि बुझ्न नसकिंदो रहेछ’ चिया बसाइमा अनन्य मित्रले बोलेका कुराले फेरि एकपटक सोच्न बाध्य भएँ । पटक–पटक जिन्दगीको परिभाषा खोज्न नसकेर विरक्तिएको विवश साथीको उक्त वाक्यले एकपटक फेरि सोच्न विवश बनें ।
धेरै फुर्सद हुँदा पनि बेफुर्सदिलो जस्तै भइने रहेछ । अहिले यस्तै बेफुर्सदिलो भएको छु । तर, जिन्दगीको बारेमा के–के सोचेर छट्पटाइरहेछु ।
‘एउटा राम्रो जागिर खान पाए, आफूले मनपराएको मानिससँग विवाह गर्न पाए, छोराछोरीलाई राम्रो पढाउन पाए, राम्रो लगाउन र राम्रो खान पाए पो जिन्दगी भन्ने लाग्थ्यो’ ती साथीले अगाडि थपे, ‘यी सबै कुरा पूर्ण छन् । जागिर पनि खाएकै छु, माया गरेकै मान्छेसँग विवाह पनि गरें, छोरीलाई राम्रो स्कूल पनि पढाएकै छु । तर पनि मैले जिन्दगीको परिभाषा अझै बुझ्न सकिनँ । खासमा के हो जिन्दगी भनेको ?’
एक अर्थमा भन्नुपर्दा जिन्दगी ‘सेलिब्रेसन’ पनि त हो । त्यसो त दुःख हरेक दिन घर–आँगन हुँदै हिंडिरहेको हुन्छ । दुःखको बेला ‘सेलिब्रेसन’ गर्न मिल्ला र !
उनले आफ्नो जिज्ञासा मतिर तेर्स्याउँदै नजानिंदो पाराले प्रश्न राखेका थिए । साथीले भनेका यी कुराले यसबेला एकपटक रन्थनिएको थियो मेरो दिमाग ।
अहो ! म त जिन्दगीको परिभाषा नबुझेरै पो जिन्दगी बाँच्न सिकिरहेको रहेछु । मनले मनलाई नै भनें । फेरि सोचें, जिन्दगी बाँच्नका लागि जिन्दगीको परिभाषा बुझ्नुपर्छ र ? दुवै मनले भनेको कुरा सही लाग्यो । तर, म गलत रहेछु जस्तो, दुवै कुरा सही जस्ता, म पो बेठीक जस्तो ।
कताकता मनले फेरि अर्को कुरा सोचिरहेको थियो ।
‘मानिस विवाह गरेपछि परिवर्तित हुँदोरहेछ । जस्तो म हेरौं न, म त सकिएँ नि !’ मैले कुनै प्रतिक्रिया दिन नपाउँदै साथीले फेरि थपे । उनले वर्ष दिनदेखि आफ्नो मनमा लागेका कुरा आधा गिलासभन्दा अलिकति धेरै चिया सक्न नपाउँदै एकैछिनमा आफ्ना कुरा राखे ।
कति दिनदेखि उनले यो कुरा मनमा पालेर राखेका थिए, थाहा छैन । कसलाई सुनाउन लागेका थिए, त्यो पनि थाहा छैन । तर, संयोगले जुरेको यो सानो चियायोगमा मैले उनले विवाह गरेपछिका भोगाइहरू सुन्न पाएको थिएँ ।
जम्माजम्मी यो आधा घण्टाको चिया बसाइमा उनका कुराले जिन्दगीभरका लागि जिन्दगीबारे सोच्न बाध्य बनायो । अहिले जिन्दगीबारे के–के सोचेर पुनः छट्पटाइरहेछु ।
हामी बेलाबेलामा जिन्दगी ‘सेलिब्रेसन’ गरिरहेका छौं, जिन्दगीको परिभाषा नबुझेरै पनि । एक अर्थमा भन्नुपर्दा जिन्दगी ‘सेलिब्रेसन’ पनि त हो । त्यसो त दुःख हरेक दिन घर–आँगन हुँदै हिंडिरहेको हुन्छ । दुःखको बेला ‘सेलिब्रेसन’ गर्न मिल्ला र !
वर्षदिनमा साँच्चै भन्नुपर्दा कतिदिन हाम्रो घरको बाटो भएर खुशी आउँछ ? खुशी आएपछि के हुन्छ ? होइन, होइन । दुःखमा के पो भइरहेको छ र ? हामी केका लागि पो बाँचिरहेका छौं ? हामीले बाँचिरहेको भूगोलको विरुद्धमा हामी कतिसम्म कठोर बनिरहेका छौं ? हरेक दिन हामीले विभिन्न बहानामा विभिन्न मानिसलाई ठगिरहेका छौं ? केका लागि पो ? बाँच्नका लागि ?
हो । यतिका धेरै प्रश्नको उत्तर जम्माजम्मी एउटै शब्द त रहेछ– ‘हो’ । जिन्दगी बाँच्नकै लागि हो, हामीले संघर्ष गरिरहेको ।
यी प्रश्नहरू आफैंलाई सोध्ने गरेको छु– बारबार । सबै प्रश्नको एकै उत्तर हुन्छ– ‘जिन्दगी बाँच्नका लागि, हामीले संघर्ष गरिरहेका छौं ।’ लामा प्रश्नहरूलाई छोटै उत्तरले पनि कति सार्थक र भरिपूर्ण बनाइदिन्छ नि, अहो !
