काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै अन्तिम घडीमा माधवकुमार नेपालको साथ छाडेर एमालेमै बस्ने निधो गरेका नेताहरु असन्तुष्ट भएका छन्। ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने आश्वासन दिए पनि अन्तिममा धोका दिएको बुझाईमा उनीहरु पुगेका छन्।
ओलीले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने सहमति गरे पनि पुरानै समस्या दोहोरिएको टिप्पणी उनीहरुले गरेका छन्।
एमालेलाई जेठ २ गतेको अवस्थामा फर्काउने सहमति भए पनि प्रचार विभाग प्रमुख तथा प्रवक्ता योगेशकुमार भट्टराई हुनुपर्नेमा पुनः प्रदीपकुमार ज्ञवाली भएको विषयमासमेत एमाले रोजेका नेताहरु झस्किएका छन्। पार्टीमा १० बुँदे सहमति कार्यान्वयन भएको भन्दै आएका एमाले रोजेका नेताहरुले अहिले आएर आफूहरुलाई पेल्न थालेको महसुस गर्न थालिएको बताएका छन्।
यस्तै सहमतिमा जेठ २ गतेको एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बसेपछि माओवादीबाट आएका नेताहरुलाई सहमतिमा प्रवेश गराउने भनिए पनि त्यो विषयलाई बेवास्ता गरेको विषयमासमेत असन्तुष्टि देखिएको छ। ‘पार्टीमा भएको १० बुँदे सहमति अक्षरसः पालना गर्ने भन्दै जेठ २ गतेमा फर्काउने सहमति भयो। सहमति भएको हप्ता दिन नपुग्दै सहमति उल्ट्याएर जाने काम भयो,’ एक नेताले भने, ‘पार्टीमा १० बुँदे सहमति कार्यान्वयन नगरेर पुरानै अवस्थामा पुर्याउने हो भने फेरि पुरानै समस्या दोहोरिन्छ।’
एमाले रोजेका नेताहरु असन्तुष्ट हुन थालेपछि १० बुँदे सहमति कार्यान्वयनका लागि गठन गरिएको कार्यदलका नेताहरु बसेर छलफल गरेका छन्। ‘आज १० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको बैठक बसेर कहाँ-कहाँ समस्या छ भन्ने विषयमा छलफल गर्ने भनिएको हो,’ ती नेताले भने, ‘कहाँ को-को नेता बसेर के-के छलफल भयो थाहा छैन।’
कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र लेखराज भट्ट छन्।
एमालेभित्रको अन्तरसंघर्षमा माधवकुमार नेपालनिकट रहेका र अन्तिम घडीमा उनले विभाजनको पार्टीमा नगएर एमालेमै बसेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले समस्या आए पनि समाधान १२ बुँदेभित्रै खोज्नुपर्ने बताए। ‘अहिले मसला पनि बनाइएको छ’, पाण्डेले नेपाल लाइभसँग भने, ‘हामीले समाधान पनि १० बुँदेभित्रै खोज्नुपर्छ।’
फेसबुक प्रतिक्रियाहरु