घरभरी अनेकथरी खेलौना छ । बच्चा जन्मनुअघि नै बुवाआमाले कति खेलौनाको जोहो गरिसकेका छन् । आफन्त पाहुना लाग्न आउँदा पनि खेलौना ल्याइदिएका छन् । जन्मदिन जस्ता विशेष अवसरहरुमा त उपहार स्वरुप प्राप्त खेलौनाको थुप्रो नै लागेको छ ।
घरभित्र खेल्ने, घर बाहिर खेल्ने । आवश्यक्ता अनुसार सबैखाले खेलौना उपलब्ध छ । तर, बालबच्चालाई आफ्नो खेलौनाप्रति कुनै चसो छैन, रुची छैन । उनीहरु न खेलौनासँग खेल्छन्, न खेलौना प्राप्त हुँदा खुसी हुन्छन् ।
बरु उनीहरुलाई त जसरी हुन्छ आमाबुवाको हातबाट मोबाइल फुत्काउनु छ । फकाएर हुन्छ कि, घुर्काएर हुन्छ कि, झगडा गरेर हुन्छ कि, खाना नखाएर हुन्छ कि । मोवाइल नपाएसम्म झगडा गर्ने, घुर्की लगाउने, खाना नै नखाने, भनेको नमान्ने ।
बालबच्चामा मोबाइलप्रति आशक्ति बढ्दो छ । मोवाइल पाएपछि उनीहरु सबै कुरा भुल्छन् । एउटै कोठाभित्र, एउटै पलंगमा वा एउटै सोफामा बसेर घण्टौं बिताइदिन्छन् । यसरी मोबाइल खेल्न पाएपछि न भोक लागेको थाहा पाउँछन्, न तिर्खा लागेको भेउ पाउँछन् । न दिसापिसाब लागेको पत्तो पाउँछन् । एकै ठाउँ खुम्चिएर बसेपछि उनीहरुको सम्पूर्ण ध्यान स्क्रिनमा हुन्छ । आफ्नो आसपासमा के भइरहेको छ भन्ने कुरा समेत थाहा पाउँदैनन् ।
कतिपय अभिभावकलाई लाग्छ, बालबच्चालाई मोवाइल दिएपछि झै–झगडा गर्दैन । फोहोर खेल्दैन । घरको सरसामन बिगार्दैन । कचकच गर्दैनन् । खानेकुरा माग्दैनन् । एकै ठाउँ बसिरहन्छन् । कतिपय अभिभावकलाई के पनि लाग्छ भने, आफ्ना बालबच्चाले मोबाइलमा धेरै कुरा चलाउन सिके । आफुले समेत नजानेका कुरा बच्चाले जाने । जबकी बालबच्चामा मोवाइलप्रतिको यो आशक्ति आफैमा खुसीको कुरो होइन । बरु यसले बालबच्चाको शारीरिक र मानसिक विकासमा अवरोध पु¥याइरहेको छ ।
बालबच्चाले खेलौनासँग खेल्दा रमाउने मात्र होइन, व्यवहारिक ज्ञान पनि हासिल गर्छन् । खेल्दा उनीहरुको रचनात्मक क्षमता बढ्छ । शारीरिक गतिविधि पनि बढ्छ । तर, मोबाइलमा उनीहरुले खेल्ने गेम, हेर्ने भिडियो बालमैत्री हुन्छ भन्ने छैन । मोवाइलमा उपलब्ध धेरैजसो सामाग्रीले उनीहरुमा भय, अत्यास, क्रोध पैदा गरिदिन्छ । कतिपय गेमहरु हिंस्रक खालको हुन्छ । यसले उनीहरुको मुड र मनस्थितिमा नै असर गर्छ ।
जब उनीहरु मोवाइलमा लिप्त हुन्छन्, तब उनीहरुको सामान्य जीवन प्रभावित हुन पुग्छ । उनीहरु आफ्नो बालापन बिर्सिएर मोबाइलमै लिप्त हुन्छन् । बाहिरी संसारमा खेल्दैनन्, रमाउँदैनन्, हेलमेल गर्दैनन् । कतिसम्म भने, गेममै लिप्त भएर खाना खान, होमवर्क गर्न, पढ्न समेत भुल्छन् ।
मोवाइलको गेममा लिप्त भएपछि उनीहरुको शारीरिक गतिविधि निस्क्रिय हुनपुग्छ । बच्चाहरु बाहिर खेल्दैनन् । उफ्रदैनन् । यसले उनीहरुमा मोटोपन, मधुमेह जस्ता रोगको खतरा अधिक मात्रामा रहन्छ ।
त्यस्तै मोबाइलको बिकिरणले पनि उनीहरुको स्वास्थ्यमा हानी पु¥याउँछ । त्यसो सोझो असर आँखामा पर्छ । एउटै पोजिसनमा घण्टौ मोबाइलमा लिप्त हुँदा त्यसले रक्त प्रवाहमा असर पु¥याउँछ । मेरुदण्डमा असर पु¥याउँछ ।
बच्चालाई मोबाइलबाट अलग गर्नुपर्छ, उनीहरुलाई मोवाइल एवं ग्याजेट्सको पहुँच दिनैहुन्न, उनीहरुलाई भर्चुअल गेम खेल्न निषेध गर्नुपर्छ भन्ने सोचिरहनु भएको छ भने त्यो अझ गलत हो ।
अहिलेको अभिभावकको मूख्य चुनौती के भने, बच्चालाई ग्याजेट्ससँग जोडिन दिनुपर्छ । तर, त्यसको व्यवस्थापन गर्न सक्नुपर्छ । समयसीमा तोक्न सक्नुपर्छ । यसले अहिलेका अभिभावकमा दायित्व बढाएको छ ।
निश्चित समयपछि फकाइफुल्याइ वा सम्झाइबुझाइ पढ्न वा बाहिरी खेल खेल्न प्रेरित गर्नुपर्छ । हरेक दिन निश्चित समय उनीहरुलाई मोबाइल गेम खेल्न दिनुपर्छ । यसरी उनीहरुलाई मोबाइलको लतबाट छुटकारा दिलाउन सकिन्छ ।
बच्चाहरुलाई मोबाइलमा के हेर्ने, के खोज्ने भन्ने कुरा अभिभावकले सिकाउनुपर्छ । बालमैत्री खेल वा कार्टुनहरु देखाउनुपर्छ । हिंस्रक किसिमको सामाग्री हेर्नबाट निषेध गर्नुपर्छ ।
फेसबुक प्रतिक्रियाहरु