काठमाडौं— गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारपछि हत्या भएकी सम्झना कामीको घटनामा संग्लन हुने व्यक्तिलाई कानुन वमोजिम हदैसम्मको कारबाही हुने बताएका छन् ।
बझाङ मष्टा गाउँपालिका—२ की सम्झना कामीको असोज ७ गते साँझ बलात्कार गरि हत्या गरेको अवस्थामा शव मन्दिरमा भेटिएको थियो । उक्त घटनाको सर्वत्र विरोध भइरहेका बेला अखिल नेपाल महिला संघ र बझाङबाट प्रतिनिधित्व गर्ने सांसदहरुको टोलीको ज्ञापनपत्र बुझेपछि गृहमन्त्री थापा बादलले बलात्कारीका अपराधीहरुले कानुन वमोजिम हैदसम्मको कारबाही हुने बताएका हुन् ।
गृहमन्त्री थापा बादलले देशभर भइरहेका बलात्कारका घटनाबारे सरकार गम्भिर रहेको र यस्ता घटना न्युनिकरणका लागि कानुन संशोधन गरी फाँसीसम्मको सजाय गरिनुपर्ने देशैभरीबाट सुझाव आइरहेको समेत बताए । बलात्कारका घटना निन्युकरण गर्न फाँसीसम्मको सजायका लागि विभिन्न क्षेत्रमा घनिभूत ढंगले छलफल आवश्यक रहेको गृहमन्त्रीको टिप्पणी थियो ।
अखिल नेपाल महिला संघले सम्झना लगायत देशभर महिलामाथि भइरहेका बलात्कार, कुटपिट, हत्याका घटनाबारे गृहमन्त्री बादललाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ ।देशैभरी भएका बलात्कार, हत्या हिंसाका घटनाबारे निष्पक्ष अनुसंन्धान गरी दोषीलाई हदैसम्मको कारवाही गर्न गृहमन्त्री रामबहादुर थापा बादलसँग अखिल नेपाल महिला संघले माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले घटनाका दोषीलाई कानुन वमोजिम कडा कारवाही गर्न कुनै कसुर बांकी नराख्ने आश्वासन दिएको बझाङबाट प्रतिनिधित्व गर्ने सांसद आशा विकले बताइन् ।ज्ञापनपत्रसहित गृहमन्त्रीको ध्यानाकर्षण गराउन गएको टोलीमा बझाङबाट प्रतिनिधित्व गर्ने सांसद भैरव सिंह, आशा विक, संविधानसभा सदस्य अफिलाल ओखेडा, अखिल महिला संघ संयोजक अमृता थापा, सहसंयोजक सीता पौडेल लगायतको सहभागिता थियो ।
उक्त घटनामा संलग्न रहेको भन्दै स्थानीय राजेन्द्र बोहोरालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेका बोहोराले डेढ महिनाअघि सोही गाउँकी अर्की १४ वर्षीय दलित बालिकाका पनि बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उक्त घटना भने गाउँमै कागज गरेर मिलाइएको थियो । पीडित बालिकाले अहिले उजुरी दिएकी छन् ।
फेसबुक प्रतिक्रियाहरु