जीवन कैला
काेल्टी ११ पुस। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकालाई जोड्ने पिलुचौर स्थित कर्णाली पुल वरपोर जम्मा भएका मानिसहरु देख्दा कुनै मेला लागेको जस्तो देखिन्थ्यो । विचमा निलै भएर बगि रहेको कर्णाली नदी, कर्णाली नदीका किनारा र पिलुचौरको झोलुङ्गे पुलमाथिबाट उत्सुकताका आँखाले हेरिरहेका स्थानियलाई हेर्दा कुनै मेलामौसरको छनक दिईरहेको थियो ।
शनिवार पहिलो पटक जिल्लाकै दुर्गम तथा कर्णाली पारीको स्थानिय तहमा जिप सञ्चालनका लागि कर्णाली नदीमा जिप तार्ने काम भै रहेको रहेछ । जिप तार्नका लागि गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाही विहानैबाट खटिएका थिए । जव जिपलाई कर्णाली नदीमाथि विना पुल तराउन लागियो स्थानिय थप उत्सुक भए र हल्ला गर्न थाले । पेट्रोल, डिजेल राख्ने ड्रमहरु जोडेर नेपालकै लामो तथा तेस्रो ठूलो कर्णाली नदीबाट जोखिम मोलेर जिप तारिएको हो ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका वडा नं २ बाहेक अन्य वडाका वडा कार्यालय सम्म बाटो निमार्ण भै सकेकाले गाउँपालिका भित्रका नागरिकलाई सहजताका लागि जोखिम मोलेर भएपनि यात्रुबहाक जिप तराइएको जिप मालिक रेखम शाहीले बताए । गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले लकडाउनका कारण कर्णाली नदीमा फेरी निमार्ण कार्य पुरा नभएको, दुईवटा पुल निमार्ण हुने भनिए पनि अहिले सम्म ठेक्का बाहेक अन्य प्रक्रिया शुरु नभएको र बेलिविज्र निमार्णका लागि आवश्यक पहल भएकाले तत्काल गाउँपालिका भित्र यातायात सञ्चालनका लागि जोखिम मोलेरै भए पनि जिप तारिएको बताए ।
गाउँपालिकाका वडाहरु सडक सञ्जालमा जोड्ने क्रम जारी भएकाले हाल सडक सञ्जालमा जोडिएका वडामा आन्तरिक यातायात सञ्चालन गर्न गाउँपालिकाले पनि आवश्यक पहल गरेको गाउँपालिकाका सूचना अधिकारी कुमेर बहादुर शाहीले बताएका छन ।
कर्णाली नदीबाट जिप तारेर गाउँपालिकामा पु¥याए पछि स्थानिय बासीले खुसी ब्यक्त गरेका छन । सुदुरपश्चिम प्रदेश ००१ च २९४६ नम्वरको जिपलाई स्थानियवासीले भब्य स्वागत गरेका छन । जिपलाई कर्णाली नदी तारिए पछि गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले आफै चिप चलाएर सेवाको शुरुवात समेत गरे । उनले गाउँपालिकालाई पहिलो पटक साना यातायात सञ्चालनमा जोडेको प्रति जिप मालिक रेखम बहादुर शाहीलाई धन्यवाद दिए । जिपलाई स्वागत गर्ने कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शाही, वडा नं ३ का बुद्धिजिवी ध्वजबहादुर शाही, नैन ब शाही, नेकपाका प्रदेश कमिटी सदश्य रंगमान शाही, वडाअध्यक्षहरु काशीराम कैला, जनक रोकाया, नेकपा जिल्ला कमिटी सचिवालय सदश्य मेघराज शाही, जिल्ला कमिटी सदश्य युवराज शाही लगायत स्थानिय वासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु