होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ११, २०७७
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • “प्रश्नहरूको रथयात्रा”
Breaking News

“प्रश्नहरूको रथयात्रा”

  • नागरिक रैबार
“प्रश्नहरूको रथयात्रा”

✍धनु विश्वकर्मा। संस्कार र संरचनामाथिको प्रश्न? समाज र स्वअस्तित्वमाथिको प्रश्न? इज्जत र यौनमाथिको प्रश्न? नर र नारीमाथिको प्रश्न? अहो! प्रश्नै प्रश्नमाथिको रथयात्रामा सवार छन् महिलाहरू।

नारी सृष्टिकर्ता हुन्। नारी सिङ्गो मानव जातिको कोमल सर्जक हुन्। नारी संसारकै सुन्दर गहना हुन्। नर भएरै नारी र नारी भएरै नर हो। महिला र पुरुष एक रथको दुई पाङ्ग्रा हुन्। यसो भनिरहँदा यो वाक्य कता-कता शाब्दिक नै लाग्छ।

पुरुषमात्रै भएर हुँदो हो त त्रिकालदर्शी श्री विष्णुले आफ्नो पाखुराबाट लक्ष्मीलाई किन जन्म दिन्थे? प्रजापति ब्रह्माले किन मनुसँगै सतरुपाको जन्म दिन्थे? यी सब किंवदन्ती भएर होला आज त्यो इतिहास अलिक अर्कै भएर आधुनिक युगमा प्रारम्भ भएको छ।

विज्ञापन

विभिन्न कालखण्डहरूमा ठूला-ठूला परिवर्तन भए तर यो समाजले महिलालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा ‘बुढी जिउँदै’ भनेझैँ परापूर्व कालदेखि आजसम्म कत्ति पनि फरक देखिँदैन। यसको प्रमाण स्वरूप त प्रत्येक युगमा महिलाले पवित्रताको अग्नि परीक्षा दिइरहनुपर्‍यो। ठूला-ठूला युद्ध र लडाइँको ताण्डव नृत्यहरू रचाइयो।

द्वापर युगमा श्री विष्णु अवतार श्रीरामले अरूका कुरा सुनेरै पतिव्रता सीता अस्तित्वको परीक्षा दिँदादिँदै थाकिन्, अन्ततः जमिन मै भासिन पुगिन्। मायावी देवराजको जालमा परेकी अहिल्या अस्तित्वकै कारण आफ्नै पति गौतम ऋषिको श्रापको भागीदार बनिन्।

सुग्रीव पत्नी तारा पनि बालिको इसाबाट जोगिइनन्। पाण्डव पत्नी द्रौपदी वस्त्रहरण भई कौरवहरूको अन्यायबाट अछुत रहिनन्। हो, हाम्रो संस्कार,  संस्कृति र परम्पराको आधार भनेकै यिनै किंवदन्ती हुन्। फलस्वरूप सती युगमा महिलाहरू चरम हिंसाका शिकार बने भने यो कलियुगमा पनि त्यसको कल्पना सहजै गर्न सक्छौँ।

धर्म ज्ञान हो, असल आचरण हो, सदाचार हो, नियम हो। महत्त्वपूर्ण कुरा त सत्यलाई महसुस गर्ने एउटा मार्ग हो। हकहितको लागि लोक र राज्यलाई अनुशासन र व्यवस्था अनुरूप हिँडाउने संस्था हो। तर धर्मकै आडमा रहेर कहीँ न कतै नारीलाई शोषित गरिएकै छ। सुरक्षाको कवच पहिराएका हौँ भनिए पनि इस्लाम धर्ममा नारीलाई सदियौँदेखि बुर्काभित्र सीमित राखिएको छ।

कसैलाई हेर्नु र कसैले हेर्नुसम्म ठूलो गल्ती हुन जान्छ। विशेष गरी पूर्वीय सनातन धर्ममा त झन् एकातिर देवी भनेर पूजा गरिन्छ अर्कोतिर पटक पटक पूज्य छन् कि नाइँ भन्दै नारीले अग्नि परीक्षाको विभिन्न मापदण्ड पुरा गर्नुपर्छ।

अहिलेको समयसम्म आइपुग्दा पनि हाम्रा घरपरिवारमा बुवा आमालाई छोरीको जति चिन्ता अरुको हुँदैन। किनकी ऊ बाहिर निस्किँदा, हिँडडुल गर्दा कतै यौन क्रियाकलापमा पो जोडिन्छ कि भनेर हो। यसर्थमा कुल, खानदान र परिवारको इज्जत छोरीमा निहित छ। यदि छोरी यौनजन्य हिंसामा परिन् भने पनि बुवालाई छोरीको भन्दा बढी समाज र संस्कारको पीर छ। उसो त समाज बहिस्कारमा उत्रिहाल्छ।

चाहे परिवारसहितकी महिला हुन् यो संसारको कुनै पनि कुनामा सुरक्षित छैनन्। एकल महिलाको हालत के होला? कति प्रश्नहरू खेपेर बाँच्नुपर्छ हामी कल्पनासम्म गर्न सक्दैनौँ। महिला जहाँ-जहाँ छन् यौनजन्य हिंसाको शिकार बनेकै छन्, बनिरहन्छन्।

आफ्नो स्वार्थ र उद्देश्य पूरा गर्न पुरुषले विभिन्न बहानाद्वारा यौन प्यास मेटाउन सक्छ। नायिका रेखा थापा भन्छिन्, एक पुरुष आफ्नो यौन प्यास मेटाउन ऊ आँखाद्वारा तृप्ति वा आनन्द लिइरहेको हुन्छ।” मतलब एक पुरुषले अप्रत्यक्ष रूपमा विभिन्न तरिकाले यौन हिंसा गरिरहेकै हुन्छ। साँच्चै सोच्नुहोस् त हरेक दिन जो जतिसँग साक्षात्कार हुन्छ त्यसको शोषित महिला नै हुन्छिन्। के स्वतन्त्रता चैँ पुरुषलाई मात्र हो त?

त्यस्तै नायिका करिश्मा मानन्धर भन्छिन्, “महिलाले आफ्नो घरपरिवार र समाजलाई  बुढेसकालसम्म पनि के कति प्रेमी थिए को-को सँग सम्बन्ध थियो जस्ता प्रश्नको उत्तर दिइराख्नुपर्छ।” मलाई पनि सोध्न मन लाग्छ के भर्जिनटिको उत्तर केवल ज्योति मगरले मात्रै दिइराख्नु पर्ने हो? कुन युग समय र समाजले सोधेको छ ज्योति कुमारहरूको भर्जिनिटीबारे?

कवि पुछार घरेले भने झैँ “एउटा केटी दाइ भनेर भेट तथा सञ्जालमा म्यासेजमा सम्बोधन गरिरहन्छे तर केटाले बहिनी भन्न सक्दैन किनकी उसले मौका छोपेर प्रेमिका बनाउनु छ एक दिन। कसैलाई उसले अङ्कल भनेर सम्बोधन गरिरहन्छे तर ऊ छोरी भन्न सक्दैन। मौका छोपेर उसलाई प्रेमिका बनाउनु छ।  यी सबैको उद्देश्य अन्ततः बलात्कारको शिकार कि तेजाब आक्रमणको मितिनी बनाउनु हो।

पुरुष प्रधान समाजमा जब महिला पीडित हुन्छिन्, बाँकी जिन्दगी केवल प्रश्नै-प्रश्नको चाङमाथि हुन्छिन्। यौन हिंसा गर्ने र गर्न प्रेरित गर्ने समाजले महिलाको यौनमाथि हरेक दिन प्रश्नको ठेली बजार्छ। श्वास फेर्नै दिन्न। घटना र दुखाइ बिर्सिनै दिन्न। बल्झाइ रहन्छ उप्काइरहन्छ।

जब रजस्वला हुन्छिन् उनी आमा बन्ने प्रबल क्षमता राख्छिन्। तर घरपरिवारलाई भने उनी बिग्रिन सक्ने सम्भावनाको आलाराम बजेको हुन्छ। विस्तारै आफ्नै घरपरिवार र समाजबाट विविध यौन जन्य हिंसामा पर्छिन्। तर त्यसको जवाफको उत्तर्पोस्तिका महिला मात्रै किन ? कलियुगदेखि सत्य युगसम्म पवित्रताको परीक्षण गर्ने फेदोमिटर के यौन  हो त ?

आज विश्व २१औँ शताब्दीको अन्ततिर आइपुग्दा पनि महिलाले भोग्ने चरम विभेदको अन्त कहिल्यै भएन। अझै यौनसँग लिएर संस्कार, परम्परा जोडिइदिन्छ। के घरपरिवारको इज्जत महिलाको यौनमा मात्र छ र ?

छोराछोरीलाई सुरक्षित राख्नु हरेको बाबुआमाको कर्तव्य हो । तर छोरी चर्पी जाँदा अँध्यारो छ भनी आफूभन्दा सानो भाइको सहारा लिएर जानुपर्छ। भाइ सानो भएता पनि पुरुष हो र दिदीको रक्षा गर्न सक्दछ तर दिदी ठूली भएर पनि सक्दिनन् भन्ने खालको महिला असक्तताको बीज दिमागमा भरिन्छ। के भाइ या पुरुष दिदी वा महिलाको रक्षार्थ छन् त?

ठुली भएपछि एक्लै हिँड्न खोज्दा पनि कतै यौन सम्पर्क नै राख्छिन् कि भनेर उनको सुरक्षाभन्दा पनि संस्कार जोगाउन परिवारभित्र नै अनेक नियम बनाइएको छ। यसरी संस्कारको कवच पहिरिएर महिला झन् शोषित हुँदै छन्।

अझ विशेष गरी हिन्दु धर्म र मुस्लिम धर्ममा यसको पृष्ठपोषण बढी गरेर पनि होला सेक्सलाई सन्देहको घेराभित्र राखिएको छ। मुस्लिम धर्म बुर्काभित्र रहेकी नारीले आफ्नो सुरक्षाभन्दा पितृसत्तात्मक संस्कारको घुम्टो ओढेको हो। किनकि संस्कार र यो संस्कारभित्र हुर्किएको शङ्का यौनसँग जोडिएको छ।

पुरुष भएकै कारणले उसले जे-जे गरे पनि हुन्छ। बहसको विषय बन्दैन। महिला बिग्रिनु भनेको ऊ कसैसँग शारीरिक सम्बन्ध राखेर मात्रै हो त? घरपरिवार समाजको इज्जतको साझेदार अरू सदस्य पनि छन् तर त्यो आरोप केवल ऊ महिला भएकै कारण यसको जिम्मा उसले मात्रै लिनुपर्ने? जब महिला यौन हिंसामा पर्छिन् र शिशु जन्मिन्छ।

समाजले लाञ्छना गाली बेइज्जत ठूलो निहुँ पाउँछ। यत्तिसम्म की घर परिवार,  आफन्त र समाजले बहिस्कार गर्छ। उसको यौन सम्बन्ध कोसँग भएको हो भनी बच्चाको बाउ खोज्न न्वारनदेखिको बल लगाउन थाल्छ तर उसको मातृत्वको रक्षा गर्ने तर्फ कसैको ध्यान जाँदैन।

यहाँ सदियौँदेखि निश्चित वर्ग जातीय छुवाछूतको दलदलमा बाँचेको छ ।  कथित उपल्लो वर्गको व्यक्तिबाट भएको बच्चा छ भने त्यो जिम्मा आमाले मात्र लिन्छ। भनिन्छ “सदैव ओठमा र बच्चाहरूको मनमा बस्ने भगवानको नाम आमा हो।” तर शरीर अछुत छैन त्यो बेला, जन्मेको बच्चा अछुत छ।

पितृसत्तात्मक हाम्रो समाज जहाँ बुवाको नाउँबाट जात, पद र गोत्रको धारण गरिन्छ तर यस्तो अवस्थामा बच्चा आमाकै जात, पद वर्गमा झर्छ। यो कसरी सम्भव छ? विस्तारै आमा र बच्चा यहाँ घृणा र व्यङ्ग्यको पात्र बन्छन् । यसैले पनि यौन हिंसामा परेका महिला कहिँकतै खुलेर बोल्दैनन् किनकी उनले बाँच्ने बाँकी जिन्दगी प्रश्नै प्रश्नको कारखानामा बिताउनु हो।

यो समाजवादको नारा घन्काएर दलाल पुजिवादको प्रपञ्चमा धसिएको विश्वराजनिनितीले पनि सामाजिक सांस्कृतिक राजनीतिक प्राकृतिक बौद्धिक वैचारिक व्यवस्थापिक  प्रशासनिक चिन्तन चेतनामा अन्तर्द्वन्द्व पैदा गरेकै छ। यही धरातलमा जग गाडेको विश्वपरिवेशले प्रकृतिले मानव जाती सन्तुलनको लागि  छुट्टाएको लैङ्गिक आधारलाई लिएर एक धारले मात्रै आफ्नो अस्तित्वको जबाफ दिइरहनुपर्छ।

समानुपातिक सहभागिताको नाम बेच्दै टोक्कनको चिट्ठा प्रयोग गरिरहन्छन्। देशमा नियम, ऐन कानुन छ। कवि पुछार घरेको गजलको एक मिसरा छ “निसाफ भन्नु ए सखी छ मात्र कागजातमा” हो, न्याय त त्यो कागजमा मात्र सीमित हुन्छ। तर बाँचेको समाजले कहिल्यै न्याय दिँदैन।नीतिभन्दा नियतिको प्रश्न हो। प्रकृतिभन्दा प्रवृत्तिको प्रश्न हो।

एक त परिवार, समाजको लगामले बाँधिएकी हुन्छिन् त्यसमा पनि पीडित भइन् भने त त्यसको जिम्मेवार केवल महिलामात्रै हुन्छिन्। साँच्चिकै विजय कुमारले मदन पुरस्कारद्वारा पुरस्कृत कृति खुसीमा यतिकै लेखेका रहेनछन्,  “गाई जहिले पनि पवित्र हुन्छ, हामी पूजा गरिरहन्छौँ तर हाम्रा आमा, छोरी,  दिदीबहिनी सधैँ पूज्य र सम्मानित हुँदैनन्। सानो घटनाबापत महिलाले बारबार विभिन्न अग्नि परीक्षा पास गरिरहनुपर्छ।

के धर्म संस्कारका नाम वा यो कुटिल समाजको यी सबै ठेक्का महिलाले मात्रै लिएका हुन् ?  ब्राह्मणवाद हाबी भएको हाम्रो समाजले महिलाले घरको धुरिमा चढ्नु हुन्न भन्छ। उता मतवाली वर्गकी साहसी महिला पासाङ ल्हामु शेर्पा सगरमाथा चढ्छिन्। यहाँ वर्ग समुदायले पनि कति भिन्नता ल्याएको छ। तर पनि हामी अन्देखा गरिरहन्छौँ।

हुन त अरू महिलाहरू पनि अग्र पङ्क्तिमा छन् आज कतिपय देशमा । जस्तै जर्मनीकी चान्सलर एन्जेला मार्केल, नोबेल पुरस्कार विजेता मलाला, फिनल्यान्डले महिला प्रधानमन्त्री पाएको छ। १६ बर्सिया ग्रेट थन्ना एक अभियन्ता हुन् जुन विश्वको प्रभावशाली व्यक्तिलाई पछार्दै फोबर्स पत्रीकामा उच्च स्थानमा पुगिन्।

पछिल्लो समय नेपालामा विभिन्न राजनीति परिवर्तनसँगै महिलाको पनि सहभागिता बढ्दै गएको छ। विरङ्गता राजेन्द्रलक्ष्मीदेखि राष्ट्रप्रमुख विद्यादेवी भण्डारी पाएकै छौँ। जान्दा-जान्दै र बुझ्दा-बुझ्दै पनि आधा आकाश ढाक्ने नारीको हरेकले हरेक कालखण्डमा अस्मिताको चीरहरण गरेकै छन्।

आखिर यो कहिलेसम्म?

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार