हाम्रो गाउँ उर्जावान, चेतनशील युवाहरूको पर्खाइमा छ । गाउँलाई युवाहरूको खाँचो छ तसर्थ अब चेतनशील युवाहरु गाउँ फर्किनु पर्छ । हामी गाउँले दाजुभाई बीच गएर बस्नु पर्छ । कुनै आग्रह र पक्षपातहरु बिर्सेर ती गाउँलेका सेवकका रुपमा काम गर्नु पर्छ । हाम्रा गाउँले दाजुभाइहरुलाई पुर्वाग्रह, अन्धविश्वास, संकुचित दृष्टिकोण आदिबाट मुक्त गराउनु पर्छ । तिनका सुख दुखमा भागिदार बन्नु पर्दछ । तिनमा शिक्षा र उपयोगि सुचनाहरु प्रवाह गर्नु पर्छ । हामी एक आदर्श गाउँ बनाउन जुट्नु पर्छ । कर्म, सत्यता र यथार्थतामा बिश्वास गर्ने भरोसायोग्य समाज निर्माणमा युवा बर्ग उत्साहपुर्वक लाग्नु पर्छ ।
हामी कहाँ केहि थोरै मात्र युवाहरु दुर्गुणका सिकार भएका छन ती पनि स्वभावले खराब छैनन् । ती युवाहरू विवशता र सोच बिचार नपुर्याईकन दुर्गुणतिर आकर्षित भएका हुन । त्यस्ता युवाले आफ्ना दुर्गुणका कारणले आफै र समाजलाई कति हानी पुगेको छ बुझ्नु पर्दछ र आफुलाई परिवर्तन गरि आफु र समाजलाई बर्बादीबाट जोगाउनु पर्छ । यस्तो उर्जाको दुरुपयोग हुनु हुदैन । उर्जाशील युवामा भएको जोस जाँगर र सचेतनाले धेरै क्षेत्रमा परिवर्तन ल्याउन सकिन्छ ।
हाम्रो समाज थुप्रै जातजातिहरुको साझा थलो हो । हामी हामी बीच परापुर्खादेखिको अन्तर सम्बन्ध र सामाजिक एकता अटल थियो । तर अहिले एकले अर्कालाई देखी नसहने, अर्काले गरेको कामप्रती नकारात्मक धारणा र प्रतिकृया दिने यो खराव आचरणले मानिस ग्रसित छन् । नराम्रो कामको आलोचना गर्नु नराम्रो होइन तर राम्रो कामको पनी आलोचना गरिन्छ । नैतिकताको कमीले समाजमा मान्छे मान्छेबीच वैमनस्यता र द्वन्द्व बढ्दैछ । जहाँ नैतिकताको अभाव हुन्छ त्यहाँ विकृतीहरु बढ्दै जान्छन् र मानव मानव रहदैन ।
मानवले मानवलाई सहयोग गर्नुको सट्टा घृणा र तिरस्कार गर्न थाल्दछन् जसले समाजमा द्वन्द्व सृजना गर्छ । अहिले लगभग हामीमा यहि अवस्था सृजना भइरहेको छ । आ-आफ्नै स्वार्थलाई सबैले प्राथमिकता दिइरहेका छन । यो नैतिक विहिन अवस्था हो । यसमा प्रत्येक युवा सजक र सतर्क रहन जरुरी छ ।
केही क्षमता बिनाका बंशबादीहरु एवम् उत्तरदायित्व विहिन लोभी नेताहरु र सामाजिक सद्भावलाई हिंसामा परिणत गर्ने बिखण्डनकारी धुर्त अगुवाहरुले केबल आफ्ना मात्रै स्वार्थ पुर्तिका लागि हदैसम्म गिरेर सामाजिक हितलाई पैतलामा च्याप्ने प्रबृत्ति बढेको छ यसको खुलेर बिरोध गरौं ।
भ्रष्टाचार, शक्तिको दुरुपयोग, नातावाद जस्ता कुप्रबृत्तिलाई निरुत्साहित गरौं । कुप्रथा र कुरितीलाई युवाहरु मुखदर्शक भएर नहेरौं । विभिन्न अशान्दर्भिक जालझेलमा फसाउदै युवाशक्ति प्रयोग गरिएका छन् । यस्ता महाजालमा युवाशक्ति फस्नु हुदैन । बिचार, चिन्तन भन्दा सत्ता, रुपियाँ र दादागिरीमा बिश्वास गर्नेहरूको हालिमुहाली युवाहरूलाई स्वीकार्य हुनु हुदैन । युवाले आफुलाई कुनै ’वाद’ भन्दा माथि राख्न सके मात्र हाम्रो गाउँ समाज समृद्धिको मार्गतर्फ लम्किन सक्छ ।
राजनीति एउटा विधिशास्त्र हो । जसमा संसारका करोडौं मानिस समावेश छन । यसमा जतिसुकै उतावचढाव भएपनि अन्ततः संबादका माध्यमबाट सतहमा नै आउनुपर्छ र आउछ नै तर विवेकहीन तवरले र निश्चित ब्यक्तिका निश्चित स्वार्थका निम्ति युवा शक्तिलाई मुडभेट गराउनु सामाजिक हित बिपरित हुन्छ । हरेक राजनीतिको धेय समाज जुटाउने हुनुपर्छ फुटाउने हुनु हुदैन ।
समाज रुपान्तरण एवं सामाजिक न्याय र हितका निम्ति जुनसुकै राजनीतिक धारका युवाहरुले पनि आ(आफ्ना पार्टी पंक्ति र नेतृत्वलाई दबाब दिउ । भ्रष्टाचारमा संलग्नलाई सामाजिक बहिष्कार गरौं । आफ्नै भित्रका सहि र गलत छुट्टयाउन सिकौं र सकौं ।समाजका हरेक ब्यक्ति आत्म सम्मानपुर्वक बाच्न पाउनु पर्छ ।
कोहि हलो जोत्ला, कोहि चौपाया चराउला, कोहि लुगा सिलाउला, कोहि पढाउला, कोहि कर्मकाण्ड गर्ला सबैको सम्मान हुनु पर्छ । कामको हिसाबले कोहि पनि अपहेलित हुनुहुँदैन । आफ्नो कला, सीप र मेहनत गरौं । गाउमा पसिना पोखौं । कोहि पनि युवा बेकम्मा भएर नबसौं । दिमाग क्रियाशील राखौं । युवा शक्ति अनुशासित, सिर्जनशील र गतिशील बनौं । आधुनिक कृषि कार्यमा सक्रिय रहुँ । जसलाई जे काम आउछ त्यसलाई त्यहि काममा लगाउ र लागौं । सबै आ(आफ्नो ब्यक्तित्व बिकासमा ब्यस्त रहुँ । सकारात्मक सोचको बिकास गरौं । हामी परिवर्तन भए समाज परिवर्तन हुन्छ । माेहन जंग मल्ल हिमाली गाउपालिका – ६ धिम बाजुरा
फेसबुक प्रतिक्रियाहरु