बिहिबार, असार १०, २०७८
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • महाव्याधिमा लुटतन्त्र
विचार/ब्लग

महाव्याधिमा लुटतन्त्र

एक वर्षमा बाँकी विश्वले कोरोनाविरुद्ध जुध्न खोप, अस्पताल, आवश्यक औषधि र तयारीमा खर्च गर्‍यो; खड्गप्रसाद नेतृत्वको नेपाली सत्ताले सस्ता उखानटुक्का वितरणदेखि सत्ताको घीनलाग्दो छिनाझपटी र रामसीताको मूर्ति बनाएर त्यो अवधि गुजार्‍यो ।

  • नागरिक रैबार
महाव्याधिमा लुटतन्त्र

 यादव देवकाेटा । विचार ।  बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ

लाखौंका लागि उजाड छ यो देश

मुठीभरलाई त स्वर्ग छ ।

विज्ञापन

पञ्चायतकालीन दिनमा जेबी टुहुरेले गुन्जाएको यो गीत आजको दिनमा सत्तामा अडेस लागेर बसेकाहरूले नागरिकलाई निरीह बनाउँदै आफ्नो ‘स्वर्ग’ उजिल्याउन मच्चाएको लुटको लगामहीन खेलका कारण झन्झन् सान्दर्भिक भैरहेको छ । दुःखको कुरा, टुहुरेले यो गीत गाउँदा उनले पछ्याएको सामाजिक थिति फेर्ने आन्दोलनको अगुवाहरूकै नेतृत्वमा सरकार छ अहिले । म जान्दिनँ, टुहुरे अहिले पनि यिनै मानिसहरूलाई अगुवा मानिबसेका छन् कि यी मुठीभरहरूले आफ्नो स्वर्ग उज्यालो बनाउन समयको निरीह अवसादलाई दुरुपयोग गरेर मच्चाएको लुटतन्त्रको विरुद्ध फेरि पनि गुन्जाइरहेछन्— लाखौंका लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ !

यो देशको भुइँतहमा, सतहमा दैनिक श्रमशक्ति बेचेर गुजारा चलाउने मानिसहरूको लाम छ । आज काम नपाए, नगरे आजै भोको पेट दाम्रिनुपर्ने अवस्था र विवशता बेहोरी बाँचेका यस्ता मानिसहरूको लाम सानोतिनो छैन । यो गरिखाने श्रमजीवी वर्गसँग भोलिका लागि मौज्दातका रूपमा साँचेर राख्ने जम्माजम्मी एउटा सम्पत्ति छ— पसिना बगाउने श्रमशक्ति । त्यही सम्पत्ति फिँजाएर बजारमा बेच्न नपाए ऊ भोकै हुन्छ । ऊसँगै उसको भरोसामा थामिएको परिवार भोकै पर्छ । भोक थाम्ने सीमा नाघेपछि भोक खाएरै मृत्यु स्विकार्छ ।

अघिल्लो वर्ष विश्वभर कोरोना महाव्याधिले मच्चाएको त्रासले, मृत्युको दौडले चैतदेखि नेपाल पनि लकडाउनको चपेटामा पर्‍यो । लकडाउनको पहिलो निसानामा यही दैनिक ज्यालादारीमा श्रम बेचेर गुजारा चलाउने भुइँमानिसहरू परे । कैयौंले लकडाउनको कहरका दिनमा भोक, अभाव र अत्यास खेपेर पनि बलै आफूलाई जोगाए । कतिले त्यो कहरमा कैयौं दिनको भोक, अभाव र प्यास थेग्न नसकेर जीवन निखारे । त्यस्तै निरीहताको नाम्लो च्यापेर भोकले दाम्रिएर कीर्तिपुरको सकडपेटीमै ज्यान निखारेका थिए, धादिङका भरिया सूर्यबहादुर तामाङले । हिसाबमा नआएका, खबरमा नआएका गरिखाने वर्गका कति सूर्यबहादुरहरूको पेटमा दन्किएको थियो भोकको आगो र त्यही भोकको लप्कोले खाइदिएको थियो तिनीहरूको जीवन, कसैको हिसाबमा छैन, गणनामा छैन । किनभने ती गणनाका लागि लायक मानिस पनि ठानिँदैनन्, न सत्ताका लागि, न यो सत्ता थामेर बस्ने समाजका लागि ।

