होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ‘बा’को आँगनमा समाजवाद
राजनीति

‘बा’को आँगनमा समाजवाद

  • नागरिक रैबार
‘बा’को आँगनमा समाजवाद
साेमत घिमिरे

‘बा’को आँगनले चर्को सन्देश दियो­– दोस्रो पुस्ताले पहिलो पुस्तासँग जोरी नखोज, दिएको खाऊ र अरनखटनमा बस समाजवाद भनेर नथाक्ने, जेलाई पनि समाजवादसँग गाँसेर विश्लेषण गरेको भान पार्न सक्ने ओलीसँग असहमत भनिएको दोस्रो पुस्ताले ओलीकै आँगनमा सहमति गरे । ओली समाजवादी भएर सहमति भयो कि बेजोड सैद्धान्तिक भनिएको दोस्रो पुस्ता ओलीकरण भयो, भविष्यमा खुल्नुपर्ने केही छैन । खालि दोस्रो पुस्ताले बाको आँगनमा सहमति गर्‍यो । ‘बा’को आँगनमा अब महेश बस्नेत र गोकुल बाँस्कोटा मात्रै खेल्नेछैनन्, समाजवादी ढाँचाको इस्टकोट लगाएर घनश्याम भुसाल पनि त्यतै खेल्नेछन् । ‘बा’को लाडप्यारमा बाँकी जीवन हुँर्काउनेछन् ।

विविधतायुक्त भयो ‘बा’को आँगन । अब ‘बा’को आँगनमा सांसद अपहरणका योजना मात्रै बुनिनेछैनन् । रामसीताको मात्रै चर्चा हुनेछैन । ‘बा’को आँगनमा अब ग्राम्सी र रोजाको पनि चर्चा हुनेछ । समाजवाद त अब ‘बा’को आँगनमा बहसको नित्य विषय बन्नेछ । यसलाई विपरीत्वभित्रको एकत्व भनेर व्याख्या गर्नेछन् घनश्यामले रोजा, माक्र्स, ग्राम्सीका कोटेसनहरू उद्धृत गरेर । अब केही दिनमै अलि–अलि कोटेसन भन्न थाल्नेछन् पक्कै, महेश बस्नेत र गोकुल बाँस्कोटाहरूले पनि । उस्तै परे ‘बा’ले पनि समाजवाद भन्न बेर छैन । ‘बा’ले अब मार्क्सकै नाम लिए भने पनि अनौठो हुनेछैन । किनभने सिंगो मार्क्सवादी पुस्ता नै ‘बा’कै आँगनमा छ । त्यही आँगनबाट बहुदलीय जनवादका विविध आयामको चर्चा हुनेछ । जे होस्, ‘बा’को आँगन विविधतायुक्त हुने भयो ।

‘बा’का आँगन धेरै छन् । जन्मदिन मनाउन तेह्रथुमको आँगन । चुनाव लड्न दमकको आँगन । रामसीता र माक्र्सका कुरा गर्न बालकोटको आँगन । ‘बा’ले गजब तर्क गर्नुहुन्छ । आफ्ना तीन आँगन बिर्सिएर डेरामा बसेका अन्य पार्टीका नेतालाई तेरो डेरा ठूलो भन्नुहुन्छ । अब सायद बाले यस्तो कुरा बार्दलीमा उभिएर भन्नुहोला । बार्दलीमुनि बसेर समाजवादी पुस्ताले समाजवादी पाराले ताली लगाउला । आखिर तालीभित्र पनि सामन्तवाद र समाजवाद हुन्छ भन्ने विश्लेषण आउला । जे होस्, ‘बा’को आँगन अपरम्पार छ । विगत नौ महिनादेखि अन्त कतै नमिलेको कुरा माधव नेपालले नयाँ दल दर्ता गर्नेबित्तिकै ‘बा’को आँगनमा एकछिनमै मिल्यो । ‘बा’को आँगनले नयाँ बहस जन्मायो । दोस्रो पुस्ता आखिर कस्तो हो । यो प्रश्न ठूलो छ ।