‘एउटा राम्रो जागिर खान पाए, आफूले मन पराएको मानिससँग विवाह गर्न पाए, छोराछोरीलाई राम्रो पढाउन पाए, राम्रो लगाउन र राम्रो खान पाए पो जिन्दगी भन्ने लाग्थ्यो । यी सबै कुरा पूर्ण छन् । तर पनि मैले जिन्दगीको परिभाषा अझै बुझ्न सकिनँ । खासमा के हो जिन्दगी भनेको ?’
बाँच्नका लागि हामीले संघर्ष गरिरहेका छौं । तर, बाँच्नका लागि त्यत्रोविघ्न संघर्ष गर्नुपर्छ र ? बाँच्नका लागि कठोर बन्नैपर्छ र ? बाँच्नका लागि दलाली गर्नैपर्छ र ? पर्दैन । त्यसोभए हामी किन यस्तै हर्कतहरू गरिरहेका छौं ? हामी किन मानवीयता गुमाइरहेका छौं ? हामी किन आफैंभित्र कुण्ठा पालेर बाँचिरहेका छौं ? बाँच्नकै लागि मात्रै त त्यत्रो धेरै गर्न नपर्ने हो कि ! कि पर्छ ?
तर, यी प्रश्नका जुलूसको उत्तर पाउँदिनँ । उत्तर खोज्न चाहेर पनि पाएको छैन ।
खैर, पर्छ भने पनि केही छैन । जिन्दगीभर जिन्दगीको परिभाषा बुझ्न नसकेरै मरूँला । तर, फेरि पनि यी सबै–सबै प्रश्नहरूको उत्तर नपाएरै छट्पटाइरहेको छु ।
साथीले भनेको अर्को कुराले पनि म त एकपटक सोच्न बाध्य भएँ । मानिस विवाह गरेपछि परिवर्तित हुन्छ !
उनले माथि भनेका छन् नि– ‘मानिस विवाह गरेपछि परिवर्तित हुँदोरहेछ । जस्तो म हेरौं न, म त सकिएँ नि !’
कसरी ? यो प्रश्नको पनि उत्तर भेटिनँ, मेरो शब्दकोशमा । वा, मैले खोज्न नचाहेको पो हो कि !
वास्तविक रहरहरू पूरा हुन नपाई हरेक दिन कोही न कोही मानिसले देहत्याग गरिरहेको कुरा पनि वर्तमान अवस्थामा विद्यमान छ ।
यसो सोचेर मन्थन गर्दा हरेक मानिसले अहिले जे जति प्रयासहरू गरिरहेका छन्, त्यो केवल बाँच्नका लागि । मात्र बाँच्नका लागि । मानिसको पहिलो आवश्यकता नै बाँच्नु रहेछ । यदि बाँच्नका लागि गाँस, बास, कपास नचाहिंदो हो त मानिसले कठिन समय झेल्नु नपर्दो हो । मानिस अनेक लोभ, ईष्र्या, घमण्ड र अहंकारको भकारी भएकै कारण आज बाँच्न पनि कठिन भइरहेको सत्य हो कि ? कहिलेकाहीं सत्य हो झैं लाग्छ ।
हरेक चियापसलमा सधैंजसो सुनिने एउटा वाक्य आम युवा मानिसमा कण्ठस्थ छ– ‘मृत्यु अन्तिम सत्य हो ।’
यहाँ एउटा प्रश्न उब्जिन्छ । उसोभए हामीले बाँचेको जीवन सत्य होइन ? हामीले भोगेको समय सत्य होइन ? हामीले बाँचेको परिवेश र हामीले बुझेको भूगोल सत्य होइन ? यो प्रश्न आफैंले आफैंलाई सोधिरहेको छु । मानिस जन्मेपछि आइपर्ने हरेक काम र कर्तव्य सत्य रहेछ ।
मानिसको जीवन हुर्कनु, बढ्नु र जीवनमा चालेका सबै कदमहरू सत्य हुन् । कहिलेकाहीं उत्तर यसरी पनि फुत्किंदोरहेछ । हामी मानिसहरू आवश्यकताभन्दा पनि इच्छामा बाँचिरहेका रहेछौं । सबै मानिस आवश्यकतामा मात्रै चल्ने हो भने जीवन सहज हुने रहेछ । तर, हामी त इच्छामा बाँच्ने अभ्यास सिकिरहेका रहेछौं ।
अब त इच्छापूर्ति नहुँदा छट्पटी हुन थालिसकेको रहेछ । अहिले म त्यही, त्यस्तै छट्पटीमा छु । यसबेला मर्नका लागि पनि सम्झौता गर्नुपर्ने शहरमा छु । मानिसका इच्छा, चाहना र आशयहरू पूरा हुन नपाउँदै, जिन्दगीको परिभाषा नबुझ्दै एउटा जिन्दगीको अवसान हुँदोरहेछ ।
डियर अनन्त, यसबेला म त्यही जिन्दगीको परिभाषा नबुझेरै जिन्दगीभर छट्पटीमा बाँच्न सिकिरहेको छु ।
सुनिरहेछु कर्णप्रिय कर्णदासलाई, जिन्दगीको के भरोसा…!
फेसबुक प्रतिक्रियाहरु