दैनिक गुजाराबाट उठेर महिनावारी तवरले श्रमबजारमा श्रमशक्ति बेच्नेले पनि लकडाउनपछि रोजगारी गुमायो र त्यही पहिलो दैनिक ज्यालादारी गर्नेको हविगतमा ओर्लियो । लकडाउन लादिएपछि सत्तामा आसीनहरू भने जनतालाई यो कहरबाट निकाल्न केही विकल्प दिनतिर लागेनन्, बरु महाव्याधिसँग जुध्ने स्वास्थ्य सामग्री खरिदमा लुट मच्चाउन आफूनिकटहरूलाई औषधि खरिदको बिचौलियाका रूपमा सम्बन्धन मिलाउने दौडधुपमा लागे । मृत्यु भएकाहरूको संख्या बढाएर तिनका नाममा कमिसन खानेदेखि सार्वजनिक खरिदमा खुल्लमखुला कमिसन माग्न मन्त्रीहरू नै लागेको विवरण आउँदासमेत खड्गप्रसाद ओलीले तिनको बचाउ गर्न सत्ताको दुरुपयोग गरे ।

सहरको बेरोजगारी र अभावले निम्त्याएको भोक र अभाव खेप्न नसकेर राजमार्गभरि पिठ्यूँमा नानी च्यापेर खाली खुट्टा पैदल मार्च गरिरहेका मानिसहरूको ताँती कम्ता अत्यासलाग्दो थिएन । सहरको अल्पकालीन बसाइ छाडेर थातथलोतिरको बसाइँ हिँडेका मानिसहरूको ताँतीले बस्ने र देख्नेहरूको मन रुवाइरहेको थियो । जसको त्यसरी जाने थातथलो पनि थिएन, सहर छाडेर निस्की जानलाई कुनै गन्तव्य र ठेगाना थिएन, ती सहरमा भोकभोकै सूर्यबहादुर तामाङ बनेर जिन्दगीकै बसाइ निखारिरहेका थिए । आवश्यक पर्दा मजदुर, ज्यामी, भरिया, श्रमजीवीहरूको बल निचोरेर अघाएको, उज्यालिएको सहर अभर पर्दा तिनलाई भरोसा दिन कन्जुस्याइँ गरिरहेको थियो । यो देशको एउटा सहरले साबिकमा श्रमदोहन गरेका भरिया सूर्यबहादुरको पेटको भोक बुझाउने ल्याकत पनि राखेन ।

उता पाँच सय किलोमिटरभन्दा बढी पैदल हिँडिरहेका भोका मानिसहरूका लागि सत्ता कहीँ उपस्थित भएन । ऊ भ्रष्टाचार, कमिसन, उखानटुक्का, हँसीमजाक र सत्ता–खेलोमा मात्रै उपस्थित थियो । अभरमा परेका जनतालाई आवश्यक परेको दिनमा सत्ता तिनको बेहाल र दर्दनाक अवस्थाबाट बेखबर थियो । खबर भए पनि उसले यो सबसँग कुनै सरोकार देखाउन आवश्यक ठानेन ।

सडकमा त्यसरी सकी–नसकी पैताला घिसारिरहेका हजारौंहजार मानिसका लागि यो देश उजाड पखेरो मात्रै बन्यो । सभा–जुलुस गर्न सयौं गाडी पठाएर मान्छे ओसार्ने र भीड देखाउने दलहरू हिजो पनि र आज पनि नागरिकलाई पर्दा दुलोभित्र पसेका छन् । सत्ताधारीदेखि सत्ताको छिनाझपटीमा रहेकाहरू सबै आज पनि टाउको किनबेच गरेर सत्ता जोगाउने र ढाल्ने खेलोमा लागेका छन् । जनताले बेहोरिरहेको यो कहरमा तिनको कुनै सरोकार देखिएको छैन । अरू त अरू, यो व्यवस्थाको विकल्प खोज्न लागेको हुँ भन्नेहरूसमेत चन्दा नआउने भएरै होला, जनताको यो पीडामा मौनताको सिरक ओढेर निमग्न छन् ।

सत्तामा आसीन खड्गप्रसाद र तिनका मुठीभर आसेपासेलाई भने महामारी पनि देश लुट्ने र जनता चुस्ने स्वर्णिम अवसर बनेर आइदियो । तिनले मनोमानी नगरेको क्षेत्र कुन मात्रै बाँकी रह्यो होला र ? औषधि खरिददेखि उद्धार उडानसम्म, क्वारेन्टिनदेखि पीसीआर टेस्टसम्म, राष्ट्रिय खरिददेखि अन्तर्राष्ट्रिय खरिदसम्म । महाव्याधिले च्यापेको एक वर्षमा बाँकी विश्वले कोरोनाविरुद्ध जुध्न खोप, अस्पताल, आवश्यक औषधि र तयारीमा खर्च गर्‍यो; खड्गप्रसाद नेतृत्वको नेपाली सत्ताले सस्ता उखानटुक्का वितरणदेखि सत्ताको घीनलाग्दो छिनाझपटी र रामसीताको मूर्ति बनाएर बितेको एक वर्ष गुजार्‍यो । बाँकी विश्वले चरण–चरणमा खोप, औषधिको परीक्षण गरेर कोरोनाविरुद्ध जुध्ने सामर्थ्य निर्माणमा आफ्नो तागत संकेन्द्रित गर्‍योÙ खड्गप्रसादहरू भने गुर्जो खाएर कोरोना भगाउने गफ वितरण गर्ने र विदेशमा निर्मित कोरोनाविरुद्धको खोपमा कसरी कमिसन कुम्ल्याउने भनेर दत्तचित्त भएर लागे ।

हालैका दिनमा कोरोनाविरुद्ध लगाइने खोप खरिदमा मच्चिएको भाँडभैलो र त्यसमा सामेल बिचौलियाहरूको अनुहारले खड्गप्रसादको सत्ता कसरी मानिसको जीवनको अति आधारभूत र संवेदनशील विषयमा समेत लुटतन्त्र मच्चाउन उद्यत छ भन्ने देखाउँछ । कोरोनाविरुद्धको खोप उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युटबाट ५० लाख खोप खरिदमा दलाल कम्पनीले अड्को थापी खोप खरिद प्रक्रियामै अवरोध गरेको भनेर खड्गप्रसाद नेतृत्वका स्वास्थ्यमन्त्रीले नै बोलेको भिडियो प्रस्ट देख्न, सुन्न सकिन्छ ।

सवाल ती दलालले कसको आडभरोसामा कोरोनाविरुद्ध लगाइने खोपजस्तो संवेदनशील विषयमा समेत दलालीको हिस्सा प्राप्त गर्न अड्को थापिरहेका छन् भन्ने हो । के दलालहरू सत्ताभन्दा शक्तिशाली भएका हुन् ? कि सत्ताको शक्तिशाली ओहोदामा बसेकाहरूले सीधै ‘घपला’ हान्ने बाटो छाडेर दलाल अघि सारेका हुन् ? दलालीको हिस्सा खोज्दै खोप खरिदमा अवरोध गरेकाहरू भनेर नाम आएका बिचौलिया अघिल्लो वर्ष मात्रै प्रधानमन्त्री खड्गप्रसादको प्रत्यक्ष रुचिमा नेपाल भ्रमण वर्ष संयोजन समितिको संयोजक रहनु संयोग मात्रै कसरी हुन सक्छ ? पर्यटन क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने प्रशस्तै काबिल मानिसहरू हुँदाहुँदै गाडी व्यापारमा परिचय स्थापित गरेका मानिसलाई किन भ्रमण वर्ष संयोजक बनाउन खड्गप्रसाद लागिपरेका थिए र अहिले तिनै मानिस ‘जीटुजी’ स्तरमा गरिने खोप खरिदमा दलालीको हिस्सा सुरक्षित गर्न खोप खरिद नै प्रभावित पार्ने गरी कुन पार्श्व बलका आधारमा अघि सरे भन्नेमा अब पनि कुनै द्विविधा रहन सक्छ ?

कोरोनाको दोस्रो लहरको चपेटाले च्याप्दै लगेपछि संक्रमित हुनेको संख्या दिनानुदिन बढिरहेको छ । अब त यसले आक्रामक स्वरूप देखाउन थालिसकेको छ । अस्पतालको बेडमा उपचारका लागि एउटा मरेपछि अर्कोले पालो पाउने अवस्था छ । अस्पतालहरूमा अक्सिजन नपाएर बिरामीको मृत्यु भइरहेको छ । अस्पतालहरूमा अक्सिजन, बजेट, जनशक्ति र मेसिन सबै चीजको अभाव रहेका र संक्रमितको उपचारमा कठिनाइ भएका खबरहरू आइरहेका छन् । अस्पतालको बेड खोज्दाखोज्दै अस्पताल प्रांगणमै संक्रमितको मृत्यु भैरहेको छ ।

सर्वसाधारणले अस्पतालमा अक्सिजन र बेड पाउन नसकेर जीवन गुमाए पनि सामान्य अवस्थामा गएका नेताहरू, पैसावालहरू कोही पनि उपचार नपाएर अलपत्र परेको खवर आएको छैन । सत्ता–खेलो मिलाउन सार्वजनिक परीक्षणमा संक्रमणको संकेत पनि नदेखिएका सांसदहरूलाई अस्पतालको बेड कब्जा गरेर नक्कली बिरामी बनाई भर्ना गरिएको छ । त्यो पनि कथित कम्युनिस्ट पार्टीसम्बद्ध भनिएको सांसद !

बुटवलमा अस्पतालको गेट खुल्ला र भित्र जाउँला भनेर घण्टौं अस्पतालअघि कुर्दाकुर्दै बिरामीले ज्यान गुमाएको हृदयविदारक खबर पढिरहँदा लुम्बिनीका मुख्यमन्त्री सत्ता हानथापको जोडघटाउ मिलाउन व्यस्त थिए । सञ्चारमाध्यमदेखि स्वास्थ्यमन्त्रीसम्मले कोरोनाविरुद्धको खोप खरिदमा बिचौलियाहरूले अवरोध गरेको खुलेआम उल्लेख गरिरहेका छन् । आज सत्ताव्यवस्था दलालहरूको व्यवस्थामा विघटित भएको छ ।

भारतमा कोरोना महामारीका कारण दाहसंस्कार गर्ने ठाउँसम्म नपाएपछि र अस्पताल भरिभराउ हुन थालेपछि धनाढ्यहरू उपचारको बहानामा लाम लागेर विमानस्थलतिर दौडिएको दृश्य उदेकलाग्दो छ । नेपालको सार्वजनिक स्वास्थ्य व्यवस्था ध्वस्त बनाएर स्वास्थ्य क्षेत्र नाफाखोरहरूको हातमा सुम्पने राजनीतिक पेसेवरहरू र नवधनाढ्यहरू त्यसरी लाम लागेर विदेश सोझिएको दृश्य देख्न अब धेरै दिन कुर्नुपर्नेछैन, यही अवस्था कायम रहेमा । चिकित्सकको दोहन, नागरिकमाथिको चुसाइ र निर्बल व्यवस्थापनमा टिकेका कथित भव्य अस्पतालहरूले संकटको दिनमा आफ्नो असली औकात देखाएका छन् । दिनकै पचास हजार शुल्क तोकेर खुलेआम लुट मच्चाउने अस्पताल नामका नाफाखोर व्यापारिक गिरोहमाथि सत्ताले मौनता साधेर आफू त्यो लुटको हिस्सेदार भएको जनाउ दिइसकेको छ ।

आजको नेपालको आर्थिक उत्पादनका साधनहरू दलालहरूका मुठीमा कैद छन् । यसले आफ्नो दलालीको हिस्सेदारी सुरक्षित गर्न सारा मानवीय संवेदनाहरूको निर्ममतापूर्वक दोहन गर्छ । सत्तामा आसीनहरूले तिनै दलालहरूको प्रतिनिधि बनेर दलालीलाई चम्काउन र फस्टाउन सारा व्यवस्था मिलाइरहेका छन् । चुनाव, मतजस्ता सार्वजनिक लोकतन्त्रको आवरणमार्फत जनताको प्रतिनिधिको जाली बर्को ओढे पनि खासमा यो दलालहरूको प्रतिनिधि व्यवस्था हो । त्यसैले यो निर्णायक मोडमा जनताको हित भर्सेलामा पारेर दलालहरूको हित रक्षाको पक्षमा उभिने गर्छ । बिचौलियाहरूको संरक्षकका रूपमा सत्ता परिचालन भइरहेको त्यही कारण हो ।

आजको दिनमा बिचौलिया, दलाल र तिनको प्रतिनिधि बनेर सत्तामा आसीन मुठीभरलाई कोरोनाको महाव्याधिकाल पनि स्वर्णिम दिन बनेर उदाएको छ । तिनलाई आजको दिन पनि स्वर्ग छ । सर्वसाधारणलाई अस्पतालको बेड पाउनु नै एउटा युद्ध जितेजस्तो हुने अवस्था छ । अक्सिजन पाउनु, औषधि पाउनु नै नागरिक योग्यताको विषय भएको छ । अस्पताल, बेड, अक्सिजन नपाएरै नागरिकको मृत्यु भइरहेको छ । तिनका लागि यो देश उजाड मरुभूमिजस्तो भैरहेको छ । सत्तासीनहरू रामको मूर्ति बनाई उखानटुक्का वितरण गरेर बसिरहेका छन् । यो गतिहीन र दलालहरूको प्रतिनिधि सत्ता गरिखाने श्रमजीवी जनताको धैर्यको परीक्षण गर्दै लुटतन्त्र मच्चाउन निमग्न छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै