



धनगढी — सुदूरपश्चिममा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा अन्तर्गतका सबै सदस्यले दसैं भत्ता बुझेका छन् ।


सम्बन्धित कार्यालयहरुले मुख्यमन्त्रीलाई ७१ हजार, मन्त्रीहरुलाई ६३ हजार र प्रदेशसभा सदस्यहरुले ५६ हाजर ५ सय दसैं भत्ता भुक्तानी गरिएको बताएका छन् । प्रदेशसभा सचिवालयले प्रदेश सांसदलगायत पदाधिकारीहरुलाई दसैंभत्ता बापत २६ लाख १८ हजार ५ सय भुक्तानी गरिएको सचिवालयका लेखा अधिकृत हरी जोशीले बताए । ‘नियमअनुसार सम्बन्धित पदाधिकारीको खातामा पठाएका हौं,’ उनले भने ।
मुख्यमन्त्री र मन्त्रीहरुका स्वाकीय सचिवहरुलेसमेत दसैं भत्ता बुझेका छन् । सुदूरपश्चिममा मुख्यमन्त्रीसहित सातजना मन्त्री र राजनीतिक नियुक्ति पाएका उनीहरुका १४ जना स्वकीय सचिवहरु छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले दसैं भत्ताबापत खातामा आएको रकम फिर्ता गर्ने सम्बन्धमा आन्तरिक छलफल भइरहेको बताएका छन् । सत्तारुढ दल नेकपाका सांसद लालबहादुर खड्काले पार्टी वा सरकारले हालको कठिन परिस्थितिमा दसैं भत्ता नलिनु भन्ने सर्कुलर गरिदिए सबैभन्दा सहज हुने बताउँछन् ।नागरिक समाजका अगुवाहरुले भने देश अप्ठेरोमा परेका बेला, रोजगारी तथा मजदुरी गुमाएका जनतालाई दुई छाक जोड्न धौ-धौ परेको अवस्थामा राजनीतिक पदाधिकारीहरुले कर्मचारी सरह भत्ता लिनु अस्वभाविक भएको बताएका छन् ।
दसैं भत्ता लिएपछि आलोचना हुन थालेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले अहिलेको कोरोना संकटका बेला आफूले दसैं भत्ता फिर्ता गर्ने बताएका छन् । उनले भने ‘मैले लेखा शाखामा भनिसकेको छु, मेरो खातामा पठाउन बाँकी भए नपठाउनु र पठाइसकेको भए फिर्ता बुझाउँछु ।’
मन्त्रिपरिषदको लेखा शाखाले भने उनको खातामा दसैं भत्ताबापत ७१ हजार रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ । प्रदेश कानूनअनुसार मुख्यमन्त्रीदेखि प्रदेश सांसदहरुसम्म सबैले चाडपर्वमा एक महिनाको अतिरिक्त सुविधा पाउने व्यवस्था रहेको छ । ईकान्तिपूरबाट साभार



फेसबुक प्रतिक्रियाहरु