विज्ञापन

माओवादी धारलाई हेर्ने हो भने सशस्त्र संघर्ष भन्न कहिल्यै नछाड्ने तर सशस्त्र संघर्षमा सिन्को तयारी नगरी पहिलो र दोस्रो पुस्ताले बिताए । सशस्त्र संघर्षलाई अनेक कोणबाट विश्लेषण गर्न सकिएला । सहमत या असहमत हुन पनि सकिएला । तर, सशस्त्र संघर्ष गर्न तेस्रो पुस्ता प्रचण्ड आइपुग्नुपर्‍यो । प्रचण्डले आफ्नो दोस्रो पुस्ता सिपी, बादललाई विश्वास नगरेर आर्को पुस्ता हुर्काउनुपर्‍यो । दोस्रो पुस्ता जनयुद्धमा कामयाब देखिएन । बरु तेस्रो पुस्ताले जनयुद्ध थेग्यो । अहिले जनयुद्ध कहाँ छ, त्यो अर्को बहसको विषय हो, तर थेगेको तेस्रो पुस्ताले हो ।

अहिले माधव नेपाल फेरि त्यही भुमरीमा परे । दोस्रो पुस्ताको विश्वासमा उनले ओलीसँग ठूलै लडाइँ लडे, तर दोस्रो भनिएको पुस्ता ‘बा’को आँगनमा समाहित भए । आखिर किन दोस्रो पुस्ता यति कमजोर छ । घनश्यामहरूले के गरे, यो महत्वको विषय होइन, महत्वको विषय त यो हो, किन दोस्रो पुस्ता नेपाली राजनीतिमा प्रभावशाली हुन सकेको छैन ? किन दोस्रो पुस्ताले वैचारिक र सांगठनिक रूपमा हस्तक्षेप गर्न सक्दैन । किन नेपालजत्तिको विद्रोही भुसाल हुन सक्दैनन् ?

यस प्रश्नले पहिलो पुस्ता पाको भयो । नेपाली समाजका विशेषता र अन्तरविरोधसँग बेखबर भयो । यसले दोस्रो पुस्तालाई बाटो खुलाइदिनुपर्छ भन्ने ठाउँ नै दिएन । किनभने, दोस्रो पुस्ता झन् कमजोर देखियो । पहिलो पुस्ताका पाका नेताहरूसँग दोस्रो पुस्ता विलीन भइदिनाले आन्दोलनले नयाँपन पाउन झन् अप्ठेरो सिर्जना भयो । राजनीति रचनात्मक रूपमा अगडि बढ्ने बाटो छेकियो । ‘बा’को आँगनले चर्को सन्देश दियो­, दोस्रो पुस्ताले पहिलो पुस्तासँग जोरी नखोज । दिएको खाऊ र अरनखटनमा बस । ‘बा’को आँगनबाट सबै पार्टीका दोस्रो पुस्ताले यही सिक्ने भए ।

राजनीतिमा दोस्रो पुस्ताको ग्याप भनेको डरलाग्दो खडेरी हो । तेस्रो पुस्ता हुर्किन समय लाग्छ । दोस्रो पुस्ता अलि सजिलोसँग हुर्किन्छ । तेस्रो पुस्ता पहिलो र दोस्रो पुस्ताको सेप लाग्छ अर्थात् ओझेलमा पर्छ । अझ नेपालजस्तो हुर्काउने संस्कृति नभएको राजनीतिमा त तेस्रो पुस्ताले ठाउँ लिन निकै गाह्रो हुन्छ । किन दोस्रो पुस्ता कमजोर भयो ? दोस्रो पुस्ता आफ्नो भन्दा पनि पहिलो पुस्ताको कर्मले अगाडि बढेको देखियो । यसले धेरै जोखिम लिनुपरेन । पहिलो पुस्ताले बनाएको बनिबनाउ घरमा बस्ने बानी परेको पुस्ता जस्तो देखियो । सत्तामा पहुँच पनि सजिलो र चाँडो हुनाले दोस्रो पुस्ताले धेरै जोखिम नै लिएन । अदालतले आरक्षणको सवालमा अत्यन्तै गलत ढंगले प्रयोग गरेको ‘तरमारा’ शब्द नेपालको कम्युनिस्ट आन्दोलनभित्र दोस्रो पुस्तालाई सुहाउने देखियो । खासै ठूलो कर्म पनि गर्नु नपर्ने, जोखिम पनि लिनु नपर्ने खालि ‘बा’को आँगनमा बसेर बार्दलीको भाषण सुन्न तयार भए दोस्रो पुस्ताको इज्जत रहिरहने भयो ।

दोस्रो पुस्ता कमजोर हुनुका अप्ठेरा नेपाली राजनीतिलाई महँगो छ । राजनीतिक दलहरू राजनीतिक जस्ता हुन सकेका छैनन् । कांग्रेस एकखालको आन्दोलनबाट आयो । ‘हिरोइज्म’का आधारमा दल सञ्चालन गर्‍यो । सबैभन्दा पुरानो लोकतान्त्रिक दल भनेर दाबी गर्छ, तर संविधानले तोकेको अवधिमा पनि महाधिवेशन गर्न सक्दैन । मधेसवादी एउटा आन्दोलनबाट आए । तिनलाई दलको आधार लिनै हम्मेहम्मे परिरहेको छ । माओवादी जनयुद्धको हुन्डरीबाट आयो । शान्ति प्रक्रियापछि दललाई संस्थागत गर्न नसकेको परिणाम अहिले भोगिरहेको छ ।

एमाले आन्दोलनबाट होइन, विभिन्न धारा जोड्दै, टालाटुली बटुल्दै वैचारिक हिसाबले बाहेक दलजस्तो देखिन्थ्यो । ऊसँग सबै थियो । संगठनको पद्धति थियो । तलदेखि माथिसम्म समयमै महाधिवेशन हुन्थ्यो । सम्मेलन हुन्थ्यो । ऊसित सबै थियो, केवल विचार थिएन । उसले प्राविधिक व्यवस्थापकीय हिसाबले संगठन जोगाएको थियो, तर ‘बा’को एक झापडले सबै भताभुंग भयो । आखिर ‘बा’को झापड कडै पर्‍यो । मधव नेपालले लामो समय जोगाएको पार्टीलाई ‘बा’को एक झापडले लथालिंग पा¥यो ।

दलहरू बलियो र संस्थागत हुने सम्भावनामा पनि दोस्रो पुस्ताले ग्रहण लगायो । यसै त नेपाली राजनीतिको कार्यभार नेपाली नेतृत्वले बोक्नै सकेको छैन । संघीयताको कार्यान्वयन नेपाली विशेषतामा आधारित समाजवादको पक्ष जस्ता अनेकन् सवाल नेपालको राजनीतिक नेतृत्वले बोक्नै सकेका छैनन् । कहिलेकहीँ लुला दलहरू र कार्यभारबीच अन्तर्विरोध छ । झन् यस्तो वेला आँखा लाग्ने दोस्रो पुस्तातिरै हो । तर, दोस्रो पुस्ताले यस्ता सवालमा नेपाली राजनीतिमा निराशाबाहेक अरू सम्प्रेषण गर्न सकेन । आन्तरिक लोकतन्त्रको मर्मलाई पटक्कै स्वीकार नगर्ने दलका नेतृत्वले दोस्रो पुस्ताको आँगनप्रवृत्ति र यो हविगत देखेपछि उनीहरूको तानाशाही बढ्नु अनौठो होइन । तर, यो अँध्यारोबीच तेस्रो पुस्ता, जो भुइँसँग जोडिएको छ, त्यसले आफूलाई अगाडि बढायो भने दोस्रो पुस्ताले आफैँलाई ‘दोस्रो पुस्ता’ भन्नेबाहेक केही गर्न सक्नेछैन ।

‘बा’को आँगनले एउटा गुन लगाएको छ । अबको नेपाली राजनीति ध्रुवीकरणको दिशामा जान सक्छ । ‘बा’ देखेर कमल थापाले यो लक्षण देखाइसकेका छन् । बाले पनि राजेन्द्र लिङ्देनलाई पहिल्यै संसद्मा ल्याइसक्नुभएको छ । समाजवाद, संघीयताविरोधी र हिन्दूधर्मको एउटा मोर्चा, समाजवाद पक्षधर, संघीयता पक्षधर, धर्मनिरपेक्षतावादीहरूको अर्को मोर्चा बन्ने सम्भावना देखिँदै छ ।

नयाँ पत्रिकाबाट सभार

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार